पीडित एकातिर प्रहरी अर्कैतिर

- गोकर्ण गौतम

महेन्द्रनगरका झन्डै ३० नागरिकसँग निर्मला हत्याकाण्डका अन्तरकथा, ढिलासुस्ती र निराकरणबारे नेपालले कुराकानी गर्दा सारमा सबैको जवाफ एउटै थियो, ‘बर्खास्त एसपी विष्ट र बम दिदीबहिनीबाट अनुसन्धान थाले वास्तविक हत्यारा पत्ता लाग्न सक्छ ।’ निर्मला प्रकरण सम्बन्धमा प्रहरीप्रति स्थानीय समुदायमा अविश्वास र आक्रोश चुलिँदो छ । प्रहरीले अनुसन्धानलाई गम्भीर रूपमा नलिएको र प्रमाण नष्ट पार्न अझ उद्यत रहेको आरोप लगाउँछन् उनीहरू ।

प्रहरीको भनाइचाहिँ ठ्याक्कै उल्टो छ । ७ भदौमा कञ्चनपुर आएका डीएसपी कृष्णराज ओझा जिकिर गर्छन्, “यो केसलाई पब्लिकले अतिरञ्जित गर्‍यो । प्रहरीलाई बदनाम गराउन खोजियो ।” ओझाले पीडित परिवार र उनीहरू वरपर रहेकाले आन्दोलन गरेको र अनुसन्धानमा नसघाएको आरोप लगाए । तत्कालीन एसपी विष्ट र उनको नेतृत्वको प्रहरी हर्कतका कारण अविश्वास पैदा भएको स्वीकारेनन् । ‘मिस ह्यान्डल’ मात्र भएको दाबी थियो उनको । जबकि, प्रमाण नष्ट गरेकाले तत्कालीन एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट पदमुक्त भइसके । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वयं कञ्चनपुर पुगेरै स्थानीय प्रहरीबाट प्रारम्भमै गल्ती भएको स्वीकारेका थिए । डीएसपी ओझाको भनाइले पीडित परिवार, अनुसन्धान र स्थानीयप्रति कञ्चनपुर प्रहरीको भित्री मनोविज्ञान प्रस्ट हुन्छ । अर्थात्, पीडितभन्दा प्रहरी बिल्कुल विपरीत धु्रवमा छ ।

निर्मला प्रकरणमा प्रहरीको बदनियत, अनुसन्धानमा पारेको गलत प्रभाव, जसबाट समग्र प्रहरी संगठन र राज्य प्रणालीमाथि कञ्चनपुरबासीको विश्वासमा आएको खडेरीलाई नियाल्नु पहिले दुई फरक घटना चर्चा गर्नु अनिवार्य हुन्छ, जसको निर्मला हत्याकाण्डमा प्रत्यक्ष सम्बन्ध नभए पनि कञ्चनपुरबासी प्रहरीसँग किन एकाएक विस्फोट भए, स्पष्ट पार्छ ।

असार तेस्रो साता भीमदत्त नगरपालिका–३, तिलकपुरमा बिजुलीको नयाँ लाइन तान्ने क्रममा कञ्चनपुरको दक्षिणी लालझाँडी गाउँपालिका–५ का मजदुर शिवराज राना, २४, को मृत्यु भयो । ठेकेदार कम्पनीले हाइटेन्सन लाइन बन्द गरेर मात्रै काम लगाउनुपथ्र्यो । तर, विद्युत् प्राधिकरणलाई खबरै नगरी पोल गाड्न लगाउँदा रानाको ज्यान गएको थियो । प्रहरीले यसलाई ‘सामान्य दुर्घटना’ मानिदियो, ठेकेदारको लापरबाहीविरुद्ध कुनै कारबाही भएन ।

त्यस्तै, असार तेस्रो साता भीमदत्त नगरपालिका–११, भुजेलामा अस्थायी बसोबास गर्दै आएका नैनराम सार्कीको शव महाकाली नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध छेउमा भेटियो । पीडितले भुजेलाकै एक व्यक्तिविरुद्ध किटानी जाहेरी दिन खोजे पनि प्रहरीले आलटाल गर्‍यो । टिपरले किचेर सार्कीको मृत्यु भएको निष्कर्ष निकालियो हतारमा । जबकि, शव भेटिएको वरपर गाडी गुडेको संकेतसम्म देखिएको थिएन ।

मृत्यु शंकास्पद र पीडित परिवारले प्रहरीको साथ खोजिरहँदा पनि घटना त्यत्तिकै थामथुम पारियो । त्यतिबेला एसपी विष्टमाथि आर्थिक चलखेलमा परेर घटना तोडमोड गरेको आरोप लागेको थियो । तर, कथित तल्लो समुदायमा भएकाले तिनका पक्षमा बोलिदिने कोही नहुँदा दुवै प्रकरण त्यत्तिकै सेलाए । महेन्द्रनगरको पत्रकारितामा झन्डै दुई दशक बिताएका खेम भण्डारी भन्छन्, “यी दुई घटनामा समाजले विरोध र खबरदारी गरेको भए निर्मला हत्याकाण्ड दबाउन कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी विष्ट र उनको टिमलाई त्यो हदसम्मको हिम्मत हुने थिएन ।”

महिना दिनमा दुई घटना सामसुम पारेर हौसिएको प्रहरी निर्मलाको हत्यालाई पनि त्यसरी नै विसर्जन गर्न तम्सिएको थियो । स्थानीय बुद्धिजीवी तर्कराज भट्टका अनुसार प्रहरीले अनुसन्धानको आधारभूत मान्यतालाई समेत बेवास्ता गरी खुलेआम प्रमाण नष्ट गर्न खोज्नु र नक्कली हत्यारा जन्माउनुको कारण त्यही हो । तर, यसपटक प्रहरीको खेल फेल खायो । न पीडित परिवार चुप भए, न त स्थानीय ।

“चटपटेवालाको छोरी त हो, त्यत्तिकै गायब पार्न सकिन्छ भनेर हेप्न खोजेका रहेछन् । हामी गरिब छौँ, पहुँच छैन भन्दैमा अन्याय सहेर बस्छौँ त ?,” अघिल्ला दुई घटनाबारे जानकार निर्मलाका बाबु यज्ञराज भन्छन्, “कञ्चनपुर मात्र होइन, देशैभर निर्मलाको न्यायका निम्ति एकजुट भएकाहरू प्रहरी र पहुँचवालाको त्यही रवैयाका विरुद्धमा छन् ।” तर, तत्कालीन प्रहरी नेतृत्व मात्र होइन, त्यसपछि आएका अन्य अनुसन्धान टोली र स्थानीय प्रशासन कार्यालयले टुटेको जनविश्वास फिर्ता ल्याउन प्रयास गरे पनि उल्लेख्य भूमिका खेल्न सकेका छैनन् । त्यसैले प्रहरीका हरेक गतिविधिलाई शंकास्पद रूपमा लिन थालिएको छ यहाँ ।

अबको अनुसन्धानमा कम्तीमा एक स्वतन्त्र व्यक्तिको प्रत्यक्ष निगरानी हुनुपर्ने माग छ, नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीको । धर्नास्थलमै भेटिएकी भण्डारीले भनिन्, “हरेक अनुसन्धान टोलीले प्रमाण मेटाउन भूमिका खेलेका छन् । अनुसन्धानमा कुनै प्रगति भएको छैन । पीडितसँग समन्वय छैन । अनि, कसरी प्रहरी र उसको अनुसन्धानलाई विश्वास गर्ने ?” करिब यही आशय हुन्छ, धर्नास्थल धाउने र निर्मलाका लागि आवाज उठाउने हरेक स्थानीयको । तर, प्रहरीले टेरपुच्छर लगाएको देखिँदैन । घटनाको स्थलगत अध्ययन गरेकी राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारी भन्छिन्, “कञ्चनपुरमा पीडित, प्रहरी र स्थानीयबीच फिटिक्कै समन्वय छैन । यो ज्यादै दु:खद कुरा हो ।”

यहाँनेर, स्थानीय सरकार, प्रशासन र राजनीतिक दलको भूमिका प्रभावकारी हुन सक्थ्यो । तर, महेन्द्रनगरमा त्यो सुखद संकेत देखिँदैन । सबैको आ–आफ्नै रटान छ । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट निर्मलाको हत्यापछि आफूहरूलाई विभाजित गर्ने काम भएको बताउँछन् । तर, कुन पक्षले कहाँबाट भूमिका खेल्यो, भन्दैनन् । मुख नखोले पनि उनले नेपाली कांग्रेसतिर लक्षित गरिरहेकामा शंका छैन । यो घटनालाई ढाल बनाएर कांग्रेसले आफूलाई निसाना बनाएको गुनासो छ उनको । भन्छन्, “प्रहरी अनुसन्धानलाई विश्वास गर्नुको विकल्प छैन ।” तर, पीडित र प्रहरीलाई एक ठाउँमा ल्याउन जनप्रतिनिधिका रूपमा उनैले प्रभावकारी कदम नचालेको गुनासो सुनिन्छ ।

जिल्ला प्रशासन कार्यालयको उही ओठे बोली– अनुसन्धान हुँदैछ तर परिणाम छैन । सहायक प्रजिअ शंकर विष्ट भन्छन्, “नतिजा नआएकाले शंका उब्जिएको हो । तर, अनुसन्धान तदारुकताका साथ भइरहेको छ ।”

विडम्बना ! प्रशासन कार्यालयबाटै केही होला भन्ने आश अधिकांश स्थानीयमा देखिन्न । प्रहरीले घुमाइरहेको भन्ने सोच व्याप्त छ जताततै । सुरुबाटै निर्मला हत्याकाण्डलाई नियालिरहेकी अधिकारकर्मी भण्डारी भन्छिन्, “यो केसमा जिल्ला प्रशासन कार्यालयलाई नै निरीह बनाइएको छ ।” त्यसो त, उनीहरूको चित्त दुखाइ स्थानीय प्रहरीसँग मात्र सीमित छैन, प्रहरी महानिरीक्षक खनालसँग पनि छ ।

घटना भएको केही समयमै खनाल कञ्चनपुर पुगे । तत्कालीन कञ्चनपुर प्रहरी नेतृत्वलाई निकम्मा ठहर गर्दै ‘सिंगो संगठनको इज्जत दाउमा लागेका बेला केही नालायकहरूलाई बचाउने कल्पना पनि गर्न सकिन्न’ भनेका थिए । हत्यारा पत्ता लाग्नेमा विश्वास पलायो तर यत्तिका दिन बित्यो, परिणाम शून्य । चौधरी भन्छिन्, “यत्रो समय बित्यो तर आईजीपीसाबले समेत आफूले भनेको कुरा पूरा गर्न सक्नुभएको छैन ।” प्रहरी महानिरीक्षक खनालले नै एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई बर्खास्त गरेका थिए, काठमाडौँ पुगेर ।

निर्मला हत्या प्रकरणमा अपराधी पत्ता लगाउने चुनौती त प्रहरीसामु छँदैछ, त्यत्तिकै महत्त्वपूर्ण छ, पीडित परिवार र स्थानीयको विश्वास जित्नु । अपनत्व बोध गराउनु । तर, कञ्चनपुरमा यस्तो माहोल बनेको छ कि, भोलि प्रहरीले वास्तविक हत्यारा पत्ता लगाए पनि जनताले विश्वास गर्दैनन् । फेरि दिलीपसिंह विष्ट, चक्र बडुजस्तै निर्दोषलाई अपराधी सिद्ध गर्न खोजेको भन्दै आन्दोलन चर्काउने स्थिति नबन्ला भन्न सकिँदैन । कारण उही, प्रहरीले स्वतन्त्र र खराब नियत नराखी अनुसन्धान गर्छ भन्नेमा स्थानीय विश्वस्त हुनै सकेका छैनन् । विज्ञहरू यसलाई अपराधी पत्ता नलाग्नुजस्तै भयावह स्थिति रहेको बताउँछन् । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, “पीडित र नागरिकसँगको दूरी कम गर्ने दायित्व प्रहरीकै हो । यसबाट प्रहरी उम्कन पाउँदैन । अनुसन्धानमा प्रहरीलाई सहयोग गर्नुचाहिँ अर्को पक्षको जिम्मेवारी हो ।” प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी थप्छन्, “जनता र प्रहरी जहिले पनि नजिकको सम्बन्धमा हुन्छ/हुनुपर्छ । समाजबाटै अपराधी जन्मिन्छ र समाजकै सहयोगमा प्रहरीले त्यसलाई नियन्त्रण गर्छ ।” तर, यही वातावरण कञ्चनपुरमा फिटिक्कै आभास हुन्न ।

प्रहरीले पीडित पक्षबाट ‘हठ’ भइरहेको आरोप लगाउँछ तर उनीहरूको माग आफैँ अव्यावहारिक देखिन्न । मानव अधिकार आयोगको सुझावअनुसार अनुसन्धान अगाडि बढाउनुपर्ने निर्मलाका बाबु यज्ञराजको भनाइ छ । त्यो भनेको, ‘फरेन्सिक’ पाटोबाट हो । पूर्ण प्रतिवेदन सार्वजनिक नभए पनि आयोगले घटनास्थल वरपरबाट प्रमाण खोजेर अनुसन्धान गर्नुपर्ने प्रारम्भिक सुझाव दिएको थियो । ‘फरेन्सिक’ बाटै गत वर्ष भारत स्वशासित कास्मिरमा यही प्रकृतिको अपराधमा संलग्नहरू समातिएका थिए । त्यहाँ देवीस्थानमा ८ वर्षीया बालिका असिफ बानोको बलात्कारपछि हत्या भएको थियो । आयोगकी आयुक्त अन्सारी भन्छिन्, “यो पाटोबाट अनुसन्धान गर्दा अपराधीसम्म पुग्न सकिन्छ भन्ने प्रहरीलाई थाहा नभएको होइन । हामीले त्यस्तै सुझाव दियौँ, तर सुनुवाइ भएको छैन ।”


भदौ पहिलो साता आन्दोलनले लिएको उग्र रूप | तस्बिरहरू : भवानी भट्ट


राजनीतिक गन्ध ?

पीडित परिवारको न्याय प्राप्तिको आन्दोलनलाई गिजोल्ने संकेत देखिन थालेको छ बिस्तारै । जस्तो, धर्नास्थलमा उपस्थित हुनेमध्ये अधिकांश सत्तासीन नेकपाइतरका कार्यकर्ता र शुभेच्छुक हुन्छन् । शिक्षक/कर्मचारी कारबाहीमा पर्ने डरले दिउँसो खासै देखिँदैनन्, साँझ परेपछि एकैछिन आउँछन् । कञ्चनपुरका नेकपासम्बद्ध नेताहरू यसलाई ठाडै नेपाली कांग्रेसको राजनीतिक ‘स्टन्ट’ भन्न थालेका छन् । नेकपाका केन्द्रीय सदस्य राजेन्द्रसिंह रावल भन्छन्, “हिजो अरू निर्मलाहरू बलात्कृत हुँदा संरक्षण गर्नेहरू अहिले निर्मलाको न्यायका निम्ति चर्काचर्का नारा लगाउँछन् । यो राजनीति नभएर के हो ?”

रावलका अनुसार तत्कालीन नेकपा एमालेबाट भीमदत्त नगरपालिकाको मेयर जितेकासुरेन्द्र विष्टका भतिजा आयुषलाई हत्या प्रकरणमा मुछियो । आयुष सुरेन्द्रका दाजु भुपेन्द्रका छोरा हुन् । “तर आयुषका बुबाको नाम कतै आएन किनभने उनका बाबु कांग्रेस महासमिति सदस्य हुन्,” कञ्जनपुर जिविसका पूर्वउपसभापतिसमेत रहेका रावल भन्छन्, “मेयरलाई जोडियो किनभने नेकपालाई बदनाम गर्नु थियो । त्यसैले पीडित परिवारप्रति संवेदनशील भए पनि बदनियत राखेर गरिएको आन्दोलन/धर्नामा हाम्रो समर्थन हुन्न ।” भलै, रावलको यो भनाइकै विपक्षमा छन्, नेकपाकै कतिपय जिल्ला तहका नेताहरू ।

आफूलाई अप्ठेरो पर्ने भएकाले नाम सार्वजनिक नगर्न आग्रह गर्दै नेकपाका एक स्थानीय नेताले भने, “बलात्कार र हत्या भएको हो, प्रहरीले गल्ती गरेको हो, पीडितले न्याय नपाएको हो । यसलाई बेवास्ता गरेर कांग्रेसकै कारण आन्दोलन भयो भन्नु नाजायज हो ।” केन्द्रका नेता र सरकारलाई खुसी पार्न केही स्थानीय नेताहरू निर्मलाको न्यायका निम्ति भइरहेको आन्दोलनको विपक्षमा रहेको कथन थियो उनको । धर्नास्थलमा आएका केही स्थानीयसँग नेपालले कुरा गर्दा पार्टी नभई न्यायका लागि आएको बताए ।

आन्दोलनमा राजनीति भएको, अरूले उक्साएको आदि आरोपबारे धर्नारत निर्मलाका बाबु यज्ञराजलाई जिज्ञासा राखियो । उनले अचम्म मान्दै भने, “छोरीका लागि न्याय माग्न कसैले उचाल्नुपर्छ ? हामीले आन्दोलन गरेर सरकार गिराउँछौँ भनेका छौँ र राजनीति गर्‍यो भन्ने ? हामीलाई त मात्र न्याय चाहिएको हो ।” कांग्रेसका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहरा नियमित धर्नास्थल आउँछन्, पीडितलाई ढाडस दिन्छन् । “न्यायका लागि बोल्नु राजनीति गर्नु होइन । सरकार उल्टो बाटोमा छ । पीडित अलपत्र छन् । उनीहरूलाई साथ दिनु हाम्रो दायित्व हो ।” उनले सुरुमा नेकपाका कार्यकर्ताको उल्लेख्य उपस्थिति भए पनि बिस्तारै पार्टीको आन्तरिक ‘सर्कुलर’ का कारण उपस्थिति घटेको आरोप लगाए । उता, नेकपासँग नजिक रहेको बताउने पत्रकार तथा स्थानीय अगुवा खेम भण्डारी पनि कांग्रेसको भूमिका सकारात्मक नै ठान्छन् । “कांग्रेसले समर्थन र सहानुभूति देखाउनु गलत होइन । तर, आन्दोलन कांग्रेसले चलाएको भन्नेचाहिँ होइन । नागरिक समाजको भूमिका अहं छ ।”

यथार्थ के हो भने, आन्दोलन लम्बिँदै जाँदा पीडित पक्षमाथि चाहिने/नचाहिने स्वार्थका खेल सुरु हुन्छन् । राजनीतिक लेपन हुन सक्छ । आयोगकी आयुक्त अन्सारी भन्छिन्, “केस लम्बिँदा राजनीतिक चलखेल हुन्छ । अनावश्यक तत्त्व देखा पर्छन्, जसले न्यायको मूल मुद्दालाई छायामा पार्छ । त्यसैले जतिसक्दो चुस्त ढंगले अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिलाउनुपर्छ ।”

डीएनएको डंका

अपराधीसम्म पुग्न प्रहरीले प्रमुख माध्यम बनाएको देखिन्छ, डीएनए परीक्षण । अहिलेसम्म ९ शंकास्पदको डीएनए परीक्षण गरियो, सबै नेगेटिभ । जसमा प्रहरीले अभियुक्त भनी सुरुमा पक्राउ गरेका दिलीपसिंह विष्ट, तत्कालीन एसपी विष्ट, उनका छोरा किरण विष्टसम्म छन् । कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णराज ओझा आवश्यक पर्ने जति सबैको डीएनए परीक्षण हुने बताउँछन् । ओझा भन्छन्, “त्यो संख्या सय, डेढ सय जति पनि हुन सक्छ ।” समस्या उही, डीएनएमै पीडित पक्ष र स्थानीयको शंका छ । महिला अधिकारकर्मी मीना भण्डारी प्रश्न गर्छिन्, “शंकास्पद सबैको डीएनए मिलेन भने के निर्मलालाई कसैले मारेको होइन भन्ने त ?” उनले डीएनएको नाममा पीडितलाई अलमल्याउन खोजेको आरोप लगाइन् । गाउँभरका मान्छेको डीएनए परीक्षण गर्ने हल्लाले उस्तै त्रास फैलाएको छ ।

बाबु यज्ञराजले त डीएनए निर्मलाकै हो भन्नेमै प्रश्न उठाएका छन् । “त्यत्रो प्रमाण नष्ट गर्नेले डीएनएमा गडबडी गरेनन् होला ?” यज्ञराजको मनमा यो सवाल सधैँ खडा हुन्छ । कारण, शंकास्पद सबैको डीएनए ‘म्याच’ भएन । प्रहरीले अन्य शंकास्पदको सूची तयार पार्दैछ, परीक्षणका लागि । यज्ञराज भन्छन्, “त्यसअगाडि निर्मलाको डीएनए हो/होइन भन्ने म र निर्मलाकी आमामार्फत विश्वसनीय जाँच हुनुपर्छ । मचाहिँ त्यो नक्कली डीएनए हो भन्नेमा ढुक्क छु ।” उनी मात्र होइन, धर्नास्थल पुग्ने जोकोही डीएनएमा गडबडी रहेको आशंका व्यक्त गर्छन् ।

डीएनएजस्तो संवेदनशील विषयमै यो हदसम्मको अविश्वासले प्रहरीप्रति पीडित पक्षको अविश्वासको चुली आकलन गर्न काफी छ । यो परिस्थितिका बीच अनुसन्धान कसरी होला, अपराधीसम्म प्रहरी कसरी पुग्ला र वास्तविक अपराधी समाते पनि त्यसले विश्वसनीयता पाउला ? अनेकौँ गम्भीर सवाल अनुत्तरित छन् । समय बित्दै जाँदा जटिलताहरू फुक्नुपर्नेमा थप गाँठो परिरहेको छ । महिला अधिकारकर्मी भारती चौधरी चेतावनीको शैलीमा भन्छिन्, “राज्य पक्षबाट गलाउने र अपराधी जोगाउने खेल भयो भने कुन दिन र कुन बहानामा आन्दोलन भड्किन्छ, अहिले भन्न सकिन्न । र, त्यो आन्दोलनको कुनै स्वरूप हुन्न ।”


निर्मलाले कोरेको चित्र


उजुरी झन्झन् थपिँदै

— भवानी भट्ट/महेन्द्रनगर

निर्मला हत्या प्रकरणपछि बलात्कारविरोधी आन्दोलनको केन्द्र बन्यो, कञ्चनपुर । निर्मलाका हत्यारा पत्ता लगाउनुपर्ने र महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गरिनुपर्ने माग राख्दै स्थानीय स्वत:स्फूर्त आन्दोलनमा होमिए । तर, कञ्चनपुरमा समेत बलात्कार घटना रोकिएनन् । यसबीच ५ वर्षीया बालिकादेखि १४/१५ वर्षका किशोरीसमेत बलात्कारको सिकार भए । १० साउनपछि मात्र बलात्कारका १० र बलात्कार प्रयासका ११ मुद्दा दर्ता भएका छन्, प्रहरी कार्यालयमा । हरेक साता दुई–तीन घटना आउने गरेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । कञ्चनपुरमा आन्दोलन जारी छ । तर, प्रहरी प्रशासनबाटै बलात्कारी संरक्षण गर्न खोजेका कारण यस्ता घटना एकाएक बढेको आन्दोलनमा लागेकाहरू बताउँछन् । अभियन्ता भारती चौधरीको तर्क छ, “अपराधीलाई कारबाही हुन नसक्दा त्यस्ता मनोवृत्ति भएकाहरूको मनोबल बढेको छ । त्यसैले यत्रो आन्दोलन भइरहँदा पनि कञ्चनपुरमा यौनजन्य हिंसा घटेको छैन ।”

निर्मला घटनालगत्तै भीमदत्त नगरपालिका–१० जिमुवामा बाजे नाता पर्नेले ५ वर्षीया बालिका बलात्कारको प्रयास गरे । स्थानीयले देखेपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइयो । ७–८ भदौदेखि कञ्चनपुरमा आन्दोलन चर्केको थियो । त्यसको एक सातापछि कञ्चनपुरकै बेल्डाँडीमा एक किशोरी सामूहिक बलात्कारमा परिन् । बलात्कारमा संलग्न ३ मध्ये २ जना मात्रै पक्राउ परे । भदौमै महाकाली नगरपालिकामा पनि अर्की ५ वर्षीया बालिका बलात्कारीको फन्दामा परिन् । अहिलेसम्म हत्यारा पहिचान हुन सकेको छैन । त्यसपछिका घटनामा संलग्नमध्ये १४ पक्राउ परेका छन् भने ६ जना फरार छन् । यसैगरी बलात्कार प्रयासका घटनामा ९ पक्राउ परेको र ९ जना फरार रहेको प्रहरीले जनाएको छ ।

“निर्मलापछिका घटनामा संलग्नहरू धमाधम पक्राउ परेका छन्,” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझा भन्छन्, “त्यसपछिको अनुसन्धान तीव्र गतिमा अगाडि बढेको छ ।” तर, अपराधी पक्राउ गर्न तथा पक्राउ परेकालाई कडा कारबाही गराउनेतर्फ प्रहरीले चासो नदिएको पीडित परिवार बताउँछन् । “दुई महिना भइसक्यो, अहिलेसम्म सबै अपराधी पक्राउ परेका छैनन्,” भदौ तेस्रो साता सामूहिक बलात्कारमा परेकी बेल्डाँडी गाउँपालिकाका किशोरीका बुबा भन्छन्, “जिल्ला प्रहरी कार्यालयमा दिनहुँ बोलाउँछन्, तर के भइरहेको छ, कारबाही कहाँ पुग्यो, केही बताउँदैनन् ।”

बलात्कारीलाई प्रहरीबाटै संरक्षण दिने र आर्थिक लेनदेनमा मुद्दा मिलाउने गरेका कारण बलात्कारका घटना बढेको अधिकारकर्मी र बुद्धिजीवीको निष्कर्ष छ । “अपराधी पक्राउ नपर्नु नै बलात्कार बढ्नुको मुख्य कारण हो,” स्थानीय बुद्धिजीवी लीलाध्वज बस्नेत भन्छन्, “प्रहरी नै दोषी उम्काउन लाग्छ भने अपराधीको मनोबल उकासिने भइहाल्यो नि ।” विगतमा बलात्कारका घटना गाउँमै मिलाइन्थ्यो । केही समययता घटना बाहिर आउने क्रम बढेको स्थानीयको बुझाइ छ । वरिष्ठ अधिवक्ता थानेश्वरप्रसाद भट्ट भन्छन्, “समाज नै गलत बाटोमा हिँडिरहेको छ, जताततै दण्डहीनता र अराजकता मौलाएको छ । अनि कसरी बलात्कार रोकिन्छ ?”


अगुवामै अनमेल

निर्मलाको बलात्कार र हत्यापछि आन्दोलन सुरु भएको थियो, महेन्द्रनगरको १ नम्बर गल्लीबाट । नेतृत्व गरेकी थिइन्, हेलन श्रेष्ठले । निर्मलाको न्यायकै लागि लड्न हेलनको संयोजकत्वमा दबाबमूलक संघर्ष समिति जन्मियो । २५ कात्तिकदेखि निर्मलाका बाबु यज्ञराज पन्त जिल्ला प्रशासन कार्यालयअगाडि २४ घन्टे धर्ना बसिरहेका छन् । हेलनको घरबाट त्यहाँ पुग्न केही मिनेट मात्र लाग्छ । तर, हेलन मात्र होइन, गल्ली नम्बर १ का प्राय: महिला सहभागी हुँदैनन् । एकखालको बहिष्कारजस्तै छ । हेलन भन्छिन्, “हामीले सुरुमा नि:स्वार्थ भावले पीडित परिवारलाई साथ दियौँ, घामपानी नभनी आन्दोलन गर्‍यौँ । तर, पछि हामीलाई नै बेवास्ता र धोका भयो ।” अहिले पन्त परिवार मीना भण्डारीले नेतृत्वको नागरिक संघर्ष समितिको साथमा छन् ।

भण्डारीले हेलन समूहलाई थाहै नदिई यज्ञराज र दुर्गादेवीलाई काठमाडौँ ल्याएपछि विवाद उब्जिएको थियो । अहिले एकआपसमा पूरै विभाजित छन् । बाबुआमालाई राजधानी लगेर आन्दोलन तुहाएको हेलन समूहको आरोप छ भने उनीहरूले आन्दोलनमा रकम लगाएको भण्डारीको दाबी छ । अगुवाबीचको यो आरोप/प्रत्यारोपले आन्दोलन तार्किक निष्कर्षमा नपुग्ने संशय उत्तिकै बढेको छ । उनीहरू एकअर्काको अस्तित्व स्वीकार्नै तयार नभएको स्थिति छ । तर, नागरिक संघर्ष समितिकी भण्डारी विवाद सामान्य भएको र त्यसले न्यायको आन्दोलनमा कतै असर नपुग्ने दाबी गर्छिन् । धर्नास्थलमा भेटिएकी भण्डारी भन्दै थिइन्, “जताबाट जसले बोले पनि न्यायका लागि हो । कुनै गुट–उपगुट छैन । निर्मलाले न्याय पाउनुपर्छ भन्ने हाम्रो साझा माग हो ।” उनले आन्दोलनलाई शिथिल बनाउन बाहिरिया तत्त्वले यस्तो भूमिका खेल्न खोजेकाले अगुवा सतर्क हुनुपर्ने बताइन् ।

यो पनि पढ्नुहोस् :

→ निर्मला प्रकरण : निसाफ नदिने ?

प्रकाशित: मंसिर ११, २०७५

ट्याग: आवरण