रित्तो हात फर्किएका राजा

पुस्तक : एस्सेज अन नेपाल : पास्ट एन्ड प्रिजेन्ट | लेखक : साम कोवान |प्रकाशक : हिमाल किताब | पृष्ठ : ३६२ | मूल्य : ९९० रुपैयाँ

- विनोद सिजापति

अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत विनायक थापा बरोबर नेपालको इतिहास र राजनीतिको अनुसन्धानकर्ता एक गोर्खा फौजका पूर्वकमान्डर र ब्रिटिस सेनाका जर्नेलको चर्चा गर्थे । अवकाशपछि कुनै ब्रिटिस जर्नेललाई नेपालविज्ञ बन्ने रहर जागेछ भन्ने मेरो पूर्वाग्रहपीडित सोचले जर्नेल कोवानसँग भेट गर्ने अवसर गुमाएँ । तिनै जर्नेल लिखित पुस्तक पढ्दै गर्दा उनीसँग छलफल गर्न नपाएकामा पश्चात्ताप लाग्यो । चर्चित लेखकको पुस्तकप्रति सहज आकर्षण हुने नै भयो । मञ्जुश्री थापा तथा प्राध्यापक डेभिड गेल्नरले पुस्तकबारे राखेका टिप्पणी नै मेरा लागि पर्याप्त भयो ।

सर साम कोवान ब्रिटिस सेनाका अवकाशप्राप्त चारतारे जर्नेल हुन् । सन् १९६३ मा बेलायती सेना प्रवेश गरेका कोवान विभिन्न कालखण्डमा पूर्वगोर्खा सैनिकको हित तथा कल्याणमा आबद्ध रहेर सेवा गरे । लेखकको प्रथम नेपाल भ्रमण सन् १९६६ मा भएको थियो । दोस्रो भ्रमणका निम्ति भने तिनले २३ वर्ष (सन् १९८९) कुर्नुपरेको थियो । दोस्रो भ्रमणपछि उनी वर्षैपिच्छेजसो नेपाल आउन थालेका हुन् । तिनी सन् २००२ देखि नेपालसम्बन्धी अध्ययन र अनुसन्धानमा डुबेका छन् । नेपालप्रति तिनको सद्भाव र ममता पुस्तकमा प्रचुर रुपमा झल्किएको छ । अनुशासित अनुभवका कारण पुस्तक भावनाप्रधान नभएर यथार्थपरक बनेको छ । पुस्तक पूर्वाग्रहपीडित छैन ।   

लेखकले भूमिका खण्डमा १९ वटै निबन्धहरुको संक्षिप्त परिचय पस्किएका छन् । तिनको यो विधिले पाठकलाई आफ्नो अभिरुचिअनुरुपका विषयलाई मात्र पढ्ने सुविधा छ । समय अभावमा पनि पहिलो अध्यायको इन्द्रेणी स्वाद पाठकका लागि यथेष्ट हुन सक्छ । तर प्रारम्भिक खण्ड पढेपछि पुस्तक छाड्न भने कठिनै हुन्छ ।

विदेशीहरुले नेपाल विषयमा लेखेका अधिकांश पुस्तक विषयगत तथा भौगोलिक क्षेत्रका कुनै एक विषयमा केन्द्रित हुने गरेकामा यस पुस्तकले भने पदयात्रा, भौगोलिक विविधता, ऐतिहासिक, सैनिक, राजनीतिक, मानविकी तथा सामाजिक विषय, मौलाउँदो भ्रष्टाचारजस्ता विषयलाई समेटेको छ।

प्रत्येक निबन्ध सूक्ष्म अनुसन्धानका आधारमा गरिएको विश्लेषण तथा लेखकको विवेकको सम्मिश्रणका रुपमा प्रस्तुत गरिएको छ, जसले भावी अनुसन्धानकर्ताका निम्ति सन्दर्भ–सामग्री हुन सक्छन् । इतिहासको कुनाकाप्चामा लुकेर बसेका तथ्य तथा प्रमाणलाई कोवानले उत्खनन गरेर पस्केका छन् । खासगरी हाम्रो सीमा क्षेत्रमा हुने स्थानीयदेखि राष्ट्रिय स्तरका सीमा अतिक्रमणप्रति सरकार सचेत भएर भारतसँग संवेदनशील वार्ता गरेनौँ भने देशको केही भूभाग सदाका निम्ति गुम्ने जोखिम तिनले औँल्याएका छन् । उत्तरी सीमा क्षेत्रसम्बन्धी संवेदनशीलताप्रति अपनाउनुपर्ने सजगतालाई पनि तीन बुँदामा प्रस्ट्याएका छन्– एक, मुस्ताङमा चिनियाँ सेनाले ३ सय मिटर नेपाली सीमाभित्र प्रवेश गरेर एक सैनिक जवानको हत्या गरेको र अर्कोलाई घाइते तुल्याएको घटना । उक्त घटनालाई तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले राष्ट्रको साख उच्च राखेर गरेको सम्बोधनको विषयलाई लेखकले अत्यन्त प्रशंसा गरेका छन् ।

दुई, तिब्बतका खम्पा विद्रोहीहरुलाई अमेरिकी वैदेशिक गुप्तचर संस्था सीआईएले तीन खेप हर्कुलस जहाजमा हतियार उपलब्ध गराएको घटना । तिनले प्रधानमन्त्री कीर्तिनिधि विष्ट नेतृत्वको सरकारले भारतीय सैनिक चेकपोस्टका सम्बन्धमा भारतलाई नचिढ्याएको प्रसंगलाई पनि लेखकले प्रशंसा गरेका छन् ।

तीन, दुई ब्रिटिस पत्रकार जर्ज पेटरसन तथा एन्द्रियन कोयलले सन् १९६४ मा नेपाली सुरक्षा संयन्त्र तथा भारतीय चेकपोस्टका सैनिकको आँखामा छारो हालेर तिब्बतभित्र गई खम्पा लडाकूले चिनियाँ सैनिकमाथि गरेको आक्रमणको तस्बिर खिच्न भ्याएको घटना । 

पुस्तकमा अन्य दुई खण्ड छन्– एक, माओवादी युद्धको सिंहावलोकन । दुई, चन्द्रशमशेर र राजा महेन्द्रद्वारा गरिएको बेलायत भ्रमण । यी दुई विषयमा लेखकले पस्किएका वास्तविकता समीक्षकले अन्त कतै भेटेका थिएनन् । त्यसकारण यी विषयको छोटो विवेचना सान्दर्भिक हुने विश्वास तल प्रस्तुत गरिएको छ ।

कोवानले माओवादी सशस्त्र द्वन्द्वको विषयमा चार निबन्ध समावेश गरेका छन् पुस्तकमा । यी निबन्धको महत्त्व भनेको सैनिक दृष्टिबाट सूक्ष्म विश्लेषण तथा निक्र्योल हुन् । एक दशक लामो माओवादी सशस्त्र द्वन्द्व विषयमा झन्डै दुई दर्जन पुस्तक र अनगिन्ती लेख प्रकाशनमा आइसकेका छन् । त्यस्ता पुस्तक र लेखमा सशस्त्र विद्रोहको उठान र अवतरणका राजनीतिक, कूटनीतिकदेखि सामाजिक, आर्थिक, मानविकी तथा मानवीय पक्षलाई समावेश गरिएको पाइन्छ ।

मैले हालसम्म उक्त द्वन्द्वका विषयमा सैनिक पक्षलाई सम्बोधन गरेको केवल दुई पुस्तक भेटेको छु । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लिखित इतिहासका रक्तिम पाइला (२००७) लाई सुशील भट्टराईले रेड स्ट्राइडस अफ हिस्ट्री  (२००८) नाममा अंग्रेजी उल्था गरेका छन् । दोस्रो पुस्तक भारतीय सेनाका मेजर जर्नेल अशोक मेहता लिखित रोयल नेपाल आर्मी : मिटिङ दी माओइस्ट च्यालेन्ज (२०१२) । अन्यथा, उक्त दस वर्षे सशस्त्र द्वन्द्व केवल युट्युबमा माओवादीले राखेका भिडियो फुटेज मात्र हुन् । कमान्डर पासाङको पुस्तक आ–आफ्ना कमरेडहरुको वीरगाथाले भरिपूर्ण छ ।

पुस्तक पढिसक्दा पाठकलाई कमान्डर पासाङ भियतनामका पूर्वराष्ट्रपति एवं भियतनाम लडाइँको ‘हिरो’ का नेपाली संस्करण भएको आभास मिल्छ । पुनको पुस्तकमा वर्णन गरिएका युद्ध मोर्चाका गतिविधिबाट माओवादीले अपनाएका रणनीतिका विषयमा लख काट्न सकिन्छ । अशोक मेहताको पुस्तक त केवल नेपाल आर्मीका जर्नेलहरुको मनोबल घटाउन र भारतीय सेनालाई नेपाल पस्न उकास्ने किसिमको देखिन्छ ।

मलेसियामा कम्युनिस्ट गुरिल्लाहरुको लडाइँमा प्रत्यक्ष अनुभव संगालेका लेखक कोवानले माओवादी र नेपाली सेनाले अख्तियार गरेको रणनीतिको सैनिक र मानवीय पक्षको सूक्ष्म विश्लेषण गरेका छन् । दुवै पक्षको कमजोरी र सबल पक्षको तिनले मूल्यांकन गरेका छन् । तिनको निक्र्योलअनुसार सेनाको सबैभन्दा ठूलो कमजोरी– नागरिकलाई सुरक्षा दिनुको साटो माओवादीबाट भएका ज्यादतीसँग सेनाबाट गरिएका कानुनी प्रावधानको उल्लंघनका घटनालाई दाँज्नु हो । नागरिकको तन र मन जित्ने नीति अख्तियार गर्न नसक्नुलाई तिनले सेनाको सबैभन्दा कमजोर पक्ष ठहर गरेका छन् । लेखकको अघोषित मत अमेरिकी, बेलायती तथा भारतीय सहयोग, प्रविधि तथा हतियारद्वारा सुसज्जित हुँदाहुँदै पनि नेपाली सेनाले माओवादीविरुद्ध विजय हासिल गर्नु त परै जाओस्, नियन्त्रण गर्न नसक्नुको प्रमुख कारण जनसाधारणको मनमस्तिष्कमा विजय पाउनुको साटो उनीहरुउपर शत्रुवत व्यवहार गर्नाले हो भन्ने बुझिन्छ । राष्ट्रबाट सुरक्षित नहुँदा विकल्पहीन भएर जनसाधारण माओवादीको समर्थनतर्फ आकर्षित भएको भन्ने तर्क उनले अघि सारेका छन् ।

हाम्रा सुरक्षा निकाय खासगरी नेपाली सेनाले एक दशक लामो युद्धकालको मूल्यांकन गरेकै हुनुपर्छ । माओवादीविरुद्ध अपनाएको रणनीतिमध्ये कुन कुन सफल थिए, कुन थिएनन्, त्यसको निष्पक्ष अध्ययन भएकै हुनुपर्छ । त्यस्तो दस्तावेज सायद राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषय भएको हुनाले सरकारले जनसमक्ष प्रस्तुत नगरेको हुन सक्छ । तापनि सरकारले आफ्नो सुरक्षा नीतिको मूल्यांकन गर्न जर्नेल साम कोवानको विश्लेषण तथा सुझाव राष्ट्रिय सुरक्षाकर्मी तथा योजनाकारका निमित्त उपयोगी सावित हुन सक्छन् ।

चन्द्रशमशेर र राजा महेन्द्रको बेलायत भ्रमणको प्रस्तुति पुस्तकका महत्त्वपूर्ण पाटा हुन् । दुवै भ्रमणलाई लेखकले पस्कनुको पछाडि हाम्रा मुलुकको दुई चर्चित शासकको व्यक्तिगत चरित्र तथा कूटनीतिक दक्षता उजागर गर्न खोजेको आभास मिल्छ । चन्द्रशमशेरले कसरी ब्रिटिस भारत ‘भायसराय’ लर्ड क्रुजो जो त्यसकाल खण्डका निम्ति शासक नै थिए, तिनीसँग कसरी मैत्री सम्बन्ध स्थापित गर्न सफल रहे तथा उक्त सम्बन्धबाट मुलुकलाई तिनले पुर्‍याएको योगदान उल्लेख गरिएको छ ।

चन्द्रशमशेरको बेलायत भ्रमण सन् १९०८ मा भएको थियो । राजा महेन्द्रको राजकीय भ्रमण चन्द्रशमशेर भ्रमणको ५२ वर्षपछि अर्थात् सन् १९६० मा भएको थियो । भ्रमणका क्रममा दुवै विख्यात अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए । उक्त विश्वविद्यालयले चन्द्रशमशेरलाई नागरिक कानुनको मानार्थ विद्यावारिधि उपाधिबाट विभूषित गर्‍यो । राजा महेन्द्रलाई पनि त्यस्तै मानार्थ पीएचडी पाउने महफ्वाकांक्षा थियो । अक्सफोर्डले कुनै मानार्थ उपाधि राजा महेन्द्रलाई पनि देओस् भन्ने मनसाय बेलायती सरकारको थियो । तर उक्त विश्वविद्यालयले बहानाबाजी गरेर राजालाई रित्तो हात फर्कायो । चन्द्रको भ्रमण सफल तुल्याउन उनको क्रुजोसँगको मित्रताले ठूलो भूमिका खेलेको पुष्टि हुन्छ । राजा महेन्द्रको पनि ब्रिटिस गोर्खा पल्टनको मेजर डडले स्पेनसँग घनिष्ट सम्बन्ध थियो । तर मेजर स्पेन लर्ड भायसराय क्रुजोजस्तो न शक्तिशाली थिए, न प्रभावकारी नै ।

पुस्तकमा समावेश गरिएका सबै निबन्ध खँदिला छन् । भ्रमणगाथा रमाइलो र ज्ञानवद्र्धक छ । सामेल गरिएका कतिपय विषय विगतमा प्रकाशमा आएका थिएनन् । आएकामध्ये पनि कति लुकेर बसेका थिए । बेलायती संग्रहालय धाएर  लुकेका ऐतिहासिक दस्तावेज खोजेका मात्र होइन, लेखकले निषेध गरेका कति सामग्रीलाई कानुनी प्रक्रियाबाट उत्खनन गरेर प्रकाशमा ल्याएका छन् । पुस्तकमार्फत लेखकले हाम्रा विगत र वर्तमानका धेरै आयाम प्रस्तुत गरिदिएका छन् । नेपालसम्बन्धी लुकाइएका अथवा प्रकाशनमा प्रतिबन्ध लगाइएका दस्तावेजलाई प्रकाशमा ल्याउन आफ्नो संघर्ष कायम रहने धारणा व्यक्त गरेका छन् लेखकले । कुनै दिन साम कोवानको अर्को पुस्तक त्यस्ता सामग्रीलाई समावेश गरेर प्रकाशित हुने अभिलाषा राखौँ ।

प्रकाशित: मंसिर २०, २०७५

ट्याग: पुस्तक