रनवेमा पुरिएको बालक

- गनेस पौडेल

कुनै शनिबारको साँझपख तपाईंले देख्नुहुन्छ, गहुँबारीमा खेलेको बयेलीमा ताल मिलाउँदै नाचिरहेको छ एउटा बालक । ऊ बिल्कुल तपाईंजस्तै हुन्छ– वय, बानी, बान्की र बचपनामा । तपाईंले केटाकेटीमा लगाएजस्तै कुममा उध्रेको नीलो स्वेटर लगाएको छ उसले । तपाईंको जस्तै उसका गालालाई सर्दीले कट्कट्याएको छ । केटोलाई देखेपछि ३५ वर्षे तपाईंलाई आफ्नो बाल्यकालको सम्झनाले निचोरेर ल्याउँछ । आफूजस्तै गरी बतासको तालमा नाच्ने बालकलाई चिन्न मन लाग्छ र सोध्नुहुन्छ, “तिमी को हौ ?”

बालकले जवाफ दिन्छ, “म तपाईंको बाल्यकाल हुँ । अर्थात् म तपाईं नै हुँ । ऊ त्यो बारीको डिलमा बसेर केराउका कोसा छोडाउँदै, दाना चपाउँदै गरेको मान्छे देख्नुभो ? त्योचाहिँ अर्को तपाईं हो, तपाईंको बुढ्यौली ।”

मान्छेले कदाचित आफैँलाई भेट्यो भने के होला ? आफ्नै बाल्यावतार या वृद्धावतारसँग जम्काभेट भयो भने के गर्ला ? कुनै बेला मैले यस्तै कल्पना गरेर एउटा लामो कथा लेख्नेबारे सोचेको थिएँ । काटिकुटी यस्तै परिकल्पनाले बुनिएको ‘जंगबहादुरको खप्पर’ वाला चुट्किला सुनेपछि त्यो लेख्ने च्याँख मरेर आयो । छाडिदिएँ । आज यसै विषयमा एउटा निबन्ध लेखुँ कि भनेर सोचिरहेको छु । मेरा पाठक, यस्तो स्वैरकाल्पनिक निबन्ध लेख्दा अपनाउने कुनै तौरतरिका वा त्यसमा राख्न सकिने कुनै विशेष सर्दाम छ भने मलाई सुनाउनू है ! ठूलो सहयोग हुन्छ । मलाई यस्तो निबन्ध लेख्ने विचार आउनुका केही कारण छन् । अहिले म ती कारण र किस्साहरु बताउँछु । सुनेपछि तपाईंको मनमा अरु आइडिया पनि आउन सक्छ !

मुख्य कुरा गर्नु पहिले एउटा कुरा म सोझै भन्दिहालूँ– मैले आफ्नो बाल्यावतारलाई कुनै गहुँबारीको बयेलीमा नाचिरहेको भेट्नु सम्भवै छैन । न उसलाई कुनै चौतारामा बाघचाल खेलिरहेको देख्न सम्भव छ, न त उसलाई कुनै पोखरीमा ढड्याउन राखिएको सिमलको फलेकमा डुंगा खेलिरहेको अवस्थामा भेट्न नै । न म उसलाई कहिल्यै भेट्नेछु खलेगह्राको फुसको आगोमा अन्डा, आलु वा माछा पोलेर खाइरहेको अवस्थामा । यसको खास कारण सानो छ । त्यो स्वैरकल्पना यदि यथार्थमा सम्भव हुन्थ्यो भने पनि मेरो बाल्यावतार अहिले पोखरामा बन्दै गरेको विमानस्थलको रनवेमा पुरिएर बसेको हुन्थ्यो । रोडरोलरले थिचेको माटोको कुनै पत्रभित्र निस्सासिएर बसेको हुन्थ्यो । मरिसकेको पो हुन्थ्यो कि !

मेरो मनमा यस्तो असाध्य–विचारको बीजारोपण गर्ने मुख्य खलपात्र हुन्, शताब्दी पुरुष सत्यमोहन जोशी । महिना दिनअगाडि प्रात: भ्रमण हेतु म उनको घरअघिल्तिरको गल्लीमा हिँडिरहेको थिएँ, कुमार नगरकोटीको साथमा । अकस्मात एउटा मन–प्रश्न उब्ज्यो– यी बूढाले बाल्यकालीन काठमाडौँ उपत्यकालाई कसरी सम्झिँदा हुन् ? अनि मलाई त्यो ‘कसरी’ को उत्तर अनुमान गर्न निकै गाह्रो भयो ।

जसले तपाईंलाई कुनै स्मृतिमा लैजान्छन्, त्यस अवयवलाई अंग्रेजीमा मनुमेन्ट भनिन्छ । नेपालीमा स्मारक । जस्तो कि, पाटन कृष्ण मन्दिरको प्रांगणमा बिछ्याइएको कुनै ढुंगाको छपनीमा उभिएर जोशी बूढाले सोच्न सक्छन्, ‘म बच्चामा यही छपनीमा उभिएर परेवालाई चारा दिन्थेँ ।’ त्यसभन्दा अझ अतीतमा पुगेर उनले कल्पिन सक्छन्, ‘सायद मेरा हजुरबा पनि यही ढुंगामा उभिएर परेवालाई चारा दिन्थे ।’ त्यो अतीतबाट एक्कासि सुदूर भविष्यमा छलाङ मारेर उनी आशानुमान गर्न सक्छन्, ‘अबको हजार वर्षपछि पनि कुनै बालकले यही ढुंगामा उभिएर परेवालाई चारा दिनेछ ।’

थाहा छ– संसार परिवर्तनशील छ । सहर बदलिँदो छ । जीवनशैली फेरिँदो छ । तर केही न केही चीज यस्ता हुन्छन्, जो सदा दुरुस्त हुन्छन् । कथा र कायामा लगभग तन्दुरुस्त हुन्छन् । सहरमा यस्ता अपरिवर्तनशील कुरा धेरै हुनुपर्छ, जताततै छरिएर बसेका हुनुपर्छ । यिनै कुराले मान्छेलाई पुस्ता–पुस्तासम्म जोड्ने काम गर्छन् । मान्छेलाई स्मृतिमा फर्काउने गर्छन् । मान्छेलाई कल्पनाशील बनाउँछन् । भाग्यमानी सहरमा यस्ता स्मारकहरु मनग्ये हुन्छन् । अभागी सहरमा भएका स्मारक पनि ध्वस्त पारिन्छन् ।

अस्ति भर्खर जयपुरको आमेर किल्ला पुग्दा अत्यन्त बूढो रुख देखेर निकै भावुक भएँ । त्यो रुख करिब पाँच–सात सय वर्षको होला भनेर अनुमान गरेँ । तर आफ्नै अनुमान मलाई गलपासो भयो ।  यस्तो आभास भयो, आमेर किल्लाको एक मात्र जीवित साक्षी रुखले मलाई केही गोप्य कथा भन्न खोज्दैछ । मलाई यस्तो ह्यालुसिनेसन भयो कि रुखले भकाभक पुरानो कथा न्यारेट गरिरहेको छ, म कपाकप त्यो कथा निलिरहेको छु ।

मलाई यस्तै ह्यालुसिनेसन खप्तड जाँदा पनि भएको थियो । खप्तड बाजेको कुटीअघिल्तिर स्याउको एउटा बूढो रुख थियो । बाजे आफैँले सारेर हुर्काएका थिए रे स्याउ–बगैँचा । बगैँचाको नाममा अहिले त्यही एउटा रुख मात्रै थियो । त्यो बूढो बुटोको बोक्रामा औँला डुलाउँदा मलाई त्यसमा टाँसिएको खप्तड बाजेको हत्केला–स्पर्शले समाते–समातेजस्तो भएको थियो । बूढाको शयन कक्षमा जतनसाथ राखिएका औषधीका बन्डल देखेर म यति भ्रमित अनुभूतिमा घुसेछु कि तीन रातसम्म खप्तड बाजे सपनामा आएर भने– “बाबु, तिमीलाई डिप्रेसन छ, यो औषधी खाऊ ।” मैले उनको औषधीलाई वास्ता नगरेपछि बल्ल आउन छाडे ।

मलाई यस्तो ह्यालुसिनेसन भइरहन्छ नै । कहिलेकाहीँ कसैले बोलाएजस्तो लाग्छ तर फर्केर हेर्दा नजिकै कोही हुँदैन । एकपटक पुलिस कार्यालयभित्रै मलाई अचाक्ली गाँजाको बास्ना आएको थियो, जुन कुरा मेरो वरपरका कसैलाई आएन । गत कुकुर तिहारको साँझ सुतिरहँदा पिठ्युामुन्तिरबाट सर्प सुल्सुलिएजस्तो लाग्यो । हत्तपत्त सिरक फालेर हेरेँ तर त्यहाँ छालोफुस्रो केही थिएन । मेरा ज्ञानेन्द्रीयले धेरै ह्यालुसिनेट गर्छन्, जिस्क्याउँछन् । मलाई तिनीहरुसँग जिस्किन रमाइलो लाग्छ । तर यस्तो जिस्क्याइ अचाक्ली नै भएपछि म एक पटक र डाक्टरलाई भेट्न गएको थिएँ । ‘यस्तो हुने भनेको कि तपाईंलाई डिप्रेसन छ कि त विस्मृतिको लक्षण देखा पर्दैछ’ भन्दै उनले पनि मलाई खप्तड बाजेकै शैलीमा औषधी–पुरिया दिए । तर खाइनँ ।

मलाई डिप्रेसन पनि अचाक्ली मन पर्छ । बिर्सनु त मेरो सदाकालीन सोख हो । नित्सेले भनेकै छन् त, ‘बिर्सने गुण नभएको भए मान्छेको सभ्यता उहिल्यै ध्वस्त हुन्थ्यो ।’ मलाई नित्से पनि निकै मन पर्छ ।

त्यसो त, मान्छेको जात खासमा स्मृतिमा बाँच्छ । जीवनको सार्थकता स्मृतिहरुमा खुल्छ । तपाईंसँग जति विराट स्मृति छ, तपाईंको जिन्दगी उति नै सफल हुन्छ । तपाईंसँग सम्झनयोग्य र संसारलाई बताउनयोग्य कुनै स्मृति छैनन् भने तपाईंको जिन्दगीको कुनै अर्थ छैन ।

स्मृतिमा रहिरहने यही आदिम भोकका कारण नै मान्छेले अनेकन दरबार, धरहरा, मन्दिर आदि इमारत बनाएको हो । पोखरी, चौतारा, हिटी बनाएको हो । कला, साहित्यको रचना गरेको हो । सुदूर भविष्यका लागि स्मृतिहरुको निर्माण गर्नु नै मान्छेको अवचेतन अभीष्ट हो ।

मलाई त्यो स्वैरकाल्पनिक निबन्धको रन्को किन लागेको हो भने जुन गाउँमा बाल्यकाल बिताएँ, त्यो गाउँ अहिले पूरै विस्थापित छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको बीचोबीच मेरो पुख्र्यौली घर थियो । सयौँ वर्ष पुरानो हाम्रो गाउँ थियो । हाम्रा थान, देवस्थल, फाँट, बारी, चरन र चलन थिए । सरकारले अधिग्रहण गरेपछि रानो मरेको घारबाट माहुरी फैलिएझैँ गाउँले तितरबितर भए । ६ सय वर्ष पुरानो सामाजिक सम्बन्धको काँचो धागो चुँडियो । काहुँकोटदेखि ढुंगेसाँघुको मेलासम्म फैलिएको कृषि संस्कृतिका उपासकहरु तन्नम भए । यी सबै कुराको साक्षी छ– मझेरी पाटनको बूढो पीपलको रुख, जो संयोगले विमानस्थलको क्षेत्रफलभित्र अहिलेसम्म परेको छैन ।

बुढापाकाहरुका अनुसार ‘कामीको चौतारो’ भनिने यो रुख पोखरा उपत्यकाको सबैभन्दा बुढो रुख हो । केही समय पहिले विकासवादीहरुले यसका हात, पाखुरा र टाउको छिनालेर मुर्कट्टा पारिदिएका छन् । यसको टोड्कामा वर्षौंदेखि बसेको मौरीको घार उखेल्न कसैले झोसेको आगोले आधी हर पूरै जलिसकेको छ । लहरेसिमल र ऐँजेरुले कोतरी–कोतरी यसका हाडछाला सखाप पारेका छन् । तैपनि यो अझै जिउँदै छ । सायद अझै एकाध वर्ष जिउँदो रहला । अन्यत्र भएको भए ‘पोखरा उपत्यकामा सबैभन्दा पहिले बसोबास गर्नेले बनाएको चौतारो’ का रुपमा यसको पर्यटकीय प्रचार हुने थियो । हाम्रा नेतालाई भने कहिले यसका जरा खोतलेर फालूँ र बाटो चाक्लो पारुँ भन्ने ध्याउन्न मात्रै छ ।

यो आदिवासी भन्ने शब्द पनि राजनीतिक कुरा न हो, यसलाई जसरी अथ्र्याउँदा आन्दोलन थामथुम हुन्छ, मागदाबी सेलाएर जान्छ, राज्यले त्यसै गर्छ । जस्तो कि, मेचीपारिका क्षत्रीहरु दार्जिलिङका आदिवासी हुन् तर त्यही जातिका मान्छे वारि नेपालमा भने आदिवासी होइनन् । पोखरा उपत्यकामा सबैभन्दा पहिले बसोबास गर्ने, यहाँको औलो खाएर रगत छाद्ने, यहाँका झाडी, खोरिया र दौरा खोतलेर फाँट बनाउने, विजयपुरखोला, फेवाताल आदिमा बाँध हालेर फाँटहरुमा हरेलो हाल्ने हामी छिनेडाँडा, मझेरीपाटन, कुँडहरका बासिन्दा राज्यको परिभाषामा उपत्यकाका आदिवासी कदाचित होइनौँ । यो गुनासोको कुरा भने होइन तर पहिचानको अवश्य हो । काँहुकोटलाई केन्द्र थापेर हाम्रा पितापुर्खाले स्थापना गरेको कृषिसंस्कृतिलाई अलिकति भए पनि जोगाउन सकिन्छ कि भनेर गरेको कसरतको कुरा हो ।

मलाई त्यसै स्वैरकाल्पनिक निबन्ध लेख्ने झोँक चलेको होइन, पाठक । त्यतिका आगन्तुक र अचाक्ली अतिक्रमणका बाबजुद काठमाडौँका गल्ली–गल्ली, चोक–चोकका जात्रा–मेलाहरु कसरी सयौँ वर्षसम्म सुरक्षित भए होलान् भनेर सोच्नुभएको छ कहिल्यै ? नेपाल मात्रै होइन, विश्वका मान्छेले किच्दा पनि काठमाडौँमा नेवारी भाषा र संस्कृति कसरी सकुशल रहन सकेको होला ? कारण अनेक होलान्, तर यसको मूल कारण के हो भने काठमाडौँका नेवारले आफ्ना सांस्कृतिक सम्पदा आगन्तुकलाई कहिल्यै सुम्पेनन् । त्यसको पालनामा समेत आगन्तुकलाई कहिल्यै सामेल गरेनन् । तपाईं उपत्यकाको कुनै गाउँमा बडेमानको घर बनाएर जति नै शानपूर्वक बस्नुस्, मस्त समाजसेवा पनि गर्नुस्, त्यहाँका मेला, जात्रा र चाडहरुमा तपाईंलाई दर्शक बन्ने निम्तो आउँछ तर आयोजक हुने वा संलग्न हुने निम्तो कदाचित आउँदैन । त्यहाँका गुठी, पीठ, मठ, मन्दिरको सञ्चालनमा तपाईंलाई मरिकाटे छिराइँदैन ।

तर पोखराको हकमा त्यस्तो कहाँ ! हाम्रा पितापुर्खाले चलन चलाएको ढुंगेसाँघुको मेला अचेल कसले आयोजना गर्छ, मलाई नै थाहा छैन । यहाँका अनेक सांस्कृतिक धरोहर, मठ–मन्दिरको व्यवस्थापन र सञ्चालनमा मूलवासीहरुको पहुँच छैन । अलि अगाडि भद्रकाली मन्दिर परिसरमा पशुबलि दिने स्थानमा रातारात गणेशको मूर्ति स्थापना गरियो । भलै विरोधपछि त्यसलाई हटाउन लगाइयो । सांस्कृतिक चेतना भएको जोकोहीलाई थाहा हुने कुरा के हो भने पोखरा उपत्यकाका मूलवासीहरु गणेशलाई सात्विक देवता मान्छन् र रगतको भोग दिँदैनन् । त्यसैले यहाँका भोग दिइने शक्तिपीठमा गणेशलाई राखिँदैन । तर यस्तै सांस्कृतिक अतिक्रमणको शृंखला अरु मठमन्दिरमा छ कि छैन ?

सांस्कृतिक अतिक्रमण त सानो कुरा भयो, जबकि हामीलाई हाम्रो जरोकिलोबाटै उखेल्ने प्रयत्न गरिँदैछ । पोखरा उपत्यकाको सबैभन्दा पुरानो गाउँको अन्तिम अवशेष रनवे छेउमा छ । हामी त्यसलाई जोगाउन सकिन्छ कि भन्ने कसरतमा छौँ । तर विमानस्थललाई जग्गा अपुग भयो भनेर हामीलाई फेरि विस्थापित गर्ने कुरा हुँदैछ । त्यसैले कहिले तन्द्रामा, कहिले निद्रामा त कहिले होसमै पनि बर्बराउन थालेको हुँ । जरोकिलो खोतलेर जबर्जस्ती उप्काइएपछि मान्छे जहिल्यै बर्बराउँदो रहेछ । आफ्नै पहिचानलाई आफ्नै जन्मभूमिमा अर्घेलो पारिएपछि घरीघरी मलाई पोखरा बिरानो सहरजस्तो लाग्न थाल्छ । यस्तो लाग्छ, म भर्खरै बसाइँ सरेर कुनै अन्जान सहरमा आएको छु ।

प्रिय पाठक, मेरो मनमा खेलेका कुरा–किस्सा यत्ति हुन् । यस्तै हुन् । यस्तो विषयमा कुनै स्वैरकाल्पनिक निबन्ध लेख्न सकिएला कि नसकिएला ? तपाईंको मनमा जरुर कुनै आइडिया फुरेको छ । मलाई बताइहाल्नुस् है ! ठूलो गुन लाग्छ । म रनवेमा पुरिएको बालकलाई जीवितै उद्धार गर्न चाहन्छु ।   

प्रकाशित: मंसिर १९, २०७५

ट्याग: निबन्ध