गैरआख्यानमै आनन्द

- डा. बाबुराम भट्टराई

माक्र्सले भनेजस्तै संसारको व्याख्या धेरै भए तर महत्त्वपूर्ण कुराचाहिँ बदल्नु हो । बदल्नका लागि पहिले त बुझ्नुपर्‍यो । त्यसैले मेरो रुचिमा ब्रह्माण्ड, जीव, विज्ञान–प्रविधि, भौतिक–सांस्कृतिक इतिहास आदि विषय पर्छन् ।

युवल नोह हरारीका चर्चित तीन किताबमध्ये मलाई असाध्यै मन परेको हो– स्यापियन्स । ब्रह्माण्ड, प्राणी, सभ्यता र विज्ञान–प्रविधिको विश्वकोशजस्तो लाग्छ, यो किताब । ‘को हौँ’ बुझेपछि हाम्रो भावी दिशा पनि बुझिन्छ । विकास र समृद्धिका सन्दर्भमा पनि हामीले विश्व इतिहास बुझेर परिवर्तनलाई आत्मसात गर्नुपर्ने हुन्छ ।

चेतना र भौतिक जगतको सम्मिश्रणले नै नयाँ कुराको उत्पादन हुने हो । प्रकृतिको नियम पत्ता लगाएर नियन्त्रण गर्दै इन्टेलिजेन्ट डिजाइन गरेर सदुपयोग गर्न सकिएला । वर्षौंअगाडि उत्तर अफ्रिकाबाट छुट्टिएका नरमानवकै सन्तान रहेछौँ हामी । विश्व–जनसंख्या २० हजारबाट सात अर्ब पुगिसक्यो । होमोस्यापियन्सकै सन्तान हामीले समावेशी विकासलाई स्वीकार्नु पर्छ ।

प्रकृति विज्ञान, समाज विज्ञान, सौन्दर्यशास्त्र, मनोविज्ञानजस्ता विषयको अन्तर्घुलनबाटै ज्ञान–निर्माण हुन्छ । यी सबै विषयमा हरारीको होनहार रुचि देखिन्छ । दृष्टिकोण त आ–आफ्नै भइहाल्छ, त्यसमा उति जानु हुन्न । आखिर पुँजीवाद, समाजवाद, साम्यवाद, उदारवादजस्ता विचार विकसित भएको पनि भर्खर दुई/तीन सय वर्ष मात्रै भयो । तर मानव जाति त एक लाख वर्षदेखि नै अस्तित्वमा छ । फरक विचारहरुका बीचमा हुने घर्षणले नै आजको मानव सभ्यता यहाँसम्म आइपुगेको हो । यसलाई विचारको मैथुन पनि मानिन्छ । स्वतन्त्रता, समानता र भ्रातृत्वलाई आधार मानेर तेस्रो सहस्राब्दीमा प्रवेश गर्दै गरेका हाम्रासामु अब नयाँ–नयाँ विचार जन्मन सक्छन् । त्यसैले नयाँ पुस्ताले हरारीलाई पढ्नु जरुरी छ ।

समाज विज्ञान र संस्कृतिको पाटोमा रुचि राख्नेहरुले दक्षिण एसियामा मात्रै बाँकी रहेको जात–प्रथालाई नबुझीकन वैज्ञानिक समाजवादतिरको यात्रा गर्न सक्दैनन् । यस सन्दर्भमा अम्बेडकरको अन्हिलेसन अफ कास्ट  महत्त्वपूर्ण सामग्री हुन सक्छ । कागजी रुपमा छुवाछूतलाई अपराधको संज्ञा दिए पनि अझै हाम्रो समाज जातप्रथामुखी मानसिकताले आक्रान्त छ । वर्षौंदेखि हाम्रो सम्पत्ति र सम्बन्धमा संरचनात्मक रुपमा स्थापित यो कुप्रथा अन्त्यका लागि जरै नष्ट गर्नुपर्ने धारणा राख्छन्, अम्बेडकर । दलित समुदायलाई सचेत ढंगले राजनीतिक उपरि–संरचनामा बहिस्करणमा पार्ने प्रक्रिया नभत्काएसम्म समाज बदलिँदैन । सामान्य सुधारले मात्रै नपुग्ने विचार राख्ने अम्बेडकरलाई अरुन्धती रोयले गान्धीसँग तुलना गरेकी छन् । अगाडि जाँदा पुरानोलाई पनि बचाएर जाने सम्बद्र्धनवादी–रुढिवादी धारमा गान्धी उभिएको देखिन्छ भने पश्चिमा प्रबोधनबाट प्रभावित अम्बेडकरचाहिँ पुरानालाई छाडेर छलाङ मार्नुपर्ने सोच अघि सार्छन् । भौतिक विकासका साथै मानवीय सन्तुष्टि र खुसी पनि विकासको आधार हुनुपर्ने कुरा अम्बेडकर पढ्दा थाहा हुन्छ ।

गुरु–सिद्धान्तका केही अंशलाई मात्रै बोकेर व्याख्या गरिदिने अक्षम चेलाहरुले ज्ञान–विज्ञानलाई पनि रुढिवादी बनाइदिन्छन् । माक्र्सले युरोपको सन्दर्भमा वर्गलाई मुख्य माने तर उनले कहीँ पनि वर्गलाई मात्रै प्रमुख ठहर्‍याएका छैनन् । उत्पादन प्रक्रिया संसारभर एकै स्वरुपमा देखा परेन । पुरानै ढर्राबाट मात्रै सोच्दा त वर्गीय उत्पीडन मात्रै हेरिने खतरा हुन्छ । जनयुद्ध कालमा लैंगिक, जातीय, क्षेत्रीय, सामाजिक उत्पीडनविरुद्ध संघर्ष भएकै हो । समानुपातिक सिद्धान्त माक्र्सको वर्गवादबाट मात्रै जन्मिएको होइन । त्यसैले नेपाली सामाजिक संरचनामा अम्बेडकर–अध्ययन फलदायी हुन सक्छ ।

नेपालको विकास र समृद्धिका सन्दर्भमा ली क्वान युको फ्रम थर्ड वर्ल्ड टु फस्ट  पनि पठनीय छ । ६० को दशकमा सिंगापुर र नेपालको अवस्था झन्डै उस्तै थियो । तर ३० वर्षमा सिंगापुर पहिलो विश्वमा उक्लियो भने नेपाल तेस्रोमै खुम्चिएको छ । अहिले राष्ट्रिय विमर्शमा समृद्धिको भर्‍याङबाट पहिलो विश्वमा उक्लिने नेपाल–सपना छ । पुस्तकमा खालि आर्थिक प्रगतिको पाटो छैन, राजनीतिक प्रणाली, प्रशासन, जातीय विविधताको व्यवस्थापन, आधुनिक युगका ज्ञान–विज्ञान–प्रविधिको सदुपयोगका अनुभव पनि छन् । पटक–पटक निर्वाचित भए पनि नरम तानाशाहजस्तो देखिने ली क्वानसँग मेरो वैचारिक सहमति त छैन तर सिंगापुरको आर्थिक फड्को हाम्रा लागि गतिलो पाठ हुन सक्छ ।

जटिल भूराजनीतिलाई सन्तुलनमा राख्ने सिंगापुरको सुझबुझबाट नेपालले सिक्नुपर्छ । दुई ठूला प्रतिस्पर्धी छिमेकी र परका शक्तिशाली देशहरुसँगको सन्तुलनमा नेपालले सोच्ने बेला आइसक्यो । बाह्य लगानीको सुरक्षा–प्रत्याभूति, गुणात्मक जनशक्ति, सामाजिक सुरक्षा र विधिको शासन ली क्वान युको नेतृत्वबाट लिन सकिने प्रेरणा हुन् । नीतिनिर्माताले पनि यस्ता गैरआख्यान पढिदिए हुन्थ्यो । लाग्छ– राजनीतिक अभियन्ताहरु प्राज्ञिक हुनुपर्छ र प्राज्ञिकहरु राजनीतिक अभियन्ता ।      

प्रस्तुति : गुरुङ सुशान्त 

प्रकाशित: मंसिर १८, २०७५

ट्याग: किताब