भारतमा चम्केको नेपाली म:म

- सुरेशराज न्यौपाने, नयाँदिल्ली

कोलकाताको सेन्ट जेभियर्स कलेजमा स्नातक तेस्रो (अन्तिम) वर्षमा अध्ययनरत थिए, विनोद हुमागाईं । उमेर मात्र २३ वर्ष थियो । पढाइ सकेपछि जागिर खोज्ने योजना थियो नै । तर त्यसअघि नै केही फरक किन नसोच्ने र नगर्ने ? सफल भइयो भने ठीकै छ, नभए जागिर त पाइहालिन्छ भन्नेमा ढुक्क थिए ।

यही सोचबीच उनी र अर्का सहपाठी सागर दरियानीबीच कलेजपछिको योजनालाई लिएर छलफल सुरु भयो । व्यवसाय त गर्ने, तर कस्तो र कुन किसिमको भन्नेमा उनीहरू नै प्रस्ट थिएनन् । धेरै दिनको माथापच्चीपछि उनीहरूले ती प्रश्नको छोटो र सरल उत्तर फेला पारे, म:म । अर्थात् म:मको व्यवसाय । किनकि, त्यसताका कोलकातामा म:मको क्रेज बढ्दो थियो ।

पुँजीका नाममा उनीहरूसँग पकेट खर्चबाट जोगाएर राखेको ३० हजार रुपैयाँ मात्र थियो । तर उनीहरूसँग केही गर्नुपर्छ भन्ने आत्मविश्वास भने करोडौँको । सागरकै घरको भुइँतलामा एउटा सानो कोठा भाडामा लिए । म:म बनाउन पार्टटाइम कुक राखे । कुकलाई छनोट गर्नुअघि ट्रायल लिए । आफूहरूले खोजेजस्तो म:म बनाउन सक्ने कुकलाई काममा लगाए । त्यसपछि बनाएको म:मलाई छेउको एउटा चोकमा लगेर बेच्न थाले ।

म:म पकाउने भाँडो पनि सिल्भरकै थियो, काठमाडौँका गल्लीहरूमा देखिनेजस्तै । अनि, खुल्यो अगस्त २९, २००८ मा वाउ म:मको पहिलो आउटलेट । “दुई–चार वर्ष व्यवसाय गरौँ, सफल भइएन भने त्यसपछि बुबाले भनेजस्तो जागिर खान सकिहाल्छु नि भन्ने आत्मविश्वास थियो,” विनोद सम्झिन्छन् ।

त्यसरी ३० हजारको लगानीबाट सुरु भएको वाउ म:मले अहिले वार्षिक १ सय ३० करोड भारु कारोबार गर्छ । भारतका विभिन्न ११ सहरमा कम्पनीका २ सय स्टोर छन् । दिल्लीमा मात्र ३८ स्टोर छन् । अर्को वर्षसम्म यसलाई ७० पुर्‍याउने लक्ष्य राखेका छन्, विनोदले । र, दुई सहरमा विस्तार गरेर भारतभर अर्को वर्ष थप सय स्टोर खोल्ने लक्ष्य छ । प्रत्येक सहरमा क्षेत्रीय कार्यालय, फ्याक्ट्री अनि स्टोर । मुख्यालयचाहिँ कोलकाता । कम्पनीले २ हजार ४ सयलाई प्रत्यक्ष रोजगारीसमेत दिएको छ ।

कम्पनीले करिब दुई दर्जन पुरस्कार जितिसकेको छ । पुरस्कार थाप्न जाने समय मिलाउन पनि उनलाई हम्मे पर्छ । वाउ म:मले सन् ०१६ को राष्ट्रिय उद्यमशीलता पुरस्कार पाएको हो । पाँच लाख नगदसहितको उक्त पुरस्कार भारतमा उद्योग र व्यवसायलाई सरकारको तर्फबाट दिइने सबैभन्दा प्रतिष्ठितमध्येमा पर्छ । विनोद भन्छन्, “हामीले गुमाउने केही थिएन । केही नितान्त फरक र नयाँ गर्नुपर्छ भन्ने थियो । साथै, व्यवसायका हरेक पाटालाई मिहीन ढंगले केलाउँथ्यौँ र केही नयाँ योजना लागू गर्नुअघि पर्याप्त गृहकार्य गथ्र्यौं ।”

कलेज सकेपछि बुबाले जागिर खोज्न सजिलो छ भन्नुभएको थियो । तर म बेग्लै केही गर्न चाहन्थेँ । त्यो छूट उहाँले दिनुभयो । 

विनोद हुमागाईं | तस्बिरहरू : सुरेशराज न्यौपाने


वाउ म:मले एक दशकभित्र हासिल गरेको यो सफलताका पछाडि विनोद र साझेदार राजीवको संघर्ष तथा परिश्रमको लामै यात्रा छ । पछि कलेजकै अर्का सहपाठी मुफ्तर रहमान पनि साझेदारका रूपमा भित्रिन पुगे । कम्पनी खोले पनि सुरुका दिनमा विनोद र सागरलाई कर्मचारीलाई तलब दिन सकिन्न कि भन्ने चिन्ता हुन्थ्यो । त्यसैले नगद अभाव नहोस् भनेर विभिन्न प्रवद्र्धनात्मक योजना ल्याउँथे । जस्तै, दुइटा परिकार अर्डर गर्दा एउटा सित्तैमा । त्यसपछि कारोबार र ग्राहक संख्या पनि वृद्धि हुँदै गयो । दुई महिनाभित्रै दोस्रो स्टोर खुल्यो । त्यसको केही दिनमा तेस्रो । फुलटाइम कुक राखे । कारोबार यति राम्रो भयो कि ४४ वटा स्टोर खोलुन्जेल वार्षिक कारोबार १० देखि १२ करोड पुग्यो ।

त्यतिबेलासम्म ओबिसी बैंकबाट लिएको दस लाखको ऋण मात्र थियो । त्यति थोरै रकम ऋण दिन पनि बैंकले करिब एक वर्ष लगायो । सन् ०१४ मा आइपुग्दा कारोबार २० करोड नाघ्यो । कम्पनीको लोभलाग्दो प्रगति देखेर लगानीकर्ताले चासो देखाउन थाले । त्यसको अर्को वर्ष व्यवसायमा पहिलो पटक थप पुँजी भित्रियो । त्यस क्रममा कम्पनीको पहिलो पटक औपचारिक मूल्यांकन भयो । लेखा परीक्षकले सय करोड भारुको मूल्यांकन गरे । ‘एन्जेल इन्भेस्टर’ को समूहले पहिलो चरणमै दस करोडको लगानी गर्‍यो । लगानी थपिएसँगै कारोबार रकम बढेर ०१७ मा आइपुग्दा ८७ करोड नाघ्यो ।

सोही वर्ष ५० करोडको थप लगानी भित्रियो । त्यसमध्ये ४० करोड मात्र कम्पनीमा हालियो । पहिलो चरणमा लगानी गरेकालाई दस करोड प्रतिफलसहित फिर्ता गरियो । त्यसरी फिर्ता पाउनेहरू करिब ९० जना लगानीकर्ता थिए । त्यतिबेला एक करोड लगानी गर्नेले दुई करोडसम्म पाए । कुनै पनि व्यवसायमा एक वर्षमै शतप्रतिशत प्रतिफल चानचुने घटना थिएन । त्यसैलै पत्रपत्रिकाहरूले पनि ठूलै समाचार बनाए ।

सामान्यतया कुनै पनि फुड व्यवसायको मूल्यांकन चारदेखि पाँच गुणा बढीले गर्ने प्रचलन छ । यो वर्ष वार्षिक कारोबार १ सय ३० करोड हाराहारी पुग्नेछ । अर्को वर्ष करिब २ सय करोड पुग्ने हुँदा त्यस हिसाबले कम्पनीको मूल्यांकन हजार करोड सजिलै नाघ्ने विनोदको दाबी छ ।

कारोबार विस्तारसँगै म:मका परिकार पनि थपिने क्रम जारी छ । पहिलो पटक म:मका चिकेन, पनिर र प्राउन म:म गरी तीन परिकार थिए । अहिले १४ वटा मुख्य भेराइटी छन् । सामान्य म:मदेखि बर्गर म:म, तन्दुरी म:म, सिज्लर म:म । अनि, तिनैलाई फ्राइ, प्यान फ्राइ गरेर ४० भन्दा बढी स्वादका म:म तयार हुने गरेको छ ।

नयाँ स्वादको म:म कहाँ पाइन्छ भन्नेमा विनोद सधैँ त्यसको खोजीमा रहन्छन् । नयाँ ठाउँ पुग्यो कि उनी सडक–गल्लीदेखि ठूला रेस्टुराँ चहार्छन्, म:मको स्वाद लिन । कुनै पनि नयाँ परिकार ल्याउनुअघि त्यसमा लामै गृहकार्य गरिन्छ । कुनै पनि म:मको नयाँ परिकार बजारमा ल्याउनुअघि विनोद नेतृत्वको एउटा टिमले त्यसको गृहकार्य गर्छ । परिकार टुंगो लागेपछि बनाउने सूत्रलाई कम्प्युटरमा तयार पारिन्छ । अनि त्यसलाई किचेनमा पठाइन्छ । दुई दिनसम्म किचेनमा त्यसको परीक्षण हुन्छ । परीक्षण सफल भएपछि कुकलाई तालिम दिइन्छ । त्यसपछि सबै स्टोरमा त्यही सूत्रका आधारमा म:मको नयाँ परिकार बनाइन्छ ।

नयाँ परिकार ल्याउनासाथ ग्राहकले मन पराउँछन्/पराउँदैनन्, त्यसको परीक्षण हुन्छ । किचेनको, स्टोरको अवस्था कस्तो छ, सरसफाइमा ध्यान दिइएको छ/छैन, भेज र ननभेजलाई छुट्टै राखिएको छ/छैन, त्यो सबै कुराको नियमित परीक्षण हुन्छ, ‘फुड अडिटर’ बाट । उनीहरूले बनाएको रिपोर्टका आधारमा गुरुयोजना बन्छ । कमजोरी पहिचान हुन्छ । अनि, पूरै प्रणालीलाई नियन्त्रण गरिन्छ ।

नियमित रूपमा कर्मचारीलाई म:म बनाउनेदेखि सरसफाइसम्मको तालिम दिइन्छ । दैनिकजसो समूहका समूह तालिम हुन्छ । कुनै कर्मचारीले सफाइमा ध्यान दिएन भने तत्काल तालिममा राखिन्छ । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकै कारण वाउ म:मले आईएसओ–२००० प्रमाणचिह्नसमेत पाएको छ ।

व्यवसाय विस्तारसँगै विनोदको लक्ष्य पनि अकासिँदै छ । अबको तीन–चार वर्षभित्र कम्पनीलाई विदेशी बजारमा विस्तार गर्ने योजना बुनिसकेका छन्, उनले । एकैपटक हजारौँ आउटलेट । त्यसो त, बंगलादेश र दुबईका ठूला कम्पनीले पनि चासो देखाइसकेका छन् । तर त्यसका लागि कम्पनीको फुड प्रोसेसिङ युनिटलाई पूर्ण रूपमा मेकानाइज्ड (स्वचालित) बनाउनुपर्ने आवश्यकता देख्छन् उनी । “विदेशमा विस्तार गर्न अहिलेको जस्तो प्रणालीबाट सम्भव हुँदैन । प्रतिस्पर्धा र कारोबार दुवै हिसाबले पूर्ण रूपमा स्वचालित हुनुपर्छ,” विनोद भन्छन् ।

स्टोर संख्यामा हुने वृद्धिसँगै म:म बनाउने जनशक्ति थप्नु उत्तिकै चुनौतीपूर्ण छ । अहिले नै दिनमा तीन लाख गोटा म:म तयार हुन्छ । त्यसबाहेक गुणस्तर नियन्त्रणदेखि आकारमा एकरूपता ल्याउनु निकै कठिन छ । त्यसैका लागि मसला तयारीदेखि म:म बनाउनेसम्मका काम मेसिनबाट गर्न गृहकार्य सुरु भइसकेको छ ।

कुनै पनि व्यवसायको सफलता त्यसको व्यवस्थापन क्षमतामा निर्भर हुन्छ भन्ने विनोदलाई राम्ररी हेक्का छ । त्यसैले उनी व्यवस्थापनको आधुनिकीकरणमा पनि त्यत्तिकै गम्भीर छन् । कम्पनीको उच्च व्यवस्थापनमा केएफसी, म्याकडोनाल्ड, डोमिनोजजस्ता अन्तर्राष्ट्रिय ब्रान्डको बजार प्रवद्र्धनमा लामो अनुभव बटुलेकाहरू छन् । “जहिले पनि सफल हुन सक्षम टिम चाहिन्छ । हामीहरू बजारविज्ञ होइनौँ । अन्तिम निर्णय गर्ने बेला मात्र सहभागी हुन्छौँ । त्यसैले हाम्रो बढी ध्यान ‘आर एन्ड डी’ (अनुसन्धान तथा विकास) मा हुन्छ । र, ब्रान्ड तथा नयाँ परिकार हुन्छ । वृद्धि कसरी हासिल गर्ने भन्नेमा हुन्छ । तर, त्यो वृद्धिलाई निरन्तरता दिन अनुभवी हात नै चाहिन्छन् ।”

आफ्नो व्यावसायिक सफलताभन्दा पनि कम्पनीले हजारौँलाई रोजगारी दिन सकेकामा  सन्तुष्टि मिलेको छ, विनोदलाई । अहिले उनको कम्पनीमा करिब २ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यसमध्ये करिब २ सय नेपाली छन् । भोलिका दिनमा कम्पनीसामु कुनै चुनौती वा बाधा आइपरे यिनै २ हजार कामदार र तिनका परिवार आफ्नो पक्षमा उभिनेमा उनी ढुक्क छन् ।

“अहिलेको सबैभन्दा ठूलो समस्या भनेकै बेरोजगारी हो । यस्तो अवस्थामा २ हजारलाई प्रत्यक्ष रोजगारी दिनु ठूलै सफलता हो,” उनी भन्छन्, “भोलि मलाई केही समस्या पर्दा उनीहरूको साथ रहनेमा ढुक्क छु ।”

सफलताको श्रेय पूर्ण रूपमा बुबा नारायण हुमागाईंलाई दिन्छन्, विनोद । हुन पनि, बुबाले दु:खजिलो गरेरै छोरा विनोद, दिनेश र लालकृष्णलाई कुनै कुराको कमी हुन दिएनन्, लालनपालनदेखि शिक्षादीक्षासम्म ।

काभ्रेको पात्लेखेतमा जन्मिएका विनोदले प्रारम्भिक कक्षा गाउँकै बचलादेवी विद्यालयमा पढे । त्यसपछि नारायणले छोराहरूलाई पनि आफूसँगै कोलकाता लगे । त्यतिबेला नारायण कोलकातामा काम गर्थे । सन् १९९१ मा ७ वर्षको उमेरमा कोलकाता पुगेका विनोदले त्यहीको सेन्ट जेभियर्सबाटै विद्यालय र कलेज अध्यययन गर्ने अवसर पाए । अहिले दिनेश विनोदकै कम्पनीमा काम गर्छन् भने कान्छा लालकृष्ण बिडला कम्पनीमा कार्यरत छन् ।

“कलेज सकेपछि बुबाले जागिर खोज्न सजिलो छ भन्नुभएको थियो । तर म बेग्लै केही गर्न चाहन्थेँ । त्यो छूट उहाँले दिनुभयो । असफल हुन्थेँ भने फर्केर जागिरमा जान्थेँ होला । त्यसैले आज पछाडि फर्केर हेर्दा बुबाले ममाथि गर्नुभएको त्यही विश्वास, भरोसा र अवसरकै कारण यहाँसम्म आइपुगेको हुँ भन्ने लाग्छ,” विनोद भन्छन् ।

हुन त, विनोद नेपालमा अहिले नै स्टोर खोल्न सक्छन् तर हतार गर्ने पक्षमा छैनन् । “नेपालमा जानु विशेष कुरा हो । त्यतिबेला एक–दुई स्टोर होइन, एकैपटक एक–दुई सय स्टोर खोल्नेछौँ,” उनी चार वर्षभित्रको गुरुयोजना सुनाउँछन्, “त्यतिबेला एउटा स्टोरमा पाँच जनाले रोजगारी पाए भने पनि सबैमा पाँच सयले पाउनेछन् ।”

प्रकाशित: मंसिर १८, २०७५

ट्याग: व्यवसाय