जता हेर्‍यो उतै सरकार

- सुरेश किरण

प्रतिपक्षी पार्टीले देशमा सरकारै छैन भनेको सुन्दा अचम्म लागेको छ । अचम्म त अरु पनि धेरैलाई लागेको हुनुपर्छ । किन हो, मलाई चाहिँ अलि बेसी नै लाग्यो । मलाई त यो पनि लाग्यो कि प्रतिपक्षी पार्टीका जम्मै नेता निदाएकै हुनुपर्छ । होइन भने हाम्रोसामु यति शानका साथ उभिएको सरकार उसले चाहिँ किन देखेन ?

देशमा विभिन्न घटनाहरु घटित भइरहेका छन् । त्यसमा मात्रै आँखा लगाए पनि सरकारको सशक्त उपस्थिति थाहा पाउन सकिन्छ । अब जल्दोबल्दो घटना नै लिऊँ, निर्मला पन्तको बलात्कार र त्यसपछि हत्या । तर चार महिना भयो अपराधी पत्ता लगाउन सकेको छैन । अब अपराधी किन पत्ता लाग्न सकेन ? त्यही सरकारको कारणले होइन ? देशमा सरकार छ । चालू हालतमै छ । त्यही भएर त निर्मला पन्तको हत्यारा पत्ता लगाउन सकिएन नि ।

भर्खरै मात्र राष्ट्रपतिका लागि १८ करोडको गाडी किन्ने तयारी भयो । गाडी किन्ने कुराले देशैभरि बबाल छ । आखिर त्यो गाडी पनि सरकार भएकै कारणले किन्न लागिएको होइन र ? सरकारै नभा’को भए कसले किनिदिन्थ्यो ?

बजारमा चिनी किन्न पाइँदैन । जे किन्न पाइन्छ, त्यो किन्न सकिने हुँदैन । यो पनि सरकार भएकै कारणले भएको हो । भ्रष्टाचार ह्वात्तै बढेको छ । सरकार भएरै बढेको हो । अराजकता बढेको छ । सरकार भएरै बढेको हो ।

अस्ति प्रधानमन्त्रीले भन्नुभएको थियो, “अब विपक्षीले सरकार खोइ भनेर खोज्नुपर्दैन, हामी विपक्षीलाई जता हेर्‍यो त्यतै सरकार देख्ने बनाइदिन्छौँ ।” जता हेर्‍यो त्यतै सरकार विपक्षीले कहिले देख्छ, त्यो त थाहा भएन । तर मैलेचाहिँ जता हेर्छु, त्यतै सरकार देख्न थालिसकेको छु । सरकारी कार्यालय जान्छु, कोही कर्मचारी काम गरिरहेका हुँदैनन् । त्यहाँ सरकार देख्छु । बलात्कार यसरी बढेको छ मानौँ, देशमा ‘बलात्कार महोत्सवै’ चलिरहेको छ । म त्यहाँपनि सरकार देख्छु । सडकमा जहाँजहाँ धूलो उड्छ र खाल्डो खनेको हुन्छ, त्यहाँ पनि सरकारै देख्छु । विकासको काम अघि बढिरहेको देख्दिनँ, बरु त्यहाँ सरकार देख्छु ।

यति धेरै सरकारहरु हामीबीच ज्यूँका त्यूँ हुँदाहुँदै पनि कसैले देशमा सरकारै छैन भन्ला र ! 

प्रकाशित: मंसिर १७, २०७५

ट्याग: परिहास