निर्मला प्रकरण : निसाफ नदिने ?

कञ्चनपुरबाट स्थलगत रिपोर्ट

- गोकर्ण गौतम

महेन्द्रनगर– आँगनमा तुलसीको बोट छ । कति फुलिरहेका, कति ओइलाउन लागेका फूल । तर, दुर्गादेवी पन्त न छुन सक्छिन्, न त हेर्न । उखेलेर फाल्न पनि सक्दिनन् । उनैले रोपेको फाल्नु कसरी ! तुलसी र फूल छोरी निर्मलाको अन्तिम नासो हो । फूल फुल्न नपाउँदै निर्मला निमोठिइन् । १० साउनमा घरबाट निस्केकी उनी कहिल्यै फर्केर आइनन् । ११ साउनमा नजिककै उखुबारीमा शव भेटियो । १३ वर्षको कलिलो उमेरमै सामूहिक बलात्कारपछि हत्या भयो । रोपेका फूल ओइलाउन थाले । कसले मार्‍यो ? पत्तो छैन ।

१० साउन दिउँसोबाट दुर्गादेवीले छोरी खोज्न थालिन्, ११ साउनपछि हत्यारा खोजिरहेकी छन् । खोजेको खोज्यै छन्, दिनरात अविराम । खाने–सुत्ने ठेगान छैन । वडा प्रहरीदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगिन् । उसै त पातलो शरीर, छोरीको तापले पातलिँदै छ । ३ मंसिर साँझ त्यही आँगनीमा बसेर दुर्गादेवीलाई सोधियो, “थाक्नुभएन ?” भनिहालिन्, “छोरीले रोपेर गएको यो फूल त उखेल्न सक्दिनँ, उनको हत्यारा पत्ता नलगाई कसरी रोकिनु, कसरी थाक्नु ?” बोली दबे पनि छोरीको प्रेम र न्यायको भोक सहजै महसुस हुन्थ्यो ।

न्यायको अनुभूतिका लागि राज्य चाहिएको हो । यसबीच चर्को जनआक्रोश थामथुम पार्न सरकारले कञ्चनपुर प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई स्पष्टीकरण सोध्दै बर्खास्त गर्नेबाहेक थप राहत अनुभूति दिलाउन सकेन । दुर्गादेवीलाई यत्तिले मात्र पुगेको छैन । उनलाई चाहिएको त निर्मला बलात्कार र हत्याको अपराधी हो, जुन मागका अघिल्तिर सरकारी निर्णय अत्यन्तै अपुग हो ।

राज्य, न्याय, आन्दोलन, नाराजुलुस, धर्ना– निर्मला मारिनुअघि आमा दुर्गादेवीलाई उत्रो ख्याल थिएन । उनी दिनहुँ चटपटे बेचेर तीन छोरी हुर्काइरहेकी थिइन् । बुबा यज्ञराज पन्त सधैँ सँगै हुँदैनथे । तर, उनको सानिध्य जति हुन्थ्यो, त्यही पर्याप्त मान्थे । राज्यले दिने सेवासुविधाबाट पनि पूरै वञ्चित थिए, न कतै पहुँच नै । काम गर्‍यो, परिवार पाल्यो । कसैसँग रिसइवी थिएन, झैझगडा थिएन । बेलाबेला बालिका बलात्कार र हत्याका खबर सुन्थिन्, जीउ सिरिंग हुन्थ्यो, मुटु काँप्थ्यो ।

यो बज्रपात एक्कासि दुर्गादेवी आफैँलाई आइलाग्यो । घटनाको चार महिना बितिसक्दा समेत हत्यारा फेला परेको छैन । करुण स्वरमा भनिन्, “घरीघरी झस्किन्छु, सपनाजस्तो लाग्छ ।” भलै, सपना हुँदो हो ! तर यो त विपनीको भयंकर डरलाग्दो नियति बनेको छ ।

हरेक सन्तान आमाका लागि उत्तिकै प्रिय हुन्छन् । निर्मला विशेष थिइन् । कहिल्यै नझर्कने, घरको काममा सघाउने । पढाइमा अब्बल । मिलनसार । सानै कुरामा खुसी भइहाल्ने । कहिलेकाहीँ दुर्गादेवी रुँदा निर्मला सम्झाउँथिन् । सुखद भविष्यको सपना देखाउँथिन् । उनी भक्कानिइन्, “छोरी भएर पनि आमाले जस्तै व्यवहार गर्थी । आडभरोसा दिन्थी ।” उनी यस्तो समाजमा हुर्किन्, जसले छोरा नभएकी आमालाई अपूर्ण मान्छ र बुढेसकालमा सहारा नहुने डर देखाउँछ । छोरीसामु यो व्यथा मुख खोलेर भन्न सक्दिनथिन् दुर्गादेवी ।

पुत्रविहीन भएकाले आमाले हिजोआज भोगेका यावत टोकेसो ९ कक्षामा पढ्ने निर्मलालाई बोध भइसकेको थियो । त्यसैले आमालाई बरोबर भनिरहिन्थन्, ‘ममी, पढेर नर्स हुन्छु । विवाह गरे पनि तपाईंलाई पाल्छु, छोराले जस्तै ।’ त्यसको छाँटकाँट देखाइसकेकी थिइन्, भान्सामा मात्र होइन, चटपटे पसलमा पनि आमालाई सघाउँथिन् । निर्मलाका यी स्मृतिहरू पोखिरहँदा दुर्गादेवी भक्कानिदै जान्थिन्, “नभनुम्, छोरीको माया । भनुम्, मुटु फुट्लाजस्तो हुन्छ ।” दुर्गादेवीसँग भलाकुसारी हुँदैछ । साँझ ढल्कँदै छ । आफूलाई रोक्न सक्दिनन्, “यसबेला त निर्मलाले मलाई खाना खान बोलाइसक्थी ।” फेरि दोहोर्‍याइन्, “त्यति माया गर्ने छोरीको हत्यारालाई म कसरी छाडूँ ? सक्दै–सक्दिनँ ।”

एक दिन दुर्गादेवी पुगिन्, भगवान्को शरणमा, पीडा भुलाउन । तर, मन्दिरमा भगवान् होइन, छोरीको आकृति अगाडि आयो । बरर पोखिएका आँसु रोक्नै सकिनन् । एउटी कलिली छोरीको बलात्कार र हत्या हुँदा न्याय दिन नसक्ने आमा के आमा ! भन्छिन्, “जब यस्ता कुरा मनमा खेल्छन्, मन वहकिन्छ । वरपर मलाई हाम्रा लागि लडिरहेकाहरू देख्छु । अझ आँट आउँछ । होइन भने हामी उहिल्यै थाकिसक्थ्यौँ ।”

दुर्गादेवी अहिले जसरी छोरीको यादमा छटपटाइरहेकी छन्, सानोमै आमाबुबा बितेर त्यस्तै सास्ती बेहोर्नुपरेको थियो । आमा बितेपछि बुबाले भन्थे, ‘नरो, तँलाई पढाएर मेडम बनाउँछु ।’ तर, वर्ष दिन नबित्दै बुबाले पनि छाडेर गए । ७ कक्षाभन्दा माथि पढ्न पाइनन् । बिहे गरिन्, लगातार छोरी पाइन् । हन्डरैहन्डर ।

केही वर्षयता उनी हरेक दिन साइकल चढेर भारत बनवासा जान्थिन्, पानीपुरी र अन्य सामान ओसार्थिन् । दैनिक तीन–चार घन्टा साइकलको पाइडल दबाउनुपथ्र्यो । अरू दिनमा चटपटे बेचेरै बस्थिन् । छोरी हुर्कंदै गएपछि सुख देलान् भन्ने आशा पलाउँदै थियो । एक्कासि चट्याङ पर्‍यो । भन्छिन्, “रुँदारुँदा नसा चड्किन्छ । अब त रुनै सक्दिनँ । मन ढुंगो भइसक्यो ।”


धर्नामा निर्मलाका आमाबुबा, महेन्द्रनगर | तस्बिरहरू : भवानी भट्ट


हिजो आश, आज त्रास

केही वर्षअगाडि दुर्गादेवी पारिवारिक समस्या लिएर प्रहरीकहाँ पुगेकी थिइन् । प्रहरीसँगको त्यो पहिलो साक्षात्कार सुखद रह्यो । उनमा छाप पर्‍यो, ‘केही समस्या पर्‍यो भने प्रहरीले मद्दत गर्छ । अन्याय गर्नेलाई कठघरामा उभ्याउँछ ।’ त्यसैले त, निर्मला समयमै घर नफर्केपछि सबैभन्दा पहिले उनले प्रहरी गुहारिन्, घटनाको सबै बेलिबिस्तार लगाइन् । तर, यसपल्ट प्रहरीको व्यवहार रुखो थियो । जे सोचेर गएकी थिइन्, ठ्याक्कै उल्टो । निर्मला खोज्न होइन, जसका कारण उनी हराएकी थिइन् र हत्या भएको थियो, उसैलाई जोगाउन लागिपर्‍यो प्रहरी । शव भेटेपछिको प्रहरीको रवैया सुनाइरहँदा दुर्गादेवीको मुहार आक्रोशले भरियो । उनको आवाज अलि ठूलो सुनियो, “प्रहरीले अपराधी समात्नुपर्नेमा प्रमाण मेटाएर जोगाइरहेको छ । मैमाथि यस्तो अत्याचार किन ?” वर्तमान सरकार मात्र होइन, लोकतन्त्रको मूल्यमान्यता र अस्तित्वमाथिकै गहन सवाल हो यो ।

प्रहरीको व्यवहार र अनुसन्धानका नाममा भएका क्रियाकलापबाट पूरापूर आजीत दुर्गादेवीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल घरमै पुगेर भेटेपछि राहत महसुस भएको थियो । खनालले आश्वस्त बनाएका थिए, ‘यहाँका प्रहरीले सुरुबाटै गल्ती गरे । अब गल्ती हुन्न । तपाईंहरूले न्याय पाउनुहुन्छ ।’ खनाल यति भनेर काठमाडौँ फर्किए तर कञ्चनपुर प्रहरीको रवैया फेरिएन । न अनुसन्धानलाई विश्वसनीय बनाउने प्रयासै गरियो । त्यसपछि पति यज्ञराजसहित काठमाडौँ आएर प्रधानमन्त्री केपी ओलीलाई भेटिन् । ओलीले चिप्लो भाषामा भरोसा दिलाए, ‘निर्मला तपाईंकी मात्र होइन, देशकै छोरी हो । म आफ्नै छोरी सम्झेर न्याय दिलाउँछु ।’ अन्य निकायबाट पनि यस्तैयस्तै भनियो । यही आशाको पोको बोकेर कञ्चनपुर फर्किए । तर, अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च रोकिएन । यो कथा सुनाइरहँदा दुर्गादेवी घरी झर्किन्थिन् भने घरी रुन्थिन् । भन्छिन्, “सबै हाम्रो साथमा छन्, सरकारका मात्र किन पराई ?” देशमा तीन सरकार छन्, स्थानीय, प्रदेश र केन्द्र । तर, हरेक सरकार निर्मलालाई न्याय दिलाउने हकमा उदासीन ।

निर्मला मारिएपछि तीज, दसैँ, तिहार आयो । चाड आउँदा छोरीको सम्झनाले औधि पिरोल्थ्यो दुर्गादेवीलाई । पीडाको पहाड अझ ठूलो हुँदै जान्थ्यो । निदाउँदा पनि सपनीमा निर्मला बरोबर आइरहन्छिन् । चोटको गहिराइ अझ बढिरहेको छ । “मैले मरेकी निर्मला निकाल भनेकी छैन । मार्नेलाई समातेर सजाय देऊ भनेकी हुँ,” दुर्गादेवीको बोली रोकिन्न, “अरू छोरीहरूले निर्मलाजसरी बलात्कृत भएर मर्न नपरोस् । मेरै आफ्ना दुई छोरी छन् । तिनका लागि पनि म लडिरहेकी छु ।” उनी थप्छिन्, “म होइन, निर्मलाको आत्मा बोलेको हो । उसको दु:ख र चीत्कार बोलेको हो ।”

२५ कात्तिकदेखि दुर्गादेवीका पति यज्ञराज जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरअगाडि २४ घन्टे धर्ना बसिरहेका छन् । दुई छोरीको पढाइ बिग्रने डर छ । खाना बनाउनैपर्‍यो । त्यसैले दुर्गादेवी बिहान धर्नास्थल जान्छिन्, साँझ फर्किन्छिन् । आउजाउ गर्ने बाटो त्यही हो, जहाँ निर्मलाको शव भेटिएको उखुबारी पर्छ । निर्मला हराएको स्थानमा रोशनी र बबिता बमको घर पर्छ । निर्मलाकै न्यायका निम्ति भन्दै चर्किएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा मृत्यु भएका सन्नी खुनाको घर । उखुबारी पुग्दा छोरीको आत्मा त्यहीँ छजस्तो लाग्छ उनलाई । सन्नीको घर पुग्दा उनी आफूलाई सम्हाल्नै सक्दिनन्, किनकि निर्मला नमारिएकी भए उनी पनि मारिँदैन थिए भन्ने सोचले उनलाई सताउँछ । धर्नामा नजाऊँ, पति एक्लै हुन्छन् । जाऊँ, यति कष्टकर बाटो छिचोल्नुपर्छ ।

पिताको पीडा

जिल्ला प्रशासन कार्यालयअगाडि टेन्ट गाँडिएको छ । टेन्ट रंगीबिरंगी छ, माहोल भने अन्धकारमय । टेन्टभित्रको ओछ्यानमा लमतन्न छन्, यज्ञराज । न्याय नपाएसम्म धर्ना बस्ने घोषणा गरेका छन् उनले । टेन्टको छानामा रातभर शीत जम्मा हुन्छ, कहिलेकाहीँ भित्रै छिर्छ । शौच कहाँ गर्ने, टुंगो छैन । दुर्गादेवी पतिछेउ चुपचाप बस्छिन्, सान्त्वना र ऐक्यबद्धता जनाउन आउनेसँग थोरै बोल्छिन् । चारै दिशा छोरी निर्मलाका तस्बिर र न्याय देऊ भनेर लेखिएका पर्चाले भरिभराउ छन् ।

यज्ञराजको हालत अझ खराब छ । सानो काँठीको ज्यान । त्यसमाथि निरन्तर धर्ना । न खाने टुंगो, न त सुत्ने । घाँटीबाट पानी निल्नसमेत गाह्रो हुन थालेको छ । चिकित्सकले भनिरहेका छन्, ‘यज्ञराजको स्वास्थ्य नाजुक बन्दैछ । ज्यानबाट शक्ति हराउँदैछ ।’ उनको मनको साहस नि ! अहँ, त्यो विलय भएको छैन । जब छोरी सम्झन्छन्, दैनिक धर्नास्थलमा सयौँ परिचित/अपरिचित अनुहार देख्छन् र ‘हामी पनि सँगै छौँ’ भन्ने आवाज सुन्छन् । देह दर्बिलो हुन्छ, आँट आउँछ । “अन्यायमा परेको छु, सरकारबाहेक सबैको साथ छ । त्यसैले म किन डराउने, हार्ने ?” यज्ञराज भन्छन्, “जो न्यायका निम्ति लड्न डराउँछ, त्यो बाँचेर काम हुन्न । छोरी मारिएपछि यही सिकेँ मैले ।”

धर्नास्थलअगाडिबाटै दौडन्छ प्रहरीको गाडी । प्रमुख जिल्ला अधिकारी, सरकारसम्बद्ध पार्टीका नेताहरू हिँड्छन् । तर, सहानुभूति कसैबाट पाउँदैनन् । पीडित परिवारलाई साथ दिन आएकाहरू सरकार र प्रहरीको खेदो खन्छन्, सधैँ लड्नुपर्छ भन्छन् । यज्ञराज उठेर बोल्न सक्दैनन् । सुतेरै बोल्छन् । उनले चार दिनसम्मको नियमित भेटमा एउटै कुरा दोह्रोर्‍याए, “हत्यारा जोगाउने पनि सरकार हुन्छ ? मेरी छोरी मारिएकी छ तर पनि न्याय नपाउने ?” क्रूर नियतिले अहिले गहिरो राजनीतिक र अधिकारका कुरा गर्न सक्ने भएका छन् । भन्छन्, “आफूलाई अन्याय भएपछि उल्कापात हुँदो रहेछ । म यति रुखो किन भइरहेको छु, आफैँलाई थाहा छैन । छोरीको यादले असाध्यै सताउँछ ।”

साँझबिहान अलि कम भए पनि धर्नास्थलमा दिउँसो मान्छेको भीड लाग्छ । ३० कात्तिकमा प्रदेश ७ का गृहमन्त्री प्रकाश शाह त्यहाँ पुगे, पीडित परिवारलाई थामथुम पार्ने प्रयास गरे । म पनि साथमा छु भने । तर, निर्मलाको न्यायका निम्ति सुरु गरिएको ऐक्यबद्धता पुस्तिकामा हस्ताक्षर भने गरेनन् । यज्ञराज भन्छन्, “स्थानीयदेखि केन्द्रका सबैले ओठे सहानुभूति दिन्छन्, अपराधी खोज्नतिर ध्यान दिँदैनन् । हामीलाई सहानुभूति होइन, न्याय चाहिएको छ ।” त्यहाँ पुग्ने स्थानीय पनि आक्रोशित छन् । टाढाटाढाबाट पनि मान्छे आइरहेका छन् । धर्नास्थलमा सक्रिय थारु महिला मञ्चकी अध्यक्ष भारती चौधरी भन्छिन्, “अहिले निर्मलाले न्याय पाइनन् भने अरू हत्यारा, बलात्कारीलाई सरकारले जोगाउँछ । उनीहरूको मनोबल बढ्छ । त्यो हुन नदिन पनि हामी लडिरहेका छौँ ।”

भोलि वास्तविक हत्यारा समातिँदा पनि पन्त परिवारलाई हुने भनेको ‘मनको सन्तोष’ मात्र हो । प्रत्यक्ष लाभ केही छैन तैपनि न्यायका लागि दिनरात लडिरहेका छन्, छोरीको हत्यारा पत्ता लगाउन । राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारी भन्छिन्, “सरकारी अधिकारी र पहुँचवालालाई जनता सुसूचित छन् भन्ने पाठ पढाएको छ । अब सरकारले कसरी अगाडि बढ्ने भनेर आफ्नै समीक्षा गर्नुपर्छ ।” कञ्चनपुरका वरिष्ठ अधिवक्ता थानेश्वर भट्ट पनि अपराधविरुद्धमा तल्लो तहबाटै यसरी आवाज उठ्नु र त्यसले जनसमर्थन पाउनुलाई सकारात्मक मान्छन् । भन्छन्, “सरकारले यस्ता किसिमका घटनाबाट सबक सिकेन भने भविष्यमा अझ खतरा निम्तन सक्छ । जनताले सधैँ सहँदैनन् ।”

धर्नास्थलमा भेटिने कतिपयले निर्मला प्रकरणसँग सम्बन्धित मात्र होइन, राज्य प्रणाली र प्रहरीप्रति पनि आक्रोश पोखिरहेका छन् । महेन्द्रनगर गल्ली नम्बर एककी शर्मिला विष्ट भन्छिन्, “यस्ता अपराध धेरै ढाकछोप गरिएको छ । अबचाहिँ राज्य संयन्त्रले नियतवश गरेका कुनै गल्ती कञ्चनपुरबासीले सहँदैनन् ।” लाग्छ, अहिलेको आन्दोलन निर्मलाको न्यायका लागि मात्र होइन, प्रहरी र प्रशासनलाई ‘अब नसहने’ बलियो सन्देश पनि हो ।

भोलिको भय

निर्मलाले न्याय पाउन परिवारबाट सुरु भएको आन्दोलन अहिले सामूहिक बनिसकेको छ । त्यसैले अब आफूहरू चुप लागे पनि आन्दोलन नरोकिने बताउँछिन्, दुर्गादेवी । न्यायप्रतिको यो इमानदारी र संघर्ष त छँदैछ । निर्मला मारिएपछि दुई छोरीको पढाइ पूरै बिथोलिएको छ । निर्मलाकी दिदी मनीषाले यस वर्ष एसईई परीक्षा दिनुपर्नेछ । मनीषा भन्छिन्, “सधैँ बहिनीको याद आउँछ, डर लाग्छ । पढ्नै सक्दिनँ ।”

अर्कातिर, निर्मलाको काजकिरियादेखि अहिलेसम्मको सबै खर्च देश–विदेशबाट आएको सहयोग रकमले चलिरहेको छ । राज्यबाट लिएका छैनन् । तर, अरूको सहयोगले कति दिनसम्म चल्छ ! त्यसैले भोलिका दिन कसरी बिताउने, छोरीहरूलाई कसरी पढाउने, सोच्दा पनि छटपटी हुन्छ दुर्गादेवीलाई ।

यो पनि पढ्नुहोस् :

→ पीडित एकातिर प्रहरी अर्कैतिर

 

प्रकाशित: मंसिर ११, २०७५

ट्याग: आवरण