चौँरीलाई चराउँदै दिन बित्छ...

- गणेश साम्पाङ

पाँचथर– फालेलुङ–५ का डिल्लीप्रसाद केरुङले सहयोगी नपाएपछि चौँरी गोठ छाडे । त्यहीँकै चन्द्रप्रसाद काफ्ले चौँरी गोठ बेचेर बिर्तामोडमा गाईपालन गर्दैछन् । अग्निप्रसाद साउदेनले पनि अर्को पेसा अपनाएका छन् । याङवरक–१ का गर्जमान गुरुङ चौँरी पालन छाडेर च्याङथापु बजारमा बोर्डिङ स्कुल चलाएर बसेका छन् ।

ताप्लेजुङको सिदिङमा–१ का कर्णबहादुर बानियाँ पनि चौँरीपालन छाडेर पाँचथरको याङवरक–२ फलैचा बजारमा किराना पसल चलाइरहेका छन् । चौँरीपालन त्यागेर अन्य व्यवसायमा लागेकाको संख्या इलाम, पाँचथर र ताप्लेजुङमा एक दर्जन छ । ती जिल्लाको हिमाली क्षेत्रमा वर्षौंदेखि परम्परागत रुपले पालिएका चौँरी संकटमा पर्दै गएका छन् ।

केही वर्षअघिसम्म पाँचथरमा ४० वटा चौँरी गोठ थिए । अहिले ३१ गोठ मात्र बाँकी छन् । त्यसमध्ये फालेलुङ गाउँपालिकामा २३ र याङवरकमा ८ गोठ मात्र छन् । फालेलुङ–५ का चौँरीपालक चन्द्रप्रसाद नेपाल भन्छन्, “चौँरी पालन व्यवसायमा फाइदा पनि राम्रै छ तर दु:ख छ । काम गर्ने मान्छे पाइँदैन । भएका युवा खाडीतिर छन् ।”

चौँरीपालन अन्य व्यवसायजस्तै सामान्य देखिए पनि मानव जीवन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ । घ्यू, छुर्पीलगायत दुग्ध परिकारका साथै हिमाली क्षेत्रमा सामान ढुवानीका लागि चौँरी पाल्ने प्रचलन छ । नेपालीले चौँरीलाई अझै चिन्न नसकेको चीनमा यससम्बन्धी अध्ययन भ्रमण गरेर फर्किएका फालेलुङ चौँरीपालक कृषक समूहका उपाध्यक्ष जंगप्रसाद राई बताउँछन् । भन्छन्, “चौँरीका सबै अंग–प्रत्यंगबाट आर्थिक लाभ लिन सकिँदो रहेछ ।”

हिन्दु, बौद्ध र किराँत धर्मावलम्बी सबैका लागि चौँरीको पुच्छर शुभ मानिन्छ । मन्दिर, गुम्बा माङहिम (लिम्बू जातिको मन्दिर), माङखिम (राई जातिको मन्दिर) मा पनि चौँरीको पुच्छर राख्ने चलन छ ।

भोटिया जातिको हरेक संस्कारमा चौँरीको रौँ र पुच्छर चाहिन्छ । किराँत, राईहरुको साकेला नाच, नेवारको लाखे नाचका लागि पनि चौँरीको पुच्छर अनिवार्य छ । फम्जु, उराङ जुक्पे, तोले आदि चौँरीका विभिन्न समूह छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाँचथरका अध्यक्ष रिन्जी शेर्पा भन्छन्, “चौँरी हराएर गए संस्कार, संस्कृतिसमेत नामेट हुन्छ ।”

चौँरीपालन व्यवसाय दैनन्दिन संकटमा पर्दै गएपछि गत वर्ष १ वैशाख ०७४ मा चौँरी महोत्सव आयोजना गरिएको थियो । बर्सेनि १ वैशाखमा महोत्सव गर्ने संस्थागत निर्णय भइसकेको फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रवद्र्धन समिति पाँचथरले जनाएको छ । समितिका उपाध्यक्ष शिल्पकुमार राईका अनुसार सिक्किममा चौँरी चढी व्यवसायलाई याक राइडर भनिन्छ । यो व्यवसाय गरेरसमेत उनीहरुले लाभ लिइरहेका छन् ।

चीन, भारत, भुटान र नेपालमा मात्र चौँरी पाइन्छन् । नेपालजस्ता हिमाली क्षेत्र संसारका धेरै देशमा छन् । तर चौँरी बाँच्न सक्ने वातावरण भएका देश भने कम छन् । त्यस्तो वातावरण खासगरी कञ्चनजंघा भूपरिधि वरपर मात्रै पाइन्छन् । त्यसैले इलाम, पाँचथर र ताप्लेजुङका चौँरीपालक व्यवसायीले हिमाली क्षेत्रमा पर्यटन प्रवद्र्धनसँगै संरक्षणको कामसमेत गरिरहेका छन् ।

“चौँरी हिमालको गहनासँगै यस क्षेत्रको पारिस्थितिकीय प्रणालीको महत्त्वपूर्ण प्राणी हो,” पाँचथरमा संरक्षण क्षेत्रमा सक्रिय संस्था दीपज्योति युवा क्लब फालेलुङका कार्यकारी अधिकृत सुनिल बान्तवा भन्छन्, “यो व्यवसाय आर्थिक उपार्जनको माध्यम पनि भएकाले चौँरी बचाउनु सबैको कर्तव्य हो ।”शब्द/तस्बिर : गणेश साम्पाङ

प्रकाशित: मंसिर २०, २०७५

ट्याग: दृश्य