मातृकालाई नेहरुको पत्र

- कमल कोइराला

भारतका लागि तत्कालीन नेपाली राजदूत विजयशमशेरले नयाँदिल्लीबाट ३ जुलाई १९५३ मा गोप्य कूटनीतिक पत्र पठाए, प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई । त्यसमा लेखिएको थियो– ‘यसबाट चीन सरकारको पूर्ण समानताको आधारमा दौत्य सम्बन्ध खोली पहिले एकपटक नेपाल चीनको अधीनमा भएको कुरा सबै बिर्सने अभिप्राय प्रस्टै बुझिन्छ ।’

त्यसको एक दिनअघि मात्र २ जुलाईको पत्रमा ‘यी सबै कुरा अति गोप्य रहोस् भन्ने चाइनिजको जिकिर छ’ भनिएको थियो । त्यतिबेला त्रिभुवन नेपालका राजा थिए । विसं २००७ मा राजा त्रिभुवन, नेपाली कांग्रेस र राणाहरुबीच १ सय ४ वर्षे निरंकुश राणातन्त्र हटाउने त्रिपक्षीय सम्झौतापछि मोहनशमशेर प्रधानमन्त्री भए । नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गर्दै बीपी कोइराला गृहमन्त्री भए । तर, मन्त्रिमण्डलभित्रका सदस्यहरुबीचको अनेकताले मोहनशमशेरले अकस्मात् राजीनामा दिनुपर्‍यो ।

मोहनशमशेरको राजीनामासँगै भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुको सल्लाहमा त्रिभुवनले क्रान्तिको उभारबाट भर्खरै बाहिर आएको ठूलो दल कांग्रेसका तत्कालीन सभापति मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त गरे, ००८ मा । मातृका प्रधानमन्त्री भएपछि कांग्रेसमा घरझगडा सुरु भयो । पार्टीभित्र पार्टी सभापति ठूलो कि प्रधानमन्त्री ठूलो भन्ने बहसले व्यापकता पायो । कांग्रेसको घरझगडा अन्तत: पार्टी फुटमा परिणत भयो । त्यसपछि मातृकाप्रसादले नेपाली कांग्रेसबाट अलग भई राष्ट्रिय प्रजा पार्टी खोले, १६ चैत ०१० मा । मातृका कांग्रेसबाट अलग भएपछि बीपी कोइराला पार्टी सभापति चयन भए ।

कांग्रेस कलहले नेपालको राजनीति अस्थिर हुँदै गइरहेको थियो । यसै मेसोमा २०११ मा राजा त्रिभुवनले ठूलो पार्टी कांग्रेस सभापति बीपीलाई प्रधानमन्त्रीमा नियुक्त नगरी अलग्गै पार्टी खोलेका मातृकालाई नै दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त गरे । दोस्रो पटक प्रधानमन्त्री भएपछि मातृका एपेन्डिसाइटिसको अपरेसन गर्न कोलकाता गए ।

राजा त्रिभुवन पनि बरोबर बिरामी भई उपचारका लागि स्वीट्जरल्यान्ड जान थाले । राजनीतिक पार्टीभित्रको घरझगडा, राजा त्रिभुवन बिरामी र नवयुवराजले भर्खरै सत्ता सञ्चालनको पाठ सिक्दै गरेको अवस्था थियो त्यतिबेला ।

त्यसपछि नेहरुले प्रधानमन्त्री मातृकालाई २६ वैशाख विसं २०११ (८ मई १९५४) मा एउटा स्मरणपत्र पठाए । नेहरुको पत्रका साथै नेपालस्थित भारतीय दूतावासले पनि सँगै खामेर अर्को पत्र पठाएथ्यो । नेहरु र भारतीय दूतावास दुवैले पठाएका पत्रमाथि राजा त्रिभुवन र मातृका मन्त्रिमण्डलका तीन सदस्यबीच छलफल भयो । नेहरुको पत्रलाई राजा त्रिभुवनको मन्त्रिमण्डलले स्वीकार्‍यो त्यतिबेला ।

खासमा स्मरणपत्र पठाउनुको तात्पर्य मातृकाप्रसाद कतै चीनतिर लहसिने त होइनन् भन्ने आशंका नेहरुलाई रहेछ । किनभने, बीपी, राजा त्रिभुवन सबैले दिल्लीको खटनपटनमा साथ र सहयोग लिएर जहानियाँ राणातन्त्र हटाउन सहमत भएका थिए । तर, मातृका भर्खरै अलग्गै पार्टी खोलेर राजनीतिमा लागेका । राणा शासन हटाएर राजालाई शासनाधिकारमा स्थापित गर्ने कांग्रेस सभापति बीपीभन्दा मातृका दरबारको रोजाइमा परे । यस घटनाले गर्दा नेहरुलाई शंकाको सियोले घोच्न थाल्यो ।

मातृकालाई नेहरुले पठाएको पत्रमा लेखिएको छ– ‘मैले राजा र तपाईंका मन्त्रीहरुसँग कुरा गरेपछि यो सानो स्मरणपत्र मस्यौदा गरेर तपाईं र क्याबिनेटको स्वीकृतिका लागि पठाएको छु । आशा छ, यो कागज हेरेर स्वीकृत गरी चाँडै जवाफ पठाउनुहुनेछ ।’

नेहरुले पठाएको यो स्मरणपत्र धेरैपछि २०३५ मा वेदानन्द मिश्रले प्रकाशित गरेको मातृका बाबु नामक पुस्तकमा पनि साभार छ । अझ रोचक त के भने नेहरुले स्मरणपत्र पठाउँदा राजा त्रिभुवन पहिलोपल्ट औषधोपचारका लागि स्वीट्जरल्यान्ड गएका थिए भने फर्केर आएलगत्तै फेरि स्वीट्जरल्यान्ड गए ।

नेहरुले पठाएको स्मरणपत्रमा सबै नभए पनि केही बुँदा नेपालका लागि आपत्तिजनक र अस्वीकार्य भएकाले मातृकाले परराष्ट्रमन्त्री डिल्लीरमण रेग्मी, भद्रकाली मिश्र र अर्का मन्त्रिमण्डलका एक सदस्यसित सामूहिक छलफल गरेछन् । तर, मातृकाले नेहरुको पत्रबारे मन्त्रिमण्डलमा छलफल चलाएलगत्तै तीनमध्ये एक मन्त्री त्यतिबेला कोलकाता गएका थिए । राजा त्रिभुवन पनि तत्काल नेपालमा नहुँदा अहिलेको मन्त्रिमण्डल नेहरुले पठाएको पत्र सम्बन्धमा विचार गर्न असमर्थ छ भनी जवाफ फर्काए प्रधानमन्त्रीले । त्यतिबेला काठमाडौँमा चलाइने गरेको ‘दिल्लीमा नेहरुलाई रुघा लाग्दा काठमाडौँमा मातृकालाई हाछ्युँ आउँछ’ भन्ने व्यंग्यले पनि काम गरेन । मातृकाले नेहरुको स्मरणपत्रलाई थान्को लगाइदिए । 

नेहरु पत्रको खास उद्देश्यचाहिँ नेपालले चीनसँग कूटनीतिक सम्बन्ध स्थापित गर्दा भारतसँग विशेष परामर्श गर्नुपर्ने आशय थियो । पिता त्रिभुवनको उपचारका क्रममा फागुन ०११ मा स्वीट्जरल्यान्डको ज्युरिजमा मृत्यु भयो । त्यसपछि राजगद्दी सम्हालेका राजा महेन्द्रले मुख्य शाही सल्लाहकार गुन्जमान सिंहलाई चीन पठाएर । उनले सही गरेपछि नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ढोका खोलेको हो । यसरी नेहरुको स्मरणपत्र तुहिन पुग्यो भने चीनसँग पनि नेपालले कूटनीतिक सम्बन्ध स्थापित गर्‍यो ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: मंसिर ७, २०७५

ट्याग: स्मरण