सेतो ढुंगाको किस्सा

- कमल कोइराला

बाजे कृष्णप्रसाद कोइरालासँग कति पटक भेट भयो, मलाई यकिन छैन । किनभने म पाँच वर्षको छँदै उहाँ बित्नुभयो । फागुन १९९९ मा भारतीय समाजवादी नेता जयप्रकाश नारायण र राममनोहर लोहियालाई विराटनगरस्थित कोइराला निवासमा राखेको आशंकामा त्यतिबेलाका बडाहाकिम सोमशमशेर जबराको निर्देशनमा खानतलासी गरिएको सम्झिन्छु । प्रत्येक कोठा खानतलासी गर्दा जयप्रकाश नारायणको हस्ताक्षरमा बीपी कोइरालालाई दिइएको दुई–तीनवटा किताबबाहेक केही भेटिएन ।

घरमा केही नभेटिए पनि कृष्णप्रसादलाई विराटनगरदेखि वीरगन्जसम्म बयलगाडामा अड्डासार गर्दै त्यतिबेलाको नेपाल गभर्मेन्ट रेलवेबाट वीरगन्जदेखि अमलेखगन्जसम्म पुलिसको पहरामा पुर्‍याइयो । त्यसपछि फेरि भीमफेदीमा चिसापानीगढीका हाकिमलाई बुझाइयो । काठमाडौँसम्मको त्यो २२ दिने पुलिस निगरानीसहितको यात्रामा छोरा तारिणीप्रसाद पनि कृष्णप्रसादको रेखदेख र सेवामा खटिनुभएको थियो । पिताजी कृष्णप्रसादसँगै महन्थी केवट पनि सेवकका रुपमा आएका थिए ।

कृष्णप्रसाद काठमाडौँ आइपुग्दा छोरा मातृकाले कालीमाटी पुगेर भेट्नुभयो । त्यतिबेला पिताजी कृष्णप्रसादलाई चिनजानका मित्र भेटनारायण श्रेष्ठको पाखो पोखलड्याङ (हालको न्युरोड) स्थित घरमा नजरबन्द राखियो । त्यो घरचाहिँ भेटनारायणले राणाजीको छोरी भगाएको कसुरमा जफत गरिएको थियो । पिताजीलाई नजरबन्दमा राखिएको घरमा श्रीमतीहरुसँगै बस्न अनुमति दिइएको थियो । नातागोता भेट्न, हिन्दी/अंग्रेजी पत्रिका पढ्न पनि छूट थियो ।

नजरबन्दमा राखेको घरमा भेट्न आउनेसँग ‘राणाहरुले थुनेका छन्, खान पनि दिँदैनन्’ भन्नुभएछ कृष्णप्रसादले । त्यसको पोल तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरकहाँ कसैले पुर्‍याइदिएछ । जुद्धशमशेरले जंगिएर भनेछन्– ‘काठोलाई झन् मान गरेर नजरबन्द राखेको त खान दिएनन् भन्दो रहेछ । हाल्दिनू जेलमा ।’ त्यसपछि उहाँलाई सेन्ट्रल जेल सारियो । तर मैले आमासँग गएर बागमती उत्तर किनारको जुद्ध धर्मशालामा उहाँलाई भेटेको थिएँ ।

बाबा मातृकासित घट्टेकुलोको डेरामा बस्दा म सानै थिएँ । एक प्रकारले स्मरणशक्ति बल्ल सुरु भएको थियो । सायद बहिनी सविता सानै भएकाले बाबा हाम्रो साथ जानुभएन । घट्टेकुलोबाट डिल्लीबजार, बागबजार, वीर अस्पताल अगाडि हुँदै त्रिपुरेश्वर बागमती किनारको पिताजी कृष्णप्रसादलाई राखिएको घर पुगेको हुनुपर्छ । तर त्यो बाटोको राम्ररी सम्झना छैन । आमाले मलाई अगाडि लगाउँदै बागमती किनारमा पर्ने खुला ढोकाबाट सिँढी चढाउनुभयो । यो घटनाचाहिँ विसं २००० तिरको हो ।

जुद्ध धर्मशालास्थित कोठा मैले कहिल्यै देखेको थिइनँ । चारैतिर आँखा दौडाएँ । पूर्व–पश्चिम लामो र उत्तर–दक्षिण चौडा थियो त्यो कोठा । काठकै फलेकमा गुन्द्रीहरु जोडेर बिछ्याइएको थियो । त्यहाँ तीनवटा साना–साना बिछ्यौना पनि थिए । कोठाको पश्चिमपट्टिको भित्तामा काठको खुटी थियो । काठको खुटीमा पुलिस (त्यतिबेलाको रामदल) ले लगाउने रातो फेटा टाँगिएको थियो । दिउँसो भएकाले होला, पुलिस थिएन । सायद सहर घुम्न गएको थियो कि !

आमाले ससुरा कृष्णप्रसादलाई भुइँमा निधार टेकेर ढोग गर्नुभयो र मलाई पनि त्यसै गर्न भन्नुभयो । मैलेचाहिँ गोडै समाएर ढोगेँ । त्यस दिन आमाका साथ लामो बाटो तय गर्दा मैले सडकको एउटा सानो सेतो ढुंगा टिपेर हातमा राखेँ । मैले हातमा टिपिराखेको त्यो ढुंगा देखेर पिताजीले भन्नुभयो, “त्यो ढुंगो मलाई दे तेरो चिनो ।”

मैले आमाले ढुंगो खोसेर बाजेलाई दिनुहुन्छ भन्ठानी मुठी बन्द गरेँ । आमाले भन्नुभयो, “दे पिताजीलाई त्यो ढुंगो । तँलाई माया गरेर मागेको । फर्किंदा फेरि बाटोमा अर्को टिप्नू ।” आमाको करबलका अगाडि केही लागेन । मैले त्यो ढुंगा पिताजीलाई दिएँ ।

बाजेका सबै दाह्री सेतै र झुसे थिए, राणाको कैदी जीवन व्यतीत गरिरहेको भएर होला । त्यस समय दाजु विमल र म उहाँ (कृष्णप्रसाद) का छोराहरुका तर्फका जम्मा दुई नाति थियौँ । छोरी नलिनी दिदी (फुपू) का छोराद्वय विनय र शैल दाजु काली बाबु (कालीप्रसाद उपाध्याय, जो नेपालका पहिलो महान्यायाधिवक्ता) का साथ त्यस समय भारतको पटना वाहामा बस्नुहुन्थ्यो । यसो भएको हुँदा सँगै बस्ने नातिहरुप्रति पिताजीको लगाव बढी हुनु स्वाभाविकै हो ।

पिताजीलाई भेटेर म दुई–तीन दिनमै विराटनगर गएँ सायद । सोच्छु, थुनाबाट जीवितै फर्किएको भए सायद उहाँले त्यही ढुंगा देखाउँदै भन्नुहुन्थ्यो होला, “हेर, तैँले दिएको चिनो मैले कति जतनसाथ राखेको छु ।”

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: मंसिर २१, २०७५

ट्याग: स्मरण