हारेका राजाको इतिहास

पुस्तक : जयप्रकाश मल्ल द ब्रेभ किङ अफ कान्तिपुर | लेखक : टीआर वैद्य | प्रकाशक : एजुकेसन पब्लिसिङ हाउस |पृष्ठ : २८८ | मूल्य : ५९५ रुपैयाँ

- नीरज लवजू

विजेताले आफूलाई देवत्वकरण गर्ने र पराजितलाई दानवीकरण गर्ने इतिहास–लेखन पूर्वाग्रहमुक्त हुन सकेको छैन । बौद्धिकताको इतिहासले जन्माएका आलोचनात्मक र द्वन्द्वात्मक चिन्तनशैलीले इतिहासलाई चार खुट्टाले टेक्ने बनायो । ढिलो मात्र संसारका लागि ढोका उघारिएको नेपालजस्तो देशमा इतिहासको वस्तुगत प्रस्तुति नहुनु त्यति धेरै आश्चर्यको विषय होइन । खासमा नेपालको इतिहास–अध्ययन लामो समयसम्म ‘जित्नेको घोडा’ र ‘हार्नेको दानवीकरण’ को चंगुलमा फसिरह्यो । तथापि, इतिहासको पुनरावलोकन गर्ने आलोचनात्मक चेतको भने क्रमश: विस्तार हुँदै गइरहेको छ । इतिहासको वस्तुगत अध्ययनको एउटा सिलसिला मान्नुपर्छ– टीआर वैद्यको जयप्रकाश मल्ल : ब्रेभ मल्ल किङ अफ कान्तिपुर

कान्तिपुर राज्यका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल सन् १७६८ मा गोर्खाली सेनाले गरेको हमलामा पराजित भए । पाटन हुँदै भक्तपुरमा शरणका लागि गए । १७६९ को नोभेम्बर १० मा भक्तपुरमा पनि गोर्खाली सेनाको हमलाबाट प्राणपखेरु उड्यो । जयप्रकाशको पराजयलाई उनको निधारमा लेखिएको अवश्यम्भावी भाग्यका रुपमा चित्रण गरियो । इतिहासलाई अवस्तुगत रुपमा शासकको घोडाको रुपमा प्रस्तुत गरियो । टीआर वैद्यले जयप्रकाश मल्लको सम्बन्धमा ‘इतिहास’ मा रहेका यस्ता अवस्तुगत पक्षको आलोचना गर्दै जयप्रकाश मल्लको समग्र जीवनीलाई मिहीन रुपमा केलाउने प्रयास गरेका छन् ।

जयप्रकाशलाई कान्तिपुरको राजा बनाउने विषयमा दरबारका भारदारबीच सुरुमै मतभिन्नता थिए । जयप्रकाश राजा बनेर पनि लगातार भारदारहरुका षड्यन्त्रबाट आक्रान्त भइरहे । दरबारी षड्यन्त्रकै कारण उनी झन्डै चार वर्ष गद्दीच्युत भएर उपत्यकाका विभिन्न ठाउँमा भौँतारिनु परेको थियो । जयप्रकाशको शासनकालको अर्को प्रमुख चुनौती उपत्यकाका अरु दुई राज्य थिए– ललितपुर र भक्तपुर । एकअर्कासँगको ईष्र्या, शक्तिको भोक र सत्तासंघर्षका कारण जयप्रकाश र अरु दुई राज्यबीच खुट्टा तान्ने जालसाजी भइरहे । यी दुई चुनौतीसँगै उनका लागि सबभन्दा खतरनाक चुनौती बनेको थियो– गोर्खाली राज्य विस्तार अभियान । यस्ता अनेकन प्रतिकूलताबीच एक राजाका रुपमा जयप्रकाश केही इतिहासकारले भनेजस्ता कमजोर, रिसाहा र निर्मम थिएनन्, बरु प्रतिकूलको सामना गर्न सक्ने, धैर्यवान, साहसी अनि केही मानवीय कमजोरीसहितका राजा थिए भन्ने लेखक वैद्यको भनाइ हो । कमजोर राजा थापना गरेर सत्ताको डाडुपन्यु आफूले चलाउने भारदारहरुको स्वार्थविपरीत जयप्रकाश आफैँ सक्रिय र प्रभावशाली राजा भएका कारण उनीविरुद्ध सुरुबाटै अनेकन षड्यन्त्र भएको उनको विश्लेषण हो ।

जयप्रकाशलगायत तीनै मल्ल राज्यका राजाहरुले गुप्तचरी सञ्जालको विकास नगर्दा र गोरखाको राज्य विस्तार अभियानलाई गम्भीर रुपमा नलिँदा राज्य गुमाउनुपरेको पुस्तकको निष्कर्ष छ । पाइला–पाइलामा षड्यन्त्र र विदेशी हमलाको खतरा भएर पनि कान्तिपुरका राजाले कला, संस्कृति र साहित्य क्षेत्रमा आफ्नो सक्रियता भने कति पनि धीमा पारेका थिएनन् । पटक–पटक केही इतिहासकारका ‘विजेतालाई खुसी बनाउने’  चाप्लुसीपूर्ण तर्कप्रति असहमति जनाउँदै निष्पक्ष र सावधानीपूर्वक इतिहासको लेखाजोखा गरेका छन् ।  अंग्रेजी भाषाको जानकारीमूलक पुस्तकले नेपाली इतिहासलाई अझ विश्वव्यापी बनाउन योगदान गरेको छ । भाषिक सरलताले इतिहासको जटिल नागबेलीलाई समेत सरल रुपमा बुझ्न सक्ने बनाएको छ ।

प्रकाशित: मंसिर १४, २०७५

ट्याग: पुस्तक