छोरो मारियो, घर ठडियो

नोटबुक

- गोकर्ण गौतम

मिस्त्री काम गर्ने भीमदत्त नगरपालिका, भगतपुरका सन्नी खुना, १४, ठेकेदारसँग पैसा लिन बजार गएका थिए, ८ भदौमा । निर्मला पन्तको हत्यारा खोजीको माग गर्दै आन्दोलन चर्किरहेको थियो । सन्नीले खासै ख्याल गरेनन् । नाराजुलुसबाट यताउता भाग्न खोज्दै थिए, प्रहरीले चलाएको गोली लागेर ढले । अस्पताल पुर्‍याउँदा–नपुर्‍याउँदै मृत्यु भयो । अर्थात्, एउटी बालिकाको हत्यारा पत्ता नलाग्दै राज्यबाट अर्को ‘हत्या’ भयो । तर त्यसयता सन्नीबारे कहीँ–कतै केही सुनिएको छैन ।

२ मंसिरमा सन्नीको घर पुग्यौँ । उनका बुबा वीरबहादुर खुना असिनपसिन थिए । नयाँ मान्छे देख्नासाथ वीरबहादुरले चाल पाइसक्छन्, छोराकै कुरा गर्न आएको हो । कुराकानीको सुरुआत उनले नै गरे, “छोरो गोली लागेर मरेछ । तर प्रहरीले जानै दिएन । शव भोलिपल्ट मात्र देखेँ ।” के गर्नु, कसलाई भन्नु !

लगत्तै सन्नीलाई सहिद घोषणा गरियो । पीडित परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेशले ५ लाख र नगरपालिकाले ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए । नगरपालिकामा हेल्परका रुपमा कार्यरत वीरबहादुरले करुण स्वरमा भने, “हामीले मागेका होइनौँ, उनीहरुले नै दिने घोषणा गरे । केही भनेनौँ । के भन्नु, छोरो त मरिसकेको थियो ।”

मुक्त कमैया वीरबहादुरको परिवारले नगर विकासबाट साढे चार धुर घडेरी पाएको थियो । पहिले त्यहाँ झुप्रो थियो । क्षतिपूर्ति रकमले अहिले पक्की घर बनाउँदै छन् । जग हालिसके । तर प्रदेश सरकारले दिने भनेको ५ लाख हात परेको रहेनछ । वीरबहादुर भन्दै थिए, “आउँछ–आउँछ भन्छन् तर कहिले आउँछ, थाहा छैन ।”

हेडमास्टरको हैरानी

निर्मला पन्तको घर सामुन्ने छ, सरस्वती माध्यमिक विद्यालय । त्यहीँ पढ्ने निर्मला मेधावी थिइन् । १० साउनमा उनको शव भेटियो, निम्बुखेडाको उखुबारीमा । स्कुलबाट मुस्किलले डेढ किलोमिटर पर । चार महिना बित्यो, हत्यारा समातिएका छैनन्, जसको छटपटी र बेचैनी विद्यालयमा समेत परेको छ ।

स्थानीय सहकर्मी भवानी भट्टसहित मंसिर पहिलो साता विद्यालय पुगियो । प्रधानाध्यापक जगन्नाथ पाण्डे गुनासो गर्दै थिए, “जति सम्झाए पनि विद्यार्थीबाट त्रास भगाउन सकिएन ।” ९ कक्षामा निर्मलालाई विज्ञान विषय पढाउँथे पाण्डे ।

विद्यालयमा भगतपुरबाट समेत विद्यार्थी आउँछन्, त्यही उखुबारी छिचोलेर । अर्को बाटै छैन । तर उखुबारी भयको प्रतीक बनेको छ । विद्यार्थीहरु एक्लै आउन डराउँछन् । उक्त घटनापछि ११ कक्षाको नयाँ भर्ना खुले पनि विद्यार्थी संख्या घट्यो । अन्य कक्षाका लागि बिहान वा साँझमा कोचिङ कक्षा सञ्चालन गर्न पनि कठिनाइ पर्‍यो । कसरी विद्यालय आउने ? पाण्डे भन्दै थिए, “अपराधी पत्ता नलाग्दा यही कतै छ, हामीलाई पनि त्यस्तै गर्छ भन्ने डर देखिन्छ, छात्राहरुमा । अभिभावकमा पनि आफ्ना सन्तान सुरक्षित छन् भन्ने आत्मविश्वास छैन ।” यही अवस्था जारी रहे आउँदो शैक्षिक सत्रमा अन्य कक्षामा पनि विद्यार्थी घट्ने र नतिजा पनि खस्किने पिरलोमा छन्, हेडमास्टर ।

स्कुल र निर्मलाका साथीलाई परेको यो संकट सरकारलाई बोध होला ?

सिजनमै सुक्खा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमै छ, शुक्लाफाँटा जंगल कटेज । ३ मंसिरमा यहीँ पुगियो तर सुनसान । विदेशी पाहुना मात्र थिए । सफारीका लागि गाडी ‘रिजर्भ’ गर्न आठ जना चाहिने । तर दुई जना मात्र भयौँ । साढे चार घन्टा घुमियो । ड्युटीमा खटिएका नेपाली सेनाका जवानबाहेक अन्य घुमन्ते भेटिएनन् । पर्यटक त शून्यजस्तै । मैले जिज्ञासा राखेँ, बेमौसमी सफारी परेछ ! कटेज सञ्चालक परमानन्द भण्डारीले जवाफ फर्काए, “होइन, यो त सिजनै हो ।”

एसियाकै सबैभन्दा ठूलो घाँसेमैदान छ, शुक्लाफाँटामा । मृग प्रजातिको १२ सिंगे जरायोको बथान देख्न पाइन्छ । पाटेबाघ, चितुवा, चित्तल, पानीबिरालो पनि छन् । हात्ती सफारी व्यवस्था  छ । ‘बर्ड वाचिङ’ का लागि उर्वर मानिने रानीताल पनि छ । ३ सय ४० प्रजातिका चरा छन् यहाँ । दुर्गम पनि होइन, महेन्द्रनगर बजारबाट ६ किलोमिटर दूरीमा ।

व्यक्तिगत सवारी साधन नभए पनि १ सय रुपैयाँमा अटोरिक्साले पुर्‍याइदिन्छ । सफारी मार्गमा खासै खाल्डाखुल्डी छैनन् तैपनि आन्तरिक र बाह्य पर्यटकको खडेरी । पाँच वर्षदेखि यहाँ होटल चलाइरहेका भण्डारीले भने, “महेन्द्रनगर र धनगढीकै १० प्रतिशत मान्छे घाँसेमैदान पुगेका छैनन् । अरुको के गर्नु ?” सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको छ । नेपाललाई वन्यजन्तु पर्यटनको ‘हब’ बनाउने ठूल्ठूला गफ सुनिन्छ । पारा छ यस्तो !

प्रकाशित: मंसिर २०, २०७५

ट्याग: नोटबुक