मेहदी हसन सन्ध्या

- जीवन क्षत्री

में होश में था तो फिर उस पे मर गया कैसे

ये जहर मेरे लहूमें उतर गया कैसे

कहिलेकाहीँ नसोचेको खजाना हात लाग्छ । एक दिन मेहदी हसनको उल्लिखित गजल सुनेँ । कार्यालय रहुन्जेल कैयौँ पटक सुनेपछि डाउनलोड गरेर फोनमा राखेँ । अनि, सुन्दै लागेँ घर । त्यो गजल ‘लुप’ मा बजिरह्यो, मेरा पाइला चलिरहे, ओठले गुन्गुनाइरहे ।

यति सन्तुष्टिको क्षण बाल्यकालपछि विरलै आउने गर्छ । गजलको माधुर्यले मलाई भर्खर निकालेको नौनी घ्यूको याद दिलाउँछ, ताजा, नरम र स्वादिलो । मुखमा राख्नासाथै पग्लिने । गीतको झंकार पनि कानका पर्दामा परेपछि त्यहीँ पग्लिजान्छ, रहन्छ त केवल गहिरो आत्मीयता र मिठास । 

दर्जनौँपल्ट गीत सुनेपछि मेरो ध्यान संगीत र स्वरको मिठासबाट शब्दले बोकेको गहिराइतिर तानिन्छ । गजलको पहिलो शेर वा मत्लामा कवि कामिल चाँदपुरीले प्रेमभावको गहिराइमा छलाङ लगाउँछन्: म होशमै थिएँ भने उसप्रति यति आशक्त कसरी भएँ ? मेरो नसानसामा (प्रेमको) विष कसरी पुग्यो ? चाँदपुरीको दोस्रो शेरमा हसन गाउँछन्:

कुछ उसके दिल में लगावट जरुर थी वरना

वह मेरा हाथ दबाके गुजर गया कैसे

सुन्दै जाँदा प्याजका पत्रैजस्तै शब्दका अर्थ खुल्दै जान्छन् । जति अर्थ खुले पनि त्यसको पूरा गहिराइमा नपुगेको आभासचाहिँ रहिरहन्छ । संगीतको एउटा मज्जा त्यो हो, ठ्याक्कै शब्दार्थ थाहा नभए पनि आनन्दित भइरहने । कहिलेकाहीँ अर्कै भाषाको गीत यति मधुर लाग्छ कि त्यसको अर्थ खोतल्नै मन लाग्दैन । ताकि कदाचित शब्दको अधूरो वा गलत अर्थका कारण संगीतको आनन्द नै फिका नभई जाओस् । मलयालम भाषाको ओरु आडार लव  सिनेमाको विख्यात गीत ‘माणिक्य मलराय पुबि’ को अर्थ मैले अहिलेसम्म खोजेको छैन । जबकि, मैले छोटो समयमा सबैभन्दा धेरैपल्ट सुनेका गीतमध्ये पर्छ त्यो । 

मेरो अनुमानमा गजलको दोस्रो शेरमा सुरुमा व्यक्त आशक्तिको रहस्य थोरै उघ्रिन्छ । सुरुमा आफूपट्टिको आशक्तिबारे बोलेपछि यसमा सायद अर्को पक्षको आशक्तिले स्थान पाउँछ– जसको दिलमा ‘लगावट’ थियो, उसैले आत्मीयतापूर्वक हात दबाएर पनि जान्छ । त्यसबाट आशक्ति एकोहोरो थिएन भन्ने प्रमाणित हुन्छ । अनि, दोहोरो आशक्तिको असम्भव परिणाम आउँछ–

जरुर उस की तवाजोकी रेहबरी होगी

नशें में था तो में अपने ही घर गया कैसे

कवि सुरुमा भन्छन्– म होशमै भए कसरी कसैप्रति ज्यानै दिने गरी आशक्त भएँ ? अबचाहिँ भन्छन्– म नशामै थिएँ भने आफ्नै घर कसरी पुगेँ  ? प्रेमले सिर्जना गर्ने विचित्र विरोधाभासलाई जीवन्त तरिकाले उतारेका छन् चाँदपुरीले ।

त्यही होस र बेहोसीको दोसाँधमा उनी प्रेमलाई यसरी अथ्र्याउँछन्– तवाजो अर्थात् माया वा आत्मीयता र रेहबरी अर्थात् पथ प्रदर्शन । प्रेमीलाई लाग्छ सायद– उसको मायाको पथ प्रदर्शनले बेहोसीमा भए पनि आफ्नै घर पुर्‍याउँछ । अनि मक्ता अर्थात् अन्तिम शेरमार्फत कविले उत्कर्षमा गजल टुंग्याउाछन् र मेहदी हसनले नौनीजस्तो स्वरमा गाउँछन्– 

जिसे भुलाये कइ साल हो गए कामिल

में आज उसकी गली से गुजर गया कैसे  

यसमा गजलको पात्रले लेखक कामिल चाँदपुरीलाई सोध्छ– जसलाई बिर्सेको वर्षौं भयो कामिल, म आज उसैको गल्ली हुँदै कसरी हिँडेँ ? अर्थात्, गजलका चार शेरमा चाँदपुरीले प्रेमको सुरुआत र अन्त्य मात्रै होइन, वर्षौंपछि गुमेको प्रेमप्रति उब्जने नोस्टाल्जियालाई समेत समेटेका छन् । प्रेम भएको, टुटेको र त्यसलाई बिर्सेको पनि अब वर्षौं भइसक्यो । तर, पाइलाहरुले अहिले पनि उसलाई हुत्याउँदै स्मृतिका तिनै पुराना गल्लीहरुमा पुर्‍याउँछन् ।

कात्तिकको सुनसान साँझ । म मूलबाटो छाडेर सानो तर सिनित्त पिच गरेका बाटोको छेउबाट हिँडिरहेछु । घरसम्म जम्माजम्मी सवा घन्टाको बाटो  छ । दिल्ली र काठमाडौँको ध्वाँसे हावाबारे समाचार पढिरहेका बेला चितवनको हावा कञ्चन प्रतीत हुन्छ । मेरो गुन्गुनाहट सुनेर एकाध घरबाट मानिसहरु सडकतिर चियाउँछन् । एकाध मोटरसाइकल छेउबाटै गुज्रिन्छन् । सायद तिनलाई कतै पुग्ने हतारो छ । त्यही हतारोबीच जीवन गुज्रिँदो छ । तिनलाई के थाहा, समयलाई मैले जस्तै खेर फाल्नुको मजा के छ भनेर । साँच्चै भन्नुपर्दा यिनै खेर गइरहेका क्षणमा मात्रै म आफू भएर बाँचिरहेको हुन्छु ।

एकैछिनमा घर आउँछ । कामिल चाँदपुरी र मेहदी हसनसितको बेजोड इनिङ सकिन्छ । म खान बस्छु तर मनमा हसनको उही मिठासपूर्ण आवाज घन्किरहेको छ– मे होशमें... । 

पछिल्लो पल्ट यस्तै मन छुने संगीत कुन थियो भनेर म गम खान्छु । बहुमुखी प्रतिभाका धनी पीयूष मिश्राको शब्द, संगीत र स्वर रहेको चलचित्र गुलालमा संलग्न ‘ओ दुनियाँ’ भन्ने गीतले मलाई यसरी नै महिनौँ वशीभूत पारेको थियो । अन्दाजी सयपल्टको प्रयासपछि म त्यो गीतका सबै शब्द याद गरेर सर्सर्ती गाउन सक्ने बनेको थिएँ । त्यो विचित्रको गीत यसरी सुरु हुन्छ–

हो री दुनियाँ, हे री दुनियाँ

सुरमयी आाखोंके प्यालोंकी दुनियाँ दुनियाँ

सतरंगी रंगो गुलालोंकी दुनियाँ दुनियाँ

प्यासा  चलचित्रमा संलग्न साहिर लुधियानवीको विख्यात गीत ‘ये दुनियाँ अगर मिल भी जाए तो क्या हे’ प्रति समर्पित भनेर मिश्राले सिर्जना गरेको यो गीत सम्भवत: मानव जीवनका अनेक रंगलाई एउटै सिर्जनामा अटाउने एक विरल कलाकृति हो । यसमा सुरुमा उनले संसारलाई गाजल पोतिएका आँखा, सप्तरंग र अबीर, फूलैफूलले सजाइएको बेड र अल्छीपूर्वक आङ तन्काइरहेको परेवासित तुलना गर्छन् । लगत्तै भावनाको गहिराइ बढ्दै जान्छ र संसार बुझाउन अरुअरु विम्ब प्रयोग हुन्छन्– कोल्टे परेर सुतिरहेको सत्य, मानिसको बहुलाउँदै गरेको मति, इच्छाले बेरिएका आवश्यकता, सपनाको नियत आदि । 

साहिर लुधियानवीको ‘ये दुनियाँ अगर मिल भी जाये तो क्या हे’ वाक्यांश यो गीतमा ६ पटक दोहोरिन्छ । धनसम्पत्ति र सांसारिक सुखका लागि सास रहुन्जेल मरिमेट्नेहरुलाई प्रश्न गर्दै मिश्रा गाउँछन्– 

ममताकी बिखरी कहानी की दुनियाँ दुनियाँ

बेहनोंकी सिस्की जवानी की दुनियाँ दुनियाँ

आदम के हवासे रिश्तेकी दुनियाँ दुनियाँ रे

हे, शायरके फिके लजों कि दुनियाँ दुनियाँ  

आदम र इभबाट सुरु भएको मानिने संसार, जहाँ माया–ममता र प्रेमको खडेरी छ, त्यसलाई गीतले कुनै कविको फिक्का सिर्जनासित तुलना गर्छ । हाम्रो दैनिक जीवन त्यस्तै फिक्का छैन र ? तपाईंको जीवनमा विगत वर्षमा कति त्यस्ता क्षण थिए, जसलाई कुनै कविको विलक्षण कवितासित तुलना गर्न मिल्छ ? त्यसपछि मिश्राले हाम्रो युगलाई धक्का दिएर झक्झकाउने मानिसको स्मरण गर्छन्– 

गालिबके, मोमिनके, खाबों की दुनियाँ

मजाजों के उन इन्कलाबों की दुनियाँ

फैजफिराकसाहिरमखधुममिर की जौक की दाघों की दुनियाँ

मिर्जा गालिब र मोमिनदेखि विभिन्न समयका क्रान्तिकारी कविहरु मजाज लखनवी, फैज अहमद फैज, फिराक गोरखपुरी, साहिर लुधियानवी, मखदुम मोहिउद्दिन, मिर तारिक मिर, मो इब्राहिम जौक र दाघ देह्लभी, सबै यी हरफमा अटेका छन् । आफ्नो समयलाई परिभाषित गर्न सक्ने अग्रजहरुलाई अभिनन्दन गर्ने कस्तो कलात्मक तरिका । 

गीतको उत्तराद्र्धमा मिश्राले जीवनको क्षणभंगुरता र मानिसको अदूरदृष्टिमाथि निशाना लगाउाछन् । क्षणमै परिवर्तन हुन्छ, क्षणमै रात ढल्छ । जो बिहानसम्म बच्छ, उसले बचेको संसार खोजेर आफ्नै भनेर सम्हाल्नुपर्छ । ससानो कुरामा पनि आगो उठ्ने यो संसारमा जलिरहेको घरमा पनि वास भेट्टाउनुपर्छ । अन्त्यमा चाहिँ संसार बचाउने भनेर बनाइएका दर्शनले संसार जलाउने स्थितिप्रति उनले कटाक्ष गर्छन्– संसार यति मात्रै होइन भन्छन्, ताराहरुको अर्कोपट्टि पनि अर्को संसार छ भन्छन्, जहाँ सृष्टिकर्ता बस्छन् भन्छन् । हाम्रो सबै कुरा उहीँ निर्धारित हुन्छ भन्छन् । जान्नेबुझ्नेहरुले भनेको सही नै होला । तर, यस्ता गीतले सोचाइलाई बहकाउमा पार्छ–

आलिम ये केहेता वहाँ ईश्वर हे,

फाजिल ये केहेता वहाँ अल्लाह हे,

कामिल ये केहेता वहाँ ईशा हे,

मञ्जिल यह केहेती तब इन्सान से कि

तुम्हारी हे तुम ही सम्हालो दुनियाँ  

यह बुझते हुए चन्द बासी चरागों

तुम्हारे ये काले इरादो कि दुनियाँ

अर्थात्, माथि ईश्वर, अल्लाह वा ईशा को छ भनेर विवाद भइरहे पनि यो हामी मानिसको संसार हो र हामीले नै यसलाई सम्हाल्नुपर्छ । निभ्नै लागेको बत्ती र अन्धकारका बीच मानिसका काला इच्छाहरुले नै यो संसारलाई आकार दिइरहेका छन् । 

मानिसले सिर्जेको संसारको यति जीवन्त चित्रण अन्त कता पाइएला र  ? यदि त्यो पाइयो भने मेहदी हसनका नौनीजस्ता गजलहरुमै पाइएला । 

प्रकाशित: मंसिर ५, २०७५

ट्याग: अनुभूति