खोइ, सचेत­ नयाँ पुस्ता ?

- शिशिर वैद्य

सचेत समाजको आधार सचेत युवा वर्गले निर्धारण गर्छ । तर, वर्तमान युवा पुस्ता देश र समाजप्रति जति संवेदनशील हुनुपर्ने हो, त्यति देखिँदैन । युवा उमेर संरक्षित बाल्यावस्थाबाट स्वतन्त्र निर्णय गर्न सक्ने वयस्क जीवनसम्म पुग्ने संक्रमणकालीन समय हो । त्यसैले यो उमेर समूहलाई तरल मानिन्छ । अर्थात्, युवा वर्गलाई सचेत बनाउन उनीहरूको सिकाइमै समाजप्रति उत्तरदायी हुनुपर्ने भावना घोल्न सके मात्रै उत्तरदायी समाजको निर्माण हुन सक्छ । युवाहरूले गर्ने सामान्य व्यवहारबाटै समाज कति सचेत र संवेदनशील छ भन्ने बुझ्न सकिन्छ ।

०७२ को भूकम्पपछि सम्पदा र पुनर्निर्माणको कुरा व्यापक चर्चामा रह्यो । काष्ठमण्डप, माजुदेग:, रानीपोखरीलगायतका सम्पदालाई आधुनिक प्रविधि र ठेकेदारी प्रथाबाट पुनर्निर्माण गर्ने अभीष्ट केही सचेत स्थानीय युवाको अग्रसरतामा रोकियो । सम्पदा पुनर्निर्माणमा आधुनिक प्रविधिको हस्तक्षेप ग्राह्य हुने निर्णयमा हस्ताक्षर गर्नेहरू महानगर, पुरातत्त्व र सरकारी निकायमा कार्यरत युवा कर्मचारी तथा युवा वास्तुविद् नै थिए । उनीहरू किन र कसरी यस कुरामा सहमत भए त ? नेपाली सम्पदा शिक्षाका गुरु प्राडा सुदर्शनराज तिवारी आफ्ना धेरैजसो प्रवचनमा सम्पदालाई संरक्षण गर्ने हो भने माटो, इँटा र काठलाई माया गर्नुपर्छ भन्छन् । तर, उनैले सिकाएको यो शिक्षा उनका विद्यार्थीहरू, जो अहिले विभिन्न ओहदामा छन्, अनुसरण गर्दैनन् । सम्पदाप्रति सचेत र संवेदनशील हुन नसक्नु तथा सम्पदामाथि नयाँ प्रविधिको हस्तक्षेप थोपर्न उद्यत हुनुको मूल कारण खोतल्ने हो भने शिक्षाकै कुरा आउँछ । कि तिवारीले दिएको शिक्षा उनका विद्यार्थीलाई ग्राह्य भएनछ भनेर बुझ्नुपर्‍यो कि तिवारी उनीहरूलाई शिक्षा दिन असफल भए भनेर ।

यो निकै गम्भीर प्रश्न हो । तर, प्रश्न सम्पदा शिक्षामा मात्र सीमित छैन । सम्पूर्ण शिक्षा पद्धतिमाथि उठेको छ । स्कुल, कलेज र विश्वविद्यालयमा दिइने शिक्षाले युवायुवतीमाझ आफ्नो देशप्रति उत्सुकता, संस्कृतिप्रति लगाव र सम्पदा संरक्षणका लागि जागरुकता ल्याउन नसक्नुमा पक्कै पनि शिक्षा र शिक्षण पद्धतिमै खोट छ । युवा पुस्ताले आफ्नो सुन्दर भविष्य आफ्नै देशमा कल्पना गर्न नसक्नुमा देशको अस्थिर राजनीति सबैभन्दा बढी दोषी छ । हामी सधैँ नेताहरूलाई गाली गर्छौँ । बूढा नेताहरूले गर्दा देश बिग्रियो भन्छौँ । नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने कुरा उठाउँछौँ । नेपालका प्रमुख राजनीतिक दलहरूमा सक्रिय नेताहरूको अनुहार हेर्दा युवा अथवा दोस्रो पुस्ताका नेताहरूको संख्या अत्यधिक भेटिन्छ । नेतृत्व तहमा नहोला तर संख्यात्मक हिसाबले युवा अगाडि नै छन् । हिजो विद्यार्थी आन्दोलनमा सक्रिय शंकर पोखरेल, गगन थापा, नवीना लामा, योगेश भट्टराई, रवीन्द्र अधिकारी आदि अहिले जनप्रतिनिधि भएका छन् । आ–आफ्नो पार्टीको उच्च ओहदामा छन् । तापनि, हामीले राजनीति र नेतालाई गाली गर्न छाडेका छैनौँ । किन त ? विद्यार्थी राजनीति गरून्जेलसम्म युवा पुस्ताको, परिवर्तनको वकालत गरेका यी युवा नेताले जब मूलधारको राजनीतिमा प्रवेश पाए, उनीहरू परम्परागत राजनीतिक प्रणालीमा बग्न थाले । राजनीतिमा आफ्नो स्थान बनाई राख्न पार्टीका बाध्यात्मक ह्वीपमा होमा हो मिलाउन थाले । त्यसैले उनीहरूले उठान गरेका परिवर्तनका एजेन्डा ओझेल परे । यस्तो किन भयो ? नयाँ पुस्ताले किन नयाँ एजेन्डासहित नेतृत्व लिन सकेन ? अर्थविद् एवं नागरिक अधिकारकर्मी डा देवेन्द्रराज पाण्डेले केही समयअघि बोलेका शब्दमा, ‘यहाँ नेतृत्वको चरित्र फस्टाउनै पाएको छैन । नेतृत्व निर्माण गर्न बौद्धिक, सामाजिक, राजनीतिक, सांस्कृतिक वातावरण चाहिन्छ । कहाँ छ, त्यस्तो वातावरण ?’

यसले के देखाउँछ भने हामीले युवा वर्गलाई प्रजातान्त्रिक हकाधिकारबाट वञ्चित समाजबाट स्वतन्त्रता त दिलाएछौँ तर संवेदनशील, सचेत र जिम्मेवार हुनुपर्ने शिक्षा दिन सकेका रहेनछौँ । अर्थात्, समाजप्रति सचेत हुने व्यावहारिक शिक्षा दिन बाँकी नै रहेछ । वर्तमान युवा पुस्तालाई उत्पादन, उपभोग र उपभोक्ताको आर्थिक चक्रले नै समृद्धि ल्याउँछ भन्ने लागेको छ । त्यसैले स्वतन्त्र चिन्तन, परिवर्तन, सिर्जनात्मक सामथ्र्य, इतिहास, संस्कृति सबै विषय गौण हुन पुगेका छन् । उच्चशिक्षाको भर्ना प्रतिशतलाई हेर्ने हो भने पनि यो कुरा प्रमाणित हुन्छ । देशको इतिहास, संस्कृति, राजनीति, समाज, भूगोल आदि विषयमा भर्ना हुने विद्यार्थीको प्रतिशत नगन्य हुँदै गएको छ । आफ्नो समाज, संस्कृति, भूगोल र इतिहास नै थाहा नपाएको नयाँ पुस्ताबाट देशको समृद्धिका लागि के आशा राख्न सकिन्छ ? शिक्षा र शिक्षणको यस अवस्थाले आलोचनात्मक विचार राख्ने, प्रश्न गर्ने, सिर्जनात्मक चिन्तनका कुरा गर्नेभन्दा पनि कसरी कोर्स पूरा गरेर छिटो र धेरै कमाउने भन्ने होड बढेको छ ।

जब युवा वर्गमा हरपल रोजगारीको चिन्ता हुन्छ, जहाँ हरक्षेत्रमा राजनीतिक पहुँच हावी हुन्छ । त्यहाँ आलोचना, सिर्जना, चिन्तन, नीति, नियमजस्ता कुराको अर्थ हुँदैन । देशका सबै समस्याको जरा राजनीतिमा जोडिएको छ । त्यसैले राजनीतिमा नयाँ, सचेत, संवेदनशील र खुला सोच भएका जिम्मेवार पुस्ताको प्रवेश अनिवार्य छ ।

प्रकाशित: मंसिर ६, २०७५

ट्याग: टिप्पणी