एक्लै यात्रामा

नोटबुक

- विभु लुइटेल

केही दिन एक्लै घुम्न साथीभाइसँग पोखरामा छुट्टिएँ र लक्ष्मीपूजाको दिन पृथ्वीचोकबाट स्याङ्जा जाने अन्तिम गाडी समातेँ । पहिले कहिल्यै एक्लै घुम्न निस्केको अनुभव थिएन । सामान किन्न असनसम्म जानुपरे पनि आमाबा या बहिनीसँग मात्र जान्थेँ । त्यसैले पनि मेरा लागि त्यो यात्रा विशेष थियो । आफ्ना कमजोरी र ताकत पहिल्याउन त्यस यात्राले मलाई निकै सहयोग पुर्‍यायो । आफूलाई बिस्तारै चिन्दै गएँ । सुरुमा अलिअलि डर नलागेको होइन । तर, आफ्नो विश्वास आफैँलाई दिलाउँदै गएँ ।

बस चढेको केही समयमा पूरै अँध्यारो भइसकेको थियो । छेउमा बसेकी महिलालाई कोट्याउँदै सोधेँ, “दिदी, यो कुन ठाउँ हो ?” उनले वरपर हेरिन् र छोरेपाटन हो कि भन्ने अड्कल काटिन् । त्यसको एकैछिनमा उनी ममाथि प्रश्न बर्साउन थालिन्, “काँ’आट आकी हौ र ?” काठमाडौँबाट पोखरा घुम्न गएको र त्यसपछि टोलीसँग छुट्टिई एक्लै घुम्न निस्केको उनलाई बताएँ । फेरि सोधिन्, “डर ला’ छैन ? छोरी मान्छे यस्तो जथाभावी हिँड्नु हुन्छ ? घरकाले केही भनेनन् ?” एकल यात्रा गर्ने पुरुषलाई केही नभन्ने हाम्रो समाज महिलालाई मात्र किन यस्ता प्रश्न तेस्र्याउँछ ? मसँग उनका प्रश्नका उत्तर थिए । तर, विवाद गरिरहन मन थिएन । त्यसै ले हाँसेँ मात्रै ।

तिहारमा नछुनी !

गोवद्र्धन पूजाको दिन बिहानै स्याङ्जाको पुतली बजारबाट पाल्पा जाने गाडी चढेँ । वालिङ छेउछाउ दुई महिला चढे र मेरो अगाडिको सिटमा आएर बसे । गाडीले बिस्तारै गति लिन थाल्यो । मेरो ध्यान भने बाहिरको दृश्यले होइन, ती महिलाको संवादले तानेको थियो । दुवै जना आफ्नो थेसिस कसरी पूरा गर्ने भन्ने विषयमा छलफल गरिरहेका थिए । तर्कले ती निकै शिक्षित छन् भन्ने छनक मैले पाइसकेकी थिएँ । दुवै  मानवशास्त्रका विद्यार्थी थिए भन्ने ठम्याउन गाह्रो परेन ।

थेसिसको कुरा हुँदाहुँदै संवाद एक्कासि तिनको व्यक्तिगत जीवनतर्फ मोडियो । झ्यालतिर बसेकीले भनिन्, “यसपालिको तिहार बोरिङ हुने भयो यार । बिहानै नछुनी भएँ ।” छेउकीले जवाफ दिइन्, “त्यही त यार, मेरोचाहिँ दसैँको दिन भएको थियो । टीका लगाउन जान नपाउँदा त केही थिएन । सबै खानेकुरा सासुले अगाडि ल्याएर राखिदिँदा ननिको लागेको थियो । बुहारी भएर बसीबसी खान नहुने ।”

तिनको महिनावारीसम्बन्धी संवादले सुरुदेखि अचम्मित तुल्याइरह्यो नै, छेउमा बसेकी महिलाले बुहारीबारे दिएको तर्कले त झन् म अवाक् भइसकेकी थिएँ । पढेलेखेका महिला नै आफूलाई हीन सोच्छन् भने अरुको अवस्था झन् कस्तो होला ? हाम्रो सामाजिक संरचनाले महिलालाई पुरुषभन्दा कमजोर भनी पहिलेदेखि नै ठहर गर्दै आएको छ । तर, दोस्रो दर्जाका हौँ भनी स्वीकार्ने पनि हामी स्वयं नै रहेछौँ ।

सुखद अन्त्य

तिहार सकिन लागिसकेको थियो । शुक्रबार बेलुका वा शनिबार बिहान काठमाडौँ फर्किने योजना बनाएकी थिएँ । भाइटीकाको दिन दिउँसो पाल्पाबाट बुटवल जाँदै गर्दा भैरहवाकी एक बहिनीको फोन आयो, “दिदी, यहाँसम्म आइसक्नु भयो । भैरहवा पनि आउनु न अब ।” मेडिकल कलेजमा पढिरहेकी ती बहिनी परीक्षा मुखैमा भएकाले काठमाडौँमा भएको घर जान पाएकी थिइनन् । मैले पनि तिहारभर आफन्तको अनुहार देख्न पाइनँ । त्यसैले भैरहवा पुग्ने निधो गरेँ ।

भैरहवाको देवकोटा चोक पुग्दा बेलुकाको करिब ७ बजिसकेको थियो । ती बहिनी र उनकी एक साथी मलाई कुरेर बसिरहेका रहेछन् । नजिकैको एक रेस्टुराँमा गई सबैले म:म: खायौँ । तिनले मेरो यात्राबारे जान्न चाहे । ‘ कालजमाना ठीक छैन’, ‘एक्लै नघुमेको भए हुन्थ्यो’ जस्ता प्रतिक्रिया बाटैभरि सुन्दै आएकाले होला, त्यहाँ पनि त्यस्तै प्रतिक्रिया आउँछ भन्नेमा विश्वस्त थिएँ । मैले छोटकरीमा आफ्नो यात्राविवरण बताइसकेपछि तिनले भने, “आहा, कस्तो रमाइलो ! एमबीबीएस सकिएपछि हामीलाई पनि त्यसरी नै घुम्न मन छ ।”

कोही त रहेछन्, एकल यात्रालाई नकारात्मक नठान्ने  ।

प्रकाशित: मंसिर ७, २०७५

ट्याग: नोटबुक