उदाउँदा अभिनेता

- गोकर्ण गौतम

थाहा आन्दोलनका अभियन्ता रूपचन्द्र विष्टको बायोपिक बनेको छ, रुदाने । रुपचन्द्रको भूमिकामा छन्, दिव्यदेव पन्त, २९ । पहिलो फिल्ममै यति सशक्त चरित्र । त्यसैले पोस्टर सार्वजनिक हुँदा मात्र पनि दिव्यदेवतिर काफी नजर तानियो । रुदाने अर्को वर्ष प्रदर्शन हुँदैछ, दिव्यदेवचाहिँ यतिबेला कौसी थिएटरमा देखिएका छन्, नाटक सेम टाइम नेक्स्ट इयरमा । अंग्रेजी भाषाको यस नाटकमा दिव्यदेव जर्जको भूमिकामा छन् । नाटकले विवाहेत्तर सम्बन्धको कथा भन्छ । दिव्यदेवका साथ आकांक्षा कार्कीले अभिनय गरेकी छन् । निर्देशकचाहिँ चे शंकर ।

दिव्यदेवको शारीरिक कदजस्तै नेपाली थिएटरमा उनको छवि अग्लो छ । २२ अंग्रेजी नाटक मात्रै खेलिसके । यतिविघ्न अंग्रेजी नाटक खेल्ने नेपाली कलाकार सायदै कोही होला । हेम्लेट, सान्दाजुको महाभारतलगायतका नेपाली नाटक पनि खेले । गहकिलो स्वर दिव्यदेवको खास विशेषता हो । नाटकमा उनले सबैभन्दा बढी प्रशंसक आवाजबाटै कमाएका छन् । भन्छन्, “सानोमा रेकर्ड गरेर सुन्दा आफ्नो स्वर मन पर्दैनथ्यो तर अहिले रोजीरोटीको माध्यम नै स्वर बनेको छ ।” विभिन्न डकुमेन्ट्री, विज्ञापनमा ‘भ्वाइस ओभर’ मा दिव्यदेवको माग लोभलाग्दो छ । कम समयमै आकर्षक कमाइ हुने बताउँछन् उनी ।

रुदानेबाहेक दिव्यदेवले चिसो एस्ट्रे  र डाकिनीमा अभिनय गरेका छन् । तीनै फिल्म अर्को वर्ष रिलिज हुनेछन् । चुलिँदो उत्साह भएका उनको प्राथमिकतामा सधैँ नाटक पर्छ । ओस्कार फिल्म कलेजका ‘ड्रप आउट’ दिव्यदेव भन्छन्, “जता जे गरे पनि अभिनयबाट टाढा हुँदै हुन्न ।”

प्रकाशित: मंसिर १९, २०७५

ट्याग: रङ