काव्यको पछिपछि

- अभि सुवेदी

न्याय र स्वतन्त्रताको पक्षमा लेखेकैले भारतमा आलोचित पनि हुन्छन्, आशिष नन्दी । भारत कुनै एक जाति, धर्म र समुदायको मात्रै नभई साझा भूमि हो भन्ने तर्क गर्छन् उनी । केही समयअघि दिल्ली जाँदा आशिष नन्दी : लाइफ इन डिस्सेन्ट  भेटेर पढ्दैपढ्दै आएँ । महात्मा गान्धीमाथिका नन्दीको व्याख्यालाई धेरै विद्वान्ले केन्द्र बनाएर लेखेका छन् यस पुस्तकमा । रमिन जहानबेग्लू र अनन्या बाजपेयीबाट सम्पादित किताब मैले एकदमै आनन्द मानेर पढेँ । भारतमा आधुनिकताको समर्थक र विरोधीबीच द्वन्द्वको चरमोत्कर्ष कालमा गान्धीलाई नाथुराम गोड्सेले हत्या गरे । भारत स्वतन्त्रतापछि गान्धीले कृषिलाई जोड दिन चाहन्थे । उनी ठूल्ठूला उद्योग, कलकारखानाको पक्षमा थिएनन् । तर, जवाहरलाल नेहरु गान्धी–विचारका ठीक विपरीत उभिएका थिए । बाहिर नआए पनि नेहरुका लागि गान्धी अवरोधक थिए भन्ने किताबले खुलाउँछ ।

कतिपय के धारणा राख्छन् भने भारतीय आधुनिकताका लागि गान्धीको मृत्यु अनिवार्यजस्तै थियो । तापनि, उनको हत्या देशकै क्षति थियो । यसरी एउटा रुपकका रुपमा गान्धीसँग जोडिएका इतिहासलाई व्याख्या गरिएको छ । समाज मनोविज्ञानीका रुपमा परिचित नन्दी भारत विभाजनपछि व्याप्त रहेको भयको चर्चा गर्छन् । एक देशले अर्को देशबाट आफूलाई अलग राख्न एउटा एउटा धर्म च्यापेर बसेको कुरालाई प्रहार गर्छन् । भारतीय राजनीतिमा नीति/सिद्धान्त र कर्ममा तादात्म्य नभएको जिकिर गर्छन् । मध्यमवर्गीय पहुँचवालाले नै भ्रष्टाचार गरेको उनको निष्कर्ष छ ।

ऐतिहासिक घटनालाई नीलम कार्की निहारिकाले योगमायामा रोचक ढंगले उतारेकी छन् । क्रान्तिकारी/परिवर्तनकारीहरु आएपछि योगमायाबारे देशी/विदेशी लेखक–चिन्तकबाट खोजी सुरु भयो । यस उपन्यासलाई त्यसैको सफल उपलब्धि मान्न सकिन्छ । योगमायाको औपन्यासिक कला मन परेको हो । योगमायाका भाइ–बुहारीको मुखबाट समाख्यान गरिएकाले कथा अझ विश्वसनीय बनेको छ किनकि बुहारीले योगमायाका दु:ख, संघर्ष र जीवनका विविध पाटा बुझेकी थिइन् । यहाँ ब्राह्मण परिवारको संस्कृतिमा रहेको आदर्श, मानवीय सम्बन्ध, अन्धविश्वास आदिको कथा छ । जीवनीपरक उपन्यास लेख्नु ठूलो चुनौती उठाउनु हो । कुदिरहेको इतिहासलाई लेख्न निकै मुस्किल कार्य हो । विद्रोही व्यक्तित्व योगमायाबारे धेरैले जानेकाले पनि उपन्यासमा रुपान्तरण गर्नु अर्को कठिन काम थियो सायद । न्यारेटिभमा कहीँकतै चिप्लिएजस्तो भेटिए पनि यो किताब पढ्दा जीवन नै उपन्यासजस्तो लाग्छ ।

मेरा प्रिय लेखक एडवर्ड सईदको संस्मरण आउट अफ प्लेस  पढ्दा पनि आनन्द लाग्यो । पश्चिमाहरुले पूर्वीय इतिहास लेख्दा सधैँजसो रहस्यमय, अनौठो रुपमा चित्रण गरिरहे । कतिपय रिपोर्टरले पूर्वका मानिसहरुको त साना पुच्छर पनि देखिएको भनेरसमेत लेखेछन् । अक्सफोर्ड र क्याम्ब्रिजजस्ता विश्वविद्यालयमा पनि नेपाल–भारतका मानिसलाई अद्भुत, कल्पनाशील र उडन्तेका रुपमा पढ्ने–पढाउने गरेको पाइयो । अनि, उनीहरुले हामीलाई हेर्ने दृष्टि र शास्त्र यथार्थपरकभन्दा उडुवा भए । त्यही दृष्टिकोणलाई प्राच्यवादका रूपमा व्याख्या गर्दै सईदले त्यसको आलोचना गरे ।

सईदका आमाबा पनि एक देशबाट अर्को देशमा निर्वासित हुँदै गए । दर्पणमा देखिने सीमान्त दृश्यजस्तै जीवन भोग्दै हिँडे सईद । ठूला भनिएका संस्कृतिले अन्य संस्कृतिलाई पुरातनको छाप लगाएर आधुनिक होइन भनिदिए । त्यस्ता शासक–संस्कृतिको विरोधमा सईद बोलिराखे । प्रखर समालोचक–सिद्धान्तकार भएर पनि उनले आफूभित्र निर्वासित मनोविज्ञान भेटिरहे ।

आत्मजीवनीमा एक प्यालेस्टेनी क्रिस्तानी परिवार कसरी निर्वासित जीवनको पीडा बोकेर एक भूमिदेखि अर्को भूमिमा भौँतारियो भन्ने मर्मस्पर्शी कथा छ । पुस्तकअनुसार सईदको रगतमा ल्युकेमिया भेटियो र डा कान्ति राईको औषधीको सहयोगमा उनले जीवन सहज बनाए । ती राई नेपाली नै हुन् कि मलाई खोज्न मन छ । सईदलाई लागेछ– ‘जीवनको निजत्व त एक ठाउँमा अडिने ढिक्का होइन रहेछ, प्रवाहमान/गतिमान हुनु रहेछ । अनेक तरंगहरुको संयोग रहेछ जीवन ।’ यसरी हेर्दा उनको चिन्तन प्रक्रियामा पनि आफ्नो स्थायी घर नहुनुको पीडा कहीँ–कतै रहेछ ।

सईदले आफ्ना पुस्तकबाट साहित्य–समालोचना, सांस्कृतिक व्याख्या र सौन्दर्यशास्त्रमा दृष्टिकोण नै बदलिदिए । उनले प्रमाणित गरिदिए कि पूर्वसँग जादूयी कथा र मिथक मात्र छैनन्, मौलिक सांस्कृतिक जराहरु छन् । यस्ता चिन्तकको जीवनी कस्तो होला भनेर खोज्दै जाँदा आउट अफ प्लेसमा पुगेँ । तर, जुन पुस्तकमा पुगे पनि मैले खोज्ने तत्त्वचाहिँ काव्यिकता नै रहेछ ।

प्रस्तुति : गुरुङ सुशान्त 

प्रकाशित: मंसिर ५, २०७५

ट्याग: किताब