‘सरकारलाई गाली गरेकामा झन् स्यावासी दिनुपर्ने’– माधवकुमार नेपाल

- बसन्त बस्नेत, बाबुराम विश्वकर्मा

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल केपी ओली नेतृत्वको सरकारको काम–कारबाही र पार्टी एकता प्रक्रियाप्रति सन्तुष्ट छैनन् । उनको असन्तुष्टि संसद् र पार्टीका बैठकमा प्रकट हुने गरेका छन् । सत्तारुढ नेकपाभित्रको आन्तरिक समीकरणमा बलियो पकड भएका नेपाल पछिल्लो समयचाहिँ वल्र्ड पिस फेडेरेसनको एसिया प्यासिफिक सम्मेलनका कारण विवादमा तानिएका छन् । सरकारको प्रभावकारिता, नेकपाको आन्तरिक समीकरण र विवादास्पद सम्मेलनबारे नेपालसँग बसन्त बस्नेतबाबुराम विश्वकर्माका प्रश्न :

सरकारको कामलाई कसरी हेर्नुभएको ?

सरकारका बारेमा उठेका असन्तुष्टिलाई गम्भीरतापूर्वक लिन जरुरी छ । ठीक कुरालाई ग्रहण गर्ने र बेठीकलाई खण्डन गर्नुपर्छ । सरकारका बारेमा आएका आलोचनालाई वाहियात भनेर पन्छाउन मिल्दैन, सबै असन्तुष्टिलाई सुन्नुपर्छ । नेतृत्वको एउटा विशेषता के हो भने अरूको कुरा सुन्ने र विश्लेषण गर्ने, भएका कमजोरी सच्याउने । गल्ती नसच्याउँदा नेतृत्वलाई नै घाटा हुन्छ ।

प्रधानमन्त्री ओलीमा अरूको कुरा नसुन्ने प्रवृत्ति भन्नुभएको ?

मैले आम प्रवृत्तिको कुरा गरेको । नेपाली राजनीति र हाम्रो पार्टीमा माथिदेखि तलसम्म अरूको कुरा नसुन्ने प्रवृत्ति हावी भएको छ । अब समस्या खोतलेर सूचीकृत गर्ने र कमजोरी सुधार्न जरुरी छ । अध्ययन नगर्ने, दुई–तीन कुरा पढेर आफूलाई पण्डित ठान्ने, टापटिपे बानी, सिद्धान्तमा ध्यान नदिने समस्या देखिएका छन् । आचरण, व्यवहार, कार्यशैली र संगठनात्मक पाटोमा पनि समस्या र विकृति छन्, तिनको सुधार गर्नैपर्छ ।

अहिले नेकपाको बैठक नै बस्न नसक्ने स्थिति आएको तपार्इंले भनेका विकृति कसरी समाधान होलान् ?

यो गम्भीर समस्या हो । पार्टीका बैठक नियमित बसेर समस्याबारेमा बहस चलाउने अनि त्यसले पार लाग्दैन भने विभिन्न समूहमा पनि छलफल गर्नुपर्छ । एउटा नेताले भ्याउँदैन भने कामको बाँडफाँट गरे हुन्छ । पार्टीलाई शुद्ध, क्रान्तिकारी, धारिलो, गतिशील र ओजस्वी बनाउन व्यापक वैचारिक अभियान चलाउन जरुरी छ । मान्छेको धारणा बदल्न र अहंकारबाट मुक्त गर्न यस्तो अभियानले सघाउँछ । किनभने, नेता/कार्यकर्तामा धेरै कमजोर प्रवृत्ति हावी भएका छन् । भ्रष्टाचार, पार्टीप्रतिको निष्ठामा कमी र बेइमानी देखिएको छ ।

तपार्इं पार्टी प्रमुख भएका बेला एकल निर्णय लिनुहुन्थ्यो कि पार्टीमा छलफल गराउनुहुन्थ्यो ?

म पार्टी प्रमुख भएका बेला कमिटी प्रणाली सक्रिय र स्वचालित थियो । कमिटी प्रणाली र सामूहिकतामा हामीले काम गरेका हौँ ।

अहिले चाहिँ पार्टीमा छलफल हुन्न भन्न खोज्नुभएको ?

अहिले म पार्टी र नेताका कमजोरीबारे धेरै बोल्ने पक्षमा छैन । पार्टीभित्रका समस्याबारे बाहिर सडकमा आएर गीत गाउने पक्षमा छैन । पार्टीभित्र बोल्ने ठाउँ बन्द नै भयो भने बाहिर बोल्नुपर्ला । नेतृत्वका बारेमा सांकेतिक रूपमा मैले मात्र होइन, सबैले भनिसकेका छन्, बुझे हुन्छ ।

प्रधानमन्त्रीले बुझ्नुभयो ?

सरकार बारेमा अरूले त्यस्तो बोलेको अवस्थामा म प्रधानमन्त्री भएको भए स्यावास भन्ने थिएँ । मैले सरकार काम लाग्दैन, नालायक भनेको थिइनँ । यो सरकारलाई जनताले रुचाएनन्, अर्को सरकार आउँछ पनि भनेको थिइनँ । यो सरकारको काँधमा गहन जिम्मेवारी छ, अरू कसैले गर्न सक्दैन भनेको हुँ ।

तर, तपाईंको भाषणलाई ओलीले कविता भनिदिनुभयो...!

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार... ।’ मैले भनेको कुरालाई राम्रो मनसायले बुझ्दा उचित हुन्छ, नराम्रो मनसाय लिँदा जे पनि भन्न सकिन्छ ।

प्रधानमन्त्रीले आफ्ना गल्ती सच्याउनुभएको कि छैन ?

व्यक्तिगत विषयमा म अहिले त्यता जान चाहन्नँ । अहिले बोल्ने बेला भएको छैन, व्यक्तिगत विषयमा । प्रतीकात्मक रूपमा के–के हुनुपर्छ भनेर बोल्दै आएको छु ।

पार्टीभित्र खुलस्त छलफल हुने गरेका विषयमा पनि अब प्रतीकात्मक रूपमा भन्नुपर्ने दिन आइसक्यो ?

पार्टीभित्र भन्नुपर्ने विषय बाहिर बोलेर केही फाइदा छैन । कि त विद्रोह गर्ने स्थितिमा पुग्नुपर्‍यो, सुन्ने मान्छेले सुन्न सक्नुपर्‍यो । पार्टीभित्र म बोलिरहेकै छु, लेखेर दिएकै छु ।

ओली, प्रचण्ड तपार्इं मिलेर प्रधानमन्त्री, पार्टी अध्यक्ष संसदीय दलको नेता पद बाँडफाँट गरेको भए ?

राम्रो हुन्थ्यो । एक व्यक्ति एक पदको मान्यता लागू हुनुपथ्र्यो । त्यसो गरेको भए अहिलेजस्तो कामको महालोड हुने थिएन । लोड थाम्न गाह्रो पनि परेको हुन सक्छ । कामको बाँडफाँट सही तरिकाले गरौँ भनेको छु, पटक–पटक । आफूले भ्याइँदैन भने अरू नेताले गरे हुन्छ भनेको छु । पहिला पनि एक व्यक्ति एक पदको कुरा पार्टीमा उठेकै हो । पहिले यो कुरा उठाउने व्यक्ति को हुनुहुन्थ्यो, सबैले सम्झेकै होलान् । नपाउन्जेल कुरा उठाउने, पाएपछि सबै पद लिन चाहने समस्या छ । सबैको क्षमता सदुपयोग गर्दा देश र पार्टी दुवैलाई फाइदा हुन्छ ।

त्यस्तो किन भएन ?

बिनाअधिवेशनको नेतृत्व पार्टीमा आउन थाल्यो, पद्धति नै बिग्रियो । कुनै पनि जनवर्गीय संगठनको नेतृत्व अधिवेशनबिना आउँदैनथ्यो । तर अहिले त व्यक्ति तोक्ने गरिएको छ, जुन गलत पद्धति हो ।

तपाईं तेस्रो वरीयताको नेता कुनै निर्णय गर्नुपरे कम्तीमा फोन आउँदो हो ?

फोन हुँदै हुँदैन पनि नभनौँ, हुन्छ पनि नभनौँ । यदाकदा आउँछ । फोनभन्दा पनि प्रणाली बसाल्ने काम गरौँ । त्यसैले म सिस्टम, सिस्टम, सिस्टम भन्छु । सिस्टम बस्न सकेको छैन । जस्तो, हामीले पार्टीको पोलिटब्युरो गठन तुरुन्तै गर्नुपर्‍यो । कमिटीहरू निर्माणमा यति समय लाग्ने नै होइन, एक साताभित्र एकताका सबै काम गर्न सकिन्छ । किनभने, हामीले एमालेको संख्याका आधारमा माओवादीको संख्या तय गर्ने भनेर मापदण्ड तयार गरिसकेका छौँ । त्यो आधारमा अगाडि बढ्दा धेरै समय लाग्दैन ।

तल्लो तहसम्म पार्टी एकता किन कठिन भएको ?

यसैभित्र ‘म्यानिपुलेसन’ छ । अन्धभक्त खोज्ने, नजिक र टाढा छुट्याउने प्रवृत्तिले समस्या भएको हो । नेताले कार्यकर्तालाई न्याय दिन सक्नुपर्छ, विधिमा चल्नुपर्छ । विधिमा बाँधिने काम गरियो भने आफू नरहे पनि त्यो संस्था चलिरहन्छ । प्रणाली भयो भने नेता फेरिए पनि पार्टी रहिरहन्छ । हिजोको एमालेमा नेता परिवर्तन हुने कुरालाई हामीले सामान्य ठान्यौँ । मैले सहज रूपमा महासचिव छाडेँ, अर्को आउनुभयो, त्यसपछि प्रतिस्पर्धा भयो । प्रतिस्पर्धालाई स्वाभाविक ठानियो । म एकपटक माथि बसेको मान्छे तल बस्न/झर्न तयार भएँ । परिवर्तनलाई स्वाभाविक रूपमा नलिएको भए एकचोटी माथि बसेको मान्छे किन तल जान तयार हुन्छ ?

सदस्यहरूले लिखित माग गर्दा पनि स्थायी समिति बैठक टारिएको , किन ?

यो प्रश्न दुई अध्यक्षलाई सोध्नुस्, महासचिवलाई सोध्नुस् । सबैलाई सोधेपछि मात्र मलाई सोध्नुस् । मैले स्थायी समिति बैठक बोलाउने भए आजै बोलाइदिन्थेँ । म त फास्ट मान्छे हो, ढिलासुस्ती मन पर्दैन । कुनै विषय आए बैठक बोलाउने, निरन्तर छलफल चलाउने मान्छे हुँ म ।

तपार्इंले उठाउँदै आएका विषय किनारा लागिसकेजस्तो देखिन्छ तैपनि, तपार्इंपर्ख हेरको स्थितिमा किन ?

किनारा त कसले लगाउन सक्छ र ! मैले बोलेका र लेखेको कुरा आफ्नो ठाउँमा छँदैछ । मैले सही लेखेको छु, सही बोलेको छु । नभए मलाई टेप रेकर्डर खोलेर भन्नुपर्‍यो, कि त्यसलाई छापेर यो लाइन गलत भयो भन्न सक्नुपर्‍यो । सुन्दर बनाउन प्रशंसाका दुई शब्द थपेको भए हुन्थ्यो भनेको हो भने त्यसलाई म सहर्ष स्वीकार्न सक्छु । तर मैले बोलेकै कारण प्रतिपक्षले ठाउँ लिन पाएन । धन्यवाद भन्नुपर्ने हो, ठीक गर्नुभएको छ भन्नुपर्ने हो ।

ओली प्रधानमन्त्री भएपछि तपाईंको घरमा आउनुभएको ?

उहाँ आउनुभएको छैन । बालुवाटारमै सबै छलफल हुन्छ । बेलाबखत धुम्बाराहीमा बैठक हुन्छ । नभए सबै भेटघाट बालुवाटारमै हुन्छ ।

ओलीप्रचण्डबीच आलोपालो प्रधानमन्त्री पार्टी अध्यक्ष लिने सहमति भएको सार्वजनिक भइसकेको त्यस्तो लेनदेन भए तपाईं के गर्नुहुन्छ ?

सही गर्नेहरूले भन्नुपर्‍यो, के सहमति हो ? मलाई जानकारी भएन । कुरा के हो ?

दुई अध्यक्षबीच त्यस्तो लेनदेन भए के हुन्छ ?

यदि आकाश खस्यो भने के हुन्छ ? धर्ती फाट्यो भने के हुन्छ ? अहिले नै मेरो ज्यानै केही भइहाल्यो भने के हुन्छ भनेजस्तो हो यो । कतिपय कुरा भन्नु हुँदैन, सुन्नु मात्रै पर्छ, कतिपय कुरा महसुस मात्र गर्नुपर्छ । कति कुरा समय आएपछि बोल्नुपर्छ, समयभन्दा अघि र पछि बोल्नु हुँदैन ।

भनेपछि तपाईं उपयुक्त समयको पर्खाइमा हुनुहुन्छ ?

अवश्य पनि ।

पहिलेपहिले सहमति भन्ने शब्द सुनिन्थ्यो हिजोआजआलोपालोसुनिन्छ यसको अर्थ के हो ?

संख्या पुग्दैन भने आलोपालो हुन्छ । कुनै पनि पार्टीको बहुमत छैन भने आलोपालो हुन्छ । बहुमत भएको एउटै पार्टीमा पनि नेताहरूबीच समझदारी छ भने आलोपालो हुन सक्छ ।

प्रधानमन्त्री, पार्टी अध्यक्ष वा राष्ट्रपतिमध्ये तपाईंको दृष्टि केमा ?

राष्ट्रपति हुने भए उहिले भइसक्थेँ । पहिलोपल्ट प्रचण्ड र झलनाथजीको कारणले भएन । दोस्रोपल्ट मैले मानिनँ, नत्र विद्या भण्डारीको ठाउँमा हुन्थेँ । तेस्रोपल्ट कुरा उठ्न खोजेको थियो, मैले मुखबाट तल झर्नै दिइनँ । किनभने म ७० वर्ष पुगेको छैन भन्ने बुझ्नुपर्‍यो नि ! अझै पनि ऊर्जाशील, गतिशील र क्रियाशील छु । त्यसैले आशीर्वचन दिने ठाउँमा पुग्ने बेला भएको छैन ।

कसैले म देउताको छोरी भन्छ भने के गर्नु ?

म देउताको नयाँ रुप भन्छ भने के गर्ने ? हामी त धर्म नै नमान्ने मान्छे । 

राज्यले धर्म मान्दैन ।

आशीर्वचनको कुरा आइहाल्यो विवादास्पद युपीएफमा तपाईंको संलग्नता के हो ?

युनिभर्सल पिस फेडेरेसन म सम्बद्ध संस्था होइन । त्यसमा मेरो कुनै संलग्नता छैन । म एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय संगठनमा संलग्न छु । त्यसको संस्थापक नेता हुँ ।

आईक्याप युपीएफबीच के साइनो ?

कतिपय काममा त सम्बन्ध होला । तर यी अलग–अलग संस्था हुन् ।

उसो भए युपीएफको सम्मेलनबारे यत्रो विवाद किन ?

यसमा विवाद गर्न जरुरी छैन । युपीएफ भन्ने संस्था संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को सदस्य हो । अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्था हो । विवादित भए राष्ट्रसंघबाट मान्यता पाउने थिएन । यदि विवादास्पद छ भन्ने कसैलाई लागेको भए छानबिन गरौँ । तर मैले विवादास्पद ठानेको छैन । उत्तर कोरियाको म्युजियममा युपीएफका संस्थापकले पठाएको उपहार राखिएको छ । किम इल सुङसँग भेट भएको फोटो छ त्यहाँ । म उत्तर कोरिया जाँदा आफैँले देखेको हुँ । त्यसैले हिजो उत्तर कोरियाले युपीएफका संस्थापकलाई पक्राउ गरेको थियो कि निकालेको थियो ? त्यो विषयमा उत्तर कोरियालाई सोधे हुन्छ ।

धर्म निरपेक्ष देशको वामपन्थी सरकारकै संलग्नतामा यत्रो धार्मिक तामझाम ?

युपीएफले विश्व शान्तिको कुरा गरेको मैले पाएको छु । उसले पारिवारिक मूल्य–मान्यताको विषय उठाएको छ, अन्तक्र्रियामा जोड दिएको छ । कनेक्टिभिटीको कुरा गरेको छ, सबै धर्मका गुरुलाई एक ठाउँ भेला गरेको छ । मुस्लिम, हिन्दु, इसाई, बुद्ध, शिख र जयनका धर्मगुरु सम्मेलनमा सहभागी भएका छन् । के सम्मेलनपछि ती सबै इसाई भए ?

उसो भए सम्मेलनमा नेकपाका नेता संलग्नताको विरोध पार्टीभित्रैबाट किन भएको ?

यसमा एउटा कमजोरीचाहिँ भएको छ । सम्मेलनमा नेपाल सरकार र संसद्लाई आयोजकका रूपमा राख्नु हुन्थेन । संसद् र सरकार सम्मेलनका सह–आयोजक होइनन् । अरू देशका प्रधानमन्त्री, राष्ट्रपति आदिलाई यहाँका प्रधानमन्त्रीले निम्तो मात्र गर्नुभएको हो । सरकारले दुईपक्षीय भ्रमणलाई सहजीकरण गर्नु स्वाभाविक हुन्छ । हामी त कुनै देशको भ्रमणमा जाँदा त्यहाँका प्रधानमन्त्रीको निम्तो खोइ भनेर बेलाबखत निहुँ खोज्छौँ भने पद बहाल रहेका अर्को देशका व्यक्ति प्रधानमन्त्री र सरकारको निम्तोबिना आउने कुरै रहेन । त्यसैले कतिपयलाई म आफैँले निम्तो भनेको छु । कम्बोडियाका प्रधानमन्त्रीलाई मैले नै तपार्इं आउनुपर्छ भनेको हुँ ।

उसो भए आशीर्वचनको कुरा के हो ?

मलाई थाहा छैन । त्यो भित्री कुरा हो । कसैले म देउताको छोरी भन्छ भने के गर्नु ? म देउताको नयाँ रूप भन्छ भने के गर्ने ? हामी त धर्म नै नमान्ने मान्छे । राज्यले धर्म मान्दैन । आफ्नो मौलिकतालाई व्यवस्थापन गर्छ । सम्मेलनमा आएका कोही इसाई थिए होलान् । तर तिनले नै त्यसको विरोध गरेको देख्दा मलाई अचम्म लागेको छ ।

तर, विवादको केन्द्रमा तपाईं पनि देखिनुभयो ?

भेनेसियाले मलाई एसिया प्यासिफिक सम्मेलन नेपालमा गर्दा के हुन्छ भनेर सोध्नुभयो । मैले राम्रो हुन्छ भनेँ । ४५ देशबाट राष्ट्रप्रमुख आउँछन् भनेपछि प्रधानमन्त्री, प्रचण्डजी सबैले राम्रो भने । ०२० सम्म पर्यटन वर्ष मनाउने भनिएकाले पनि सम्मेलनको सान्दर्भिकता बढी थियो । सम्मेलनलाई कसैले नराम्रो भनेनन् । किनभने यो पहिलोपल्ट आएको संस्था होइन, गिरिजाबाबुको पालामा आएकै हो । उहाँलाई पनि सुशासन अवार्ड प्रदान भएको छ । सुशील कोइरालाले सम्मेलनमा भाग लिनुभएको छ । बाबुराम भट्टराईले उद्घाटन गर्नुभएको छ । कमल थापा, मरीचमान सिंह सबै सहभागी भएकै हुन् ।

कमल थापा यो सम्मेलनको विरोधमै हुनुहुन्छ, होइन ?

त्यसो हो भने पहिला किन जानुभयो ? त्यो बेला उहाँको आखाँमा पट्टी बाँधिएको थियो, नशा खुवाइएको थियो त ? यस्ता नचाहिँदा कुरा गर्नु हुँदैन । नेपालमा थरीथरीका एनजीओले के–के गरिरहेका छन् ? खोजबिन गर्नुपर्दैन ? एक दिन कोही आएर रातारात धर्म परिवर्तन गराउन सम्भव हुन्छ ? त्यहाँ सहभागी पाकिस्तानका पूर्वप्रधानमन्त्री पनि क्रिस्चियन भए ? सम्मेलनमा मेरोछेउ बसेका भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले हिन्दु धर्म छाडे  ? त्यसैले यी सबै वाहियात कुरा हुन् ।

भ्रष्टाचारको सूचीमा नेपाल सय २२ औँ स्थानमा तर प्रधानमन्त्रीलाई सुशासन अवार्ड ?

प्रधानमन्त्रीले त्यो रकम आफैँसँग त राख्नुभएन । त्यो देशलाई होइन, व्यक्तिलाई दिएको पुरस्कार हो । तर प्रधानमन्त्रीले त्यो रकम बालबालिका र युवाका लागि खर्चिने भन्नुभयो । कि त्यो पुरस्कार लिनु हुँदैनथ्यो कि दिने संस्था खराब हो भन्नुपर्‍यो । नभए स्वीकार्नुपर्‍यो । सरकारप्रति गुनासो बढेका बेला पुरस्कार लिएका कारण ‘के निहुँ पाऊँ कनिका बुकाऊँ’ जस्तो भएको मात्र हो । सम्मेलनका नाममा कसैले बदमासी गरेको वा पैसा खाएको भए सार्वजनिक गरौँ ।

नेकपाको तीन समूह यताउता हुँदा तपार्इंको समूह ओलीतिर हुन्छ कि प्रचण्डतिर वा अलग्गै रहन्छ ?

हामी सबै एकैतिर । नेकपा फुट्दैन, एकजुट भएर जानुपर्छ । विचारमा बहस गर्दा जो नजिक हुन्छ, उसैसँग निकटता हुन सक्छ । राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, विचारधारा, पार्टीप्रतिको निष्ठा, बहुदलीय प्रतिस्पर्धा, लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यता, जातीय मामिलाजस्ता विषयका आधारमा कसैसँगनिकटता हुन सक्छ, कसैसँग नहुन सक्छ ।

निर्मला पन्त प्रकरणमा सरकारले न्याय दिनुको साटो छानबिनमै १२ वर्ष लाग्न सक्ने तर्क दिएर ढिलासुस्ती गरिएको कस्तो लाग्छ ?

यो मुख (थुतुनो) सबैभन्दा तल छ । आँखा र कान माथि छ, नाक माथि छ, नाकले सुँघ्नुपर्‍यो, आँखाले देख्नुपर्‍यो, कानले सुन्नुपर्‍यो । सबैभन्दा माथि दिमाग छ, त्यसले सोच्नुपर्‍यो अनि मात्र बोल्नुपर्‍यो । छिटो बोल्दा समस्या खडा हुन्छ । सुशील कोइराला भन्नुहुन्थ्यो  : जीवा ऐसी बाबरी, बात कह गया बबाल, आपुन तो भितर घुसी, मार खाए कपाल अर्थात्, मान्छेको जिब्रो बबाली हुन्छ, छिटो बोल्छ, विवादमा पारेर भित्र पस्छ अनि मार खान्छ टाउकाले ।

प्रकाशित: मंसिर २४, २०७५

ट्याग: संवाद