खाना र एकता

- सुरेश किरण

नयाँ युग अब कांग्रेसमा पनि आउलाजस्तो देखिन्छ । किनभने, नेतृ सुजाता कोइरालाले अस्ति आफ्नो निवासमा अन्य कोइरालाहरुलाई बोलाएर डिनर खुवाउनुभयो । कोइरालाहरु एकै ठाउँमा बसेर खाने काम गरेपछि नयाँ युग सुरु भइहाल्छ । खाने सवालमा यो कांग्रेसको पुरानै परम्परा हो ।

तथापि कांग्रेसका कोइराला बन्धुहरु एकै ठाउँ बस्न खान आएका हुन् वा खानकै लागि एकै ठाउँमा बस्न आएका हुन्, त्यो पर्दा भने अझै खुलिसकेको छैन । अहिले कोइराला बन्धुहरु एकै ठाउँमा बसेर खाए । जस–जसले खाए उनीहरु एक हुने भइहाले । जसले खान पाएका छैनन्, उनीहरु कसरी एक हुनु ? एक हुनलाई खान त पाउनुपर्‍यो नि । खानै नपाइने हो भने एकता किन ? अहिले एकताका लागि खाने काम गरिएको भए पनि वास्तवमा खानकै लागि एकता हुने हो । ‘खाना’ र ‘एकता’ बीच ठूलो समानता छ । अहिले खाएर एकता भएको छ । भरे खान पाएन भने त्यो एकता दिगो हुन सक्दैन । त्यसैले कांग्रेसमा सूत्रै छ– खानाका लागि दिगो एकता ! अहिले हुन लागिरहेको एकता त्यही खानका लागि होइन र ? 

प्रकाशित: मंसिर १९, २०७५

ट्याग: परिहास