‘नत्र इतिहास कसैका नाममा कोरिन्थ्यो...’– लुजेन्द्र ओझा

- विभु लुइटेल

लुजेन्द्र ओझासँग विभु लुइटेलको अन्तर्वार्ता :

नासासँग कसरी जोडिन पुग्नुभयो ?

युनिभर्सिटी अफ एरिजोनामा अध्ययन गरिरहेका बेला त्यहाँको लुनार एन्ड प्लानेटरी ल्याबमा पनि काम गर्थें । हामीले गर्नुपर्ने अधिकांश काम ब्रह्माण्डीय पिण्डसम्बन्धी अध्ययन–अनुसन्धान हुन्थे । ४० जनाजतिको टोलीमध्ये मचाहिँ त्यसमा इमेज भ्यालिडेटर तथा डाटा एनालिस्टका रूपमा कार्यरत थिएँ । त्यही समय नासाको एउटा परियोजनामा काम गर्ने अवसर जुटेको हो । मंगल ग्रहको एक अर्बिटरमा क्यामेरा जडान गरी त्यहाँबाट सूचना प्राप्त गर्नेसम्बन्धी परियोजना थियो ।

कस्ता सूचना पठाउने क्यामेरा ?

मंगलको धरातलमा देखिएजति सबै । त्यहाँका हावाहुरीको वेग, धरातलीय बनोट तथा पानीको अवस्थितिको अध्ययन गर्न त्यस क्यामेराले सूक्ष्म विवरण देखिने गरी तस्बिर पठाउँथ्यो । हामी त्यसैलाई मानक मान्थ्यौँ ।

त्यसमा तपाईंका योगदान केके थिए ?

क्यामेरा निर्माणका क्रममा हामीलाई कस्ता–कस्ता तस्बिर चाहिन्छन् भनी निक्र्योल गर्ने भूमिकामा थिएँ म । सोहीअनुरूप क्यामेरा निर्माण गरियो । क्यामेरा अर्बिटरमा प्रक्षेपण गरिसकेपछि त्यसबाट प्राप्त तस्बिरको अध्ययन गर्नु मेरो अर्को जिम्मेवारी थियो । त्यसै क्रममा पानी देखापरेको हो ।

तस्बिरमा देखिएको पानी नै हो भन्ने यकिन कसरी भयो ?

सुरुमा त यकिन थिएन । एक रात सबै सहकर्मी घर गइसकेका थिए । म भने प्रयोगशालामा एक्लै बसिरहेको थिएँ । त्यही समय केही फोटा प्राप्त भए । कतै सुक्खा त कतै हिलो भएका केही स्थानका तस्बिर थिए । कम्प्युटरमा धूलो लागेको हो कि भनेर स्क्रिन पनि सफा गरेँ । होइन रहेछ । तर केही तस्बिरका भरमा पानी नै हो भनेर विश्वास गरिहाल्न सक्ने अवस्था पनि थिएन । प्राप्त तस्बिरमा खोट नै नहुने भन्ने पनि होइन । थप तस्बिर प्राप्त हुँदै गएपछि चरणबद्ध रूपमा सूक्ष्म अध्ययन थालेँ । त्यसपछि मात्र यकिन भयो ।

पहिले यस्ता अनुसन्धान भएका थिएनन् ?

थुप्रै थिए । तर तीमध्ये धेरैजसोले पानी बरफका रूपमा भएको पुष्टि गरेका थिए । ठोस पदार्थ छ भने तरल पदार्थका रूपमा पनि पानी पाइन्छ भन्ने सबैलाई थाहा थियो । त्यति त सामान्य अड्कलकै भरमा पनि भन्न सकिन्छ । तर प्रमाण केही थिएनन् । त्यहाँको पानी स्थिर होइन, चलायमान छ भन्ने पनि तिनै तस्बिरबाट पत्ता लाग्यो ।

 पानी पत्ता लगाउने श्रेय संयोगले तपाईंको पोल्टामा परेको हो ?

हो । त्यस रात अरूजस्तै चाँडै घर गएको भए सायद यसको श्रेय  मैले पाउँदैनथेँ । त्यसैले अरूले धेरै प्रशंसा गर्दा म फुर्किन्नँ । म नबसेको भए इतिहास अरू कसैका नाममा कोरिन्थ्यो । म पछुतो भने गर्दैनथेँ होला । अहिलेसम्म पनि मैले यसलाई उपलब्धि होइन, संयोग भन्ने गरेको छु ।

त्यहाँ पानी भने जीवन सम्भव नहोला ?

नहोला भन्न सकिन्न । हामीलाई प्राप्त तस्बिरमा जमिनमा गाडिएका तर मानिसको जस्तै मुखाकृति भएका वस्तुका तस्बिर पनि संलग्न थिए । सुरुमा त सबैले प्राणीका अवशेष हुन् कि भन्ने लख काटे । तर राम्ररी हेर्दा त्यहाँको सतहमा भएका खाल्डाखुल्डीमा छाया परेर मानिसजस्तै देखिएको रहेछ । मंगलमा अहिलेसम्म कुनै प्राणी त भेटिएको छैन । तर अन्य ब्रह्माण्डीय पिण्डमा नहोलान् भन्ने अवस्था पनि छैन ।

त्यसपछि कुन परियोजनामा संलग्न हुनुभयो ?

साना–साना परियोजनामा त काम गरिरहेको हुन्छु । तर मैले आफ्नो जीवनकै कोशेढुंगा मानेको परियोजना भने हालै मंगल ग्रहमा प्रक्षेपित इन्साइट नामको ल्यान्डरमा योगदान दिन पाउनु हो । सिंगो विश्वले नै यसलाई ब्रह्माण्डीय पिण्डहरूलाई लिएर गरिएको अत्यधिक महत्त्वपूर्ण परियोजना मानेको छ ।

इन्साइटमा अहिलेको तपाईंको भूमिका के रह्यो ?

यसबाट हामीले कस्ता सूचना लिने भन्ने पूर्वनिर्धारण गर्न आवश्यक थियो । त्यही निक्र्योल गर्ने टोलीमा म पनि थिएँ । यसको मुख्य उद्देश्य भनेको पृथ्वीमा भूकम्प गएजस्तै मंगल ग्रहमा पनि कम्प हुन्छ भनी सिद्ध गर्नु र त्यसबारे थप अध्ययन गर्नु रहेको छ । यसबाहेक त्यस ल्यान्डरमा जडित पेनिट्रेटिङ उपकरणले मंगलको सतहमा खन्दै गई तापक्रमसम्बन्धी अध्ययन पनि गर्छ । त्यसले सूचना पठाउन कम्तीमा पनि तीन महिना समय लिन्छ । मैले ती अध्ययन गरी कम्प र तापक्रमबारे निष्कर्ष निकाल्नुपर्ने हुन्छ । त्यसैले मेरो खास जिम्मेवारीचाहिँ तीन महिनापछि मात्र सुरु हुन्छ ।

अबका मुख्य परियोजना के छन् ?

मार्च महिनामा इन्साइटबाट डाटा प्राप्त नगर्ने बेलासम्म शुक्र ग्रहसम्बन्धी अध्ययन गर्ने सोच छ । पुराना केही सूचना छन्, ती अध्ययन गर्नु छ । त्यहाँको कुन क्षेत्र–विशेषमा काम गर्ने भनेर त्यसपछि निक्र्योल निकाल्छु । पहिले सेताम्मे देखिने नेपालका हिमाल यसपालि कालाम्मे देखेँ । त्यसैले जलवायु परिवर्तनबारे अध्ययन गर्ने सोच पनि बनाएको छु ।

यो पनि पढ्नुहोस्→ मंगल म्यान

प्रकाशित: मंसिर १८, २०७५

ट्याग: संवाद