प्रकृति र प्रविधिको द्वन्द्व

फिल्म: २.० | रेटिङ: २/५

- गोकर्ण गौतम

मूलधारको हिन्दी फिल्म अझै मूलत: मसलामै अल्झिएका छन् । दक्षिण भारतीय फिल्म उद्योगमा चाहिँ नयाँ–नयाँ प्रयोग हुँदैछ । बाहुबली  र आईले एकहदसम्म ‘चमत्कार’ गरे । आठ वर्षअघि साइन्स फिक्सन फिल्म रोबोटले उस्तै तहल्का मच्चाएको थियो । अहिले यसकै सिक्वेल रिलिज भएको छ, . । लगानी नै ६ सय करोड भारु । भारतीय सिनेमा इतिहासकै महँगो । मेघास्टार रजनीकान्तका साथ यसपटक अक्षय कुमार जोडिएका छन् । तीन वर्ष खर्चिएको फिल्मप्रति अपेक्षा चुलिने भइहाल्यो । भीएफएक्स जादूयी छ तर यसको कथात्मक प्रस्तुतिले चाहिँ निराश पार्छ । प्रविधिको उच्चतम प्रयोगले वातावरणमा परेको नकारात्मक प्रभाव र त्यसको परिणामलाई उजागर गर्न खोजिए पनि प्रभावकारी छैन । लेखक/निर्देशक शंकरको ध्यान स्पेसल इफेक्ट्समा ज्यादा तर पात्र र तिनका द्वन्द्वमा कम देखिन्छ । उनको कल्पनाशीलताचाहिँ बेजोडकै छ ।

तमिलनाडुमा नागरिकको हातहातबाट मोबाइल गायब हुन्छ । कहाँ जान्छ, कसैलाई पत्तो हुँदैन । मोबाइल बिक्रेता र टेलिकममन्त्रीको ज्यान जान्छ । सहरमा आतंक छाउँछ, जसलाई रोक्न डा बसीकरण (रजनीकान्त) ले बनाएको रोबोट चिट्टी फेरि ‘रिलोड’ गरिन्छ । चिट्टी र चरा आकृतिको राक्षसबीच घमासान लडाइँ हुन्छ । उक्त राक्षस अरु कोही नभएर दिवंगत चराविज्ञ पन्छीराजन (अक्षय कुमार) हुन्छन् । पन्छीराजनभित्र लुकेको रहस्य के होला ? के चिट्टीले हरेक मोबाइल प्रयोगकर्तालाई मार्न निस्केको पन्छीकरणमाथि विजय प्राप्त गर्ला ? १५ मिनेट लामो क्लाइमेक्सको एक्सन यसअघि सायदै पर्दामा देखिएको थियो ।

यो संसार मान्छेको मात्र होइन, यहाँका अन्य जीवको पनि हो । तर मान्छे आफ्नो स्वार्थका लागि अन्य जीवको अस्तित्वै संकटमा पार्न उद्धत छ । मानव जीवनको अपरिहार्य बनेको छ मोबाइल तर यसबाट फैलने रेडियसनबाट चराको चरम विनाश हुँदैछ । निर्देशक शंकरले . लाई यही समस्यामाथि केन्द्रित गरेका छन् । मोबाइलमोहमाथि कठोर व्यंग्य गरिएको छ । तर मोबाइल हराएको र हिंस्रक ‘बर्डम्यान’ ले आतंक मच्चाएको एकै प्रकारका दृश्य हाबी छन्, मध्यान्तरसम्म । त्यस्तो किन भइरहेको छ ? पत्तो पाइँदैन । भिजुअल इफेक्ट्स आकर्षक भए पनि कथा अगाडि नबढ्दा बिस्तारै झिजो लाग्न थाल्छ । बसीकरणको नयाँ रोबोट नीला र चिट्टीबीचको सम्बन्धलाई रोमान्टिक बनाइएको छ । त्यस्तै, व्यापारी र नेताबीचको साँठगाँठलाई पनि नजरअन्दाज गरिएको छैन । समस्या स्थापित भइसक्दा पनि घटनाक्रम अगाडि नबढ्नु मध्यान्तरसम्मको मुख्य समस्या हो ।

पन्छीराजनको प्रवेशसँगै फिल्मले गति लिन्छ । निकै शालीन चराप्रेमी कसरी हिंस्रक भए भन्ने कथालाई निर्देशकले मानवीय पाटोबाट देखाउन खोजेका छन् । प्रविधिको एकोहोरो रटान र मानव जातिमा बढ्दै गएको अमानवीय प्रवृत्तिलाई उजागर गरिएको छ । तर कथाक्रममा समस्या फेरि दोहोरिन्छ, पन्छीकरणको उद्देश्य स्पष्ट भइसक्दा पनि नयाँ घटना हुँदैनन् । हिरो र भिलेनबीच चरम द्वन्द्व पैदा नभएकाले कम्प्युटर जेनेरेटेड इम्याजिनरी (सीजीआई) र भीएफएक्सले मात्र दर्शकमा रोचकता पैदा हुँदैन । सुधांशु पाण्डेको चरित्रलाई बिनाआधार खलनायक बनाइएको छ । खासमा . प्रकृति भर्सेस प्रविधिको कथा हो तर चुस्त ढंगले प्रवाह भएको छैन । शंकरको कुशलता लेखनभन्दा निर्देशनमा झल्किएको छ ।

रजनीकान्त रोबोटमा झैँ वैज्ञानिक र चिट्टी बनेका छन् । तर यसपटक चिट्टी ‘आउट अफ ट्रयाक’ गएको छैन । चरालाई आफ्नो परिवारसरह प्रेम गर्ने पन्छीकरणका रुपमा अक्षय कुमार असाध्यै मायालु लाग्छन् । ‘बर्ड म्यान’ को रुपमा चाहिँ पूरापूर घृणित । तर अक्षय कुमारका प्रशंसकलाई यस फिल्मले चित्त बुझाउँदैन । सेक्सी रोबोट बनेकी एमी ज्याक्सनले ‘रिफ्रेस’ गराउँछिन् । भिजुअल इफेक्ट्सझैँ एआर रहमानको पृष्ठभूमि फिल्मको अब्बल पक्ष हो । . मा उठाइएको मोबाइल महामारीको सवाल यथार्थमा आधारित छ । त्यसैले कथा र प्रस्तुतिमा रहेका निम्छरो पाटोलाई बिर्सने हो भने यो फिल्म वास्तविक जीवनमा भारतका मोबाइल सेवा कम्पनीका बादशाह अम्बानी भर्सेस रजनीकान्त/शंकरझैँ लाग्छ ।

रोबोटमा कथा पनि दमदार थियो, भीएफएक्स पनि । यसपटक कथा कमजोर छ, भीएफएक्स बबाल । त्यसैले साइन्स फिक्सन फिल्मका नियमित पारखीलाई . घिसिपिटी लाग्छ । अब प्रतीक्षा छ, . को, जसको संकेत पाइन्छ क्लाइमेक्समा ।

प्रकाशित: मंसिर १४, २०७५