कारणहरु खोज्दै

- पुरञ्जन आचार्य

एक साथीले ०४२ को जेलजीवनमा आदि विद्रोह पढाएपछि मेरो पठन यात्रामा रुचिपूर्ण मोड आयो । जवाहरलाल नेहरु र डा राधाकृष्णनलाई मैले नख्खु जेलमै पढेको हुँ । सुरुमा मेरो नेपालीभन्दा हिन्दी भाषामा पकड थियो । विराटनगरमा पुस्तकालयको उपलब्धताका कारण मलाई किताबसँगै यात्रा गर्न सहज थियो । थ्याङ्क यू मिस्टर ग्ल्याड  पढ्दा म चकित परेको थिएँ । राजनीतिक यात्रामा लागेपछि बीपी कोइराला र ओशो अझ गहिरो ढंगले हेरेँ । र, सोच्थेँ– म समाजवादका सबै पुस्तक पढ्छु ।

मुनामदनले मलाई नेपाली समाज मात्र चिनाएन, नेपाली समाजको अभाव र लाहुरे संस्कृति पनि चिनायो । युवाहरु विदेश पलायन हुने आजको आर्थिक अवस्था देख्दा लाग्छ, यो कालजयी रचना हो । सुरुमा मैले मुना र मदनको प्रेमगाथाको रुपमा पढेँ । आफ्नो चेतनाको स्तर अलि उक्सिएपछि यो सरस काव्यलाई दोहोर्‍याउँदा लाग्यो– आर्थिक काव्य हो, मुनामदन । पटकपटक पढ्दा यो काव्य मेरो समग्र समाज, समग्र देशजस्तो लाग्छ । ‘चालीस कटेसी रमाउँला...’ भन्ने आजको चर्चित गीतको सान्दर्भिकता र मुनामदनले बोकेको कथाव्यथा उस्तै लाग्छ । नेपाली समाज कस्तो छ भनेर घोत्लिने हो भने मुनामदनकै जस्तो देखिन्छ । फरक यत्ति हो– उहिले मदनको लास आइपुग्दैनथ्यो, अहिले काठको बाकसमा झर्छ  । देवकोटाले विप्रेषण संस्कृति देखेका थिएनन् तर लाहुर जाने बाध्यता त देखेकै थिए । मुनामदन  मुना र मदनको वियोगको कथा मात्रै थिएन, भविष्यको चित्रण पनि रहेछ ।

धेरै वर्षअघि बैंग्लोरमा भेटेको अल्केमिस्ट  एकै बसाइमा पढिसकेको थिएँ । भेडा चरुवाको यात्रा विवरण र सपनाको पछाडि निरन्तरको हिँडिरहने पात्रले मलाई मोहित  बनायो । विराटनगरमा खुम्चिएर बसेको एक युवा मात्र थिएँ म । इजिप्टको पिरामिडमुनि खजाना खोज्ने स्यान्टियागोजस्तै म पनि १६/१७ वर्षको उमेरपछि समयको विभिन्न कालखण्डमा अनेक सपनाको पछिपछि कुदिरहेको छु । स्यान्टियागोको यात्रामा परिवार सम्झना, भेडाहरुसँगको संवाद, प्रेम, अध्ययन, संघर्षमा नथाकेको कथावर्णन पाउलो कोएलोको सशक्त पाटो लाग्छ । उनले एउटा युवकलाई कहिले धनी बनाइदिएका छन्, कहिले गरिब बनाइदिएका छन्, कहिले कुटाइ खुवाएका छन् ।

प्रतिष्ठित नागरिक भइसकेर पनि जब ऊ त्यहाँबाट बाहिर निस्कन्छ, तब म लेखकको शिल्पबाट प्रभावित हुन्छु । हाम्रा देशका नेताहरुले ठूलठूला सपना देखे/देखाए । तर, सत्ता र सुविधामा पुगेपछि त्यतै अलमलिए । उनीहरुले सपनालाई सिंहदरबारमा लगेर बिसाए । गिरिजाबाबुको सपना पनि विराटनगरको जुट मिलबाट सुरु भएको थियो । त्यो जुट मिल स्यान्टियागोको चर्चजस्तै खण्डहर थियो । मैले गिरिजाबाबुलाई विराटनगरको गेटमा भनेको थिएँ– ‘दाजु, जुट मिल त झनै खण्डहर भएछ । अब यहाँबाट अर्को गिरिजाप्रसाद त जन्मिँदैन ।’ मैले यसो भन्दै गर्दा स्यान्टियागोलाई सम्झेको थिएँ ।

नेहरुको ग्लिम्प्सेस अफ वल्र्ड हिस्ट्रीले संसारलाई हेर्ने मेरो क्षितिज उघारेको हो । एक किसिमले चेतनाको जग निर्माण गरिदियो । युवल नोह हरारीको स्यापियन्सले चाहिँ मानव उत्पत्ति, सभ्यता र संघर्षको नयाँ आयाम उद्घाटन गरिदियो । ‘म को हुँ’ लाई हिन्दु दर्शनले आत्मिक व्याख्या गरेको छ भने स्यापियन्सले जैविक वर्णन गर्छ । विज्ञान पृष्ठभूमि नभएको मजस्तो पाठकलाई पनि सहज ढंगले हाम्रा सभ्यता, संस्कृति र साम्राज्यका उत्थान र पतनबारे सहजै बताइदिन्छ । आज धेरै मानिस खान नपाएरभन्दा धेरै खान पाएर र युद्धले भन्दा मानसिक समस्याले मरिरहेको यथार्थ खोलिदिएको छ । कृषि सभ्यता र निजी सम्पत्तिपछि उदाएको वर्ग विभाजनलाई हरारीले वैज्ञानिक विश्लेषण गरेका छन् ।

एक थरी लेखकले ‘कहाँ थियौँ’ बारे लेख्छन्, अर्का थरी ‘कहाँ छौँ’ बारे । कोही ‘कहाँ पुग्छौँ’ बारे पनि लेख्छन् । तर, यस किताबमा चाहिँ त्रिकाल टिप्पणी छ । आख्यान, यथार्थ र इतिहासलाई नयाँ ढंगले सोच्ने ढोका खोलिदिन्छ स्यापियन्सले । रोमन सभ्यतादेखि प्रविधि सभ्यतासम्म आइपुग्दा हामीले आफैँलाई गहिराइबाट हेर्नुपर्ने आवश्यकताप्रति हरारी जोड दिन्छन् । प्रकृतिलाई माया गर्ने आदिवासीहरु विज्ञान–प्रविधिको युगमा संसारभरि नै पाखा पारिएका छन् । धेरै मानिसलाई पछाडि पारेर थोरै मानिस मात्रै अगाडि आउने सभ्यताबारे सोच्नुपर्ने बेला भइसकेको किताबले बताउँछ ।

अहिलेको विश्वदृश्यले कारणहरुसम्म पुग्नैपर्ने बोध गराउँछ । हिन्दु धर्मसँग टाढिँदैटाढिँदै ब्राह्मणत्व त्यागेर विज्ञानसँग नजिकिएँ । किताबहरुमा म कारणहरु खोजिरहेछु सायद ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: मंसिर १२, २०७५

ट्याग: किताब