ठूल्दाजु–सान्दाजु सम्बन्ध

- कमल कोइराला

राजनीतिक तापले बीपी र मातृकाको सम्बन्ध  उतारचढावमय भएको देखिए पनि कोइराला परिवारमा त्यसको छाया परेन । पिताजी कृष्णप्रसादले मातृकालाई ठूलो छोरा र बीपीलाई सानो छोरा भनी बोलाउनुहुन्थ्यो । अहिले पनि कोइराला परिवारका सबै सदस्यले मातृका र बीपीलाई ठूल्दाजु र सान्दाजुका नाममा सम्बोधन गर्छन् ।

बीपीले मातृकालाई ठूलो आदरभाव दर्शाउनुहुन्थ्यो । बीपीले आत्मवृत्तान्तमा मातृकाबारे लेख्नुभएको छ– ‘त्यसबखत ठूल्दाजु मभन्दा अगाडि नै अध्ययनका लागि बिहारको दरभंगा जानुभएको थियो, सन् १९२२ मा । पिताजी कृष्णप्रसादका एक हितैषी मित्र डाक्टर थिए, सप्तरीमा । उनै डाक्टरले ठूल्दाजु (मातृका) लाई अध्ययनमा खर्चको समस्या टरोस् भनेर मासिक भारु १५ पठाउँथे । डाक्टरले मातृकालाई आफ्नै छोरासरह व्यवहार गर्थे । १५ भारुमध्ये मातृकाले बनारसमा अध्ययनरत मलाई (बीपी) ४ भारु मासिक रुपमा पठाइदिनुहुन्थ्यो । ठूल्दाजुले पठाएको त्यही ४ भारुले कलेजको फी तिर्थें । कपी, कक्षा–सामग्री, साबुन इत्यादि किन्न छ्यालब्याल हुन्थ्यो । त्यतिबेला बनारसको गान्धी भण्डारमा गएर रेडिमेड कपडा किन्थेँ । जुन दिन त्यो कपडा फाट्थ्यो, फेरि गान्धी भण्डारमा गएर किन्थेँ । मलाई सुकिलो बस्न मन पर्ने । कलेज बिदाको एक दिन कपडा धुन्थेँ, काशी गंगानदीको घाटमा गएर । घरमा आएपछि बनारसी अगौछा (गम्छा) बेरेर बस्थेँ । एउटा चटाई थियो, त्यसमाथि एउटा च्यादर ओढेर बस्यो, पढ्यो ।’

यसबाट पनि पुष्टि हुन्छ, मातृका–बीपीको पारिवारिक सम्बन्ध । काशी बस्दा सन् १९१० मा माडरबाट गएकी  राज्यलक्ष्मी (पिताजी कृष्णप्रसादकी आमा) ले जेजस्तो भए पनि दुई छाक खानाको मेसो जुटाउनुहुन्थ्यो । राज्यलक्ष्मीलाई अर्का छोरा नारायणप्रसादले केही भरथेग गर्नुहुन्थ्यो । त्यो जमाना साह्रै सस्तो थियो, त्यही ४ भारुले बीपीको पठन अगाडि बढ्न सहयोग पुगेथ्यो ।

मातृकाले पिताजी  नामक लेखमा भन्नुभएको छ, ‘द्वीपनगरमा कोसीको बाढी पस्न थालेपछि कोइराला परिवार छरिनुपर्‍यो । कोही काशी, कोही बेतिया, कोही त्यहीँ द्वीपनगर छेउछाउ । भाइ केशव र तारिणीलाई आफ्नै साथमा राखेर पटनाको सदाकत आश्रम ल्याएँ । सदाकत आश्रममा खाना नि:शुल्क पाइन्थ्यो । भाइ बीपीलाई मासिक ४ भारु दिएपछि बाँकी रहेको पैसाले तीन दाजुभाइको पढाइ अगाडि बढाउन सहज भयो । खाना नि:शुल्क पाइने हुँदा केही सहज भयो ।’ त्यो सदाकत आश्रमचाहिँ भारतीय कांग्रेसको पटना इकाइले खोलेको थियो । कृष्णप्रसाद कोइराला सपरिवार विसं १९७४ मा भारत निर्वासित भएको समय थियो ।

विसं २००३ मा एकाघरबाट छुट्टिए पनि कोइराला परिवारलाई राणा शासन हटाउन राजनीतिक रुपमा एक ठाउँ उभिनैपर्ने वातावरण बन्यो । विराटनगरको जुट मिल आन्दोलनका क्रममा बीपी, तारिणी, गिरिजा, भान्जा मनमोहन अधिकारी पक्राउ परे । यो घटना २४ मार्च सन् १९४७ तिरको हो । साधारण सदस्यसमेत नरहेका मातृकामाथि एक्कासि नेपाली राष्ट्रिय कांग्रेसको कार्यवाहक सभापति पदको जिम्मेवारी आइलाग्यो । बीपी पक्राउ परेको त्यो समय दाजु विमल ११ र म ९ वर्षका मात्र थियौँ । बीपी समातिएको अर्को दिन आमा मञ्जु, सानोआमा (बीपीकी आमा), फुपू नलिनी दिदी, इन्दिरा दिदी र कालिदासकी विधवा बुहारी कामिनी विराटनगर जुटमिलमा विरोधस्वरुप धर्ना बस्दा पक्राउ पर्नुभयो । उहाँहरुलाई धनकुटा जेल चलान गरियो । यसप्रकार उहाँहरु नेपालको पहिलो महिला राजबन्दी हुनुभयो ।

निर्वासनका बेला भारत जोगबनीका लक्ष्मीचन्द सेठियाको गद्दी र गोल (घरभित्रको ठूलो कम्पाउन्ड) मा हाम्रो परिवार बस्थ्यो । त्यतिबेला आमा मञ्जु गर्भवती हुनुहुन्थ्यो । आमालाई विराटनगर फर्काउन बाबा मातृकालाई नेपाली राष्ट्रिय कांग्रेसका महामन्त्री बालचन्द्र शर्माले जोडबल गर्नुभयो । शर्माले भन्नुभयो– ‘तपाईंका पार्टी सभापति बीपी र अन्य नेतालाई नेपाल सरकारले पक्राउ गरेको छ । तर, हाम्राबीच बीपीका ठूल्दाजु मातृका कोइराला हुनुहुन्छ । मैले मातृकालाई नेपाली राष्ट्रिय कांग्रेस र राणाविरोधी आन्दोलन गर्न कार्यवाहक सभापति हुन प्रस्ताव गर्छु ।’

त्यस समय नेपाली कांग्रेसका प्रचारमन्त्री (त्यतिबेला प्रधानमन्त्री भन्ने चलन थियो) गोपालप्रसाद भट्टराईले तुरुन्तै समर्थन गर्नुभयो । यसरी राजनीतिमा लाग्ने इच्छा नहुँदानहुँदै पनि मातृकाले पार्टी सभापति पदको जिम्मा लिनुपर्‍यो ।  राणा प्रधानमन्त्री पद्मशमशेरका भाइ मोरङका बडाहाकिम रामशमशेरले मातृकालाई सरकारी पद सुब्बामा नियुक्त गरे, सन् १९४७ मा । हिमाल अवलोकनमा आएको अमेरिकी टोलीको नेतृत्व गर्ने अवसर दिइयो । कोइराला परिवारभित्रकै सदस्य भए पनि राजनीतिमा चासो नराख्ने मातृका नेपाली कांग्रेसका प्रथम सभापति र २००७ को क्रान्तिका सर्वोच्च कमाण्डर हुन पुग्नुभयो ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: मंसिर १४, २०७५

ट्याग: सस्मरण