विज्ञापनको काइदा

नोटबुक

- मनबहादुर बस्नेत

‘जति उता गयो उति राम्रो र आनन्दको बाटो आउँछ,’ सहकर्मी रवि मानन्धरले यसैगरी सुर्‍याएपछि काठमाडौँबाट भीमफेदी हिँडियो । सडकभरि खाल्डाखुल्डी । तिनै खाल्डाखुल्डीमा उचालिँदै, थेचारिँदै बाटो काटियो ।

देउराली डाँडा कटेर फन्को मार्दै केही तल झरेपछि भीमफेदी बजार देखियो । कारागारको फोटो खिच्न मिल्ने उत्तम ठाउँ हेर्दै अगाडि बढ्दा रोकियौँ, माइला दाइको क्याफेमा ।

मानन्धर फोटो खिच्न व्यस्त भए भने म क्याफेमा झुन्ड्याएको फोटोमा अडिएँ । नेपाली फिल्म जगतमा यदाकदा महानायक पुकारिने राजेश हमाल बेस्सरी फिँज काढिएको कफी बोकिरहेका छन् । हमालको छेउमा माइला दाइ याने कि साहूजी मुसुक्क हाँसेर गर्वसाथ उभिएका छन् । “अस्ति भर्खर खिचेको,” साहूजी प्रसन्न देखिए, “यता त हिरोहिरोनी हिँडिराख्छन् ।”

फ्लेक्स प्रिन्टमा ठूलो पारिएको यो फोटो देखेपछि अन्य हिरोहिरोइन पनि यहाँ बिसाउँछन् रे । “त्यसो भए व्यापार निकै चम्किएको होला,” मैले सोधेँ । “पुरानो पसल हो । पहिल्यैदेखि राम्रो छ । फिल्म, गीतसंगीत लाइनकाहरु राजेश हमालको फोटो देखेर पस्छन् ।”

काम सकाएर फर्किंदा मानन्धरले भीमफेदीको गाजरको जुस विशेष हुने बताएपछि चाख्नैपर्‍यो । देउराली नउक्लिँदै जुरी खोलामा जुस पिउन पस्यौँ । अघि राजेश हमाल मात्रै कफी पिउँदै थिए, यहाँ त कलाकारहरुले जुस पिएका फोटा भित्तैभरि टाँगिएका थिए । रेखा थापा, राजेन्द्र खड्गी, निखिल उप्रेती लस्करै जुस पिउँदै गरेका ।

अर्डर गर्दा आलो गाजरको जुस स्वादिलो नहुने बताएर साहूजीले खिस्रिक्क पारे । तर, रंगकर्मीहरुले स्वादिलो पाराले पिएको तस्बिरमा देखेपछि जस्तोसुकै होस् खाइन्छ भन्ने जोश पलायो । स्वादिलै लाग्यो । तर, त्योभन्दा स्वादिलो विज्ञापन गर्ने काइदा । मुलुकका चल्तीका फिल्मीकर्मीलाई च्याप्प समातेर जुससहित फोटो खिच्ने अनि होर्डिङबोर्ड शैलीमा झुन्ड्याउने ।

सोचेँ, ठूला कम्पनीले आफ्ना उत्पादन बिकाउन खँदिलो पैसा तिरेर विज्ञापन गर्छन् । यहाँ त नि:शुल्क । यस्तो ब्रान्डिङ सीप अन्य ठाउँले पनि सिके स्थानीय उत्पादनले बजार कसो नपाउला ?

सन्न्यासी र अपराधी

साथीका साथी कैद थिए, काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारमा । एक मन्त्रीका निजी सचिवालयमा काम गर्ने तिनै मित्रको पछुवा बनेर पुगियो । जेलको बाहिरपट्टि उभिनसमेत नदिउँलाजस्तो गर्दै थियो प्रहरी । “यसअघि कहिल्यै यस्तो गर्दैनथ्यो,” जेल भेटघाटमा आउजाउ गरिरहने ती मित्रले सुनाए । अघिल्लो राती नख्खु जेलबाट कैदी भागेकाले प्रहरी ड्युटीमा छुरा बनेको रहेछ । केही बेरपछि हामीलाई भेट्ने अनुमति मिल्यो र पसियो ।

लागूऔषध मुद्दामा कैद ठेकिएका । पूर्वसुरक्षाकर्मी । हामीले भेट्नुपर्ने व्यक्तिको छरितो परिचय यत्ति हो । गठिलो ज्यानधारी उनी आए । सँगै गएका मित्रले मेराबारे बताइदिए । त्यसपछि झन्डै एक घन्टा कुराकानी गरियो । चौकीदार, नाइकेहरुले नयाँ र सामान्य कैदीमाथि गर्ने ज्यादती तथा उनीहरुले लिने अभूतपूर्व लाभका हिस्सा सुन्दा पत्याउनै गाह्रो । “यो त केही होइन, यहाँबाट निस्किएपछि सबै सुनाउनेछु,” हाम्रो अनुहारमा देखापरेको आश्चर्य बुझेर उनले सामान्यीकरण गरिदिए । उनी अत्याचारका कुरा गर्दा चारैतिर मुन्टो घुमाउँथे । सहज देखेपछि गफ गर्थे । कोही छेउछाउ आयो भने घरपरिवार, सन्चोबिसन्चोको बनावटी कुरा गरिन्थ्यो । ज्यादै त्रसित । बिट मारेर उठ्नै लाग्दा उनले सुनाएका कुरा झनै चस्का दिने खालका थिए । भने, “यहाँबाट निस्किएपछि खुंखार अपराधी बनेँ भने अनौठो नमान्नुहोला । त्यस्तो आइलागे कसैले नसोचेको अपराध गर्नेछु ।”

भीमफेदी कारागारबाट छुटेका एक परिचितले एउटा भिडियो दिँदा यस्तै मनोविज्ञानको झल्को दिएका थिए । जेलभित्र सामान्य बन्दीमाथि गरिने अचाक्ली शोषणका व्यथा सुनाएपछि उनले पनि भनेका थिए, “अब जेल जान मलाई डर छैन ।” वर्ष दिनअघि नख्खु कारागारमा एक मित्रलाई भेट्न जाँदा झनै डरलाग्दो मनोविज्ञान देखिएको थियो । उनले आफ्नो ‘राजनीतिक करिअर’ सकिएको भन्दै जेलबाट निस्किएपछि सबैलाई तह लगाउने आक्रोश मात्रै पोखेका थिएनन्, तत्तत् काम गर्ने व्यक्ति फेला परेको समेत बताएका थिए । अनायासै एउटा लोकोक्ति सम्झिएँ, ‘प्रत्येक सन्न्यासीको विगत हुन्छ र प्रत्येक अपराधीको भविष्य ।’ अर्थात्, अपराधी सन्न्यासी बन्न सक्छ । तर, कसुर करार भएर सजाय भोगिरहेकाहरुको मनोविज्ञानले यो स्वीकार्दैन ।

हाम्रा जेलबासीको भविष्य कहाँ जाँदैछ ? अनि समाज, मुलुकको ? नीति निर्माताले थोरै समय यसबारेर यता चियाउँदा घाटा छैन ।

प्रकाशित: मंसिर १४, २०७५

ट्याग: नोटबुक