मन छुने कथा, मौलिक वाचन

फिल्म: प्रसाद | रेटिङ: ३/५

- गोकर्ण गौतम

हामीकहाँ बजार निर्देशित फिल्मको ‘आतंक’ छ । मौलिकताको खडेरी हुन्छ । चुट्किला, द्विअर्थी संवाद, मारपिट, रोमान्स र रोनाधोनाको खिचडी बनाइन्छ । कुनै त सीमापारिबाट हुबहु आयातीत हुन्छन् । दिनेश राउत निर्देशित प्रसाद  यी तमाम धङधङीबाट करिब मुक्त छ । खासमा यो फिल्म नि:सन्तान दम्पतीको व्यथा हो । सँगै जातीय छुवाछूत, महिला–हिंसा, गरिबमाथिको थिचोमिचोजस्ता समाजका अँध्यारा पक्षलाई उधिनिएको छ । प्रसादका लेखक सुशील पौडेल पात्र, कथा र तिनका प्रवृत्तिमार्फत फिल्मप्रति अपनत्वबोध गराउन धेरै हदसम्म सफल छन् । मूल पात्रका मनोविज्ञान र केही घटनाक्रममा लेखकसँगै निर्देशकमा अस्पष्टता/अपरिपक्वता नझल्कने होइन । तर अभिनेता विपिन कार्कीको उपस्थितिले प्रसादलाई प्रभावशाली बनाउन भूमिका खेलेको छ ।

दलित बाबुराम (विपिन)ले क्षत्रीकी छोरी नारायणी (नम्रता श्रेष्ठ) लाई भगाउँछन् र काठमाडौँ आउँछन् । यी दुई अन्जानले काठमाडौँमा अनेक हन्डर खान्छन् र पनि खुसी छन् । मायाप्रेम गाढा छ । तर सन्तान हुँदैन । बिस्तारै मनमुटाब उत्पन्न हुन्छ । यसबीच कथामा बाबुरामको बच्चैदेखिको साथी रमेश (निश्चल बस्नेत)को प्रवेश भइसक्छ, जसले सुरुबाटै नारायणीमाथि आँखा लगाउँछन् । बच्चा पाउने पिरलोले बाबुराम र नारायणीको सम्बन्धमा आउने उतारचढाव अनि रमेशका हर्कतमै केन्द्रित छ प्रसाद । यथार्थवाद पछ्याइएको फिल्मको क्लामेक्सचाहिँ केही नाटकीय लाग्छ ।

प्रसादमा नक्कलझक्कल केही छैन । दुई भुइँमान्छेको कथा हो यो । अन्तरजातीय प्रेमविवाहकै कारण सास्ती भोगेका यस्ता जोडी जति पनि भेटिन्छन् समाजमा । उनीहरुले काठमाडौँमा भोगेको संघर्षले दर्शकलाई अझ नजिक गराउँछ । बाबुरामको नारायणीप्रतिको प्रेम र बाबुरामका खातिर नारायणीको त्याग आफैँमा आदर्शवादी लाग्छ । फिल्मको सुरुआती २० मिनेटमै निर्देशकले पात्र स्थापित गरिसक्छन् । त्यसपछि सुरु हुन्छ, सन्तान नहुनुको पीडा । नारायणीले किन्डरगार्टेनमा बच्चा हेरविचार गर्ने काम गर्नु अनि बाबुरामले भोलिको सन्तानका लागि कपडा सिलाउनु विम्बात्मक लाग्छ । यसरी एउटा भावनात्मक बेगमा दौडिरहेको कथा बिथोलिन्छ, जब रमेशको आगमन हुन्छ । पहिलो दृश्यबाटै रमेशलाई नकारात्मक रुपमा उभ्याइन्छ । तापनि बाबुरामकै सामु उसकी पत्नी नारायणीप्रति रमेशका व्यवहार स्वाभाविक र विश्वसनीय लाग्दैन ।

दर्शकको संवेदना जित्ने बाबुराम र नारायणीको आत्मीय दृश्य छिटो–छिटो काटिन्छ । मध्यान्तरअघि फिल्म कहीँ–कतै सुस्त लाग्छ । समस्या प्रस्ट भइसक्छ तर निर्देशक कथा अगाडि बढाउँदैनन् । यस्तो रिक्ततामा पनि पट्यारचाहिँ लागिहाल्दैन । बाबुरामको हुलिया, हाउभाउ, प्रेमाभिव्यक्ति, बोलीचाली, रिस आदिले ‘रिफ्रेस’ गराउँछ । प्रसादमा प्रशस्त हाँस्न पाइन्छ तर हँसाउने चक्करमा दृश्यको भाव तोडमोड गरिएको छैन । जाति–प्रथाविरुद्ध नारायणी प्रगतीशील र निर्भीक लाग्छिन् । तर बलात्कारका सवालमा चाहिँ उनको विद्रोहीपना एकाएक लोप हुन्छ । यहाँ आएर नारायणीको चरित्रले पूर्ण न्याय पाएको छैन । फिल्ममा जेलाई प्रसाद  मानिएको छ, त्यो अनुसरणयोग्य छ त ? निर्देशक र लेखकसामु तेर्सिने पेचिलो सवाल हो यो । बलात्कारका सन्दर्भमा अपेक्षाकृत सामाजिक चेत देखिएन । बलात्कारविरुद्ध सर्वथा विद्रोह हुनुपर्छ ।

मौलिक कथा र कथावाचनलाई आत्मसात गरेकाले प्रसाद  सम्झनलायक बनेको छ । यो निर्देशक राउतको करिअरकै उत्कृष्ट फिल्म हो । कम्तीमा उनले संवेदनशील विषयमाथि सार्थक फिल्म बनाउने प्रयत्न गरेका छन् । प्रसाद  उनको पाँचौँ फिल्म हो । सोही अनुपातको निपूणताचाहिँ अझै झल्किएको छैन । हाम्रै समाजको यथार्थलाई सिर्जनात्मक ढंगले पस्केकाले केही कमजोरीसहित लेखक सुशील प्रशंसाका हकदार बनेका छन् ।

विपिन कार्कीले बाबुरामलाई आन्तरिक र बाह्य दुवै ढंगले जीवन दिएका छन् । उनको अभिनय ‘लाउड’ हुन्छ भन्नेहरूका लागि मुखमा बुजो हो यो फिल्म । नारायणी बन्न नम्रता आफैँमा उपयुक्त कलाकार होइनन्, यद्यपि पात्रलाई सजीव बनाउन उनको यथासक्य प्रयास देखिन्छ । उनले लगाएको ‘वीग’ले बिझाइरहन्छ । निश्चल बस्नेतचाहिँ प्रसादका ‘मिस कास्ट’ हुन् । शान्त र मायालु बाबुरामको जोडीबीच एक्कासि रमेश आउँदा ‘गाँसमा ढुंगा भेटिए’ जस्तो हुने रहेछ । विपिन र नम्रताको चरित्रभित्र अनेक तह छन् । आन्तरिक द्वन्द्व छ तर निश्चल सतही र निरस लाग्छन् । ‘लै लै...’ गीत कर्णप्रिय छ । राजेश श्रेष्ठको खिचाइ दृश्यभावअनुकूल छ । स्वरांकनमा कतै–कतै समस्या छ । सम्पादनका क्रममा १० मिनेट जति छोट्याइएको भए फिल्म कसिलो हुन्थ्यो ।

अर्गानिक फिल्मका पारखीलाई प्रसाद  प्रिय लाग्छ । आफ्नोपन भेटिन्छ । विपिनकै लागि भए पनि प्रसाद नछुटाउँदा हुन्छ । तर अनेक मसला खोज्नेहरूचाहिँ निराश हुन्छन् । 

प्रकाशित: मंसिर २१, २०७५