बर्गरकिङको मेनुमा डग फुड

- नेपाल संवाददाता

फास्टफुडको चर्चित अमेरिकी फुड चेन बर्गरकिङले आफ्नो खानेकुराको मेनुमा डग फुड समावेश गरेको छ  । बर्गरकिङले मानिसका खानेकुराका परिकारसँगै कुकुरका लागि साँच्चिकै डग फुड बेच्न थालेको विदेशी सञ्चारमाध्यममा सार्वजनिक भएको हो । बर्गरकिङका अनुसार मेनुमा डग फुड राख्दा मानिस मात्र नभई कुकुरसमेत खुसी हुने हुँदा परस्पर सम्बन्ध सुमधुर बनाउन सहयोगी हुनेछ ।

कुकुरका लागि बनेको विशेष किसिमको बर्गर स्वादको बिस्कुटलाई डगपर्स नाम दिइएको छ । मानिसले डोरड्यास नामक एपबाट बर्गर अर्डर गरे बर्गरकिङले डगपर्स सित्तैमा दिनेछ । डगपर्स जौ–चामलको पीठो, बिफ, चिज र अन्डालगायतका चिजबिज राखेर बनाइन्छ ।

पहिलो पटक डिसेम्बर ४ तारिखसम्म राखिएको यो अफरलाई बर्गरकिङले डिसेम्बर १२ तारिखसम्म थपेको छ । मालिकले बर्गर खाँदा छेउमै रहेको कुकुरको मनोदशालाई झल्काउने भिडियो विज्ञापन सार्वजनिक गर्दै यस्तो अफरको प्रचार गरिएको छ । सन् १९५४ मा स्थापित भएको बर्गरकिङ विश्वकै दोस्रो ठूलो ह्यामबर्गर चेन हो ।

प्रकाशित: मंसिर २३, २०७५