जिद्दी छोरीको कथा

पुस्तक : द वेवार्ड डटर : अ काठमान्डु स्टोरी |लेखक : श्रद्धा घले | प्रकाशक : स्पिकिङ टाइगर | पृष्ठ : २६८ | मूल्य : ३५० भारु

- श्रेय पौडेल

‘वेवार्ड अर्थात् ‘स्वच्छन्द र जिद्दी ।’ अडान लिने महिलालाई पुरुषप्रधान समाजले सकारात्मक मान्दैन । त्यसैले वेवार्ड डटर : काठमान्डु स्टोरी  उपन्यास पढिसक्दा, यसलाई अनुवाद गर्दा ‘जिद्दी छोरी’ भन्नु नै उपयुक्त लाग्यो । श्रद्धा घलेको यस उपन्यासभन्दा अघि पत्रपत्रिकामा आएका उनका दुई मुख्य विचार शृंखलाको सम्झना हुन्छ । पहिलो थियो– सीमान्तकृत समुदायमा भूकम्पबाट भएको क्षति विश्लेषण । त्यसपछि उनले नेपालमा राष्ट्रिय निकुन्ज तथा संरक्षित क्षेत्र वरिपरि बस्दै आएका आदिवासी–जनजातिमाथि पर्न गएको प्रतिकूल असरसम्बन्धी लेखहरुको शृंखला लेखेकी थिइन् । त्यसैले उनको यो पहिलो उपन्यासमा केही न केही सामाजिक–राजनीतिक धारणा पाइन्छ भन्ने अपेक्षा रह्यो ।

कथा सुरु हुन्छ, पञ्चायतका अन्तिम वर्षहरुमा तमुले परिवारको जीवनबाट । गजेन्द्रबहादुर तमुले, पत्नी प्रेमकला, दुई छोरीहरु सुम्निमा र नुमा, अनि प्रेमकलाकी आमा सम्मिलित परिवारको वरिपरि उपन्यास घुमेको छ । गजे पूर्वी पहाडस्थित गाउँका शाखा–सन्तानमध्ये एसएलसी पास गर्ने, काठमाडौँमा घर बनाउने, छोरीहरुलाई प्रतिष्ठित विद्यालयमा पढाउने पहिलो व्यक्ति हुन्छ । लिम्बुनीसँग बिहे गर्छ ।

गजेको परिवार र नाता–कुटुम्बको जीवनलाई उपन्यासले अप्रत्यक्ष आलोचनात्मक चेतसहित पस्किएको छ । तमुले परिवार हिन्दु धर्म, संस्कार र संस्कृतिलाई कट्टरताका साथ मान्दै आएको हुन्छ । उनीहरु अन्य ‘ मतवाली’ हरुलाई हेपाहा नजरले हेर्छन् । गजेकी आमालाई लिम्बुनी बुहारीले पकाएको खाना निल्नु न ओकल्नु हुन्छ । तमुले परिवारले गाउँका बाहुन पण्डितका भनाइ हुबहु मान्ने गर्छन् । पण्डितलाई कतै भेटे खुट्टैमा लम्पसार । उनीहरु सत्यनारायणको पूजा लगाउँछन् । बूढाबूढीले लसुन, प्याज पनि खाँदैनन् । उपन्यासको उत्तराद्र्धतिर भने गजे र उसको दाजुले खम्बुवान मुक्तिमोर्चाबारे कुरा गर्दा हिन्दु संस्कृति खासमा आफ्नो नभएको स्वीकार्छन् । गजेहरु हिन्दु धर्म–संस्कार छाडिहाल्न भने सक्दैनन् । उपन्यासले मधेसीलाई हेर्ने आदिवासी–जनजाति परिवारको हेपाहा दृष्टिकोण वर्णन गर्छ ।

यस कृतिको मुख्य पात्र सुम्निमा हो । दूरदराजबाट काठमाडौँ आएर दु:ख गरेर सहरको मध्यम वर्गमा खुट्टा टेकेका बुबा र यसै सहरमा हुर्केकी आमाकी छोरी हो सुम्निमा । मध्यम वर्गीय आदिवासी–जनजाति केटीले सम्भ्रान्त वर्गका छोरीहरु पढ्ने विद्यालयमा झुक्किएर पढ्न पाई भने के–कस्ता चुनौती सामना गर्नुपर्ला ? सुम्निमाका चिम्सा आाखा, थेप्चो नाक र नामपछाडि राणा/शाह/थापा नभएका कारण विद्यालयको सामूहिक नाचमा उसलाई राखिँदैन । किनभने, ‘ग्रेस’ वा आकर्षक चालढाल नामक सांस्कृतिक पुँजी उसले पाएकी हुँदैन । आफ्नो परिवारको कार नभएकामा उसलाई साथीहरुसामु हीनताबोध छ ।

यो उपन्यास थुप्रै छोरीहरुको कथा हो । उनीहरुसँग समाजले छोरी भएकै कारण गर्ने गलत व्यवहार र नचाहिँदो आशा पुस्तकमा प्रस्टैसँग देखिन्छ । विद्यालयमा नृत्य शिक्षकले नाच सिकाउने नाममा सुम्निमाको साथीलाई अनुचित रुपमा छुन्छ । शिक्षिका भए पनि सहकर्मीदेखि बस परिचालकले प्रेमकलालाई  ‘तिमी’ भनेर सम्बोधन गर्छन् । गजेकी आमालाई आफ्ना नाति भएनन्, नातिनी मात्र भए भनेर मनमा सही नसक्नु भारी छ । गजे र प्रेमकला दिनभर जागिरमा जान्छन् । बेलुकी घरमा काम गर्नुपर्ने जिम्मा सबै प्रेमकलाको हुन्छ । सम्भ्रान्त परिवारका नै भए पनि सुम्निमाका साथीका आमा–दिदीहरुलाई बुबा–भिनाजुहरुले पिटेका छन् । सुम्निमालाई परीक्षामा उत्तीर्ण गराइदिने नाममा शिक्षकले यौन दुव्र्यवहार गर्छ । भतिजी मनलहिरी प्रेमीसँग घुमेको थाहा पाएपछि गजेको परिवारले उसलाई मानसिक यातना दिन्छ ।

उपन्यासमा वर्ग र भूगोलका सन्दर्भ नगाँसी केवल पुरुषबाट महिलामाथि एकोहोरो दमन भएको देखाइएको छैन । समाजमा जस्तै उपन्यासमा पनि उत्पीडन धेरै तहमा समेटिएको छ । गजेले आफ्ना दाजुलाई टार्न नसकेर भतिजी गंगालाई एसएलसी पढ्न पहाडबाट आफ्नो घरमा ल्याउँछ । तर, गंगाको खास जिम्मेवारीचाहिँ पढ्नेभन्दा पनि घरको काम गर्ने नै हुन्छ । बिहान कुखुरा बास्दादेखि राती भाँडा माझुन्जेल गंगालाई काम लगाउने प्रेमकला र उसकी आमा नै हुन्छन् । यसरी वर्गीय असमानताबीच सापेक्षित दु:ख झल्काउने एउटा मन छुने दृश्य छ– जब प्रेमकला आफूले दु:ख गरेर हुर्काएका छोरीहरु निष्ठूरी भएर परपर हुँदै छन् भनेर आफैँसाग गुनासो गर्दै हुन्छे, तब गंगा भने राती माझेका भाँडा भान्सातिर लग्दै हुन्छे । त्यस्तै, धरानबाट आएकी अर्की भतिजी मनलहिरीले सुम्निमा जस्तै दोस्रो श्रेणीमा एसएलसी पास गर्छे । तर, गजेले सुम्निमालाई चिकित्सा विज्ञान पढ्न मोटो रकम खर्चिन्छ भने मनलहिरी कुनै सरकारी क्याम्पसमा पढ्न पुग्छे ।

सूक्ष्म रुपमा पात्रमार्फत समाज विश्लेषण गर्नु उपन्यासको सफलता हो । यसले कथित मनोरञ्जनको नाममा पाठकलाई समाजभन्दा टाढाको स्वर्गीय संसारको कल्पनामा फसाउँदैन । यथार्थवादको नाममा साह्रै अँध्यारो, दु:खको पट्यारलाग्दो कर्कश गीत पनि यसले सुनाउँदैन । यसभित्रका पात्रहरु सबैका आफ्नै दु:ख–सुख छन्, एकअर्कालाई थिचोमिचो गर्छन् । कहिलेकाहीँ सहयोग पनि गर्छन् र आफ्ना चुनौतीसँग आफैँ जुध्छन् । कति सफल हुन्छन् त कति चुनौतीबाट पिल्सिएर बाँच्छन् ।  एउटा आलोचनाको विषय पनि यही हुन सक्छ । धेरै मुद्दा उठाइएकाले केही महत्त्वपूर्ण विषयलाई यस उपन्यासले पर्याप्त ध्यान दिन सकेको छैन । जस्तै, पहिलो जनआन्दोलन, माओवादी आन्दोलन, सुम्निमाकी बहिनी नुमाको समलिंगी प्रवृत्ति र भारतीय युद्धबाट फर्केको लाहुरेको मनोवैज्ञानिक समस्या । यस्ता घटना आफैँमा उपन्यासको मुख्य विषयवस्तु बन्न सक्ने सामथ्र्य राख्छन् । तर, उपन्यासले न्याय गर्ने गरी यी विषयलाई समय दिएको देखिँदैन ।

उपन्यासमा नाम प्रयोग गर्ने तरिका अलि अव्यवस्थित लाग्छ । सुम्निमा र नुमा जाने विद्यालय ‘रोडोडेन्ड्रोन हाइस्कुल’ काठमाडौँकै ‘सेन्ट मेरिज स्कुल’ को काल्पनिक रुप लाग्छ । काठमाडौँभित्रका अनेक ठाउँका नाम भने सक्कली नै छन् । नेकपा (माओवादी) असली नाममै कथामा देखिन्छ भने नेपाली कांग्रेसलाई ‘द डेमोक्रेटिक पार्टी’ भनेर इंगित गरिएको छ । यदाकदा हिज्जेमा समस्या देखिन्छ ।

यो महिलावादी उपन्यास हो । यसले विरोधका नारा लगाउँदैन । तर, यसका मुख्य महिला पात्रले दाह्रा किटेरै चुनौती सामना गरेका छन् । अन्त्यमा सबैले आफ्नो जिन्दगीका सापेक्ष सफलताहरु पाउँछन् ।

प्रकाशित: मंसिर १३, २०७५

ट्याग: पुस्तक