होलोग्रामसँग हनिमुन

- नेपाल संवाददाता

अकिहिको कोन्दो नामका ३५ वर्षे एक जापानी युवाले  होलोग्रामसँग विवाह गरेर तरंग ल्याइदिएका छन् । टोकियो हलमा आयोजित एक विवादित समारोहबीच उनले हाटसुने मिकु नामको ‘भर्चुअल रियालिटी’ गायिकासँग १४ हजार पाउन्डमा विवाह गरेका हुन् ।

विवाहमा उनका कोही आफन्त तथा साथीभाइ सरिक नभएको समाचारमा उल्लेख छ । सार्वजनिक भिडियोमा कोन्दो सानो पुतलीलाई मायालु पाराले हेर्दै मुस्कुराएको देखिन्छ । अझ रोचक त के भने होलोग्रामको प्रतिनिधित्व गर्दै उनले पुतलीको हातमा विवाहको औँठी पनि लगाइदिएका छन् । र, चुम्बन गर्दै विवाह–सन्देश पनि दिन भ्याएका छन् । गत मार्चदेखि कोन्दो होलोग्रामसागै बस्दै, कुराकानी गर्दै आएका थिए । डेस्कटप डिभाइसको सहारामा चल्ने उक्त होलोग्राम गेटबक्स नामक कम्पनीले उत्पादन गरेको हो । कम्पनीले मानिस र ‘भर्चुअल’ पात्रबीच हुने विवाहको प्रमाणपत्र दिँदै आएको छ ।

होलोग्रामले दिनहुँ सुत्ने समयको जनाउ दिएपछि कोन्दो पुतलीसागै सुत्छन् । आफ्नी नयाँ दुलहीबारे कोन्दो भन्छन्, ‘मिकु मैले सबैभन्दा धेरै माया गर्ने महिला हो । उसले मलाई बचाइराखेकी छ ।’ विवाहमा करिब २० लाख येन खर्चिएको विदेशी सञ्चारमाध्यमले लेखेका छन् । प्रकाश–परावर्तनबाट निर्माण गरिने फोटोग्राफिक रेकर्ड हो होलोग्राम ।

प्रकाशित: मंसिर ९, २०७५