सरकार देखेँ

- सुरेश किरण

पोलपोलमै प्रधानमन्त्रीको पोस्टर टाँस्दासम्म मैले पनि सरकार देखेको थिइनँ । पोलमा त प्रधानमन्त्रीको तस्बिर टाँस्या छ । त्यसमा कहाँ सरकार छ र ? प्रधानमन्त्री छन् । एउटा सूर्यको डल्लो छ । केही अक्षर छन् । त्यति हो । सरकार छैन । सरकार त मैले त्यतिबेला देखेँ जब ठीक त्यस्तै डिजाइनमा बनाइएको निर्मला पन्तको पोस्टर उप्काउन थालियो । टाँसिएको पोस्टर उप्काउन प्रहरी आफैँ आएका थिए । उनीहरुले पोस्टर उप्काएको मात्र होइन, टाँस्ने जतिलाई तानेर पक्राउसमेतगरे । मैले त त्यहाँ पो सरकार देखेँ । एकदम सक्रिय, तरोताजा सरकार ।

पहिलेपहिले पञ्चायतकालमा म पनि यसरी नै पोस्टर टाँस्ने गर्थें । ‘पञ्चायती व्यवस्था मुर्दावाद, प्रजातन्त्र बहाली गर’ भनी लेखिएका पोस्टर टाँस्न जान्थेँ । तर ती पोस्टर पनि तत्कालीन प्रहरीले तुरुन्तै उप्काइदिन्थ्यो । भेट्टाए त टाँस्नेलाई समाएर पनि लान्थ्यो । त्यतिबेला पोस्टर उप्काउन सरकारले नै प्रहरी पठाउने गथ्र्यो । अहिले पनि प्रहरी नै आएर पोस्टर उप्काएको देखेपछि म झस्किहालेँ– सरकार त यहाँ पो रहेछ ।

अत: जसले यतिबेला सरकार देखिनँ भनिरहेका छन्, उनीहरुलाई एकपटक निर्मला पन्तको पोस्टर उप्काइरहेका प्रहरी देखाइदिन अनुरोध गर्छु, सरकार देखिइहाल्छ ।

प्रकाशित: मंसिर २४, २०७५

ट्याग: परिहास