मल्ल सर : सम्झना कतिपय

- अभि सुवेदी

कमलप्रकाश मल्ल उर्फ ‘मल्ल सर’ १ मंसिर ०७५ का दिन अमेरिकामा दिवंगत हुनुभएको समाचार मेरा साथी र मल्ल सरका पनि विद्यार्थी प्राध्यापक निर्मलमान तुलाधरले फोनबाट सुनाउँदा आफूभित्र एउटा हलचल भएको अनुभव गरेँ । पछिल्ला दिनहरुमा उहाँको स्वास्थ्य अवस्थाको विषयमा पनि म अवगत थिएँ । तर, उहाँ नरहनुभएको समाचार ती सबै जानकारीभन्दा अलग थियो । नरहनु भन्ने विषयले टाढा उठिबसेको चक्रवात नजिकै आएर खस्छ । केही स्थिर वस्तुहरु उड्छन् । बबन्डर हुन्छ ।

मल्ल सर दिवंगत हुनुभएको समाचारले चक्रवात त उठ्यो । तर, उहाँले भोगिरहनु परेको अवस्था ज्ञात भएकाले म एकाएक दार्शनिक भएँ । म दार्शनिक हुनु स्वाभाविक थियो । मलाई मल्ल सर दर्शन, आधुनिक समालोचना र दृष्टिको एक बौद्धिक पर्याय भएकाले फ्रान्सेली दार्शनिक झँ पोल सात्र्रको बिइङ एन्ड नोथिङनेस् (सन् १९४३) किताबको सम्झना भयो । मल्ल सरले सात्र्रको विषय अंग्रेजी साहित्यको आधुनिक समीक्षा गर्दा ल्याउनुभएको थियो ।

अंग्रेजी साहित्य समालोचना र फ्रान्सेली समालोचनाको प्रसंग पनि मल्ल सरको सम्झनासँग जोडिन्छ । मल्ल सरको केन्द्रीय अंग्रेजी विभागमा सन् १९६७ देखि विद्यार्थी भएको र पछि म विभागको अध्यक्ष हुँदा सन् १९९९ तिर सेवानिवृत्त हुनुभएको दीर्घ कालखण्डसम्म उहाँसँग स्मृति रहेको अवस्था हो । अनि, एउटा लेखभित्र त्यो लामो कालखण्डका स्मृतिहरु राख्न खोज्नु चुनौती भएको अनुभव गरेको हुँ । शीर्षकमै एउटा समाधान निकालेँ । इन्द्रबहादुर राईको उपन्यास विपना कतिपय (सन् १९६०) बाट ‘कतिपय’ लिएपछि एउटा समाधान त निस्क्यो तर कहाँबाट आरम्भ गर्ने विषय रह्यो । त्यसका निम्ति यो लेखमा मैले समाधानको रुपमा कालिक पद्धतिको साधारण प्रयोग गरेको छु । सम्झना कतिपय त्यही क्रममा राख्ने कोसिस गर्छु ।

सन् १९६७ मा म काठमाडौँमा अंग्रेजी साहित्यमा एमए पढ्न आएँ । मलाई विभागमा कस्ता शिक्षक छन् र ती को हुन् भन्ने केही थाहा थिएन । काठमाडौँ त्रिपुरेश्वरको पहिलेको गेस्टहाउसमा मास्टर डिग्रीका क्लासहरु हुने रहेछन् । त्यहाँ विद्यार्थी भएर क्लासमा पसेदेखिका अनुभव र द्वन्द्व अनि सपनाका हलचलले मलाई कहिल्यै छाडेन । अहिलेसम्म छाडेको छैन । फरक कति भने त्यसबेला म ती अनुभवलाई शिक्षाको चुनौतीका रुपमा लिन्थेँ भने पछि गएर ती चुनौती विद्यार्थीसँगको सम्बन्धबाट समाधान खोज्न थालेँ ।

थाहा भयो, भारतको कोलम्बो प्लानबाट सहयोगको रुपमा आएका भारतीय विद्वान् शिक्षकहरु रहेछन्, धेरैजसो । एक जना डा आरएस बर्मा भन्ने शिक्षक पढाउन थालेपछि बोल्दै जाने अनि समय गएको थाहा नपाउने भएकाले तिनको एक घन्टाको कक्षा ११ बजेदेखि राखेका थिए । नजिकै १२ बजेको तोप पड्केपछि समय गएको थाहा पाएर ती कक्षा छाड्थे । अनौठा स्वभावका भारतीय शिक्षक थिए । सबै विद्वान्, अंग्रेजी साहित्यलाई धर्मजस्तै विश्वास गर्ने अनि औपनिवेशिक दृष्टि राखेर वैश्विक चेतना बनाएका शिक्षक थिए । उनीहरुका पहिरन साधारण किसिमले भारतीय प्राध्यापकका जस्तै थिए । विभागका अध्यक्ष सूर्यबहादुर शाक्य हुनुहुन्थ्यो ।

विदेशी शिक्षकहरुले भरेको विभागमा एक दिन कक्षा लिन एक नेपाली युवक आए । साना काँटीका, चट्ट सुट लाएका, कपाल सिनित्त पारेर कोरेका, कलिलो अनुहार देखिने अनि हातमा तीन–चार थान किताब बोकेका ती शिक्षक मेरा निम्ति नयनाभिराम भए । अत्यन्त खुसी भएँ । ती कस्तो पढाउँछन् र को हुन् केही थाहा थिएन । तिनले मसिनो बोलीमा पढाउन थाले । तौलिएर अंग्रेजी भाषा प्रयोग गर्ने, बिस्तारै बोल्ने, गहन प्रस्तुति गर्ने उहाँ नै हुनुहुन्थ्यो, मल्ल सर ।

मल्ल सरको पढाउने शैली कोलम्बो प्लानका भारतीय प्राध्यापकहरुको भन्दा भिन्न थियो । उहाँ अंग्रेजी शब्दांशहरुलाई बलाघात मिलाएर बोल्नुहुन्थ्यो । हातमा बोकेर ल्याएका किताब बेलायतमा छापिएका पछिल्ला समालोचनाका ग्रन्थ थिए । मल्ल सरको अंग्रेजी साहित्य पढाउने पद्धति पछि थाहा भयो, ब्रिटेनमा पढाउने शैलीसँग मिल्ने रहेछ । यतातिर अंग्रेजी साहित्य पढाउने शिक्षकहरु केही सीमित समालोचकका ग्रन्थहरुको आधार राख्थे । जस्तो कि, रोमान्टिक साहित्यको समालोचना पढाउँदा उनीहरु सीएम बौराको रोमान्टिक इमाजिनेसन् र ग्राहम हफ्को किताब पढाउँथे भने मल्ल सर डरेक ट्रेभर्सी, फ्रयांक कर्मोड, इम्डब्लु टिलयार्ड, एफ आर लेभिस आदिका समालोचनाको प्रयोग गर्नुहुन्थ्यो । अंग्रेजी साहित्यका विभिन्न कालको साहित्य समीक्षा गर्दा त्यसबेला पाठको अध्ययन गर्न पनि समालोचकका विचारको प्रयोग गर्ने चलन थियो । हाम्रो नेपाली र भारतको साहित्यमा रोमान्टिक समीक्षा र साहित्यको प्रभुत्व थियो । त्यो नेपाली साहित्य समालोचना र हिन्दीको समालोचनामा एउटा मानकजस्तै थियो ।

म त्यसबेला नेपाली साहित्यको समालोचना लेख्ने भइसकेको थिएँ । मेरा समालोचना रुपरेखा  र अरु साहित्यिक पत्रिकाहरुमा प्रकाशित भइसकेका थिए । मल्ल सरको समालोचना प्रयोग गर्ने शैलीले मेरो समालोचना लेख्ने शैलीमा निकै प्रभाव पर्‍यो । साहित्यमा सिग्मन्ड फ्राइड अनि मिथकको प्रयोग गर्ने जेम्स फ्रेजरको अध्ययनमा आधारित समालोचनाले मलाई धेरै प्रभावित गर्‍यो । यी समालोचकले मलाई साहित्य अध्ययनको नयाँ युगमा पुर्‍याइदिए । मल्ल सरले ब्रिटेनमा साहित्यमा डिप्लोमा गरेका बेला र स्वाध्ययनबाट यो पद्धति सिक्नुभएको थियो होला भन्ने लाग्छ । तर, उहाँले एमए अंग्रेजीमा भारतबाट गर्नुभएको थियो, जसरी डीपी भण्डारीले गर्नुभएको थियो । उहाँहरु मित्र हुनुहुन्थ्यो । मित्रता र छेडछाडका शब्द प्रयोग गर्नुहुन्थ्यो उहाँहरु । तर, एकअर्कालाई राम्ररी बुझ्नुहुन्थ्यो ।

त्रिपुरेश्वरमै मल्ल सरको पद्धतिले प्रभावित भएको म उहाँको नजिकको विद्यार्थी भएँ । कम र मसिनो बोल्ने भएकाले उहाँसँग त्यति शिक्षक र विद्यार्थीको बीचमा हुने सिर्जनशील अराजक किसिमको सम्बन्ध मैले कहिल्यै गर्न सकिनँ । तर, नजिकको विद्यार्थी भने सधैँ रहेँ । उहाँको घर बांगेमुढामा थियो, एउटा अग्लो पुरानो शैलीको घर । म त्यहीँ अगाडिको थायमरु बहालमा जुजुरत्न स्थापितको घरमा डेरा गरेर बस्थेँ । त्यसले गर्दा मल्ल सरकोमा धेरै पटक जान सक्ने अवस्थामा थिएँ ।

भनिहालेँ, मसँग विद्यार्थी जसरी ठाडै मित्रजस्तो गरेर झ्याम्म आउँछन्, त्यसरी म मल्ल सरको व्यक्तित्वको परिवेश छिचोलेर जान सक्दैनथेँ । कोही पनि सक्दैनथे । म केही समय देखिइनँ भने मल्ल सर ‘कहाँ हराएको, कुरा छ आऊ’ भन्नुहुन्थ्यो । म राजनीतिमा ठाडै संलग्न विद्यार्थी नभए पनि क्रियाकलापमा चाख राख्थेँ । कीर्तिपुर विद्यार्थी युनियनमा साथीहरुको जोडमा म कल्चरल सेक्रेटरी भएँ । त्यसअन्तर्गत अनेकौँ कार्यक्रम आयोजना गरेँ । मल्ल सरलाई मैले सुनाउँदा अत्यन्तै मजा लागेको एउटा कार्यक्रम थियो ।

मैले एउटा कार्यक्रममा डा केआई सिंह र पशुपतिशमशेरलाई प्रवचन दिन आग्रह गरेँ । पशुपतिशमशेर भर्खर अक्सफोर्डबाट इकोनोमिक्समा ग्रयाजुएट गरेर फर्केका थिए । नेपाली त्यति बोल्दैनथे । उनले अंग्रेजीमा प्रवचन दिए । त्यसपछि केआई सिंह बोले । पहिलो वाक्यमै उनले भने, “भाइबहिनी हो, अहिले सुनिहाल्नु भो, पशुपतिशमशेरले कति राम्ररी अंग्रेजी बोले । हाम्रा पनि बाउबाजेले १ सय ४ वर्ष शोषण गरेको भए हामी पनि बोल्ने थियौँ, है ।” यो सुनाउँदा मैले पहिलोपल्ट मल्ल सर खुलेर हाँसेको देखेँ । मल्ल सरसँग मेरो यो सम्बन्धको कथा लामो र महत्त्वपूर्ण छ । अहिले सबै लेख्न सक्दिनँ ।

त्रिपुरेश्वरबाट कक्षाहरु अहिलेको कीर्तिपुरमा सरे । त्यसले अलिक समय परिवर्तन भएको बोध भयो । कोलम्बो प्लानका शिक्षकहरु छँदै थिए । पिसकोरको पहिलो डाइरेक्टरकी श्रीमती सान्द्रा जेडन्स्टाइन पढाउन आइन् । मल्ल सरबाट उनी अत्यन्त प्रभावित थिइन् । दुवै जनाको मित्रता राम्रो थियो । सान्द्रा र टंकविलास भार्य दुई जनाले मिलेर पारिजातको शिरीषको फूलको ब्लु मिमोसा  शीर्षकमा अनुवाद गरे । राम्रो अनुवाद नभए पनि अहिले त्यही नै चलेको छ । मल्ल सरलाई पनि त्यो अनुवाद राम्रो लागेको थिएन ।

पछि ब्रिटिस काउन्सिलले गरेको सहयोगअनुरुप अंग्रेजी विभागको अध्यक्ष हुने गरी, अनि पाठ्यक्रम पनि परिवर्तन गरेर नेपालमा अंग्रेजी शिक्षामा सुधार गर्ने भन्ने सर्तमा एडिनबरा विश्वविद्यालयका डा एलन डेभिस आए । डेभिसले एक शिक्षकलाई ब्रिटेनमा उच्च शिक्षा लिन पठाउने कार्यक्रमअन्तर्गत मल्ल सरलाई पठाए । मल्ल सर एडिनबरा विश्वविद्यालयमा गएर पीएचडी गरेर फर्किनुभयो । मल्ल सर हार्डकोर भाषाशास्त्री नभए पनि साहित्य र भाषाशास्त्रको संगम भएर समालोचना प्रभावित हुने बेलामा एडिनबरा पुग्नुभएको थियो । त्यो संगमको अध्ययन विधिलाई ‘स्टाइलिस्टिक’ भनिन्थ्यो । मल्ल सरले स्टाइलिस्टिकमै पीएचडी गरेर सन् १९७१ मा फर्किनुभयो । हेन्री विडोसन भन्ने प्रोफेसरको निर्देशनमा काम गर्नुभएको थियो । सन् १९८८ मा पीएचडी अध्ययनको सिलसिलामा ब्रिटेनमा गएका बेला मैले विडोसनलाई पनि भेटेँ । ‘कमलप्रकाशले चटक्कै माया मार्‍यो, कहिल्यै लेखेन मलाई’ भने तिनले । मल्ल सर खासै प्राध्यापक र मित्रहरुसँग हिमचिम गर्ने व्यक्ति हुनुहुन्नथ्यो ।

म सन् १९७८ मा नेपालका अनेक झेलहरु पार गर्दै ब्रिटेनमा ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा एडिनबरामा नै पढ्न पुगेँ । विश्वविद्यालय पुस्तकालयको माथि अध्ययन कक्षमा मेरो पनि पढ्ने एउटा क्यारेल भनिने सानो कोठा थियो । त्यहाँ मैले लाइब्रेरीबाट लिएर मल्ल सरको ठूलो आकारको थेसिस राखेको थिएँ । मलाई त्यसले ठूलो आनन्द भएको थियो ।

सन् १९७९ को अन्त्यतिर ब्रिटेनमा मार्गरेट थ्याचरको सरकार आयो । एक महिनाभित्र सबै विदेशी विद्यार्थीका छात्रवृत्ति काटिए । मैले एउटा कोर्सको डिग्री सकेर अर्कोमा काम गर्न लागेको थिएँ । छात्रवृत्ति काटिएपछि साथीहरुको सहयोगले सानोतिनो दु:ख गरेर अध्ययन चलाएँ । ब्रिटिस काउन्सिलका मानिसले मलाई मन पराउँथे । उनीहरुले ‘त्रिविबाट मलाई छात्रवृत्ति दिए मन्जुर छ भन्ने लेखाएर ल्याऊ, हामी मिलाउँछौँ’ भने ।

मल्ल सर रेक्टर हुनुभएकाले मैले ढुक्कले पत्र लेखेँ । तर, स्वीकृति नदिइएको पत्र पाउँदा म मर्माहत भएँ । फोन थिएन । मल्ल सरसँग कुरा गर्न सम्भव थिएन । पछि आफूले गरेका सबै काम लिएर नेपाल फर्कें । अंग्रेजी विभागका मित्र श्रीधर लोहनीले भने, ”लौ यहीँ पीएचडी दर्ता गर । यही कामको आधारमा पीएचडी गर ।” अनि, उनैलाई सुपरभाइजर बनाएर मैले यहीँबाट पीएचडी गरेँ । श्रीधरसँग म सधैँ कृतज्ञ र नजिक रहेको छु । मल्ल सरसँग दिल दु:खेको थियो । भेट्न गएँ । कुरा खुलेर राखेँ । मल्ल सरले भन्नुभयो, “तिम्रो विषयमा ठूलो गल्ती भएको हो, मलाई दु:ख छ । तर, म रेक्टर भएकै बेला तिमीलाई ब्रिटेन पढ्न पठाउने पनि मै हुँ । मलाई त्यसमा गौरव छ ।” मल्ल सरले निकै वर्षपछि मदन पुरस्कार समारोहमा प्रमुख वक्ता भएर बोल्दा मेरो विषयमा गौरव भएको कुरा बोलेको कवि बैरागी काइँलाले मलाई सुनाउनुभएको थियो ।

मेरो लिटरेरी शिक्षा र दृष्टि बनाउन मद्दत गर्ने र मैले प्रेरणा ग्रहण गरेका गुरु कमलप्रकाश मल्लसँग मेरो अत्यन्त नजिकको सम्बन्ध रहिरह्यो । उहाँ नेपाल छाडेर जाने बेला मलाई बोलाएर अन्तरंग कुरा गर्नुभयो । मप्रतिको विश्वास दोहोर्‍याउनुभयो । म अध्यक्ष भएर केन्द्रीय अंग्रेजी विभागको पाठ्यक्रम इन्टरडिसिप्लिनरी बनाएकामा चित्त दुखाउनुभयो । तर, पछि आएका बेला भन्नुभयो, “तिमीले ठीक काम गरेछौ ।” अमेरिकामा बस्दा वा यहीं हुँदा मल्ल सर सधैँ सक्रिय रहनुभयो । उहाँको विद्वताको विषय अंग्रेजी मात्र थिएन । भाषाशास्त्र, नेपाल भाषाको महफ्व र राज्यले त्यसलाई उपेक्षा गरेको, नेपालमण्डलमा संस्कृतीकरण भएर नेवारी वा नेपाल भाषा सभ्यता ओझेल पार्न खोजिएको विषयमा उहाँले लेख्नुभयो, बोल्नुभयो र नीति बनाउने काममा पनि प्रभाव पार्नुभयो । अमेरिकामा बस्दा लेखेर छापिएको एउटा ‘सम् रिसेन्ट पब्लिकेसन् अन् नेवार आइडेन्टिटी– २०१० ’ भन्ने लेखमा मल्ल सरले आफ्नो अर्कै धारणा बनेको कुरा लेख्नुभएको छ । मल्ल सरको अध्ययन र कामको विषयमा अर्को लेख लेख्नुपर्छ । लेखौँला । यहाँ एउटा अन्तिम तर यो सबै कुरा खुल्ने किसिमको संस्मरणबाट लेख टुंग्याउँछु ।

फेबु्रअरी १०, २०१५ को दिन यलमाया केन्द्रमा हिमाल बुक्सले मल्ल सरका सम्पूर्ण संस्कृति र भाषासम्बन्धी लेखहरुको सँगालो फ्रम लिटरेचर टु कल्चर : सेलेक्टेड राइटिङ्स् अन् नेपलिज् स्टडिज्, १९८०–२०१० को विमोचन गर्‍यो । उहाँको अर्को लेखसंग्रह रोड टु नो ह्वेर (सन् १९७९) को पुनर्मुद्रण पनि विमोचन भएको थियो, त्यहाँ । मलाई त्यो ५ सय ८७ पाताको ढड्डु किताब पढेर समीक्षा गर्नुपर्ने दायित्व दिएका थिए, सोसियल साइन्स बहा:का दीपक थापा भाइले । मल्ल सरले मैले किताबको विषयमा बोलेको र निर्मल तुलाधरले उहाँको जीवनीबारे बोलेको उता अमेरिकामा सुन्ने कार्यक्रम थियो । दीपक भाइलाई थाहा छ, के भयो, हामीलाई थाहा भएन । मैले एक महिना फेरि उहाँका लेखहरु पढेर बोलेको थिएँ । त्यही नै मेरो मेरा गुरु मल्ल सरप्रतिको अन्तिम श्रद्धा व्यक्त गरेको अवसर थियो ।

अन्त्यमा यत्ति भन्छौँ, नेपालको एकतन्त्री समय, एकलवादी र सामन्ती संस्कारबाट बाहिर आउन लागेको युगमा कमलप्रकाश मल्लले जुन ज्योति बाल्ने संघर्ष र कर्म गर्नुभयो । ज्ञान र विश्वास जगाउने काम गर्नुभयो, आजको नेपालले त्यो बुझ्न सक्यो भने उहाँप्रति श्रद्धा त हुनेछ नै । तर, हामीले गर्नुपर्ने सांस्कृतिक अध्ययनको राजनीतिक, भावात्मक र वैचारिक मोडेल पनि त्यहाँ पाइने मेरो विश्वास छ ।

टाढा गएर दिवंगत हुनुभयो, अन्तिम कालमा देख्न पाइनँ । मेरो धेरै श्रद्धाञ्जली, सर !

प्रकाशित: मंसिर ९, २०७५

ट्याग: सम्झना