पीए पावर

- जनक तिमिल्सिना

वारि सल्यान, पारि जाजरकोट । सल्यानका टेकबहादुर बस्नेत र जाजरकोटका शक्ति बस्नेत दुवै पूर्वमाओवादी नेता हुन् । ०६२ मा दुवै माओवादीको तत्कालीन जनमुक्ति सेनाको क्रमश: छैटौँ र चौथो डिभिजनका राजनीतिक कमिसार थिए । टेकबहादुरभन्दा शक्ति केही सिनियर भए पनि लगभग समान पार्टी हैसियत । दुवै केन्द्रीय स्तरका नेता । ०६२/०६३ को आन्दोलनपछि शान्ति प्रक्रिया सुरु भयो । माओवादी शान्तिपूर्ण प्रतिस्पर्धासहितको संसदीय राजनीतिमा प्रवेश गर्‍यो, ०६४ मा । पहिलो संविधानसभा निर्वाचनबाट पहिलो राजनीतिक शक्तिका रूपमा उदायो ।

०६५ मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव नियुक्त भए, शक्तिबहादुर । त्यसयता शक्ति दुई पटक सांसद र गृहसहितको प्रभावशाली तीन मन्त्रालयका मन्त्री भए । तर, तीन पटक सल्यानबाट प्रत्यक्ष निर्वाचन जित्दा पनि टेकबहादुर भने एक पटक सामान्य प्रशासनमन्त्री भए, त्यो पनि पटक–पटक असन्तुष्टि पोखेपछि मात्रै ।

कतिसम्म भने ०६२ मै तत्कालीन माओवादीको पश्चिम सैन्य कमान्डर रहेका जनार्दन शर्मा ‘प्रभाकर’ सँग शक्तिको सीधा राजनीतिक टक्कर सुरु भयो । जबकि, ०६२ अघि शर्मा उनका कमान्डर थिए । ०७२ सम्म आइपुग्दा वरिष्ठ र अनुभवी तिनै प्रभाकरलाई पाखा लगाउँदै तत्कालीन एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गृह प्रशासन फुत्काए ।

गृह मन्त्रालयमा शक्ति–उदयका पछिल्तिर प्रचण्डको स्वकीय सचिव हुँदा आर्जित विश्वासलाई मुख्य कारण मानिन्छ । शक्तिको ‘पावर’ राजकीय पदमा मात्रै बढेन, पार्टीभित्र पनि दाहालको ‘किचेन क्याबिनेट’ का प्रभावशाली सदस्यका रूपमा दरिए ।

पीए भएर सबैभन्दा ठूलो लाभको पद प्राप्त गर्नेमा पर्छन्, पूर्वप्रधानमन्त्री झलनाथ खनालका पीए दीपकचन्द्र अमात्य । दीपक तिनै हुन्, जो झलनाथ पार्टी र राजकीय शक्तिमा पुगेका बेला उनको किचेन क्याबिनेटमा प्रभावशाली भूमिकामा देखिए । ०७१ मा सुशील कोइराला नेतृत्वको सरकारमा झलनाथले पार्टी सचिव भीम आचार्यलाई बर्खास्त गर्दै आफ्ना भित्रिया अमात्यलाई पर्यटनमन्त्री पद दिलाए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेता भन्छन्, “पार्टी सचिवलाई बर्खास्त गरेर स्वकीय सचिवलाई मन्त्री बनाउने झलनाथको कदम उनको राजनीतिक करिअरका लागि ठूलो धक्का बन्न पुग्यो । यो कुरा कति रियलाइज गरे, उनै जानून् ।”

नेपाली राजनीतिमा ठूला नेताहरूको स्वकीय सचिव हुँदा आर्जित विश्वासलाई सिँढी बनाएर निरन्तर अवसर र लाभ हात पार्ने थुप्रै छन् । धेरै नेताको राजनीतिक उडान र लाभ प्राप्तिका पछाडि कतै न कतै स्वकीय सचिव हुँदा आर्जित आशीर्वादले काम गरेको छ । लामो समय कम्युनिस्ट राजनीतिमा सक्रिय नेकपाका एक नेता भन्छन्, “आफ्नो स्पष्ट अडान भएको, केही गरौँ भन्ने ‘भिजनरी’ र स्वावलम्बी मान्छेलाई नेताहरूले मन पराउँदैनन् । त्यसैले पीए राख्न ‘एसम्यान’ र चाकरीबाज स्वभावकालाई छान्ने गर्छन् । त्यही कारण मन्त्रीहरूको सचिवालय विवादमा परिरहन्छन् ।” कतिपय नेताले त शक्तिमा हुँदा राजनीतिक पृष्ठभूमि नै नभएका आफन्त, नातागोता र पारिवारिक सदस्यलाई पीएमा भर्ती गरेका छन् ।

राजनीतिमा लामो समय आफ्नो वर्चस्व र प्रभुत्व कायम राखिराख्न पनि नेताहरूले राजकीय जिम्मेवारीका बेला आफ्ना नजिक ठानिएकालाई पीए नियुक्त गरिरहेका छन् । भविष्यमा त्यही ‘पीए–कल्चर’ लाई उनीहरूले पार्टी राजनीतिमा उत्तराधिकार स्थापित गर्ने अस्त्रका रूपमा प्रयोग गर्छन् । पार्टीकै ‘क्याडर’ भए पनि क्रियाशील सदस्यलाई भन्दा आफ्ना आसेपासे र विश्वासपात्रलाई च्याप्ने काम नेताहरूले गरेको देखिन्छ ।

लामो राजनीतिक संघर्षबाट खारिएर आएका नेताहरू नै किन यस्तो ‘पीए–कल्चर’ प्रोत्साहन गर्छन् त ? राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल नेपालमा नेताहरूले नितान्त व्यक्तिगत अनुकूलतामा आफ्ना पीएहरू चयन गर्ने गरेको बताउँछन् । “नेपालमा कुनै पनि नेताले आफ्ना पीए व्यावसायिक राखेको देखिँदैन,” उनी भन्छन्, “आफूअनुकूलका व्यक्तिलाई ‘पिकअप’ गरेर काम लिने र आफ्नो विश्वास रहुन्जेल उसैलाई अगाडि बढाउने गरेको देखिन्छ ।”

खनालको तर्कसँग अर्का प्राध्यापक लोकराज बराल पनि सहमत छन् । ‘पीएहरू राजनीतिक क्याडरबाटै आएका देखिन्छन् । तर नजिक, छेउछाउ रहेका र मन पर्ने व्यक्तिलाई मात्रै पीए नियुक्त गरेको पाइन्छ,” बराल थप्छन्, “कुनै सिद्धान्त, मर्यादा, नियम र मापदण्ड छैन । व्यक्तिगत रुचि मिल्ने र खुसी पार्न सक्ने व्यक्तिलाई छान्छन् र उनीहरूलाई नै स्वार्थअनुकूल अगाडि बढाउँछन् ।”

पीएलाई राजनीति, अवसर र लाभयात्रामा नेताहरूले टेको दिने विषय नेपालमा नौलो भने होइन । अस्थिरताको चक्रव्यूहबाट गुज्रिँदै आएको नेपाली राजनीतिमा आसेपासे, विश्वासपात्रलाई मात्र च्याप्ने नेतृत्वको कार्यशैलीले पार्टीमा राजनीति र इमानदार कार्यकर्तालाई निरुत्साहित पारिरहेको हुन्छ । तर यसतर्फ मुख्य नेतृत्वले खासै ध्यान पुर्‍याएको देखिँदैन । “यसले पार्टी राजनीतिमा ठूलो असर गर्छ,” बराल थप्छन्, “इमानदार र सक्रिय कार्यकर्तालाई निरुत्साहित बनाउँछ । पार्टीमा शिथिलता ल्याउँछ ।” घटनाक्रमले पीएहरूलाई काखी च्याप्ने प्रचलन नेपालमा कांग्रेसको तुलनामा कम्युनिस्टमै झांगिएको देखिन्छ ।

पहुँच र प्रभाव

०४६ को परिवर्तनपछि ०४८ मा कांग्रेसको सरकारमा १९ पटक कार्यवाहक प्रधानमन्त्री बन्ने तत्कालीन भौतिक योजनामन्त्री बलबहादुर राईका पीए भए, रामहरि खतिवडा । ०४७ र ०५६ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उनी ‘किचेन क्याबिनेट’ मै रहे । तिनै खतिवडा ०७० को संविधानसभाको दोस्रो निर्वाचनमा ओखलढुंगा–२ बाट सभासद् निर्वाचित भए । खतिवडा कृष्णप्रसादबाटै आफूले राजनीतिक संस्कार सिकेको बताउँछन् । “मैले किसुनजीबाट राजनीतिक संस्कार र राजनेतामा हुने गुणसिकेँ,” उनी भन्छन्, “उहाँकै राजनीतिक स्कुलिङमा हुर्किएँ ।”

भट्टराई र राईसँगै रहँदा त्यतिबेला राजनीतिक पहुँच प्राप्त गरे पनि कहिल्यै त्यसलाई खराब ठाउँमा प्रयोग नगरेको उनको दाबी छ । “मैले राजनीतिक पहुँच र सम्पर्क–सूत्र पनि निर्माण गरेँ,” उनी थन्छन्, “तर त्यसलाई गलत काममा प्रयोग गरिनँ । त्यतिबेला प्रशासनिक क्षेत्रका धेरै मान्छे चिनेकाले अहिले कुनै काम गराउन मन्त्री र प्रधानमन्त्रीकहाँ धाउनुपर्दैन ।”

कैलाली क्षेत्र नं २ बाट संघीय संसद् प्रतिनिधिसभामा निर्वाचित नेकपा सांसद झपट रावलको राजनीतिक उडानका पछाडि नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलको हात रहेको आरोप कतिपय लगाउँछन् । विद्यार्थी राजनीतिक पृष्ठभूमि हुँदै पार्टी राजनीतिमा आएका उनी दुई पटक पीए बने । ०६३ को अन्तरिम सरकारमा मोहनसिंह राठौर शिक्षा तथा खेलकुद राज्यमन्त्री हुँदा पहिलो पटक उनका पीए बनेका थिए । ०६६ मा भीम रावल गृहमन्त्री हुँदा पनि उनै झपट पीए भए । ०७४ को संघीय संसद्को निर्वाचनमा राठौरलाई उछिन्दै झपट कैलाली क्षेत्र नं २ बाट संघीय संसद्को प्रतिनिधिसभामा विजयी भए ।

एमालेको नवौँ महाधिवेशनपछि वैकल्पिक केन्द्रीय सदस्यको मनोनयनमा परेका उनी अहिले नेकपाको केन्द्रीय कमिटी सदस्य छन् । उनी आफ्नो राजनीति ‘टर्निङ प्वाइन्ट’ नै भीम रावल रहेको बताउँछन् । “भीम रावलको सहयोगी हुँदाको समय मेरो जीवनका लागि उपलब्धिमूलक रह्यो,” उनी भन्छन्, “राजनीतिक अनुशासन, समयको पालना र समाजप्रतिको दायित्व उहाँबाटै सिकेँ । उहाँकै सहयोगी भएर समाज, पार्टीप्रति इमानदारी, मिहिनेत र अनुशासन मेरो जीवनका लागि शिक्षा भयो । धेरै कुरा सिक्ने अवसर पाएँ ।”

हाल नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेल ०६१ र ०६९ मा मन्त्री हुँदा स्वकीय सचिव रहिसकेका काठमाडौँ– ५ ‘क’ का निर्वाचित प्रदेश सांसद नारायण सिलवाल नेताको पीए हुँदा जनता र कार्यकर्तामाझ अलोकप्रिय भए पनि प्रशासनिक तथा राजनीतिक अनुभव प्राप्त हुने बताउँछन् । “सबै जनता तथा कार्यकर्ताका काम गर्न सकिँदैन । त्यसैले जनता र कार्यकर्ताबीच अलोकप्रिय भइन्छ,” उनी भन्छन्, “तर प्रशासनिक, राजनीतिक अनुभव, राष्ट्रिय स्तरको सम्पर्क–सूत्र र पहुँच निर्माणका हिसाबले भने लाभप्रद हुन्छ ।” 

प्रकाशित: मंसिर १६, २०७५

ट्याग: राजनीति