भोगविलासको भोक

- भास्कर गौतम

अहिले गरिब नेपालीसँग धनी राजा थिए, अहिले राजाजस्तै धनी बन्न लालायित राष्ट्रपति । हिजो राजाले जनता कंगाल बनाउने पद्धतिलाई बलियो बनाए । आज राष्ट्रपति त्यही थितिलाई निरन्तरता दिन कटिबद्ध छिन् । हिजो रैती नागरिक बन्ने प्रत्येक सम्भावनामा राजसंस्था व्यवधान थियो । आज नागरिकलाई प्रजा बनाउने चाहना राष्ट्रपतिमा प्रबल छ । फरक यत्ति हो, हिजो पृथ्वीनारायण शाहका सन्तान–दरसन्तानसँग जन्मदै राजा हुने सुनिश्चितता थियो । आज आम व्यक्ति राष्ट्रपति हुने व्यवस्था छ । हिजोको शासकीय पद्धतिलाई राजतन्त्र भनियो । आज गणतन्त्र भने पनि राष्ट्रपति विद्या भण्डारी राणाशाही शैलीलाई व्यवहारमा उतार्न कटिबद्ध छिन् । राष्ट्राध्यक्ष हुनासाथ आफ्नो आम विगत मेटाउने आकांक्षाले उनीमाथि राज गरेको छ ।

भन्नलाई मात्र ल्याइएको व्यवस्था होइन गणतन्त्र । यसो हुँदो हो त हिजोकै व्यवस्थामा राजालाई राष्ट्राध्यक्ष बनाए भइहाल्थ्यो । ०६३ को परिवर्तनपछि त्यस्तो अभिलाषा राख्नेहरू नभएका होइनन् । उनीहरूले ‘गणतान्त्रिक राजा’ जस्तो विरोधाभासी पदावली रचेर राजतन्त्र जोगाउने कोसिस गरे पनि गणतन्त्रको सपना देख्नेहरूसँग परास्त भए । जनगणको ठूलो तप्कालाई अन्तिम राजा ज्ञानेन्द्रको अनुहार मन नपरेकाले राजाबेगरको राष्ट्राध्यक्षको खोजी गरिएको थिएन । त्यसो हुँदो हो त मुहार आकर्षक भएको राजकुमारलाई राजा बनाउने कसरत हुन्थ्यो वा सुन्दर राजकुमारीलाई महारानी । राजतन्त्र फाल्ने उत्कट चाहना हाबी हुनुका राजनीतिक, आर्थिक र सांस्कृतिक कारण छन् । त्यसैले गणतन्त्र सार्थक बनाउने ऐतिहासिक दायित्व छ । 

असमावेशी संरचना

हिजो राजसंस्था असमावेशी संरचनाको द्योतक थियो । एकातर्फ, राजाहरूले नेपाल सबै जातको फूलबारी भन्दै आए । अर्कोतर्फ, हिन्दु सुगन्ध दिने र नेपाली भाषामा लहलहाउने बोटमा उनीहरूले फूल देखे । त्यसैलाई स्याहारे, हुर्काए । त्यसैले उनीहरूको फूलबारीमा हिन्दुइतरको सुगन्ध दिने बोटबिरुवा हुर्कन पाएनन् । फुल्ने–फल्ने सम्भावना त झनै रहेन । राजतन्त्रको आँखामा बाँकी सबै बोटबिरुवा झाडीतुल्य भए । महामहिम भण्डारीको फूलबारीभित्र ठूलो झाडीमा विभिन्न जातजातिका बोटबिजन छन् । सँगै छन्, विशिष्ट सुगन्ध दिने हिन्दु बोट र फूल । उनलाई फूलबारीको विविधताबारे न कुनै ज्ञान छ, न त चासो । राजतन्त्रले बोकेको दृष्टिदोष उनलाई आत्मीय लाग्छ ।

राष्ट्रपति विद्यादेवीको धार्मिक तीर्थाटन केवल एकल जातिको रक्षा होइन । धर्मनिरपेक्षतामाथिको प्रहार मात्र पनि होइन । उनको कार्य नेपालको संविधानमाथिको प्रहार हो । संविधानले स्वीकारेको सार्वभौम जनतामाथिको प्रहार हो । अझ त्यस्ता जनता– जो हिन्दु होइनन्, जसको पहिलो भाषा नेपाली होइन, जसले राज्यको हिन्दु छवि र गतिविधिमा आफ्नो प्रतिविम्ब भेट्दैनन् । त्यसैले भण्डारी नेपाली समाजको विविधताभन्दा आफूलाई टाढा पाउँछिन् । विविधताको सामथ्र्यलाई आत्मसात् गर्ने उदारता उनीसँग छैन । सामाजिक सामथ्र्यका रूपमा रहेको सांस्कृतिक विविधतालाई सम्वद्र्धन गर्ने सक्षमता उनमा देखिँदैन ।

राष्ट्रपति संविधानको संरक्षक बन्ने सबैभन्दा सजिलोमध्येको कार्य विविधतालाई समाजमा फल्न/फुल्न दिनु हो । सके हुर्काउने कार्यलाई हात बढाउनु थियो । यस्तो सजिलो कार्य गर्न उनी चुक्दैछिन् । यो कार्यमा चुक्नु भनेको राज्यको हिन्दु पहिचानलाई जोगाउँदै असमावेशी संरचनाको सम्वद्र्धन गर्नु हो ।

अनुत्तरदायी राजनीति

राजसंस्थाले सधैँभरि मुलुकलाई आफूले आर्जेको सम्पत्ति सम्झियो । त्यसको उपभोग जसरी गरे पनि हुने भयो । त्यही थितिलाई राणाहरूले हुकुमी बनाए । उनीहरूको शासकीय चरित्र उस्तै रह्यो । राज्यको स्रोत–साधन दोहन गर्नु उनीहरूको प्राथमिक लक्ष्य रह्यो । सार्वजनिक सम्पत्ति निजीकरण गर्ने कार्यलाई उनीहरूले जन्मसिद्ध अधिकार सम्झे । त्यसैले भोगविलास र सुखसयल उनीहरूको शासकीय नित्य बन्यो ।

आज राष्ट्राध्यक्षले यिनै राणाशाही विकृतिलाई आफ्नो गुण सम्झन थालेकी छिन् । उनलाई अमेरिकी राष्ट्रपति भवनभन्दा ठूलो भूभागमा आफ्नो निवास चाहिएको छ । बेलायतकी महारानीले चढ्नेभन्दा महँगो गाडी चाहिएको छ । अनि, आफ्नो परिसरमै हेलिप्याड, ताकि शाही शैलीमा जनताको पीरमर्का बुझ्न देशदर्शनमा सहजता आओस् । भोगविलासको अभिलाषाले शासन–प्रशासनको विकराल पक्षलाई थप बलियो बनाउँदैछ ।

एकातर्फ अनुत्तरदायी नेतृत्वले सर्वप्रथम सक्षम नागरिक निर्माण गर्ने कार्यमा विश्वास गर्दै निरंकुश अभ्यासलाई प्रश्रय दिन्छ । हिजो कुनै शासकले सत्तामा टिकिरहन सैन्य बागडोरलाई विश्वासमा लिन जरुरी ठान्थ्यो । आज सैन्य बन्दोबस्तले राष्ट्राध्यक्षलाई आफ्नो विश्वासमा लिएको छ । सार्वजनिक सम्पत्तिमाथि नियन्त्रण कायम राख्ने अभीष्ट हिजोभन्दा डरलाग्दो बन्दैछ । त्यसैले प्रहरी प्रशिक्षण केन्द्रको परिसरमाथि सैन्य प्रशासनले र्‍याल काढ्न थालेको छ । तर, बोली शीतलनिवासको छ । यस्तो निर्णयलाई केवल राष्ट्रपतिको भोगविलासी चाहना भन्न मिल्दैन । यो नेपाली राजनीतिमा बढ्दो सैन्यकरणको प्रभाव हो । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलका अनुसार सेनाले टीका लगाउन राखेको कुर्सी एकाएक हटाएपछि त्यही कार्यले निरन्तरता पायो । अर्को शब्दमा, सेनाको कार्यशैली र निर्णयलाई सहज रूपमा लिइयो । धेरै राजनीतिक घटनाक्रममा यस्तै हुन थालेको छ । बढिरहेको सैन्यकरणप्रति बेलैमा सजग हुन जरुरी छ ।

अर्कोतर्फ, हिजो आत्मरतिमा रमाएका शासकहरूले षड्यन्त्रकारी गतिविधिलाई सत्ताराजनीतिको बलियो माध्यम बनाए । चाप्लुसीको मलजल भयो । यस्तो स्थिति भगीरथ चलाउन शासकहरूले निरंकुश व्यवस्थालाई सघन बनाए । आफ्नो नेतृत्वको देवत्वकरणमा रमाए । जनताको आवश्यकता बुझ्ने कार्यले शासन–प्रशासनमा प्राथमिकता पाएन । जनगणलाई सक्षम र स्वतन्त्र बनाउने कार्यलाई नजरअन्दाज गरियो । अन्तत: अनुत्तरदायी पद्धति संस्थागत भयो । राष्ट्रपतिमा आज यही प्रवृत्ति हाबी छ । यस्तो प्रवृत्तिले जनतालाई थप निरीह र गरिब मात्र बनाउने हो ।

आर्थिक प्रताडना

कान्तिपुर टिभीसँग एक अन्तर्वार्तामा भण्डारीले आफ्ना छोरीहरू असल नागरिक बनेको हेर्ने इच्छा सुनाएकी थिइन् । उनको इच्छा स्वाभाविक हो । पूरा भइरहेको होला । तर, नेपालका असंख्य छोरीहरूलाई असल नागरिक बन्न उनको भोगविलासी शासकीय चाहनाले दिने छैन । हजारौँ निर्मलाहरू सुरक्षित जीवन बाँच्न उनको सैन्य–प्रेम बाधक बन्नेछ ।

सुखसयलमा रमाउने नेतृत्वले हिजो अनुत्तरदायी राजनीतिलाई संस्थागत गर्‍यो । जनता सक्षम भए सत्ता टिक्दैन भन्ने मान्यतालाई प्रश्रय दियो । त्यसैले जनशिक्षामा हुन सक्ने लगानी शक्तिपीठ निर्माणमा गयो । विद्यालयको सट्टा तीर्थाटनमा खर्च गर्ने कार्यले प्राथमिकता पायो । शासकको प्रत्येक उठबस तामझामपूर्ण सवारी बन्यो । तडकभडक र रवाफले जनतामा डर पैदा गर्छ भन्ने बुझियो । त्यसैले जनगणको हिँड्डुललाई नियन्त्रण गर्ने कार्य गौरवको विषय बन्यो । सके बाटोघाटो निर्माण नगर्नुलाई सत्ता–सुरक्षासँग जोडियो । शासकको यस्तो मानसिकताले जनतामा कति डर पैदा गर्‍यो भन्न गाह्रो छ । तर, उनीहरूको दैनन्दिन अप्ठेरो रह्यो । जीवन कष्टकर बन्यो । राजकाजमा जनगणको श्रम, समय र कामको अवमूल्यन शासकीय मानसिकता हाबी भयो । श्रमप्रति र त्योसँग जोडिएर आउने उत्पादनमूलक कार्यप्रति शासकको मोहभंग भयो । जनताको जीवनलाई सहज बनाउने आधारभूत कार्य शासकीय प्राथमिकतामा परेन । आज राष्ट्रपतिको कार्यशैलीले त्यही अनुत्तरदायी शासकीय मानसिकतालाई ताजा बनाएको छ ।

त्यसैले नेपालका छोरीहरूको गरिबी र निर्मलाहरूको असुरक्षित चीत्कारले उनलाई जगाउँदैन ।

हिजो बिजुली, पानी र आधारभूत स्वास्थ्य–सेवा उपलब्ध गराउने कुरा गौण रह्यो । आर्थिक रूपमा जनगणलाई स्वावलम्बी हुन नदिने थितिले मेसो समात्यो । त्यसैले कृषिलाई व्यवस्थित बनाउने र उत्पादन उन्नत बनाउने कार्यमा ध्यान पुगेन । यस्ता आधारभूत कार्यलाई नेतृत्वले पन्छाएपछि जनगणको दिनचर्या कठिन बन्दै गयो । जनता पराश्रित हुन थाले । नवीतम जीवनको खोजीमा जनगण खुलेर सहभागी हुने सम्भावना न्यून रह्यो । त्यसैले संगठित कार्यको प्रस्थानबिन्दु शासकहरूको प्रताडनाविरुद्ध संघर्ष गर्नु रह्यो । किनकि, जनगणले गरिबीको अवस्थाबाट मुक्ति हासिल गर्न पनि राजसंस्थालाई फाल्नु आवश्यक रह्यो ।

त्यसैले नेपाल किन गरिब भयो वा विकास किन भएन भन्नेहरूले आजको नेतृत्वमा शाहीतन्त्रको अनुहार खोज्नु हुँदैन । राष्ट्रपतिको कार्यशैली र विलासी चाहनामा शाहीतन्त्रकै प्रेत हाबी छ । सैन्य मोह प्रबल छ । राजकीय रवाफ छ । अनि, जनअनुत्तरदायी चरित्र । अन्तत: गरिब नरनारी उत्पादन गर्ने निकर्म छ । यी सबै गुणले राष्ट्रपति विभूषित छन् । विभिन्न तहको सभा र मन्त्रिपरिषद्मा पनि राष्ट्रपतिजस्तै गुणवान नेतृत्वको कमी छैन । समाजलाई समृद्धिको बाटोबाट टाढा राख्न यी गुण काफी छन् । विद्यमान शासकीय ठाँटबाँट नै समृद्धिको सबैभन्दा ठूलो बाधक हो ।

अन्त्यमा, पीएम नायरले सन् २००८ मा कलाम इफेक्ट शीर्षकमा भारतका पूर्वराष्ट्रपति अब्दुल कलामको प्रभावबारे पुस्तक निकाले । कलामको राष्ट्रपति कालमा नायर उनका सचिव थिए । राष्ट्रपतिको पाँचवर्षे कार्यकालमा कलामसँगको सहकार्यलाई नायरले आफ्नो जीवनका अभूतपूर्व वर्षहरू भनेका छन् । नायरको दृष्टिमा कलाममा मानवीयता, सादगी, प्रज्ञान र दूरदृष्टि थियो । सबैभन्दा महत्त्वपूर्ण पक्ष आफ्ना सहकर्मी र आम मानिससँग उनको उठबस सहज थियो । सामान्य मानिसको दु:खलाई केन्द्रमा राखेर निर्णय लिन्थे । पूर्वराष्ट्रपति रामवरण यादवसँग हिजो सँगै काम गरेका राजेन्द्र दाहाल, हरि शर्मा वा सुरेन्द्र खातीले नायरले जस्तो अभूतपूर्व समय बिताएनन् । न सुशील प्याकुरेल, माधव शर्मा र नेत्र थापाले नै त्यस्तो सौभाग्य प्राप्त गरेका छन् । महामहिम विद्यादेवीसँग नायरले आँैल्याएका कलामका इफेक्टहरूको कुनै प्रभाव छैन ।

राष्ट्रपति हुनुपूर्व मदन भण्डारीले देखेको सपना साकार पार्ने आज्ञाकारी अनुशरणकर्ताको रूपमा विद्यादेवी भण्डारीले आफूलाई हेर्थिन् । निष्ठालाई ठूलो सम्पत्ति ठान्थिन् । परिस्थितिले उनलाई राष्ट्रपति बनायो । ‘श्रीपेच खोलेर चुनाव लड्न आऊ’ भन्ने जुन आशयले मदनले राजालाई आह्वान गरेका थिए, त्यसमा राजालाई सामान्य जनताको रूपमा हेर्ने चाहना थियो । आफ्नो सहयात्रीले भोगविलासी जीवन व्यतीत गरोस् भन्ने सपना थिएन । शासकले आफूलाई सामान्य सम्झे या उसको पहिलो ध्येय सचेत, सशक्त र समुन्नत नागरिक निर्माण गर्ने परियोजना सफल भए गणतान्त्रिक व्यवस्था बलियो हुन्छ । यदि महामहिम विद्यादेवीले भनेको निष्ठा जननिष्ठा हो भने उनले सशक्त र समुन्नत नागरिक बनाउने भोकलाई नै आफ्नो भोगविलास सम्झन जरुरी छ । 

यो पनि पढ्नुहोस् :

राष्ट्रपतिका १३ गल्ती

प्रकाशित: मंसिर १०, २०७५

ट्याग: विचार