‘नेपाल मामिलामा मोदी कमजोर’ – गुरचरण दास

- विभु लुइटेल

आख्यान र गैरआख्यान दुवैमा सशक्त ढंगले कलम चलाउने कम लेखकको सूचीमा पर्छन्, भारतीय लेखक गुरचरण दास डिफिकल्टी अफ बिइङ गुडबाट चर्चामा आएका उनका इन्डिया अन्बाउन्ड, इन्डिया ग्रोज एट नाइट, फाइन फ्यामिलीजस्ता किताब प्रकाशित छन् । भर्खरै काम : रिडल अफ डिजायर  पुस्तक सार्वजनिक गरेका उनी एक कुशल वक्ता, बुद्धिजीवी तथा दर्शनका ज्ञाता पनि हुन् । ३० वर्ष लामो व्यावसायिक जीवनबाट अवकाश लिई पूर्णकालीन लेखनतर्फ लागेका उनी सबैको आवाज बन्न सक्नुलाई लेखकीय धर्म भन्न रुचाउँछन् । ७५ वर्षको उमेरमा पनि उत्तिकै दमदार लेख्न सक्ने उनका प्रशंसक त्यत्तिकै छन् । नयाँ लेखकका लागि उनी प्रेरणा हुन् भने पुरानाका लागि कट्टर प्रतिद्वन्द्वी । नेपाल साहित्य महोत्सवको ‘कर्टन रेजर’ का लागि काठमाडौँ आएका उनीसँग विभु लुइटेलका प्रश्न : 

तपाईंको नयाँ पुस्तकको शक्ति के हो ?

मानिसले अधिकांश अवस्थामा व्यक्त गर्न नसक्ने केही अतृप्त इच्छा हुन्छन् । तिनलाई आख्यान र गैरआख्यानका माध्यमबाट बाहिर ल्याउन उचित ठानेँ । कामसूत्र विशेषत: सम्भोगमा मात्र केन्द्रित छ भन्ने धेरैको बुझाइ छ । त्यो भ्रम पनि हटाउनु थियो । पुस्तक राम्ररी चलिरहेको छ । म सन्तुष्ट छु ।

पुराना कृतिको सफलताले नयाँको बिक्री चुलिन सहयोग गरेको हो ?

मेरा हकमा पक्कै हो । डिफिकल्टी अफ बिइङ गुड  अत्यधिक रुचाइयो । यो लेखक राम्रो लेख्दो रहेछ भन्ने छाप सबैमा परेकैले अन्य पुस्तक पनि सफल भए । 

कसरी अथ्र्याउनुभएको कामलाई ?

कामको परिभाषा विशाल र विराट छ । यसलाई शिक्षाका रुपमा पनि लिन आवश्यक छ । मानिसका अनेकौँ इच्छा–आकांक्षा हुन्छन् । ती पूरा हुन नसक्दा पैदा हुने एक किसिमको तनावले उत्कर्ष छुँदै जाँदा त्यसले उसको मानसिक अवस्थामै असर पुर्‍याइरहेको हुन्छ । त्यस्तो अवस्थामा उसका अरु आयामका प्रगति सम्भवै छैन । त्यसैले कामलाई म मानिसको मानसिक स्वास्थ्य भन्न रुचाउँछु ।

यही विषय किन रोज्नुभयो ?

यस विषयमा पहिले नलेखिएको होइन । तर, ती सम्पूर्ण रुपले ज्ञानवद्र्धक लाग्दैनथे । पाठकले कुनै पुस्तक पैसा तिरेर किन्छ भने त्यसबाट थोरबहुत ज्ञान पनि पाउनुपर्छ भन्ने मेरो धारणा हो । यसअघि धर्मबारे डिफिकल्टी अफ बिइङ गुडमा लेखेँ । अर्थबारे इन्डिया अन्बाउन्डमा लेखेँ । त्यसैले अहिले कामको विषय रोजेको हुँ ।


तस्बिरहरू : संजोग मानन्धर


उसो भए अब मोक्षबारे पनि लेख्नुहुन्छ होला...

लेख्दिनँ । किनभने, म मोक्षमा विश्वास गर्दिनँ । पुरुषार्थमा धर्म, अर्थ, काम र मोक्ष पर्छन् । तर, म सुरुका तीन मात्र मान्छु । तीबारे थप लेख्दै जाने सोच छ ।

पुस्तकको आवरणमा भएका फूलहरूको केही अर्थ ?

पक्कै छ । पाँच फूलले प्रेमका पाँच खण्ड बुझाउँछन् । तलको सेतो फूल पहिलो चरण हो, जसमा दुई व्यक्ति एकअर्काको नजिक आउँछन् र प्रेममा पर्छन् । त्यसैबेला हो, वासनाको जन्म हुने । माथिको रातो फूल दोस्रो चरण हो । त्यसमा उनीहरु आफ्ना अभिलाषा मनभित्र सीमित राख्दैनन्, एकअर्कासमक्ष अभिव्यक्त गर्छन् । आफ्नो सम्बन्धलाई मूर्त रुप दिने विषयमा सोच्न थाल्छन् । सबैभन्दा माथिको सेतो फूलको झुप्पाले ती दुईको आत्मीयता बुझाउँछ । यही चरणमा अधिकांश प्रेमी विवाहबन्धनमा बाँधिन्छन् । नीलो फूल तिनको सम्बन्धको निर्णायक समयको प्रतीक हो । प्रेम सधैँ एकनास रहँदैन । पश्चिमा मुलुकमा भएको भए ‘डार्लिङ, हामी अब डिभोर्स गरौँ’ भन्न सजिलो हुन्थ्यो । यहाँ अधिकांश अवस्थामा सन्तानको मोह र सामाजिक बन्धनले पनि मानिसलाई बाँधेर राख्छन् । त्यसैले नचाहँदा–नचाहँदै पनि सम्बन्धको आयु बढाउनेबारे यताका मान्छे सोच्छन् । पाँचौँ चरणमा त्यो इच्छा पनि मरेर जान्छ ।

पश्चिमाभन्दा पूर्वीय समाज कामका विषयमा संकुचित हो ?

अहिलेको सन्दर्भमा मात्र भन्नुपर्दा हो । महाभारतकालमा यस्तो थिएन । यस विषयमा सबै खुलेर कुरा गर्न सक्थे, केहीले रोक्दैनथ्यो । युधिष्ठिरले आफ्ना पितामह भीष्मसँग यस विषयमा निर्धक्क कुरा गरेको एक कथा छ । त्यति मात्र होइन, त्यस समयका महिला पनि यससम्बन्धी केही बोल्न हिच्किचाउँदैनथे । कामवासनासम्बन्धी इच्छामा खुलेर बोल्न सक्थे ।

त्यसो भए द्रौपदी र कर्णबीचको आकर्षणले किन मूर्त रूप लिएन ?

त्यहाँ प्रेम मात्र होइन, जातको पनि कुरा आयो । राजकुलका हुँदाहुँदै आमाले त्यागेका कारण कर्णले कहिल्यै राजर्षि जीवन अनुभव गर्न पाएनन् । ‘सुतपुत्र’ भनी सम्बोधन गरिन्थ्यो उनलाई । कृष्णले द्रौपदीलाई नसम्झाएका भए उनी सायद कर्णकै चयन गर्थिन् । कृष्णले कर्णलाई भने द्रौपदीको श्रीमान् हुने एक अवसर दिएका थिए । कौरवलाई त्यागी पाण्डवको पक्षमा आए कुन्तीको जेठो छोरा भएकै कारण द्रौपदीमाथि उनको हक लाग्ने लोभ देखाएका थिए । तर, कसैले नअपनाएका बेला दुर्योधनले एक राज्यको राजा नै बनाइदिएका कारण उनको मानमर्दन गर्न कर्णको मन मानेन । जात र निष्ठाका कारण त्यो आकर्षण आकर्षणमै सीमित भयो ।



नेपाली साहित्य पढ्नुभएको ?

नेपाली साहित्य खासै पढेको छैन । मन्जुश्री थापाका पुस्तक भने पढेको छु । म उनको फुपाजु हुँ । म एक कुशल लेखक पक्कै हुँ तर कुशल पाठक भने होइन । मलाई थाहा छ, एक राम्रो लेखक हुन थुप्रै अध्ययन आवश्यक छ । त्यसैले नेपाली साहित्य मात्र होइन, अन्य साहित्य पनि काम नपरी पढ्दिनँ ।

भारतले अपनाएको परराष्ट्र सम्बन्धलाई कसरी हेर्नुभएको ?

नेपाल मेरो ससुराली हो । त्यसैले यस देशप्रति मेरो ठूलो सम्मान छ । नाकाबन्दीपछि जनमानसमा भारतप्रति पैदा भएको वितृष्णाबारे पनि अवगत छु । नरेन्द्र मोदी एक कुशल प्रधानमन्त्री हुन्, त्यसमा कुनै सन्देह छैन । तर, परराष्ट्र सम्बन्धका विषयमा भने उनी कमजोर रहेछन् । उनले पहिले आएर चिल्ला कुरा गरे, सबैको मन जिते । अब जे गरे पनि नेपालबाट उनले त्यो सम्मान पुन: प्राप्त गर्न सक्ने छैनन् । म पाकिस्तानमा जन्मेको हुँ । भारत–पाकिस्तानको सम्बन्धबारे त सबै जानकार नै छन् ।

भनेपछि भारतले तपाईंलाई सहर्ष स्वीकार्यो ?

मेरा कृति भारतमा बेस्टसेलर छन् । नस्वीकारेको भए कसरी हुन्थे ? पहिले के भारत, के पाकिस्तान ! विभाजनअघि दुवै एकै थिए । विभाजनका बेला म चार वर्षको मात्र थिएँ । मेरो परिवारकी एक सदस्य विभाजनका समयमा मारिइन् । कुनै समयमा म ‘वान–नेसन’ को सिद्धान्तमा विश्वास राख्थेँ । फाइन फेमिली  नामक मेरो पुस्तकको पात्र पनि सोही सिद्धान्तको पक्षमा छ । तर, अहिले सोच्दा जे भयो, राम्रै भयोजस्तो लाग्छ ।

डिफिकल्टी अफ बिइङ गुरचरण दास के होलान् ?

अरुका डिफिकल्टी जे हुन्, मेरा पनि तिनै हुन् । सुरुमा एक कम्पनीको मालिक थिएँ, अहिले पूर्णकालीन लेखक हुँ । पहिलेभन्दा अहिले गाह्रो छ । विभिन्न भाषाका पत्रिकामा मेरा लेख तथा विचार नियमित छापिन्छन् । यही जिम्मेवारीको डिफिकल्टी छ, बाँकी सबै ठीक छ ।

प्रकाशित: मंसिर ९, २०७५

ट्याग: रङसंवाद