[सम्पादकीय] कार्यकर्ता : कस्ता, कति ?

- सम्पादकीय

कांग्रेस महासमिति बैठकको मुखैमा एउटा बहस सुरु भएको छ– कति तहका कार्यकर्ता बनाउने ?

पोहोरका तीन चुनावमा कुस्त मत सोहोरेको नेकपाले आफ्नो संगठन ढाँचा ‘कार्यकर्ता आधारित’ बनाउँदै आएको छ । उसको प्रतिस्पर्धी कांग्रेसले स्थापनाकालदेखि आफूलाई ‘जनआधारित’ भन्दै आयो । चुनावी प्रतिस्पर्धामा वामपन्थीभन्दा पछि परिएला भन्ने भयले हुनुपर्छ, उसले संगठन भने नेकपाकै शैलीमा चलाउँदै आएको छ । आजको खुला राजनीतिक परिदृश्यमा कस्ता कार्यकर्ता चाहिन्छ– पूर्णकालीन कि पेसाकर्मी ? कति किसिमका कार्यकर्ता चाहिन्छ– फलामे अनुशासनका पालक कि स्वतन्त्र मस्तिष्कका प्रयोगकर्ता ?

हलुका हास्य रसमा भनौँ– शान्ति प्रक्रियामा सेना समायोजन भयो, संघीयता कार्यान्वयनका लागि कर्मचारी समायोजन । बदलिँदो समयअनुरूप राजनीतिक दलमा कार्यकर्ताचाहिँ समायोजन हुनुपर्छ कि पर्दैन ? माथिल्लोदेखि तल्लो तहसम्म राज्यस्रोतको अपारदर्शी दोहन गर्नेमा तिनै हिजोका लोकतान्त्रिक/जनवादी आन्दोलनमा क्रियाशील कार्यकर्ता खटिएको देख्दा यस्तो प्रश्न उठाउनु सान्दर्भिक ठहर्छ ।

कार्यकर्ताबारे लेनिन र रोजा लक्जेम्बर्गबीचको चर्चित बहस–शृंखला छ । क्रान्तिका लागि लेनिन ‘होलटाइमर भ्यानगार्ड’ को खाँचो देख्थे । रोजा विपरीत थिइन् । जनआन्दोलन कसैको जोरजबर्जस्ती नभई स्वत:स्फूर्त भावनाबाट प्रेरित हुन्छ भन्ने उनको बुझाइ थियो । जर्मनीमा उनले जनआधारित पार्टीको कल्पना गरिन् । लेनिनले सोभियत रुसमा खडे–खडे लडाकू कार्यकर्ताहरूको पार्टी बनाए । ह्वाट इज टु बी डन  पुस्तक नै लेखेर लेनिनले रोजालाई दिएको जवाफ आजपर्यन्त चर्चित छ । उनीहरूको तातो बहसले नेपालका पार्टीहरूलाई पनि निकै समय प्रभावित गर्‍यो । अहिले कांग्रेसमा आसन्न महासमिति लक्षित गर्दै चलिरहेको कार्यकर्ता बहस त्यसैको निरन्तरता देखिन आएको छ ।

बदलिँदो सन्दर्भमा एउटा बहस चलाउनैपर्ने भएको छ, अब पूर्णकालीन कार्यकर्ताको व्यवस्था राख्ने कि बदल्ने ? हिजो दलहरू प्रतिबन्धित भएको र तानाशाहीविरुद्ध लड्न पक्कै लामो अवधि संघर्ष गर्न कार्यकर्ता चाहिन्थे । प्रजातान्त्रिक योद्धाहरूलाई सरकारी प्रशासनले घरमा बस्न दिन्थेन । आवश्यकता वा बाध्यतावश उनीहरू पूर्णकालीन हुनैपथ्र्यो । खर्च पार्टीले बेहोथ्र्यो । तिनको जीवनशैली नै छुट्टै । आज पनि थुप्रै नेता–कार्यकर्ता झोला भिरेर, चप्पल पड्काएर हिँड्ने ती जिउँदा मानिसहरूको विम्ब सम्झेर अतीतको विस्मृतिमा डुब्छन्, अनि आजका ‘विलासी’, सुविधासम्पन्न घर–कारवाला मानिसलाई धारे हात लगाउँछन्, सराप्छन् ।

त्यसैले अब हामीलाई पार्टीको स्रोतमा चल्ने पूर्णकालीन, कतिपयको भाषामा ‘परजीवी कार्यकर्ता’ चाहिएको हो कि छैन ? दलका चुनाव निश्चित व्यक्तिकेन्द्रित हुँदै गरेको, चुनाव खर्चसमेत उम्मेदवार स्वयंले चलाउन थालेका बेला अब कार्यकर्ताचाहिँ स्वावलम्बी हुनुपर्छ कि पर्दैन ? परावलम्बी कार्यकर्ता राष्ट्र र समाजका मुद्दाहरूमा स्वतन्त्र चेतनाले आफ्नो निर्णय दिन सक्दैन । ऊ बल र धनमा पहुँचवाला अमूक नेतालाई मालिक मानेर उसैको परोक्ष दास भइरहेको हुन्छ । कांग्रेस र कम्युनिस्टको संगठन ढाँचामा प्रश्न उठाउँदै जन्मेका नयाँ शक्ति र विवेकशील साझाजस्ता ‘वैकल्पिक पार्टी’ पनि कुनै न कुनै रूपमा यस्तै किसिमको संगठन स्वरूपमा चलिरहेका छन् ।

नेपालजस्ता देशमा स्थापित हुन कुनै न कुनै स्वरूपको आन्दोलन नगरी नहुने, त्यसका लागि निश्चित किसिमका कार्यकर्ता बनाउनैपर्ने हो त ? हामीले यस सन्दर्भमा ‘कस्तो पार्टी, कस्ता कार्यकर्ता’ बहस चलाउन खोजेका छौँ । यसको सुरुआत यसै अंकमा राजनीतिक विश्लेषक विष्णु सापकोटाको लेख ‘दुर्भाग्य नबनून् कार्यकर्ता’ मार्फत गरिएको छ । यो बहसमा अरू लेखक–राजनीतिकर्मी पनि जोडिँदै जानेछन् । ‘नेपाल मन्थन’ मा तपाईंलाई स्वागत छ ।

प्रकाशित: मंसिर १६, २०७५