पोखरा राइनोजको महत्त्वाकांक्षा

- विनोद पाण्डे

जित्नका लागि सबै खेल्छन्, सफलता पाउने एउटा टोली र त्यसका सदस्यले मात्र हो । खेलकुदको यो स्वयंसिद्ध तथ्य हो, सबैले जित्न सक्दैनन् । यो बुझ्दाबुझ्दै पनि सबै टोलीले जित्नका लागि सम्पूर्ण अस्त्र प्रयोग गर्छन् । फ्रेन्चाइज क्रिकेटमा अझ बढी यसको प्रभाव देखिन्छ । क्रिकेटको कान्छो स्वरूपको विशेषता पनि हो ।

लगानी गरेर राम्रा खेलाडी, प्रशिक्षकका साथ आफ्नो टिमलाई जित्ने वातावरण बनाउन फ्रेन्चाइज टोलीहरू पछि पर्दैनन् । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको महत्त्व बढ्दो छ । यही महत्त्व बुझेर फ्रेन्चाइज टोलीहरूले तयारी र खर्च पनि त्यहीअनुरूप गरेको देखिन्छ । यस्तोमा लगानीकर्ताहरू उच्च आकांक्षी र नतिजामुखी हुनु स्वाभाविक नै हो । तैपनि सबैले जित्न सक्दैनन् । आफ्नो ब्रान्ड स्थापित गर्नु यसमा आबद्ध भइसकेपछिको अर्को महत्त्वपूर्ण पाटो हो ।

अन्य ५ फ्रेन्चाइज टोलीजस्तै पोखरा राइनोज पनि यसमा खासै फरक छैन । राइनोजमा गत वर्ष उपाधि जित्न नसकेको छटपटी देख्न सकिन्छ । राइनोजको संरचनामा भएको ठूलै उथलपुथल यसैको परिणाम हो । राइनोजको कप्तानी स्कटल्यान्डका कायल कोएट्जरले गर्दै छन् । ईपीएलका ६ टोलीमा उनी एक्लो विदेशी कप्तान हुन् । टोलीले प्रशिक्षकको जिम्मेवारी अस्ट्रेलियाका नाथन डोडलाई दिएको छ । डोड ईपीएलमा सहभागी टोलीमध्ये दोस्रो विदेशी प्रशिक्षक हुन् । विराटनगर वारियर्समा भारतीय प्रशिक्षक उमेश पटवाल छन् ।

एक समय ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने दक्षिण अफ्रिकाका रिचर्ड लेभी राइनोजका चारमध्ये एक विदेशी हुन् । कोएट्जरसँगै राइनोजमा इंग्लिस खेलाडी पाउल कोलिन र हङकङमा जन्मिएका सन्नी भीमसारिया छन् । कोएट्जर एसोसिएट क्रिकेटका सफल खेलाडीमा पर्छन् । उनलाई नेतृत्व सुम्पँदै राइनोजले ईपीएलमा ठूलो आशा लिएको छ । आखिर यस्तो किन भने राइनोजमा उपाधिको भोक छ । अर्कोतिर राइनोजमा गत वर्षको हारको पीडा छ । यी दुवै सम्मिश्रण साथ राइनोज ईपीएलमा उत्रँदै छ ।


ईपीएल प्रतियोगिताका कप्तान | तस्बिरहरू : अंगद ढकाल


पाकिस्तानी खेलाडीहरू आशिफ अली, ताज वाली, इस्रारुल्लाहले गत सिजन राइनोजबाट खेलेका थिए । शक्ति गौचनको कप्तानीमा रहेको राइनोजले उत्कृष्ट सुरुआत पनि गरेको थियो । राउन्ड रोबिनको खेल सकिँदै जाँदा राइनोज शिथिल हुँदै गयो । अन्तत: प्लेअफमा टोलीले कुनै खेल जित्न सकेन । चौथो स्थानमा सीमित टोलीले प्रतियोगिता टुंग्याएको थियो । आशिफ चम्कनु नसक्नु राइनोजको दुर्भाग्य नै बन्यो । तिनै आशिफ लगत्तै पाकिस्तानी राष्ट्रिय टोलीमा पुगिसकेका थिए । छोटो संरचनाका लागि प्रभावकारी मानिएका विनोद भण्डारी र सौरभ खनाल पनि चल्न सकेनन् ।

गत वर्षको यी सबै अनुभव राइनोजले भुल्न सकेको छैन । त्यसै कारण हुन सक्छ, राइनोजले टिम बनाउनदेखि तयारीसम्म यसपालि फरक रूपमा गरेको छ । मुम्बई इन्डियन्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलिसकेका लेभीलाई लिनुले राइनोजको उद्देश्य प्रस्ट हुन्छ । राइनोज जगदम्बा स्पोर्ट्सको स्वामित्वमा छ । टोलीकी मालिक कोहिनूर (दीपा) अग्रवालले लेभीजस्ता खेलाडीको अनुभव र प्रतिभाले आफ्नो टोलीलाई फाइदा पुग्ने बताउँछिन् ।

राइनोजका लागि यात्रा पक्कै सहज छैन । विराटनगर वारियर्स, चितवन टाइगर्स, काठमाडौँ किंग्स ११, ललितपुर प्याट्रियट्स, भैरहवा ग्लाडियटर्स पनि उत्तिकै बलिया छन् । तयारी छाडेर खेलाडी र लगानी हेर्ने हो भने कोहीभन्दा कोही कम देखिँदैनन् । गत वर्ष पुछारमा रहेको चितवन टाइगर्सले आयरल्यान्डका विस्फोटक ब्याट्सम्यान पाउल स्टर्लिङलाई लिएको छ । उनीसँगै इंग्लिस खेलाडी जोहन सिम्पसन र जर्ज स्कट चितवन टोलीमा हुनेछन् ।

ईपीएलको यस सिजनको एउटा विशेषता कहलिएका विदेशी खेलाडीको आगमन पनि हो । चितवनजस्तै गत सिजनमा एक मात्र खेल जित्न सकेको काठमाडौँ किंग्सले आयरल्यान्डका अलराउन्डर केभिन ओब्राइन र यूएईका कप्तान रोहन मुस्ताफालाई लिएको छ । जिम्बाबेका सिकन्दर राजाले अन्तिम समयमा अन्तर्राष्ट्रिय तालिका जुधेकाले आफ्नो नाम फिर्ता लिएका छन् ।

ललितपुर प्याट्रियट्समा नेपाली भूमिमा जमेका भारतीय खेलाडीत्रय सन्नी पटेल, जयकिशन कोल्शावाला र गौरव तोमार छन् । गत वर्षको उपविजेता भैरहवा ग्लाडियटर्सले रविइन्दर सिंह, यूएईका मोहम्मद नाविद र नेदरल्यान्ड्सका रायन टेन डेस्काथेलाई भित्र्याएको छ । डेस्काथेले लामो समय कोलकाता नाइटराइडर्सबाट आईपीएलमा खेले । पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले पनि उपाधि जोगाउने आशमा नेदरल्यान्ड्सका रोइलोफ भान डेर मेर्वी र पाउल भान मिकेरेन तथा भारतका स्मित पटेललाई लिएको छ । हङकङका बाबर हायत टोलीका आधार हुन् ।



ईपीएल नेपालको तेस्रो फ्रेन्चाइज लिग हो । पारस र शरद भेषवाकरको टोलीले यी प्रतियोगितामा वर्चस्व जमाउँदै आएका छन् । राइनोजसहित अरू टोलीका लागि यो प्रभुत्व तोड्न सजिलो हुने छैन । राइनोजका प्रशिक्षक डोडले यो राम्रोसँग बुझेका छन् । “हामीसँग केही राम्रा विदेशी खेलाडी छन्, उनीहरू माथिल्लो क्रममा ब्याटिङ गर्छन् । अन्तर्राष्ट्रिय क्रिकेट पनि धेरै खेलेका छन् । हाम्रो शक्ति यो पनि हो । अन्य टोली पनि विदेशी खेलाडीको आडमा राम्रो भएको सुनेको छु,” डोड भन्छन्, “शक्ति गौचन र विनोद भण्डारीजस्ता अनुभवी खेलाडी हाम्रो टोलीमा भए पनि ट्वान्टी–२० क्रिकेटमा ठूलो भिन्नता हुँदैन । तर भाग्यको पनि ठूलो साथ चाहिन्छ, सफलता हात पार्नलाई । आशा छ, हामीलाई भाग्यले केही हेर्नेछ ।”

यही स्तरमा उनको पनि पहिलो अनुभव हो यो । उनी यसलाई कोशेढुंगा बनाउन चाहन्छन् । राइनोजको भाग्य कस्तो हुनेछ, त्यो १६ दिन चल्ने ईपीएलले बताउनेछ ।

प्रकाशित: मंसिर २३, २०७५