जुल्फे दाइको सन्न्यास

- रमण घिमिरे

जुल्फे दमाई यस दुनियाँबाट बिदावारी भएको धेरै वर्ष बितिसक्यो  । तर, उनको सम्झना आज पनि जीवन्त छ । चलनचल्तीको बोलीमा उनी सीमान्तकृत नागरिक थिए । समाजले अछूतको दर्जामा रजिस्ट्रेसन गरिदिएको दलित । तर, उनले पुख्र्यौली व्यवसायलाई निरन्तरता दिन कसैका लुगा सिलाएनन् । जाने पो सिलाउनु ! जुल्फेको कुनै खेत थिएन, त्यसैले खेतीपाती पनि थिएन । किन हो, जुल्फेले खेतीपातीको झमेला गरेनन् । यसमा उनको आफ्नै कुनै रहस्य थियो होला ।

त्यसैले मंसिरमा अरुले धान दाइँ गरेर भित्र्याउँदा जुल्फे रमिता हेरिरहेका हुन्थे । झन्डै ९० प्रतिशत नेपालीको मुख्य पेसा ‘खेतीपाती’ भएको त्यो बेला उनको खेतीपाती भनेको पशुहट्टी थियो । पशुको दलाली गरेर ‘नगदे बाली’ कमाउँथे । उनी धुलाबारी र भद्रपुरमा लाग्ने पशुहट्टीमा गएर वस्तुधनीको दाम्लो समाउँथे र भन्थे– “कतिमा बिक्री गर्ने ?’ पशुधनी पनि दिनभरि दाम्लो समातेर ग्राहक पर्खेर उभिइरहनुभन्दा आफूले तोकेको भाउमा कसैले बेचिदिन्छ भने किन दिनभरि चर्को घाममा पर्खिरहनु ! अनि जुल्फे पशुधनीलाई ‘एकछिन चिया खाँदै गर्नूस्’ भनेर गाईगोरु, राँगाभैँसी जे भेटिन्छ, त्यसको दाम्लो समातेर मोलभाउ गर्न थाल्थे ।

प्राय: उनी खाली हात फर्किंदैनथे । पशुधनीले तोकेको मूल्यभन्दा बढाएर ठूल्ठूलो स्वरमा त्यस पशुको विशेषता बताउन थाल्थे । तीखो बोली भएकाले उनको आवाज अरु पशु बिक्रेताको भन्दा छिटो ग्राहकका कानमा थुरिन्थे । अनि, मानिसहरु उनले समाएको पशुको वरिपरि धुइरिन्थे । भर्खरै दाम्लो समाएको पशुबारे उनलाई कुनै जानकारी हुने कुरै थिएन । तर, जुल्फे त्यस वस्तुधनीले भन्दा कता हो कता जानकार त्यस पशुको तीनपुस्ते तुरुन्तै तयार पार्थे र त्यसको गुण बखान गर्न थाल्थे । उनको प्रवचन सुनेर टाढाटाढाका गाउँबस्तीबाट पशु किन्न आएका मानिस तुरुन्तै प्रभावित हुन्थे र अक्सर जुल्फेले भनेकै मूल्य सकारेर पशु डोर्‍याउँदै घर फर्किन्थे ।

यता, जुल्फे पशुधनीलाई भनेको रकम खनखनी गनेर बाँकी रकम आफ्नो खल्तीमा हालेर रक्सी भट्टी खोज्दै हिँड्थे । बडो मोजमस्ती गर्ने स्वभावका थिए उनी । खल्तीमा पैसा हुन्जेल उनलाई कुनै फिक्री हुँदैनथ्यो । गोजी रित्तिएका बेला फेरि एउटाको दाम्लो समायो, काम तमाम । कहिलेकाहीँ हामी केटाकेटीलाई बाटामा भेट्दा दुई चार रुपैयाँ खाजा खर्च पनि दिइहाल्थे ।

उनको एउटा बानी थियो– खोप्पी खेल्ने । खोप्पी खेल्दा उनी कसैको उमेर हेर्दैनथे । डलर (सिक्कालाई त्यसबेला डलर भनिन्थ्यो) को लक्कु मात्र हेर्थे । खोप्पी हान्ने पाँच पैसाको ठूलो ढ्याक हुन्थ्यो । उनी त्यो ढ्याक ठ्याक्कै निशानामा खसाउँथे । उनको तारो प्राय: अचूक हुन्थ्यो, त्यसैले दुईतिर डलरका अग्लाअग्ला लक्कु राखेर चेपुवा बनाएको निशानामा पनि ढ्याक्कै तारो बसाइदिन्थे । खोप्पी खेल्दाखेल्दै साँझ गाढा भइसक्थ्यो तर हाम्रो खेल सकिँदैनथ्यो । साँझ बाक्लिँदै गएपछि भने जुल्फेलाई तारो हान्न हम्मेहम्मे पथ्र्यो । कमजोर दृष्टिका कारण ढ्याक तारो राखिएको डलरलाई नछोई छेउमा मात्र खुत्रुक्क खस्यो भने पनि ‘मार्रा’ भनेर हल्ला गर्थे । नमारेको पैसालाई सोरसार पारेर खल्तीमा हाल्दै घरतिर लाग्थे र भन्थे– “जाओ केटा हो, आ–आफ्ना घर । अहिले तिमेर्का आमाबाउले जुल्फेले हाम्रा छोरा बिगार्‍यो भनेर सराप्छन् ।” उनी हार्न मन पराउँदैन थिए । झेली गरेर पनि जित्नै पथ्र्यो । चाहे पशुहट्टीमा होस्, चाहे फुटबल र खोप्पीमा होस् ।

भलै उनी लुगा सिलाउँदैनथे । पेसाले गोरु दलाली गर्थे । तर, उनले आफ्नो पुख्र्यौली संस्कृतिलाई मर्नैचाहिँ दिइहालेका थिएनन् । बेलाबेला उनको यो संस्कृति ब्युँझेर उठ्थ्यो । संस्कृति उठाउने एउटा पुरानो सनाई थियो उनीसँग । त्यो घरको दलिनमा कयौँ महिना त्यत्तिकै थन्केर बसिरहन्थ्यो । जब उनलाई त्यस संस्कृतिको भूतले ब्युँझाउँथ्यो या भनौँ, खल्ती खाली हुन्थ्यो, तब उनी दलिनबाट ध्वाँसोले कालै भएको त्यो सनाई झिकेर जिब्री पुछपाछ पार्थे । फेरि ठेप्सी बन्द गरेर पिँपीँ पार्थे । अचेल अक्सर कार्यक्रममा ‘ माइक टेस्टिङ’ गरेजस्तो । अनि, निस्किन्थे गाउँ घुम्न ।

बढी त दसैँ–तिहार पर्वमा जुल्फे दाइको सनाई जीवन्त भएर घन्किन्थ्यो । उनी ‘खोयाबिर्के’ अलि बढी चढेका बेला बिनापर्वै पनि सनाई फुक्थे । यतिबेला म जुल्फे दाइबारे लेखिरहँदा धच गोतामेको एउटा संस्मरण सम्झिन्छु । सूचना विभागका फोटोग्राफर मंगलमान अर्थात् सबैले चिनेको मंगले– राजारानीका सुन्दर, कलात्मक तस्बिर त खिच्थे नै । यसबाहेक उनको अर्को विशेषताको पनि वर्णन गरेका छन् धचले । विशेषत: राजारानीलाई रिझाउन उनी यो कला–कौशल प्रयोग गर्थे । मंगले जब राजारानीका तस्बिर खिच्न थाल्थे– खिच्दाखिच्दै निहुरिन्थे, बांगिन्थे, ढल्किन्थे । हुँदाहुँदा भुइँमा उत्तानो सुतेर, कोल्टे फेर्दै भटाभट क्यामेराका रिल सिध्याउँथे । उनको यस कलाबाट राजारानी पनि रिझिएका थिए । त्यसैले उनी राजारानीका प्रिय फोटोग्राफर थिए ।

हो, जुल्फे पनि जब जोसमा आएर सनाईमा राग फुक्न थाल्थे अनि आफ्नो उमेर र स्वास्थ्यावस्था बिर्सिन्थे । उनी त्यतिखेर कुनै जवान नर्तकलाई समेत माथ दिने गरी नाच्दै गाला फुलाएर सनाई बजाउँथे । उनलाई सनाईमा खासै विलक्षण धुन बजाउन आउँदैनथ्यो । तर, सनाईसँग उनी जुन ‘मंगले’ शैलीमा प्रस्तुत हुन्थे, हेर्ने–सुन्नेहरुले मुग्ध भएर खल्तीका खुद्रा जुल्फेका दौराका फेराभरि खन्याउँथे । जुल्फे पहिला बाख्रोको पाठो कराएजस्तै सनाईलाई प्याँ–प्याँ पार्दै ‘जदौ’ गर्थे । अनि, एउटा धुन फुक्दै बिस्तारै दाहिने–देब्रे कम्मर मर्काउन थाल्थे । खोयाबिर्केको रनक शरीरमा छ भने त उनी ठ्याक्कै मंगलमान । उत्तानो र कोल्टे सुताइ–शैली फेरीफेरी सनाई फुकेको छ, फुकेको छ । भुइँ चिसो भए पनि वास्ता गर्दैनथे, सुतेर विभिन्न आसन बदल्दै सनाईमा राग फुकिरहन्थे ।

जीवन–जगतको उनलाई कुनै चिन्ता थिएन । बिहानको रसदपानी त जसोतसो जोरजाम भयो, अब बेलुकाको कसरी भन्ने फिक्री पनि उनले गरेको कहिल्यै सुनिएन । सधैँ त वस्तु–व्यापार हुँदैनथ्यो । राँगा–गोरुको व्यापार–व्यवसाय भनेको बर्खायाम लागेपछि मात्र फस्टाउने हो । बाँकी ८–९ महिना उनको आयआर्जनमा नाकाबन्दीजस्तै लाग्थ्यो । तर, उनलाई कुनै पीर थिएन । उनी खल्तीमा दाम हुँदाका बखतमै जस्तो रमाइरहेका हुन्थे । मनमा त हुँदो हो– अब पेटमा चारो हाल्न के इलम गर्ने ? उनीसँग विकल्प पनि उतिसारो थिएनन् । श्रीमतीले सानोतिनो बनिबुतो गरेर चुल्हो बाल्ने काम गरिहाल्थिन् । यो पनि गाउँघरमा सधैँ कहाँ पाइन्थ्यो र ? हो यहीँनेर जुल्फे दाइ हार खान्थे ।

एक दिन निन्याउरो अनुहार लगाएर घरतिर फर्किंदै रहेछन् । बाटामा भेट भयो । बाटो पनि के भन्नु एउटै गाउँमा, एउटै बाटो । दिनमा दसचोटि एउटै मानिस भेटिन्छ । उनीसँग आकस्मिक जम्काभेट भयो । “के भयो दाइ, आज अलि सन्चो छैन जस्तो छ नि ?” मैले उनको भित्री उदासीको काँडो झिकिदिने प्रयत्न गरेको थिएँ । तर, त्यो त काँडो बिझाउने ताल पो भएछ । उनी कड्किहाले– “छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी ।” मैले मूलतत्त्व बुझ्न सकिनँ । डराईडराई उनको घाउमा फेरि अर्को काँडोले कोट्याएँ– “हन के भयो हउ जुल्फे दाइ, आज त बिहानबिहानै सन्किनु पो भो त ?” उनी अलि नरम भए । भने– “खल्तीमा दाम हुँदा आफूलाई गोजी खर्च पनि नराखी जम्मै तिनीहरुको हातमा राखिदिन्थेँ, आज मलाई सारोगारो पर्दा तर्किए ।” “के भने त ?” अब उनी अलि सहज भइसकेका थिए र मैले सोधेँ । उनले अमिलो मुख पारेर भने– “आज बिहानै बूढीसँग झगडा भयो । ‘घरमा एक गेडो चामल छैन, तिमी डगरडगर बुर्किहिँड्छौ’ भनी र मालिककहाँ ‘एक महिनालाई दुई चार सय रुपैयाँ सापटी दिनुहोस्, नभए एक मन धान दिनोस्’ भनेर माग्न गएको ‘आफैँ त महादेव उत्तानो टाङ’ पो भने है । यिनकहाँ पैसा नभए धान त थियो नि । मैले पनि सकेका बेला सरसापट दिएकै हुँ । खाएर भाग्ने त थिएन नि ‘अब यस्ता कुरा लिएर मकहाँ नआउनू’ पो भने है । मलाई त दिक्कै लाग्यो कान्छा । यस्ता पनि मालिक हुन्छन् कतै ? भीखमग्गा जोगी हुन् यिनीहरु सामन्ती ।”

सामन्तीको अर्थ त जुल्फे दाइलाई पनि थाहा थिएन । तर, उनले यो शब्द अलि बढी नै कड्केर बोलेका थिए । मैले बुझेँ, उनको मनमा गहिरै काँडो बिझेछ । उनी अँध्यारो अनुहार लगाएर घरतिर लागे ।

जुल्फे दाइ फुटबलका सोखिन थिए । ज्यामिरगढी गाउँ पञ्चायतको मुकाम रहेको बिचार्नी बजार र हामी गोमनसरी गाउँका बीच बेलाबेला म्याच चलिरहन्थ्यो । यस्तो म्याचमा दुई व्यक्ति अविस्मरणीय छन् । र, यी दुवै अहिले स्मृति भइसकेका छन् । बिचार्नीका तर्कबहादुर बुढाथोकी र गोमनसरीका जुल्फे दमाई । यी दुवै आ–आफ्ना टिमका रमिते क्याप्टेन हुन्थे । जब म्याच सुरु हुन्थ्यो, तब यी दुवै आफ्नो टिमलाई जिताउन मैदानको पूर्वी किनारामा बसेर नानाभाँती प्रपञ्च गर्थे । आफ्नो टिमलाई उकास्न कुनै कसर बाँकी राख्दैनथे । ‘ठोक केटा ठोक । गोल छिरा फलानो । नछोडो । पछाडिबाट आउँदैछ, अर्कोतिरबाट पोस्टमा हान ।’

 जुल्फे सुरुवाल सुर्केर सेन्टरदेखि नै वेगले यसरी दौडिँदै आए । मानौँ, आज यिनले गोल मात्र होइन, किपरसहित छिराउने भए । पेनाल्टी हान्ने ठाउँमा राखिएको फुटबललाई बेत्तोडले हाने । हान्नासाथ उनी मुच्र्छित भएर ढले ।

यी दुवै आ–आफ्ना टिमलाई हौसला प्रदान गर्न कुनै कसर बाँकी छाड्दैनथे । कहिलेकाहीँ त यिनीहरुको जोस यति आरोहमा पुग्थ्यो– हामी मैदानमा फुटबल खेलिरहेका हुन्थ्यौँ, यिनीहरु बसेको थपडी बजाउँदै खेलाडीका मनमा आगो सल्काउँथे । त्यतिले पनि नपुगेर आपसमा पाखुरा सुर्कासुर्की गर्थे । हामीले जितेका दिन जुल्फे प्रफुल्ल मुद्रामा चियाचमेना गराउँथे र भन्थे, “तर्कबहादुरलाई हराइछाड्यौ, क्या बात ।” हामीले जित्नु भनेको जुल्फेका लागि तर्कबहादुरको हार हुन्थ्यो ।

उनले फुटबल खेलेको कहिल्यै देखिएन । हो, एकपटक फुटबललाई हामीले जस्तै जोडले हिर्काउने हुँदा उनको दाहिने खुट्टाको बूढीऔँलाको नङ फेददेखि नै उक्किएर एक हप्ताजति थला परे । त्यसपछि भकुन्डोलाई उनले जीवनभरि स्पर्श गरेनन् । कसैले हान्दा उनीतिर आइहाल्यो भने पनि तर्किएर भाग्थे तर छुँदैनथे ।

त्यसपछि जुल्फे दमाई फुटबलका सोखिनमा मात्र सीमित रहे, आजीवन । यसको पनि आफ्नै किस्सा छ । त्यस दिन हामी गाउँछेउको स्कुलको चौरमा फुटबल खेलिरहेका थियौँ । एकोहोरो पोस्टमा गोल हान्ने काम मात्र गरिरहेका थियौँ । त्यही बेला जुल्फे टुप्लुक्क चौरमा आइपुगे । ‘ए केटा हो, तिमीहरु मात्र कति खेल्छौ ? ल ल्याओ आज म पनि गोल हान्छु ।” अनि पेनाल्टी हान्न बनाएको सानो गोलाकारभित्र हामीले फुटबल राखिदियौँ ।

जुल्फे सुरुवाल सुर्केर सेन्टरदेखि नै वेगले यसरी दौडिँदै आए । मानौँ, आज यिनले गोल मात्र होइन, किपरसहित छिराउने भए । पेनाल्टी हान्ने ठाउँमा राखिएको फुटबललाई बेत्तोडले हाने । हान्नासाथ उनी मुच्र्छित भएर ढले । यसरी उनको बूढीऔँलाको नङ भाँचियो । भलभली रगत बगिरहेको थियो । अनि, चौरमा छरिएका थोत्रा–झुत्रा कपडा च्यातेर उनको बूढीऔँलामा बेन्डेज गरिदियौँ । आधा घन्टापछि बल्ल उनले अलि लामो सास फेरे । र, खोच्याउँदै बिस्तारै घरतिर लागे । जाँदाजाँदै उनले प्रतीज्ञा गरे– ‘आजदेखि मलाई यो फुडबोल हान्न लगायौ भने तिमेर्का कन्सिरीका रौँ बाँकी रहने छैनन् ।” त्यसपछि जुल्फे दमाईले फुटबल खेलबाट सदाका लागि सन्न्यास लिएर आजीवन हाम्रो समर्थनमा चौरको किनारामा बसेर थपडी मात्र बजाइरहे ।

प्रकाशित: मंसिर १३, २०७५

ट्याग: संस्मरण