मंगल म्यान

- राजकुमार बानियाँ

अमेरिकी अन्तरिक्ष एजेन्सी नेसनल एरोनेटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को ‘इन्साइट ल्यान्डर’ सात महिनामा तीन सय मिलियन माइल यात्रा गरेर मंगल ग्रहमा पुग्यो, २६ नोभेम्बरमा । ५ मेमा उडेको इन्साइट ल्यान्डर मंगलको मध्यरेखामा रही विभिन्न दिशाका सूचना तथा तथ्यांक बटुल्ने सुरसारमा छ । सन् २०२० सम्म मंगलमै मुकाम बनाउने त्यसले ग्रहको उत्पत्ति, पृथ्वीसँगको समानता अनि जीवको सम्भावनाबारे क्रमश: नवीनतम संकेतहरू दिँदै जानेछ ।

नासाअन्तर्गतको जेट प्रपल्सन प्रयोगशालाको बहुप्रतीक्षित तथा महत्त्वाकांक्षी परियोजना इन्साइट मिसनका एक सारथि हुन्, लुजेन्द्र ओझा, २८ । करिब ४३ अर्ब रुपैयाँ लागत र दुई सय वैज्ञानिक–अनुसन्धानकर्ताको जम्बो टोलीको मिसनलाई जीवनकै कोशेढुंगा मानेका लुजेन्द्रको खास काम भने तीन महिनापछि मात्रै थालनी हुनेछ ।

इन्साइट ल्यान्डरले प्रारम्भिक सूचना पठाउन त्यति समय त लिन्छ नै । उनको जिम्मेवारी छ, इन्साइटको सूचनाको अध्ययन गरी कम्प र तापक्रमबारे निष्कर्ष दिने । “सिंगो विश्वले नै यसलाई ब्रह्माण्डीय पिण्डहरूलाई लिएर गरिएको अत्यधिक महत्त्वपूर्ण परियोजना मानेको छ,” उनी रोमाञ्चित छन्, “त्यसले ‘अर्थ–क्वेक’ जस्तै ‘मार्स–क्वेक’ छ कि छैन भन्नेसमेत पत्ता लगाउनेछ ।” उनको भनाइमा सौर्यमण्डलमा पृथ्वी र मंगल सँगै भएको मौका पारेर छोटो समयमै इन्साइट ल्यान्डर त्यहाँ पुगेको हो ।

नासाअन्तर्गत अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयमा खोज–अनुसन्धान गरिरहेका लुजेन्द्र यस्ता ‘प्लानेटरी साइन्टिस्ट’ हुन्, जसले २१ वर्षकै उमेरमा मंगल ग्रहको सतहमा नुनिलो पानी छ भन्ने ‘थेसिस’ लेखेर विज्ञानीहरूलाई नयाँ खुराक दिएका थिए । अमेरिकीसहर टुसानस्थित युनिभर्सिटी अफ एरिजोनामा अन्डरग्य्राजुएट विद्यार्थी छँदा उनी र उनका एड्भाइजर अल्फ्रेड मक्वेनको थेसिस थियो त्यो । उनको अध्ययनमा मंगल ग्रहमा पहिले एक तिहाइ पानी थियो । जलवायु परिवर्तनले कुनै पानी बरफ भएर जम्यो, कुनै बाफ भएर उड्यो । तर त्यो बरफ चाहिएका बेला तरल हुन सक्छ/सक्दैन ? त्यहाँ जीवको अस्तित्व छ/छैन ? वैज्ञानिकहरू त्यसमा भेडियाधसान गरिरहेका छन् । लुजेन्द्रले पानीलाई किन ‘सेक्सी’ बनाए भने भाइरसदेखि डाइनोसरसम्मका जीवको विकासमा नभई हुन्न । मंगलमा पानी हुनुको अर्थ हो, पृथ्वीभन्दा बाहिर पनि आकाश छ ।

त्यसो त, नासा मिसन मंगलमा लागेको ४०–४५ वर्ष भइसक्यो । त्यहाँ १२ वर्षभित्र आर्टिफिसियल इन्टेलिजेन्स (रोबोट) भन्दा मानिस नै पठाउने लक्ष्य लिएका छन्, इलन मस्कले । “मानिसभन्दा रोबोट स्मार्ट हुन सक्दैन । तर मानिस पठाउने खालको प्रविधि बनिसकेको छैन,” उनी भन्छन्, “युरोपबाट गएका मान्छेले उत्तर अमेरिकामा बस्ती बसाले । देशलाई आवाद गर्न सक्छौँ भने अर्को ग्रहलाई किन नगर्ने ?”

यति हुँदाहुँदै पनि उनी मंगलमा पानीको सतह रहेको थेसिसलाई ‘संयोग’ भन्न रुचाउँछन् भने इन्साइट मिसनमा रहेर काम गर्नुलाई अहिलेसम्मकै ठूलो ‘उपलब्धि’ । युनिभर्सिटी अफ एरिजोनाको विद्यार्थी छँदा उनी लुनार एन्ड प्लानेटरी ल्याबमा ब्रह्माण्डीय पिण्डसम्बन्धी अध्ययन–अनुसन्धान गर्थे– ४० जनाजतिको टोलीमा इमेज भ्यालिडेटर तथा डाटा एनालिस्टका रूपमा । त्यही बेला मंगल ग्रहको एक अर्बिटरमा क्यामेरा जडान गरी त्यहाँबाट सूचना प्राप्त गर्नेसम्बन्धी नासाको परियोजनामा जोडिए ।


लुजेन्द्र ओझा | तस्बिरहरु : रवि मानन्धर


सन् २०१० को हिउँदतिर एरिजोनाकै हाई रिजोलुसन इमेजिङ साइन्स एक्सपेरिमेन्ट (हाइराइज) नामक स्याटेलाइटले पठाएको मंगलको तस्बिरमा घोत्लिए, लुजेन्द्र । उही ठाउँको तस्बिर गर्मीमा एकदमै स्पष्ट र जाडोमा अँध्यारो देखेर उनलाई अनौठो लाग्यो । कम्प्युटरमा धूलो लागेको हो कि भनेर स्क्रिन पुछ्दा पनि उस्तै देखियो । सिनियरले नपत्याउँदा–नपत्याउँदै पनि उनले त्यहाँ पानीको सम्भावना औँल्याउँदै सन् ०११ मा शोध–प्रबन्ध लेखे– ‘एभिडेन्स अफ वार्म सिजन ब्राइन फ्लोज अन मार्स ।’

त्यसकै निरन्तरतास्वरूप अर्को थेसिस पनि लेखे– सन् २०१५ मा । “कतिपय विज्ञानै नबुझी त्यतिबेला तपाईंको इमोसन कस्तो थियो भनेर सोध्छन्,” उनी भन्छन्, “युरेका भनेजस्तो होइन विज्ञान । मेरो पहिलेको थेसिस अड्कलबाजी थियो भने पछिल्लो साँच्चै हुन सक्छ है भन्ने मात्र ।” उनलाई थाहा छ, दुई सय वर्षअघि गुरुत्वाकर्षणको सिद्धान्त ल्याउँदा न्युटनले पनि त्यसको पूर्ण परिमाण दिन सकेका थिएनन् ।

त्यसो त, मंगल ग्रहबारे नासा मात्र होइन, युरोपको इसा, भारतको आईएसआरओसमेत भिडिरहेकै छन् । मंगल यान नै बनाएको भारतले उनलाई डाकेको थियो, तीन वर्षअघि । युरोपमा पनि प्लानेटरी साइन्सबारे थुप्रै ‘टक’ दिए । हालै मात्र प्रिन्स्टन युनिभर्सिटीले बोलाएको छ । जर्मनी पनि जाँदै छन् ।

त्यसैले मंगलको पानीबारे नौ महिनासम्म नातेदार र आफन्तलाई लुकाएछन् उनले । “धेरैले भन्न सक्थे– काठमाडौँमा पानीको हाहाकार छ, सक्छस् भने त्यहीँ पत्ता लगाई दे, मंगल ग्रहमा पानी भएर के ! नभएर के !” उनी हाँस्छन्, “भारतीय मिडियाले इन्डियन भनेर लेखेपछि चाहिँ नेपालीहरू तड्पिएर मलाई धुइँपत्ताल खोज्न थालेछन् ।”

मंगलमा इन्साइट अवतरण गरेको तात्तातो समाचार आउने बेला ठमेलको फुटपाथमा भेटिएका थिए, लुजेन्द्र । नोभेम्बरको जोर सप्ताह पर्यटकको फुक्काफाल हुलियामा ‘अल नेपाल टुर’ गरे उनले । जुम्ला गए, रारा र जोमसोम पनि । सुदूरपश्चिम प्रदेशको डोटीसमेत पुगे । पुख्र्यौली थलो हिन्नेकाँडा पुग्दा उनले आफ्नाबारे धेरथोर भ्रम पनि भेटे । गाउँले बूढापाकाले सोधेछन्, ‘बाबु, तिमी त चन्द्र ग्रहमा बसेर आएको मान्छे ! हाम्रो गाउँ कस्तो लाग्यो ?’


मंगल ग्रहमा इन्साइट ल्यान्डर | तस्बिर : पपुलरमेकानिक्सडटकम


काठमाडौँ, म्हैपी मन्दिरको ढोकैमा घर छ उनको । ३ कक्षासम्म आदर्श योगहरि स्कुलमा पढेपछि ९ कक्षासम्म ग्यालेक्सी स्कुल भयो उनको ठेगाना । भूगोल र भूगर्भबारे अथाह रुचि थियो उनमा । बुबा टंकप्रसादलाई पछ्याउँदै खानी तथा भूगर्भ विभागको अफिस जान्थे । मलेखु, बुटवललगायत फिल्ड पनि पुग्थे ।

हिउँदमा म्हैपी मन्दिरको थुम्कोले उत्तरतिरको हिमाल छेकिँदा उनलाई जिज्ञासा हुन्थ्यो– बालाजुदेखि लाजिम्पाटसम्म फैलेको फाँटको बीचमा यति धेरै ढुंगामाटो कसले थुपार्‍यो ? शिवपुरी टुप्पो सेताम्मे हुँदा लाग्थ्यो– हिउँ कसरी बन्छ ? गर्मीमा शिवपुरीपारिको हिमालमा किन कालो–सेतो टाटा देखिएको होला ?

स्कुलको लाइब्रेरीले जिज्ञासा नमेटिएपछि लैनचौरको ब्रिटिस लाइब्रेरीसमेत धाए लुजेन्द्र । त्यहाँ भौतिक विज्ञानका साथै सौर्यमण्डल र खगोलबारे अध्ययन गरे । स्टेफन हकिङको जीवनकथादेखि स्ट्रिङ थिअरी, मल्टी भर्स, टाइम ट्राभल आदि सिद्धान्तका पुस्तक छिचोले ।

सन् २००५ मा उनले सोच्दै नसोचेको घुम्ती आयो । बाबुले एरिजोना विश्वविद्यालयमा वैज्ञानिकको काम पाए । बुबा, आमा रमा र दिदी जाइकाका साथ अमेरिका गए, लुजेन्द्र । “सरकारी स्कुलमा ९, १०, ११ र १२ कक्षाको पढाइ दुई वर्षमै भ्याएँ,” उनी सुनाउँछन्, “जम्मा पाँच दिनका लागि भनेर अमेरिका गएको, पाँच वर्षपछि मात्रै फर्किएँ ।”

उनको ‘टर्निङ प्वाइन्ट’ भनेकै अमेरिका जानु भइदियो । त्यहाँ श्रम गर्ने संस्कार सिके उनले । “१५ वर्षकै उमेरमा सेफ वे नामक डिपार्टमेन्ट सेन्टरमा झोलामा सामान बोकेर भुइँ पुछेँ । शौचालय सफा गरेँ । हार्ड वर्क गर्नुपर्छ भन्ने भावना आयो,” उनी भन्छन्, “म धनी बाउको बिग्रेको बच्चा थिएँ । नेपालमै हुर्केको भए सायद त्यो अवसर पाउने थिइनँ ।”

काठमाडौँमा साथी टन्नै थिए, क्रिकेट खेल्थे, गिटार बजाउँथे । हाहु गर्दै बित्थ्यो समय । अमेरिकामा बाबु, आमा र दिदीबाहेक चिनारु कोही थिएनन् । ब्रह्माण्डबारे पढ्थे, सोच्थे र घोत्लिन्थे, त्यसले नै उनलाई नयाँ एभेन्यु दियो । “त्यसले नै मलाई मान्छे बनायोजस्तो लाग्छ तर त्यो हुन पनि सक्छ, नहुन पनि,” उनी भन्छन्, “जीवनमा पछाडिका बिन्दुलाई मजाले जोड्न सकिन्छ, अगाडि पनि अनगिन्ती सम्भावना छन् ।”

बीएस्सी सकेपछि लुजेन्द्रले एकैचोटि पीएचडी गरे, त्यो पनि चार वर्षमै । त्यसैले अरू विद्यार्थीभन्दा दुई–तीन वर्ष छिटो भइदियो । अमेरिकाको जर्जिया टेक विश्वविद्यालयबाट पीएचडी गरे, दुई वर्षअघि ‘स्पेस फिजिक्स’ मा । “कृपया मलाई डाक्टर ओझा नभन्नुस्,” उनी लजालु छन्, “मेरो घरका डाक्टर ओझा बुबा मात्रै हो ।”

लुजेन्द्रले प्रोफेसरका लागि ‘जब एप्लाइ’ गर्दा आफूलाई तीन शब्दमा बुझाएका छन्, ‘फ्री स्टाइल जिओ–फिजिसिस्ट’ । अर्थात्, उनी मर्जीका मालिक हुन् । कुनै विषयमा रुचि लाग्यो भने त्यसमा काम गरिहाल्छन् । त्यसैले त यसै वर्ष बुबासँग मिलेर पृथ्वीका विषयमा पनि अनुसन्धानको काम गरे ।

विद्यार्थी जीवनमा उनले थुप्रै पटक शोधको काम पाए । “केही वर्षअघि नेसनल साइन्स फाउन्डेसनले एरिजोना विश्वविद्यालयलाई जापान, इन्डोनेसियाजस्तै नेपालमा पनि भूकम्प आउनु पहिल्यै संकेत कसरी थाहा पाउने भन्ने शोधको काम दिएको थियो,” उनी दिक्क मान्छन्, “खानी तथा भूगर्भ विभागले विज्ञान तथा प्रविधि मन्त्रालयलाई देखायो । पचासौँ पटक पत्राचार गरेपछि डाटा–डाटा भनेर के मरिमेटेको, टाकनटुकन गरेर रिसर्च बुझाउने सल्लाह पो दिए ।”



ग्यालेक्सी पढ्दा नै आफूलाई ‘रक स्टार’ ठान्थे लुजेन्द्र । उनको हेभी मेटल ब्यान्ड थियो, ‘मेगा रक’ ।  मेटालिका र गन्स एन्ड रोजेजको प्रभाव थियो त्यो । ११–१२ कक्षा पढ्दा अमेरिकामा अर्को ब्यान्ड बनाए । ब्यान्डमा उनी मात्रै थिए नेपाली । लिड गितार बजाउँथे । गीत पनि लेख्ने भएकाले ब्यान्डको न्वारानसमेत गर्न पाए, गोर्खा । त्यसको सिम्बोल थियो, क्रस खुकुरीमाथि मुर्कुट्टा अनि तल काँडे अक्षरमा लेखेको गोर्खा ।

बागी संगीत हेभी मेटलले सत्ता, धर्म र राष्ट्रवादलाई मान्दैन । गिटारका दुई–चार कर्ड जानेर हेभी मेटल गरिँदैन पनि । किन–किन पंक म्युजिकमै उनको रस बस्यो । पाँच मिनेटको सजिलो पपभन्दा उनलाई लोक, रक र शास्त्रीय संगीतले सम्मोहित गर्छन् । मेरिल्यान्डको बाल्टिमोरमा उनी, दिदी जाइकासहित साथीहरूको ब्यान्ड छ, ‘कोर्न बस्कर’ । त्यहाँ उनी बब डिलन टाइपका लोकगीतमा आनन्दित हुन्छन् ।

“संगीत पनि विज्ञानै हो । यो एकदमै म्याथमेटिकल छ,” उनलाई लाग्छ, “संगीत र विज्ञान एकअर्कासँग सम्बन्धित छन् । विज्ञानले संगीतलाई र संगीतले विज्ञानलाई प्रेरित गर्छन् ।” उदाहरण पनि उनीसँगै छ, रक ब्यान्ड क्विनका लिड गिटारिस्ट ब्रायन मे एस्ट्रोफिजिसिस्टका रूपमा न्यू होराइजनमा काम गरिरहेका छन् ।

मंगलसँग म्युजिकको मिक्सिङ गरिरहेका लुजेन्द्र कुनै समय गिटार बजाउँदै विश्व भ्रमणमा निस्कने सपना देख्थे । उनलाई खेद के छ भने विद्यार्थी छँदा समय र रहर थियो तर पैसा थिएन । अहिले मन छ, पैसा छ तर समय छैन । नारायणगोपाल, विपुल क्षत्री, १९७४ एडी, नेपथ्य उनका ‘अलटाइम फेभरेट’ हुन् ।

बाबुआमा, दिदी र उनी छुट्टाछुट्टै ठाउँमा बस्छन् । अमेरिकाभित्रै भए पनि भेट हुने भनेको वर्षमा एकचोटि हो । बुबा विज्ञान पनि गर्छन्, व्यवसाय पनि । उनको ‘डायमन्ड फेस’ मा पहिले मुल्ला मार्का बोके दाह्री थियो । अहिले गालैभरि झपक्कै दाह्री पालेका छन् । भन्छन्, “म न बच्चा हुँ, न त महिला । पुरुष मान्छे । प्रकृतिको उपहारलाई किन काट्ने ?” असनमा उनले दाह्री ग्याङको नारा ‘मेरो दाह्री दुनियाँलाई किन भारी’ लेखिएको टिसर्टसमेत किनेका छन् ।

यी अविवाहित फ्रिक वैज्ञानिकको कुनै ‘डेली रुटिन’ छैन । एकदमै केयरफ्री । उनको कोही हाकिम या बोस छैन । मन लाग्यो भने ३६ घन्टा लगातार काममै घोटिन्छन् । मन नलागे घरमै टीभी हेरेर दिन बिताइदिन्छन् । तर दिनमा तीन कप कफी पिउनैपर्छ, संगीत सुन्नैपर्छ । पहाडबाट फेदीमा फर्केपछि ह्वीस्की–बियरमा रमाउनैपर्छ ।

“म अलिकति प्राइभेट मान्छे हुँ । पब्लिक फेस गर्न त्यति मन लाग्दैन, घमन्डी पनि लाग्ला कसैलाई,” उनी भन्छन्, “फेसबुकमा ८ सय जनाको फ्रेन्ड रिक्वेस्ट छन् । मेरो पर्सनल लाइफ सेयर गर्नुपर्ने कुनै आवश्यकता छैन ।”

नेवारी भाषामा लुज: को अर्थ हुन्छ, सूर्योदय । तर बाबुआमाले ‘किङ अफ लाइट’ को अर्थमा नाम दिएका लुजेन्द्रलाई नास्तिक भन्न मिल्छ । उनको ज्वलन्त प्रश्न छ– कुनै सबुतबिना भगवान्लाई किन मान्ने ? “भगवान् हुन पनि सक्छ तर पशुपतिनाथको कुनै पुरेतले भन्दैमा पत्याउन जरुरी छैन,” उनी भन्छन्, “अरूले भनेको आँखा चिम्लेर पत्याउनुभन्दा आफैँले पत्ता लगाउनु राम्रो ।”

भगवानले गरेर यस्तो भएको भन्ने बनिबनाउ जवाफमा उनले कहिल्यै चित्त बुझाएनन् । उनलाई लागिरह्यो– भगवान्ले मलाई बनाएको हो भने भगवान्लाई कसले बनायो त ? टाइम मेसिन आविष्कार गर्ने लहड चलेको थियो एकताका उनलाई । त्यो सम्भव छैन भन्ने धारणा बनाएपछि केही थान आध्यात्मिक प्रश्नमा अल्झिएका छन्– संसार के हो ? ब्रह्माण्ड के हो ? समय के हो ? जीवन के हो ? हामी यहाँ किन छौँ ?

रिचार्ड फेयनम्यान, अल्बर्ट आइन्सटाइन, सुब्रमन्यम चन्द्रशेखर आदि वैज्ञानिकलाई आइडल मान्ने लुजेन्द्रलाई थाहा छ, वैज्ञानिक भनेका समाजका सबैभन्दा महत्त्वपूर्ण मान्छे हुन् । पैसा र प्रसिद्धिका लागि विज्ञानमा लागिँदैन । “मान्छे विज्ञानमा किन लाग्छ भने जिज्ञासा लागेर । सर्वसाधारणलाई मद्दत गरौँ भनेर,” उनी भन्छन्, “विज्ञान नहुँदो हो त संसार चार हजार वर्षअघि जे थियो, त्यही हुन्थ्यो ।”

व्यक्तिगत खुसी र निजी सन्तुष्टिलाई नै उपलब्धि मानेका छन् उनले । “थुप्रै मान्छे उत्तम कामको खोजीमै जिन्दगी बिताउँछन् । मेरो त काम र सोख एउटै छ, विज्ञान,” उनी विज्ञानमोह दर्शाउँछन्, “म विज्ञानलाई प्रेम गर्छु । धन्य छु, मैले विज्ञान पाएँ ।”

तीन वर्षपछि मातृभूमि ओर्लिएका लुजेन्द्रका लागि पछिल्लो यात्रा आधा पर्यटन भयो, आधा विज्ञान । जलवायु परिवर्तनले उर्वरभूमि हिन्नेकाँडामा पानीको चर्को समस्या देखे । दुर्गम ठाउँमा कच्ची सडक त छ तर दौडियो भने गाडीलाई मान्छेले जित्छ । “हरे शिव ! यति दुर्गम क्षेत्र छन्, मैले अहिलेसम्म किन केही काम नगरेको ? यो मेरो नैतिक जिम्मेदारी होइन ?” उनलाई लागेछ ।

पुरानो पुस्ताको सोचाइ लुजेन्द्रले चाहेर मात्र बदल्न सक्दैनन् । तर चाहे भने नयाँ पुस्तालाई अवश्य सक्छन् । त्यसैले सर्वसाधारणलाई ब्रह्माण्डबारे बुझाउने चित्रपुस्तक वा दृश्य माध्यममा विज्ञान शिक्षा कार्यक्रम चलाउने उनको सोच छ । “हाम्रा अभिभावकमा आफूले पूरा गर्न नसकेको सपना सन्तानमाथि थोपर्ने चलन छ, एउटा माछालाई रूख चढ्न सकेन भनेर गाली गर्न मिल्छ ?” उनी भन्छन्, “आफूलाई मन लागेको कुरा मजाले गर्न पाइयो भने सफल हुन सकिन्छ भन्ने उदाहरण मै हुँ ।”

यो पनि पढ्नुहोस् → ‘नत्र इतिहास कसैका नाममा कोरिन्थ्यो...’– लुजेन्द्र ओझा

प्रकाशित: मंसिर १८, २०७५

ट्याग: आवरण