सफाइका फेहरिस्त

पुस्तक : आत्मकथा | लेखक : अच्युतकृष्ण खरेल | प्रकाशक : नेपालय | पृष्ठ : ३८० | मूल्य : ६६५ रुपैयाँ

- मनबहादुर बस्नेत

जब प्रहरी संगठनभित्र राजनीतिकरणको प्रसंग उप्किन्छ, तब पूर्वप्रहरी महानिरीक्षकद्वय धु्रवबहादुर प्रधान र अच्युतकृष्ण खरेल प्रकरण सतहमा आइहाल्छ । भलै ०४९ मा ३० वर्षे सेवा अवधि ल्याएर महानिरीक्षक रत्नशमशेर राणा हटाइएको घटनालाई प्रहरीभित्र दलीय राजनीतिको छाया विधिवत छिरेको मानिन्छ । तर, प्रधान–खरेल प्रकरणले दलीयकरणलाई धुरीमा पुर्‍यायो । यही प्रकरणका एक पात्र खरेलले आत्मकथा लेखेका छन् ।

प्रहरीभित्रको राजनीतिकरण, सुन तस्करीबारेका जिज्ञासामा खरेल अक्सर पन्छिन्थे ‘सबै मेरो किताबमा आइहाल्छ ।’ आयो, तर अपेक्षाकृत होइन । सुन तस्करीबारे यसअघि नै सार्वजनिक पात्रहरुका बारेमा मात्र उल्लेख छ । तत्कालीन युवराज धीरेन्द्र शाह, उनका एडीसी भरत गुरुङ र प्रहरी महानिरीक्षक डीबी लामा सुन तस्करीमा मुछिएको घटनाको विवरण मात्र छ, पुस्तकमा । बहुदलीय व्यवस्थाको सुरुको झन्डै एक दशक सुन, विदेशी मुद्रा तस्करी अभूतपूर्व मौलाएको थियो । त्यसमा राज्य संयन्त्रकै संलग्नता भए पनि अन्तरंग पुस्तकमा भेटिँदैन । गुरुङ, लामाको बयान लिएका र त्यसक्रममा खुलेका केही प्रसंग मात्रै नयाँ छन् । खरेलले ०५३ मा केही समय र ०५४ देखि ०५७ सम्म प्रहरी संगठन हाँके । उनको कार्यकालमा पनि तस्करीको घनत्व उल्लेख्य घटेको थिएन । यसमा धेरै कुरा उनले चपाएको आभास हुन्छ ।

प्रहरीभित्र घुसेको राजनीतिकरणमा खरेलले आफूलाई जोगाएका छन् । राजनीतिकरणको दोष बढी तत्कालीन राजनीतिक नेतृत्वको हो पनि । गृहमन्त्री वामदेव गौतमले खरेललाई हटाउनु नै प्रहरीका लागि अहिलेसम्मकै अभिशाप बनेको छ, संगठनभित्र राजनीतिक प्रभावका हिसाबले । कांग्रेस सरकार आएपछि पुन:स्थापित भएका खरेलको त्यसपछिको भूमिकामा चाहिँ पर्याप्त प्रश्न उब्जेका हुन् । पूर्वसैनिक सचिव विवेककुमार शाहले मैले देखेको दरबार  पुस्तकमा खरेलले गौतमलाई ०५६ को संसदीय चुनावमा हराउन हरसम्भव खेल खेलेको लेखेका छन् । यसलाई खरेलले निराधार भनेका छन् ।

सेना र अनुसन्धान विभागलाई उपेक्षा गरेर गिरिजाप्रसाद कोइरालाले प्रहरीलाई कांग्रेसको भर्ती केन्द्रजस्तो बनाउन थालेको, खुमबहादुर खड्काको भ्रष्टाचार मुद्दामा खरेलले अभियोगको फाइल तयार गरेर कोइरालालाई बुझाएको शाहको पुस्तकमा छ । प्रधानमन्त्री कोइरालाविरुद्ध अविश्वास प्रस्ताव पेस गर्न खड्काको हात रहेकाले यस्तो भएको हो । यी पाटोमा खरेल मौन छन् ।

कोइरालासँग खरेलको विशेष सम्बन्ध थियो भन्ने पुस्तक पढ्दा छनक मिल्छ । डोल्पाको दुनैमा माओवादीले आक्रमण गर्दा सेनाले सहयोग नगरेको, त्यसपछि सरकारको आदेशमा सेना परिचालन नभएको र सेना सरकारको अधीनमा छैन भन्दै कोइरालाले राजीनामा दिएका थिए ।

खरेलको बोली पनि उही छ । अझ उनले त ‘विशेष परिस्थितिमा स्थानीय स्तरबाटै सेना परिचालन होस्’ भनेका छन् । दुनै घटनाको पाठस्वरुप खरेलले यस्तो तर्क गरेका छन्, पुस्तकमा । प्रहरीको नेतृत्व गरेका उनको यो तर्क हलुका लाग्छ । के सेना त्यस्तो शक्ति हो, जो स्थानीय तहको आदेशमा फुत्त परिचालन होस् ? त्यस्तो भयो भने के हुन्छ ?

सेना विधिवत परिचालन हुनुपर्छ कि सनकमा ? यो त्यतिबेला ठूलो विवादको विषय थियो । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा सेना परिचालन हुने संवैधानिक प्रावधान थियो, छ । त्यतिबेलासम्मका कुनै पनि सरकारले परिषद्लाई सक्रिय बनाएका थिएनन् । सेनालाई नागरिक सरकारको मातहत ल्याउन सरकारले पहलै गरेन ।

सोही चुनावमा व्यापारीबाट लिएको ४० लाखमध्ये गिरिजाप्रसाद र माधवकुमार नेपाललाई क्रमश: ३० लाख र १० लाख रुपैयाँ दिएको उल्लेख छ । व्यापारीको नाम नलेखिए पनि उक्त रकम सुन तस्करीमा संलग्न व्यापारीले जुगाड गरिदिएको प्रहरी अधिकारी सम्झिन्छन् । व्यापारीबाट रकम उठाएर पार्टीलाई दिने प्रहरी नेतृत्वलाई अख्तियारले कारबाही गर्न सक्छ कि सक्दैन, विचारणीय छ ।

आफूमाथि लागेका आरोपमाथि सफाइका फेहरिस्त भेटिन्छन् पुस्तकमा । भ्रष्टाचारको आरोप, आईजीपी छँदा कांग्रेसमैत्री बनेको, सुन तस्करीलगायतका अन्य थुप्रै घटनाबारे उनको बयान यस्तै छ । भ्रष्टाचार र आईजीपीबाट हटाएको दुवै मुद्दा जित्न राजनीतिक र न्यायालयका व्यक्तिलाई भेटेको प्रसंग अर्थपूर्ण छन् । यसबाहेक अपराध, तस्करी, राजनीति र प्रहरीको अन्तर्जालो छर्लंग छ । प्रहरी सुध्रियो भने अपराध आधा घट्ने उनको अनुभवले सिकाउँछ । रुपन्देही, चितवनमा खरेलले गरेको गुन्डागर्दी नियन्त्रण यस्तै अनुकरणीय पाठ हुन् । ‘रुपन्देहीमा गुन्डा डाँकासँग भिडन्त’ शीर्षकमा अपराध र राजनीतिको नेक्सस राम्ररी केलाइएको छ ।

कर्तव्यनिष्ठ बनेमा राजनीति र अपराधको जालो टुटाउन प्रहरीलाई बेर नलाग्ने उदाहरण हो, यो । बहालवाला मन्त्री दीपक बोहराको दबाब सहेर रुपन्देहीदेखि भारतसम्म फैलिएको अपराधको जालो तोड्ने प्रहरी खरेलको भूमिका साँच्चै वीर लाग्छ । गुन्डा मारिएपछि स्कुल छुट्टी भएका कुरा अहिले कहानीजस्तो लागे पनि त्यसबखत गुन्डाबाट समाज कुन हदसम्म प्रताडित रहेछ भन्ने अनुमान गर्न सकिन्छ ।

सिंहदरबारबाट गुन्डागर्दी, तस्करीको निर्देशन दिने बोहरा, शरतसिंह भण्डारीलगायतका राजनीतिक व्यक्तिको असली चेहरा खुलाइदिएका छन्, खरेलले । बोहरा र भण्डारी दुवै उक्त कालखण्डका शक्तिशाली व्यक्ति थिए, जसलाई छलेर प्रहरीले थिति बसाउनु चानचुने साहस होइन । 

स्वाभाविक प्रश्न उब्जिन्छ, अपराध र राजनीतिको जालो आजसम्म किन तोडिएन ? ठोकेरै गुन्डागर्दी तह लगाउने खरेल सूत्र रहेछ । आफ्नै छोरा मार्ने गोपीकृष्ण श्रेष्ठलाई अपराध कबोल गराउन खरेलले थर्ड डिग्री अर्थात् चरम यातना दिए । थर्ड डिग्रीको उदाहरण थुप्रै दिएका छन्– चितवनदेखि रुपन्देहीसम्म । गुन्डागर्दी नियन्त्रणदेखि अपराध अनुसन्धानसम्म । खरेलले आफ्नो यस शैलीको तारिफ गरेका छन्, ‘जसले जेसुकै भनून्, मैले धेरै गुन्डाहरुलाई ठोकेरै तह लगाएको छु ।’ (पृष्ठ १३४) अपराध अनुसन्धान गर्ने यही शैली हाबी छ प्रहरीमा अहिले पनि । प्रमाण केलाउने, घटनासँग लिंक गराउने र मुद्दा बलियो पार्ने प्रवृत्ति छैन । ठोकेरै कसुर कबोल गराइन्छ । न्यायालयमा बयान बदलेर उम्किहाल्छन् ।

रुपन्देहीकै गुन्डागर्दी नियन्त्रणको एउटा गज्जबको प्रसंग छ पुस्तकमा । बोहराले डकैती नियन्त्रण अभियानमा दुई व्यक्तिलाई केही नगर्न र त्यसबापत मासिक तीन हजार रुपैयाँ दिने प्रस्ताव गर्छन्, तत्कालीन डीएसपी शारदाप्रसाद पराजुलीमार्फत । खरेलकै स्वीकृतिमा पराजुलीले प्रस्ताव मान्छन् । तर, डाँकुको भित्री तहसम्म पुग्ने योजनासहित । डकैती गर्दागर्दै बोहराका दुवै सहयोगी प्रहरीको कोभर्ट अपरेसन क्रममा मारिए । कोभर्ट अपरेसनको महफ्व यसले दर्शाउँछ । तर, अहिले यस्तो खाले अपरेसन वा अनुसन्धान वर्जितसरह छ, खासगरी साढे ३३ किलो सुन काण्डपछि ।

सामान्य चोरीका घटनामा पक्राउ परेकालाई छुटाउन दरबारदेखि नेतासम्मको फोन आउने उदेकलाग्दा घटना थुप्रै छन् पुस्तकमा । यसले प्रहरीमाथि कुन तहको दबाब हुन्छ भन्ने छर्लंग पार्छ । त्यसलाई सामना गर्ने सीप पनि पुस्तकमा छ । अपराधमा राजनीतिक नेक्सस छिनाउन चाहनेले खरेलको अनुभवबाट धेरै सिक्न सक्छन् ।

पुस्तकमा मूर्ति चोरीमा काठमाडौँ नगर समिति सदस्यको संलग्नता भनिए पनि सदस्यको नाम किटिएको छैन । नाम खोलिदिएको भए पुस्तकको विश्वसनीयता बढ्थ्यो । पोखरा क्षेत्रीय प्रहरी कार्यालयमा हुँदा आपराधिक पृष्ठभूमिका मिर्जा दिलसाद वेगले आफूसँग ‘सहुलियत मागेको’ दाबी गरेका छन् । तर, कस्तो र के विषयमा सहुलियत मागेका थिए, खुलाएका छैनन् । खरेलको पुस्तकमा यस्ता केही विषय छन्, जसले एकातिर उनको इमानदारीको परिचय दिन्छ भने अर्कोतिर उम्दा व्यक्तित्वमाथि प्रश्न उब्जाउँछ । लागूऔषध कारोबारको आरोपमा जफर अहमद र तुलसिंह केसीलाई जबर्जस्ती फसाइएको पुस्तकमा उल्लेख छ । दरबारको दबाब दिएर उनी उम्कन्छन् । अनुसन्धान अधिकृतको हैसियतमा उनले दरबारलाई मनाएको देखिँदैन ।

प्रहरीको गाडीले ठक्कर दिएर मरेको व्यक्तिलाई आफूले सहिद बनाएको सगर्व लेखेका छन्, राहत मिल्ने भनेर । तर, खासमा प्रहरीको अपराध छोपिएको हो । गायक प्रवीण गुरुङ प्रकरणमा समेत प्रहरीले दरबारलाई जोगाएछ, नक्कली ड्राइभर खडा गरेर । गाडी चलाएका थिए, तत्कालीन शाहज्यादा पारस शाहले । तर, सजाय बेहोर्न लगाएर क्षतिपूर्ति दिने सर्तमा नक्कली ड्राइभर प्रहरीले उभ्यायो ।

०४६ को आन्दोलनमा भारतीय राजदूत गाडी लिएर घुमेको देखे पनि कसैले पक्राउ गर्न स्वीकृति नदिएको पुस्तकमा उल्लेख छ । यसले ०४६ को परिवर्तनमा भारतको भूमिका थप प्रस्ट्याउँछ ।

प्रहरीलाई साधन–स्रोतयुक्त बनाउन आफूले दरबार र सेनासँग लामो संघर्ष गरेको प्रसंग केलाएका छन् पुस्तकमा । सेनापतिसँग त यही निहुँमा उनको बोलचाल बन्द भयो । अन्तत: उनले २२ बोर बन्दुक किने । प्रहरीभित्र ‘ढुकुर मार्ने’ भनेर चिनिने यो हतियार कामै लागेन । आधुनिक हतियार लिन दरबारसँग त्यत्रो लडेका खरेल युद्धमा कामै नलाग्ने हतियार किन्न किन बाध्य भए ? दरबारलाई दोष दिएर उम्किएका छन्, पुस्तकमा । तर, यो खरिदमा खरेलले कमाएको मान्ने प्रहरी धेरै छन् ।

१६ कात्तिक ०१६ को फुटबल खेलको प्रसंग रोचक छ । उक्त खेलमा राजा महेन्द्र र नेता बीपी कोइराला जर्सी पहिरिएर मैदानमा उत्रिएका थिए । राष्ट्रप्रमुख महेन्द्र, सरकारप्रमुख बीपी । महेन्द्रले नरेश ११ को कप्तानी गरेका थिए, बीपीले प्रधानमन्त्री ११ को । त्यो हैसियतमा उनीहरु मैदानमा उत्रिँदाको राजनीतिक सन्देश पनि जान्थ्यो ।

त्यो फुटबल खेल मात्रै थिएन, राजनीतिक भिडन्त पनि थियो । खेल बीपी कोइरालाको टिमले जितेछ । गोल गर्ने खेलाडी बीपी नै रहेछन् । संयोग ! फुटबलमा जितेका बीपीले एक वर्षपछि नै राजनीतिक मैदानबाट कारावास पुग्नुपर्‍यो । बीपी र राजाबीच सद्भाव बढाउन खेलाइएको खेल विपरीत देखिनु आफैँमा अचम्मलाग्दो छ । फुटबलले राजनीतिक खेलको संकेत गरेझैँ लाग्छ पुस्तक पढ्दा ।

निर्भीक, जोश–जाँगरले भरिला प्रहरी अधिकारी– पछिल्लो कालखण्डमा खरेलको यस्तै चित्र बन्यो । फुटबल खेलाडीका रुपमा गज्जब कौशल पस्किएका खरेल प्रहरी करिअरको उत्तराद्र्धमा त्यस्तो देखिएनन् । नपढी नहुने इतिहासका एक पात्र खरेलको पुस्तकले राजनीति, अपराध, तस्करी, व्यापार, प्रहरीको नेक्सस, चरित्र, प्रवृत्ति र शक्ति केलाउँछ ।

प्रकाशित: मंसिर ६, २०७५

ट्याग: पुस्तक