१५ वर्षमै ‘आतंकवादी’

- कमल कोइराला

काशीवासी बज्यै राज्यलक्ष्मीको हातबाट दसैँको टीका थाप्न बनारस पुगेका रहेछन्, मातृका । टीका लगाएर दसैँको भोलिपल्ट हिँड्ने सोचमा थिए । बनारसमै बज्यैसँग बसेर पढाइलाई निरन्तरता दिइरहेका बीपी र मातृका राती एउटै कोठामा सुतेका रहेछन् । एकाबिहानै घरभित्र हूलका हूल पुलिस पसे ।  कोठामा पुलिस पसेपछि दाजुभाइले एकछिन हेराहेर गरे । कतै केही बिगार पनि नगरेका । पुलिसले सबै ठाउँ तलासी लिए तर केही पाएनन् । तैपनि, पुलिसले दाजुभाइलाई पक्राउ गरी हतकडी लगाएर कोतवाली (बनारस सहरको मुख्य प्रहरी कार्यालय) पुर्‍याए ।

पक्राउको कारण पटनामा सदाकत आश्रममा बसेर भारतीय कांग्रेसको काम गरेको सिलसिलाबारे केही सोधपुछ होला भन्ने सोचेछन् मातृकाले । तर, कोतवाली पुगेपछि मात्र थाहा भएछ, आतंकवादी काम गरेको, डकैती र हत्यामा सामेल भएको, ब्रिटिस सम्राट जर्ज पाँचौँविरुद्ध विद्रोह गरेको जस्ता गम्भीर र मृत्युदण्डसम्म हुन सक्ने कानुनको अधीन रही पक्राउ गरिएको रहेछ । त्यो कुरा बिहार पुलिसको गुप्तचर विभागको गोप्य सूचनाबमोजिम गरिएको थियो ।

सन् १९२९/०३० तिरको प्रसंग हो । त्यतिबेला मातृकाको उमेर १८ र बीपीको साढे १५ वर्ष मात्रै थियो । आलोकाँचो उमेरमै स्वतन्त्रताका लागि ब्रिटिस शासकविरुद्ध भारतीय नेतालाई साथ दिएको समय थियो । बीपीलाई भारतीय फौजदारी कानुनले नाबालक मान्थ्यो । त्यसैले नाबालक थुन्ने कोठामा थुन्नुपर्ने भयो ।

कोइराला दाजुभाइलाई बिहार पुलिसको गोप्य सूचनाअनुसार जेल लैजाँदा बनारसका सबै प्रसिद्ध नेताहरु जेलमै थिए । सम्पूर्णानन्द, जो पछि उत्तरप्रदेशको मुख्यमन्त्री भए । श्रीप्रकाश, जसले भारत स्वतन्त्र भएपछि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले काठमाडौँ पठाएर श्री ३ पद्मशमशेरको सुधारको मस्यौदा गर्न सघाएका थिए । उनीहरुलगायत धेरै नेताहरुसँगै मातृकालाई राखियो । तर, बीपीलाई भारतीय कानुनले नाबालक ठान्ने हुँदा नाबालकलाई थुन्ने कोठा (जुभेनाइल वार्ड) मा राखियो । नाबालकलाई थुन्ने कोठा पनि भारतीय राष्ट्रिय कांग्रेसको बाँदर सेना (त्यतिबेला भारतीय स्वतन्त्रताको पक्षमा नाराजुलुस गर्दा पक्राउ परेका नाबालकहरुलाई भनिन्थ्यो) पहिले नै भरिभराउ थियो ।

भारतीय स्वतन्त्रता संग्रामका लागि बालक, वृद्ध, तन्नेरी सबै एकजुट भएका थिए । उनीहरुको एउटै लक्ष्य भारतबाट अंग्रेज शासक लखेटेर आफ्नै शासन/प्रशासन चलाउने थियो । बीपीलाई खाली कोठामा एक्लै थुनियो । कोठा फोहोर र अत्यन्तै अव्यवस्थित । जेलमा रहेका बन्दीले खानाका लागि कोठाबाहिरको एउटा प्वालबाट आफन्त वा प्रहरीले छिराइदिए मात्र खान पाइने ।

केही समयपछि दाजुभाइलाई नै बिहारको मोतीहारी रेलबाट लगियो । रेलवे प्लेटफर्ममा स्वामी श्रद्धानन्द नामका प्रतिष्ठित किसान नेता थिए । उनले दाजुभाइलाई फलफूल खान दिए भने भारतीय स्वतन्त्र संग्राममा लागेकाले औधि सम्मान दर्शाए । स्वामी पनि सोही रेलमार्फत कतै जाँदै थिए । भारत स्वतन्त्र र ब्रिटिस शासनको रजगज अन्त्य गर्न जारी संघर्षमा साथ दिनेहरुलाई त्यस समय भारतीय जनताले ठूलो सम्मान दर्शाउँथे । स्वतन्त्रताका पक्षमा लडाइँ लड्ने त्यो पनि बालक, बीपीहरु नायक भइसकेका थिए । भारतीयले उनीहरुप्रति अत्यन्तै श्रद्धाभाव व्यक्त गर्थे ।

भारतको छपरा रेल स्टेसनमा उत्तर प्रदेश पुलिसले बिहार पुलिसलाई हस्तान्तरण गर्दै थियो । त्यहाँ ठूलो भीड जम्मा भयो दाजुभाइलाई हेर्न । उनीहरुको समर्थनका लागि जम्मा भएका केही महिलाले भन्न थाले– कलिला राम/लक्ष्मण (मातृका र बीपी) लाई पुलिसले पक्रिएर थुन्न लैजाँदै छ, देशको स्वतन्त्रताका लागि । यिनीहरुलाई जसरी पनि जेलबाहिर ल्याउनैपर्छ । ब्रिटिस साम्राज्यवाद अन्त्यका लागि भारत स्वतन्त्रताका पथमा लड्नेहरुलाई जनताले साथ दिएको समय थियो त्यतिबेला ।

बिहार पुलिसले भारतको मोतीहारी सहर ल्याइपुर्‍याएपछि कोइराला दाजुभाइमाथि मुद्दा चलाइयो । त्यतिबेलै भारतीय कांग्रेसका स्थानीय नेताहरुले २/३ सय केटाकेटीको संख्या जोरजाम गरे । संख्या भेला गर्नुको उद्देश्यचाहिँ त्यहाँ सनाखत–परेडमा सामेल भएकाहरुमध्ये कसैले बीपीहरुलाई चिनून् भन्ने थियो बिहार पुलिसबाट छुटकारा मिलाइदिन । उनीहरुलाई एउटा वरपीपलको रुखमुनि चौतारामा बसाएर सरकारी साक्षी भनिएकाहरुलाई चिनाउन लगायो पुलिसले । तर, त्यहाँ भेला भएका कसैले पनि दाजुभाइलाई चिन्न सकेनन् । जेल बस्नुपर्ने भयो । केही महिनाको जेल बसाइपछि बिहार पुलिसले छाडिदियो ।

मातृका र बीपीबाबु दुवैले मलाई सुनाएको प्रसंग हो यो । भारतीय स्वतन्त्रता संग्राममा कोइराला परिवारले त्यसरी भारतीय नेता र जनतालाई पनि साथ दिएको अवस्था थियो ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: मंसिर २०, २०७५

ट्याग: स्मरण