खाडी लैजाने भन्दै भारतमा बेचिँदै

- ठाकुरसिंह थारु/नेपालगन्ज

वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान पाइने, त्यो पनि नि:शुल्क । राम्रो कमाइ हुने सपना बोकेर नुवाकोट र सिन्धुपाल्चोकका तीन किशोरी भारत लागे । दिल्ली पुर्‍याइए । भिसा त्यही बन्ने आश्वासन पाए । तर दलालले उनीहरूलाई दिल्लीको जिबी रोडस्थित कोठी पुर्‍याए । तीन वर्षको नारकीय जीवनपछि कात्तिक अन्तिम साता कोठी नम्बर १५६ बाट उद्धार गरी नेपालगन्ज ल्याइएको छ । दलालले दुई/दुई लाख रुपैयाँमा कोठीमा बिक्री गरेका थिए ।

नुवाकोट र सिन्धुपाल्चोकका तीन किशोरीकै जस्तो सपना देख्ने ३७ नेपाली महिला भारतको उत्तर प्रदेश गाजियावाद इन्दिरापुरम पुर्‍याइए । उनीहरूलाई त्यहाँ तीन वटा फ्ल्याटमा राखिएको थियो । दलालले दुई महिनाभित्रै त्यति धेरै महिलालाई कुवेतलगायतका खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि पठाउने आश्वासन दिएका थिए । तर दुई महिनासम्म पनि विदेश जान नपाएपछि शंका लागेर उनीहरूले आफन्तलाई खबर गरे ।

परिवारको उजुरीपछि दिल्लीस्थित नेपाली दूतावास र भारतीय सुरक्षा अधिकारीको सहयोगमा उद्धार गरिएकामध्ये सबैभन्दा बढी झापाका छन् । अरू इलाम, पाँचथर, तेह्रथुम, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, उदयपुर, कपिलवस्तु, कास्की, काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, बाँके, रुकुम, दैलेख र कञ्चनपुरका हुन् ।

त्यसअघि भारतको दिल्ली मैदानगढीबाट ७३ नेपाली महिलाको उद्धार गरिएको थियो । तीमध्ये १६ नेपाली महिलालाई नेपालगन्ज ल्याई परिवारको जिम्मा लगाइएको छ । उनीहरूलाई पनि खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि पठाउने भन्दै दिल्ली पुर्‍याइएको थियो । दिल्ली महिला आयोग, दिल्ली प्रहरी, रेस्क्यु फाउन्डेसन र नेपाली दूतावासको समन्वयमा उनीहरूको उद्धार सम्भव भएको हो ।

हालैका यी तीन घटनाले नेपाल–भारतमा नेपाली महिला तस्करी गर्ने ठूलो गिरोह सक्रिय रहेको देखाउँछ । दलालहरूले नेपालका विभिन्न जिल्लाबाट महिलालाई काठमाडौँ बोलाउँछन् र त्यहाँबाट विभिन्न नाका हुँदै दिल्ली पुर्‍याउँछन् । त्यसरी भारत पुर्‍याइने अधिकांश नेपाली महिलाले बिनापैसा खाडी मुलुकको सपना देखेका हुन्छन् ।

“कुवेत जाने भनेर घर छाडियो, कोठी पुगियो,” कोठीबाट उद्धारपछि नेपालगन्ज ल्याइएकी एक किशोरीले भनिन्, “पैसा कमाउने प्रलोभनमा पर्दा यस्तो गति भयो ।”

पीडित किशोरीका अनुसार भारतमा पुर्‍याएपछि केही दिन नेपाली दलाल पनि सँगै हुन्छन् । भिसा आउँदै छ भन्ने आश्वासन दिन्छन् । केही दिनपछि अपरिचित व्यक्ति आएर अस्वाभाविक व्यवहार गर्न खोज्छन् । भनेको नमान्दा किनिसकेको जवाफ दिन्छन् । “भारत पुर्‍याएपछि सुरुमा एक/दुई दिन राम्रो व्यवहार गरे । केही दिनपछि अश्लील व्यवहार गर्न थाले,” उद्धार गरिएकी अर्की किशोरीले भनिन्, “झुटो आश्वासनमा पर्दा दु:ख पाइयो ।”

नेपाल सरकारले भारतको बाटो भएर वैदेशिक रोजगारीमा जान रोक लगाएको छ । तर मानव तस्करले भने झुटो आश्वासनमा पारी नेपाली महिलालाई भारत पुर्‍याउने गरेका छन् । भारतको विमानस्थल भएर वैदेशिक रोजगारीका लागि जान पाइँदैन । वैदेशिक रोजगारीका लागि खाडी मुलुक पठाउने भन्दै भारत लगिएका नेपाली महिलालाई उद्धार गरी फिर्ता पठाइने गरिएको छ । तर उद्धार गरिएका तिनै महिला फेरि भारतमै पुग्ने गरेका छन्, जसका कारण उनीहरू बेचबिखनको उच्च जोखिममा रहने गर्छन् । फिर्ता पठाइएका महिला पहिचानका लागि भारतीय सुरक्षाकर्मीले अभिलेख राख्ने गरेका छन् ।

“एकपल्ट उद्धार गरेर पठाइएका महिला दुई/तीनपल्टसम्म फेरि पनि विदेश जाने भनेर फिर्ता आउने गरेको पाइएको छ । नेपाल सरकारले सीमामा बढी निगरानी बढाउन आवश्यक छ,” नेपाल–भारत सीमा अगैया रेन्जस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) का डेपुटी कमान्डेन्ट जयप्रकाश भन्छन्, “हामीलाई अचम्म लाग्छ, एकपल्ट फर्काइएका नेपाली महिला विदेश जाने भन्दै पटक–पटक किन भारत आउने प्रयास गर्छन् ?”

उनका अनुसार यस्ता घटनाबाट नेपाली महिला सहजै बेचबिखनमा पर्ने गरेको पुष्टि हुन्छ । “मानव तस्करी रोक्न हाम्रो एक्लो प्रयासले सम्भव छैन । नेपालका सुरक्षाकर्मीले पनि कडाइका साथ निगरानी बढाउन आवश्यक छ,” डेपुटी कमान्डेन्ट जयप्रकाश भन्छन्, “नेपाल–भारत आउजाउ गर्ने व्यक्तिको पहिचानका लागि परिचयपत्र अनिवार्य गरिए केही सम्भव हुन सक्छ ।”

बाँके, बर्दिया र दाङ सीमानजिक उत्तर प्रदेशको बहराइच जिल्लाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सभा राम खुला सीमाका कारण मानव तस्करी चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । “खुला सीमा हाम्रो प्रमुख चुनौती हो । यद्यपि, सीमामा खटिने सुरक्षाकर्मीले निगरानी बढाएका छन्,” राम भन्छन्, “नेपाल–भारत सुरक्षा अधिकारीबीच यसबारे बेलाबेला छलफल पनि हुने गरेको छ ।”

उत्तर प्रदेशको बहराइचमा सम्पन्न इन्डो–नेपाल छलफलमा मानव तस्करी नियन्त्रणका लागि सीमामा परिचयपत्र लागू गर्नुपर्ने सुझाव दिइएको थियो । भारतकै देहात संस्थाका जितेन्द्र चतुर्वेदी सीमाबाट उद्धार गरिएका नेपाली महिला तथा बालबालिका नेपाली अधिकारीलाई बुझाउने गरेको सुनाउँछन् । उनी भन्छन्, “हामीले नेपाल–भारत सीमामा काम गर्दै आएका छौँ । दैनिकजसो महिलालाई उद्धार गर्छौं ।”

सरकारले भारत भएर वैदेशिक रोजगारीमा जान रोक लगाए पनि मानव तस्करले दिल्लीमा भिसा बनाइदिने भन्दै त्यहाँ लैजाने गरेको पाइएको छ । कतिपय नेपाली महिलालाई पर्यटक भिसामा विदेश पठाउने गरिन्छ । “छिटो धनी हुने चाहना जोकोहीलाई छ । यसैलाई मानव तस्करले ठूलो हतियार बनाएका छन्,” माइती नेपाल, नेपालगन्जका संयोजक कोइराला भन्छन्, “तस्करले सन्जालमार्फत प्रलोभनमा पार्छन् र सजिलै भारत लैजान्छन् ।”

प्रकाशित: मंसिर १७, २०७५

ट्याग: समाज