राष्ट्रपतिलाई डिस्टर्ब

- सुरेश किरण

तालिम केन्द्रमा प्रहरीले गोली पड्काएको आवाजले राष्ट्रपतिलाई डिस्टर्ब भएको घटना अहिले राष्ट्रिय चर्चाको विषय बनेको छ । राष्ट्रपतिलाई डिस्टर्ब भएपछि त्यो राष्ट्रिय चर्चाको विषय बन्नु स्वाभाविक पनि हो । सर्वसाधारण जनतालाई डिस्टर्ब भएको भए त्यो अर्कै विषय भयो ।

तर, नबुझेको कुरो के रह्यो भने प्रहरीले गोली पड्काउन थालेको अहिले होइन । धेरै अघिदेखि नै प्रहरीले गोली पड्काउँदै आइरहेको छ । तर, डिस्टर्बचाहिँ अहिले आएर मात्र किन भएको होला ? काठमाडौँमै कति वटा आन्दोलनमा प्रहरीले गोली पड्काएकै थियो । प्रहरीको त्यही गोली लागेर कति नागरिक ढलेकै थिए । तर, त्यतिबेला त उपल्लो तहलाई डिस्टर्ब भयो भन्ने कुरा आएन । मधेसमै हेर्नुस्, मधेसी जनता अधिकार माग्न सडकमा ओर्ले कि प्रहरीले पटापट गोली पड्काइहाल्छन् । कति आन्दोलनकारी त्यहीँ ढलेको ढल्यै हुन्छन् । खै, त्यतिबेला पनि राष्ट्रपतिज्यूलाई डिस्टर्ब भयो भन्ने कुरा सुनेको थिइनँ । उहाँ जानकी मन्दिर जानु हुँदा त्यहीँ पनि प्रहरीले हावामा गोली पड्काउनु परेको थियो । त्यतिबेला पनि उहाँलाई कुनै डिस्टर्ब अथवा त्यहीसरहको कुनै अप्ठेरो भएको थिएन ।

अहिले आएर एकाएक तालिमकै गोलीले पनि उहाँलाई किन डिस्टर्ब हुन थालेको होला, त्यो बुझ्न अप्ठेरो परेको छ । यसबारे शीतल निवासको कुनै विज्ञप्ति आउँदैछ कि ?

प्रकाशित: मंसिर १३, २०७५

ट्याग: परिहास