पिपासु पुरुष होइन, मानव

- प्रमोद मिश्र

यौन अतिक्रमण पर्दाफास गर्ने मीटू आन्दोलनले दिल्ली हुँदै काठमाडौँलाई पनि हानिसकेको छ । यसको भेलमा पछारिएका केशव स्थापितले ‘नेपाली संस्कृतिमाथि खतरा’ को गुहार लगाइसकेछन् । मीटू मात्रैको झटारो भएको भए सहरी शिक्षित मध्यमवर्गीय महिलाको भारतीय वा अमेरिकी सहरी महिलाको नक्कल हो भनेर यसलाई ढिसमिस गर्न सकिन्थ्यो । यहाँ त दिनहुँ छापामा देशको अमुक भागमा अमुक वर्षकी बालिका, किशोरी, युवती र वृद्धाको बलात्कार र हत्याको एकपछि अर्को अचम्मित पार्ने खबरले मन रन्थन्याउँछ । स्त्रीमाथि घरभित्र र बाहिर हिंसा त स्त्री–पुरुष सम्बन्धको सांस्कृतिक अंग नै हुन पुगेको छ । तसर्थ, मीटूको यो लहरलाई गहिरिएर बुझ्नुपर्ने भएको छ ।

हामी पुरुष पिता, पुत्र, भाइ, भदा वा अरू कुनै दृश्य–अदृश्य नाता–सम्बन्धको भूमिकामा रहँदै आएका हुन्छौँ । सभ्यताको विकासक्रममा प्रकृतिले पुरुष र नारीलाई केही जैविक भिन्नताले सजाएको छ । समाज र धर्मशास्त्रले ती भिन्नताका आधारमा पितृसत्ता खडा गरेको छ, जसको बफादार सिपाही हामी पुरुष भएकै छौँ । कतिपय स्त्री आमा, सासू, नन्द आदिका भूमिकामा छन् । पितृसत्ताको भाषाव्यूहले हाम्रो मनमस्तिष्कलाई जेलेको छ, जसले गर्दा हामी पुरुषको श्रेष्ठता/हैकम र स्त्रीको दुर्बलतालाई प्राकृतिक र ईश्वरप्रदत्त मान्छौँ । हाम्रो भाषाले पनि पुरुषलाई ‘वीरभोग्या बसुन्धरा’ र नारीलाई अबला नामकरण गरी ‘बालानां रोदनं बलम्’ वा ‘पुरुषस्य भाग्यम्’ तर ‘त्रिया चरित्रम्’ भन्न सिकाएको छ । र, आफ्नो निहित स्वार्थसमेत गाँसिएकाले यो कुरा नैसर्गिक हो भन्ने जिद्दी गर्छौं । तर, कतिपय आमा, सासू, नन्द आदि भूमिकामा रहेकी स्त्रीले पनि यी पितृसत्तात्मक विचार प्रणाली र भाषाजाललाई आत्मीकरण गरेर पितृसत्ताको बफादार सिपाही बन्न पुगेका छन् । अन्यथा, आमा, हजुरआमा, सासूहरू छोरा पाउन किन मरिहत्ते गर्थे र सासु–नन्दआमाजूहरू बुहारी कजाउन किन लागिपर्थे ?

त्यसैले मीटूको अर्थ गहिरो छ र यसको प्रभाव दूरगामी हुनेछ । मीटू मध्यमवर्गीय सहरी शिक्षित महिलाको मुक्ति उद्घोषका रूपमा लिन आवश्यक हुन्छ । पुरुष सत्ताले नारीलाई नियन्त्रणमा राख्न उसको यौनवरिपरि भाषा र विचारको जाल बुनेको छ । त्यस जालले एकातिर स्त्री यौनलाई शर्म, शील र बत्तीस लक्षणको डोरीले बाँधेको छ भने अर्काेतिर त्यही यौनलाई अश्लील र त्यो डोरी तोड्ने प्रयासलाई तथानाम अपशब्दले खबरदारी गरेको छ । त्यस जालरूपी इज्जत, शर्म, शील आदि बत्तीस गुणबाट आजादीको घोषणा हो यो मीटू आन्दोलन । ती अपशब्दलाई जताबाट आयो, त्यतै फर्काउने उद्यम पनि हो– नारी स्वाश्रयी नभई सधैँ पराश्रयी हो भन्ने मान्यतालाई तिलाञ्जली दिने घोषणा । आफ्नो शरीर र यौनको स्त्री स्वयं स्वामी हो भन्ने कुराको घोषणा पनि हो यो । ऊ पुरुषको भोग्या वस्तु नभई एक स्वतन्त्र सबै इच्छा–आकांक्षाहरूको कर्ता हो । आदिम युगको आखेट गर्ने, कन्दमूल बटुल्ने जंगली युगको प्रजनन र यौन टक्रयाउने घरेलु जन्तु होइन ऊ । सार्वजनिक स्थानमा आफ्नो सीप, विवेक र बुद्धिले ससम्मान जीविकोपार्जन गर्न सक्ने अरूजस्तै क्षमतावान व्यक्ति हो । पुरुष चरित्रको जति ठेगान हुँदैन, त्यति स्त्रीको भाग्यको पनि हुँदैन भनेर मनुवादी विचारलाई उँधो–उँभो पार्ने प्रयास हो यो । यी सबैको घोषणा हो मीटू आन्दोलन । त्यसैले त मीटूलाई लिएर आफूप्रति भएको यौन शोषण र अतिक्रमण उसको बेइज्जती नभई त्यस्तो कृत्य गर्नेको अपराध हो र उसैलाई शर्म हुनुपर्छ भन्ने सार्वजनिक घोषणा हो यो । तसर्थ, कसैले यसलाई नेपाली संस्कृतिमाथि आक्रमण भन्ठान्छ भने त्यसमा के आश्चर्य ? किनभने नेपाली संस्कृति भनेकै पुरुषको हैकम चल्ने संस्कृति हो उनीहरूको नजरमा ।

मीटू आन्दोलनले अरू कुरा पनि औँल्याएको छ । त्यो हो– पुरुषको यौन मामिलामा अतिक्रमणकारी स्वभाव र पितृसत्ताजनित हैकम । पश्चिमा मुलुकमा स्त्रीपुरुष समागम मागी विवाहबाट भएन । जस्तोसुकै वर्ग र नश्लको परिधिभित्र रहेर विवाह भए पनि केटाले केटीलाई रिझाउनैपर्ने र एकअर्कालाई मन पराएर प्रेममा पर्नैपर्ने पारिवारिक र सामाजिक अपेक्षा रहँदै आएको छ । बाल्यकालदेखि नै समाज र परिवारले केटाकेटीलाई आपसमा भेट्ने अवसर जुटाइदिन्छ, हेलमेल गराउँछ । यदि कुनै युवायुवतीले विपरीत लिंगीलाई भेट्ने अनिच्छा बारम्बार गरेमा परिवार चिन्तित हुन्छ । यसले जिन्दगी कसरी धान्छ भन्ने चिन्ता मातापितालाई हुन्छ । यस्तो सामाजिक अपेक्षा र व्यवस्थाले पनि स्त्री–पुरुष परिवारबाहिरका विपरीत लिंगीसँग एकआपसमा कुरा गर्न र एकअर्कालाई लिंगीय रूपमा मात्र होइन, व्यक्तिका रूपमा हेर्न र व्यवहार गर्न अभ्यस्त हुन्छन् । स्त्री–पुरुष संवादका सूक्ष्म संकेत बुझ्न आम रूपमा सक्षम हुन्छन् । मीटू विस्फोटले के देखायो भने पश्चिमेली मुलुकमा पुरुषद्वारा यौन अतिक्रमण यौनका लागि इमानदार चाहना मात्र नभई पुरुषको अहं तुष्टि, हैकम र शक्ति प्रयोगको खेल हो भने स्त्रीको स्वत्वको अनादर र अतिक्रमण । पितृसत्ताको पाश्चात्य अवतार सोच्छ– स्त्री यौनपिपासा तुष्टि गर्ने वस्तु/साधन हो, सर्वाधिकारसम्पन्न व्यक्ति होइन ।

युरोप, अमेरिकामा नारी स्वतन्त्रता उत्कर्षमा पुगेको भान हुन्थ्यो, खासगरी हामी एसियालीलाई । वयस्क स्त्री–पुरुष कुममा कुम मिलाएर खुला बारमा मादक चुस्की लिँदै गफ गरेको पहिलोचोटि देख्दा यो त कहाँको लैंगिक स्वतन्त्रताको इन्द्रलोकमा आइपुगिएजस्तो लागेको थियो । तर, मीटू विस्फोटले पाश्चात्य पितृसत्तालाई उदांगो पारिदिएको छ । हिन्दु र मुस्लिम समाजमा नारी पक्कै पनि स्वतन्त्र छैनन् किनभने तिनीहरू परम्परागत नियम, कानुन, चालचलन र रीतिथितिको किल्लाभित्र बस्छन् भन्ने अपेक्षा गरिन्छ । नबस्नेलाई अधिकांश मामिलामा दबाब र कतिपय ठाउँमा हिंसाको धम्की दिइन्छ र हिंसासमेत गरिन्छ । स्त्रीलाई व्यक्तिभन्दा पनि परिवार, कुल, वंश, जात र धर्मको अभिन्न अंग मानिन्छ । तिनलाई सामूहिक पहिचानको मानसम्मान र इज्जत प्रतिष्ठा बोक्ने भाँडो मानिन्छ ।

पाश्चात्य मुलुकमा त्यस्तो प्राय: छैन । त्यहाँ जात, नाताकुटुम्ब वा धर्मजस्ता सामूहिक पहिचानप्रति स्त्रीसँग यताको जस्तो दायित्व छैन भने सामूहिकताले रक्षाकवच पनि दिँदैन । स्त्री पुरुषजस्तै व्यक्ति हुन्छ । कुल, जात र धर्मको इज्जत र अस्मिता बोक्ने भरिया हुँदैन । स्त्रीको यौनिकतासँग कुल र जातिको इज्जत गाँसिएको हुँदैन । उसको स्वतन्त्र स्वत्व हुन्छ । वैयक्तिकता हुन्छ–कानुनी, नैतिक र दार्शनिक रूपमा । ऊ आफ्ना लागि र आचरणप्रति आफैँ जिम्मेवार हुन्छ । एक डेढ शताब्दीको संघर्षपछि पाश्चात्य नारी यो अवस्थामा पुगेका छन् । तर, मीटू घटनाले के देखाएको छ भने त्यहाँ पितृसत्ताले सामाजिक, आर्थिक र राजनीतिक शक्ति सञ्चालनका भरमा स्त्रीलाई उसको पूर्ण स्वत्व प्राप्ति र परिचालनबाट वञ्चित पारेको छ । पुँजीवादी व्यवस्थाको आर्थिक सोपानमा पुरुषले लोकतन्त्रमा खाइपाई आएको शक्ति र समानता स्त्रीसम्म सरेको रहेनछ । यसले गर्दा आफ्नो करिअर गुम्ने डरले वर्षौंसम्म नारीलाई आफूमाथि भएको यौन अतिक्रमण र हिंसाबारे बोल्ने आँट आएन । मीटूले यसलाई सम्भव बनायो ।

तर, भारत र नेपालजस्ता पूर्वीय मुलुकमा एउटा अर्को जटिलता थपिएको छ । यस्तो जातीय र धार्मिक समाजमा विवाहबाट मात्र यौन स्वीकार्य हुन्छ । हिन्दुकरण नभएका जनजातिको चलनलाई एकछिनका लागि छाडिदिने हो भने मागी विवाहलाई उत्कृष्ट र सर्वस्वीकार्य मानिन्छ । यस्तो समाजमा स्त्री–पुरुषले एकअर्कासँग सामान्य भई स्वतन्त्र व्यक्तिका रूपमा सम्मानका साथ कुरै गर्न जानेको हुँदैन । न विपरीत लिंगीका रूपमा, न त व्यक्तिका रूपमा । विपरीत लिंगीबीचको सम्पर्कमाथि बन्देजले गर्दा जस्तोसुकै सम्पर्क, चाहना र प्रयासलाई समाजले अतिक्रमणजस्तो मान्छ । स्त्रीको आमाबाबुको स्वीकृतिबिना पुरुषसँग स्वेच्छाको यौनरहित सम्पर्कलाई पनि पढेलेखेका जिम्मेदार, ओहोदावाल पुरुषसमेतले अश्लील ठान्छ । जीवनमा सहचर वा सहचरी खोज्ने दायित्व र अधिकार स्वयं व्यक्तिकै हो भन्ने मान्यता हुँदैन । छोराले त्यस्तो गरिहाल्यो भने पनि आमाबाबुलाई दु:ख मनाउ हुन्छ । कुनै पनि स्त्री आफ्नो परिवारका सदस्यसँगबाहेक वा परिवारबाहिर एक रात बिताइन् भने तिनलाई बात लाग्ने कुरा अझै पनि नेपाली समाजको सम्झनामा आलै हुनुपर्छ । त्यस्तो स्थितिमा जहाँ पितृसत्ताको निर्वाध हैकम छ र प्राय: पुरुष पितृसत्ताका स्वार्थी सिपाही बनेका छन्, त्यहाँ स्त्रीको मानमर्दन हुन्छ, ऊमाथि अतिक्रमण वा आक्रमण हुन्छ भने के अचम्म मान्नु ∕ त्यहाँ मीटू भन्ने आँट कुनै महिलाले गर्छिन् भने त्यो विभेद र उत्पीडनबाट आजादीको घोषणा हो । यसले मदमत्त, धनमत्त, पदमत्त, सत्तावान र शक्तिमान पुरुषको मुटुमा पक्कै पनि ढ्यांग्रो ठोकेको हुनुपर्छ । 

तसर्थ, मीटू क्रान्ति हो । अरू क्रान्तिजस्तै यसका केही अतिवादी पक्ष निस्किए पनि यसले नारीलाई आफ्नो शरीरमाथि सामाजिक र यौन अधिकार स्थापित गर्ने मौका दिनेछ । नेपाल र भारतका हकमा भने यसले सार्वजनिक कार्यस्थलमा नारीलाई आफ्नो शरीरमाथिको अधिकार स्थापित गराउँछ । साथै, पितृसत्ताको निर्वाध सुविधा भोग गरिरहेका पुरुषका लागि मीटू एउटा सशक्त विद्यालय बन्नेछ, जहाँको शिक्षाले ऊ पिपासु पुरुषभन्दा मानव बन्न सिक्नेछ । सदियौँदेखि जरा गाडेर बसेको पितृसत्तालाई फाल्न मीटू मुक्तिबोधसँगै स्वतन्त्रताको उद्घोष मात्र हो । समानताका लागि असल संग्राम त बाँकी नै रहन्छ ।

प्रकाशित: मंसिर ११, २०७५

ट्याग: बहस