आवरण कथा : आत्मकेन्द्री नेता, अस्पष्ट एजेन्डा

- सन्तोष आचार्य

पात्रो पछ्याउने हो भने महाधिवेशन आउन दुई वर्ष बाँकी छ । तर, नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई भने अहिल्यै महाधिवेशन लागिसक्यो । गत वर्ष तीन तह चुनावमा नमीठो पराजय भोगेको यो पुरानो पार्टीका नेताहरू अलिअलि सक्रिय बन्न थालेका छन् । उनीहरूको उद्देश्य कांग्रेसलाई प्रमुख प्रतिपक्षी पार्टीका रूपमा सदनभित्र/बाहिर प्रभावी बनाउनेभन्दा पनि यसै महिनाको अन्त्यमा हुने भनिएको महासमितिमार्फत आगामी महाधिवेशनमा आफ्नो वर्चस्व सुनिश्चित गर्ने हो । यो मिसनमा कतिपय जिल्ला सभापति र अगुवा कांग्रेसहरू पनि मज्जैले मिसिएका छन् ।

जस्तो कि, पोहोरको चुनावी पराजयपछि आफ्नै अग्रसरतामा ३० जिल्ला घुमिसकेका शेखर कोइरालाले ठ्याक्कै काका गिरिजाप्रसाद कोइरालाको शैली अपनाएका छन्– बिहान सबेरै उठ्ने, कार्यकर्ता भेट्न थालिहाल्ने । सक्दो देश दौडाहा गर्ने । उनको सक्रियताको आभास पाएरै हुनुपर्छ, कांग्रेस केन्द्र र जिल्लाका अगुवाहरू उनलाई भेट्न एकाबिहानै धापासीको घरमा पुगिहाल्छन् । तिनको भनाइ हुन्छ– आउने महाधिवेशनमा शेखरदालाई सभापति बनाउने । उनीहरूको दाबीलाई पत्याउने हो भने शेखर कार्यकर्तासँग हेलमेल भएका नेता हुन्, उनी जिल्लाजिल्ला पुगेर खट्न सक्छन्, राजनीतिक सुझबुझ राख्छन्, देशविदेश सबैतिर सन्तुलित सम्बन्ध राख्न सक्छन्, कोइराला हुन्, तर पारिवारिक विरासतको राजनीतिलाई खायस गर्दैनन् ।

कांग्रेसमा शेखरलाई पत्याउनेहरू मात्रै छैनन्, महामन्त्री शशांक कोइरालाको महाराजगन्ज निवासमा जय नेपाल गर्न पुग्नेहरू ‘बीपीपुत्रमा पुनर्ताजगी’ खोजिरहेका हुन्छन् । उनीहरूको तर्कलाई मान्ने हो भने सभापति शेरबहादुर देउवाले कांग्रेसलाई पराजय त हात लगाए नै, सत्ताशक्तिमा छँदा अनेक थरी कलंकको टीका पनि लगाइदिए । उनीहरूले सभापतिमा भोट हालेका रामचन्द्र पौडेलले देउवालाई टक्कर दिन नसकेको जिकिर गर्दै यो काम उनै बीपीपुत्रबाट फत्ते गरिनुपर्ने ‘नम्र अपेक्षा’ राख्दै आएका छन् । उनीहरूको मनसाय बुझेका शशांकले अरू बेला चुइँक्क नबोले पनि बेलाबखत हिन्दु धर्मको नारालाई राजनीतिकरण गर्ने प्रयास पनि थालेका छन् ।

नेतापिच्छेका गतिविधि नियालिरहेका सभापति देउवा पनि चुप बस्ने कुरा भएन । रोचक के भने उनलाई पुट दिन बुढानीलकण्ठ निवास धाउने कार्यकर्तामध्ये कतिपय तिनै हुन्छन्, जो शेखर र शशांककहाँ पनि पुगिसकेका हुन्छन् । तिनको दाबीमा– कोइरालाहरूका सिलसिलेवार गल्तीले कांग्रेसलाई आजको हविगतमा पुर्‍याए, पार्टी हाँक्ने अरूको ल्याकत नभएकाले देउवा नै फेरि अग्रसर हुनुपर्नेछ ।

बाँकी रहे रामचन्द्र पौडेल । तिनैतिनै कार्यकर्ताहरू बोहराटार निवास पुगेर पौडेललाई सर्काउँछन्, “दाइ, तपाईंमाथि धेरै नै अन्याय भयो । न प्रधानमन्त्री बन्न दिइयो, न त पार्टी सभापति । तपार्इं फेरि सक्रिय हुनुपर्छ । असल कांग्रेसीहरू साथमा छन् ।”

के प्रकाशमान सिंह, के कृष्णप्रसाद सिटौला ? नेताको घरदैलो चहार्नेहरूले संकेतमा केही बुझेजस्तो छ, हिजोआज सुजाता कोइरालाको निवास भने शान्त छ । अघिल्लो साता उनले आयोजना गरेको लन्च भेटका कारण पार्टीभित्र/बाहिर सामान्य चर्चा भए पनि बीचमा रोगले थलिएकाले अनि कांग्रेसभित्रको शक्तिसंघर्षमा पछाडि परेकाले उनको सक्रियता पहिलेजस्तो छैन ।



नेतृत्वको अधिक केन्द्रीकरणका कारण आज पार्टी रक्षात्मक बन्दै गए पनि नेताहरूको घर कार्यकर्तामय रहिरहनुका पछाडि यही नेतामुखी मनोविज्ञानले काम गरेको छ । अर्थात्, बिहानै एक नेताकहाँ जाने, अर्को नेतालाई गाली गर्ने । नीतिको कुरा नगर्ने, नेताको वरिपरि घुम्ने । २८ मंसिरदेखि हुने भनिएको महासमिति बैठकमा यसैको झल्को देखिने सम्भावना काठमाडौँका दृश्यहरूले देखाइरहेका छन् । पार्टी उच्च स्रोतको भनाइबाट थाहा हुन्छ, बर्सेनि हुनुपर्ने पार्टी महासमिति बैठक बल्लतल्ल तेह्रौँ महाधिवेशनको अढाई वर्षपछि हुँदैछ, त्यो पनि आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने प्रारम्भिक मनोविज्ञान निर्माणका लागि ।

महाधिवेशनपछिको शक्तिशाली निकाय हो, महासमिति । पार्टीे विधानअनुसार महासमितिलाई केन्द्रीय पदाधिकारी र सदस्य चुन्नेबाहेक महाधिवेशनका सबै अधिकार दिएको छ । तर, पार्टीलाई वैचारिक र सांगठनिक रूपमा धारिलो बनाउन महासमिति बैठकको उपयोग गर्नुपर्नेमा विगतमा जस्तै यसपटक पनि यो मञ्च महाधिवेशनको तयारी–थलो मात्रै हुने देखिँदैछ ।

महाधिवेशनमा आ–आफ्नो गुट शक्तिशाली बनाउन महासमितिको चरम दुरुपयोग गर्नु कांग्रेसभित्र दोहोरिइरहने पुरानो कथा हो । संविधानअनुसार देशको नयाँ संरचनामा तल्लो निकायदेखि केन्द्रसम्मको सांगठनिक संरचना निर्माणका लागि विधान बनाउने क्रममा छ, यो पार्टी । तर, स्वयं विधान समितिमै नेताहरूको गुटगत प्रभाव देखिनुले पार्टीभित्र महाधिवेशन लागिसकेको प्रस्ट हुन्छ । विधानमा सभापतिको अधिकार, पदाधिकारी संख्या, निर्वाचन पद्धति, संसदीय बोर्ड चयन, सदस्यता वितरण तथा विशेष परिस्थितिको व्याख्यामा संस्थापन र इतरपक्षबीच मतभेद छ ।

सभापतिलाई बलियो बनाउने गरी पदाधिकारी संख्या बढाउने तथा केही पदाधिकारी चुनिने, केही मनोनीत गर्ने गरी विधानमा व्यवस्था गर्ने पक्षमा छन्, देउवा । रामचन्द्रदेखि सिटौला समूह भने निर्वाचन प्रक्रियामार्फत नै पार्टीका सबै पदाधिकारी चयन गर्नुपर्ने वकालत गरिरहेका छन् । तर्कवितर्क जे भए पनि दुवै पक्षको यो दाबी आगामी महाधिवेशनमा आफ्नो प्रभाव स्थापित गर्नेमा केन्द्रित रहेको बुझ्न कठिन छैन । साधारण सदस्यता वितरणदेखि केन्द्रीय पदाधिकारीको संख्या निर्धारण विवादको खास कारण आगामी महाधिवेशनमार्फत नेतृत्व हत्याउने अभियानको प्रारम्भिक झल्को हो ।

आगामी १४औँ महाधिवेशनमा संस्थापन खेमाबाट सभापति देउवा मात्रै सभापतिको दावेदार छन् । संस्थापनइतरमा भने महत्त्वाकांक्षीको लर्को देखिन्छ । वरिष्ठ नेता पौडेल, नेताहरू सिटौला, प्रकाशमान, महामन्त्री कोइराला वा केन्द्रीय सदस्य शेखरको आँखा सभापतिको कुर्सीमा छ ।


चियापान कार्यक्रममा कांग्रेस नेताहरू | तस्बिर : इलिट जोशी


देउवाको दाउ

दुई वर्षपछि १४औँ महाधिवेशन हुने बेलासम्म ७५ वर्षका हुनेछन्, देउवा । उमेर ढल्किँदै गए पनि शक्तिमा रहिरहने उनको महत्त्वाकांक्षा सेलाएको छैन । यही बुझेर हुनुपर्छ, काठमाडौँमा २९ भदौमा आयोजित एक कार्यक्रममा महामन्त्री शशांकले देउवाकै अघिल्तिर कर्‍याङकुरुङ चराको कथा हाले । कथाको कर्‍याङकुरुङले हजारौँ माइल यात्रा गरिसकेपछि विश्राम लिन्छ, अर्को सहयात्रीलाई अगाडि बढ्न बाटो खुला गर्छ । कथाको सार खिच्दै महामन्त्रीले आगामी महाधिवेशनपछि सभापति छाड्न देउवासामु घुमाउरो आग्रह गरे । सत्ताराजनीतिका चतुर खेलाडी देउवाले जवाफ दिए, “कथाको कर्‍याङकुरुङ थाक्यो होला, म त थाकेको छैन । मैले किन छाड्ने ?”

देउवाले लोकतान्त्रिक फोरमबाट पुरानो घर फर्केका विजयकुमार गच्छदारलाई यसबीचमा पार्टी विधान मिच्दै उपसभापति बनाए । खुमबहादुर खड्का बितेसँगै असरल्ल छरिएका समर्थकलाई आफूतिरै खिचे । मीनेन्द्र रिजाललगायत विगतमा आफूसँग रुष्ट भएर कोइराला खेमातिर पुगेका नेतालाई फकाउन  समय खर्चिए । यसरी उनले पार्टी आम रूपमा कमजोर बन्दै गए पनि आफ्नो आन्तरिक प्रभुत्व थप मजबुत बनाए । आफ्नो खेमामा त देउवा निर्विकल्प भइहाले ।

नेतृत्वको चाहना राख्न थालेका विपक्षी खेमाभित्रका पाँच आकांक्षी नेता पौडेल, शशांक, शेखर, प्रकाशमान र सिटौलालाई एकअर्कासँग मिल्न नदिने देउवा–रणनीति एकैसाथ जारी छ । याद रहोस्, अघिल्लो महाधिवेशनमा तेस्रो ध्रुव बनाएर प्रभावशाली युवाहरूको सहयोगमा सभापति उठेका सिटौलाले पराजयसँगै दोस्रो चरणको चुनावमा देउवालाई सघाएका थिए । यसबीचमा देउवाबाट उनलाई कुनै भरथेग त मिलेन नै, उल्टै गत प्रतिनिधिसभा चुनावमा पराजय भोग्नुपर्‍यो । यसको कारक उनले देउवालाई माने । विगतमा महामन्त्रीको प्रत्यासी बनेर देउवालाई साथ दिएका अर्जुननरसिंह केसीलगायतका नेता भने संस्थापन खेमाभन्दा टाढा पुगिसकेका छन् ।

विसं ०३९ मा बीपी कोइरालाको निधनदेखि ०४८ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नबन्दासम्मको समयलाई छाड्ने हो भने कांग्रेस सधैँ कोइरालाहरूको नियन्त्रणमा रह्यो । गिरिजाप्रसाद र सुशील कोइरालाको निधन भइसकेपछि पार्टीमा बाँकी रहेका ‘जुनियर कोइरालाहरू’ बीच आपसी वैमनस्यको लाभ देउवाले लिए । गिरिजाप्रसादसँग मनोमालिन्यका कारण ०५९ भदौमा पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक खोलेका देउवा कालान्तरमा संस्थापनमै फर्केर एकीकृत कांग्रेसको सभापति चुनिए । देउवाको कार्यकाल अब डेढ वर्ष बाँकी छ । विधानअनुसार सभापतिको अधिकार प्रयोग गरेर उनले कार्यकाल एक वर्ष लम्ब्याउन सक्छन् ।


कांग्रेस केन्द्रीय समितिको बैठक | तस्बिर : बिजु महर्जन


इतरखेमामा चिरैचिरा

संस्थापनविरुद्घ मोर्चा कस्नेहरूले यसअघिसम्म रामचन्द्र पौडेललाई नेता मान्दै आए पनि सारमा आफ्नो समूहभित्र पौडेल सभापतिका एक मात्र दावेदार होइनन्, पार्टीभित्रका मुद्दामा देउवा खेमा एक ठाउँ उभिँदै आए पनि रामचन्द्रको खेमा एक ठाउँ छैन । पार्टीभित्रका प्रतिद्वन्द्वीबीच नै प्रतिद्वन्द्विता बढ्नुको फाइदा देउवाले उठाइरहेका छन् । जस्तो कि, शेखरले उपसभापतिमा गच्छदारको मनोनयनलाई राजनीतिक निर्णय भन्दै देउवाको बचाउ गरिदिए । जबकि, पौडेल भने विधानविपरीत मनोनयन गरिएको भन्दै सभापतिको आलोचनामा ओर्लिए ।

संस्थापन विरोधी यो समूहमा अहिले दुई केन्द्र बन्न गएका छन् । एउटा बोहराटारस्थित पौडेल निवास र अर्को सुजाता कोइरालाको मण्डिखाटार निवास । पार्टीभित्र आफ्नो ‘पोजिसन’ बलियो बनाउन पौडेल, शशांक, शेखर, सुजाता, केसी, रामशरण महतबीच २६ कात्तिकमा भेटघाट भयो, सुजाता निवासमा । यसअघि पौडेल निवास बोहराटारमा १९ कात्तिकमा बसेको बैठकमा भने प्रकाशमान, अर्जुननरसिंह, सीतादेवी यादव, दिलेन्द्रप्रसाद बडु, गगन थापालगायतका नेताहरू उपस्थित भए पनि कोइरालात्रय शशांक, शेखर र सुजाता उपस्थित थिएनन् । कोइरालाहरूको ध्याउन्न अबको महाधिवेशनमा पौडेललाई नेता मान्नुको साटो आफूहरूमध्ये कोही सभापतिको दावेदार हुने देखिन्छ भन्नलाई यो सानो दृष्टान्त मात्रै हो ।

देउवाविरुद्घ प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप पौडेलले आफ्नै समूहबाट खेप्दै आएका छन् । पदाधिकारी मनोनयन, निर्वाचनमा पार्टी पराजय, नेपाल विद्यार्थी संघको विवादलगायतका कुनै पनि विषयमा अडान लिन नसकेको आरोप छ, उनीमाथि । तर, पार्टीभित्र पौडेल नै संस्थापनइतरका त्यस्ता नेता हुन्, जो नेतृत्व परिवर्तनका लागि प्रयासरत छन् । “नेतृत्व परिवर्तन मात्र गरेर हुँदैन नीतिगत सुधार जरुरी छ, कार्यसम्पादनदेखि मनोविज्ञान पनि परिवर्तन जरुरी छ । यी सबै काम गर्न परम्परागत नेतृत्वबाट सम्भव छैन,” केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, “पार्टी पुनर्गठन जरुरी छ । योजनागत रूपमा प्रस्ट हुनु जरुरी छ । नीति, सिद्घान्त, योजना र कार्यक्रम समयसापेक्ष बनाएर सोहीअनुरूपको नेतृत्व अपेक्षित छ ।”

वरिष्ठ नेता पौडेल भने आफ्नै समूहका नेताहरूसँग सशंकित छन्, विशेषगरी सिटौला, प्रकाशमान, शंशाक र शेखरप्रति । संसदीय दलको निर्वाचनमा महामन्त्री शशांक प्रकाशमान सिंहको प्रस्तावक वा समर्थक नबसेपछि पौडेल खेमा शशांकसँग सशंकित मात्र छैन, असन्तुष्ट पनि छ । सिंहले पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेकाले आफू नै देउवाइतर समूहबाट सभापतिको प्रत्यासी हुनुपर्ने दाबी गर्दै आएका छन् । भन्छन्, “संसदीय दलको नेतामा मैले देउवाजीसँग प्रतिस्पर्धा गर्नुको अर्थ हो, अबको महाधिवेशनमा सभापति पदमा उनलाई फेरि चुनौती दिनु । हामी एकजुट भएर अगाडि बढ्छौँ, नेतृत्व परिवर्तनको विकल्प छैन ।”

पौडेलको पण्डालभित्र सिटौला पनि छन्, जो आफैँ एउटा गुटको प्रभावशाली नेता हुन् । तेह्रौँ महाधिवेशनमा तेस्रो ध्रुव खडा गरेर सभापतिका उम्मेदवार बनेका सिटौलाले दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गरेका थिए । तर, पछिल्लो समय देउवाबाट अपमानित भएका सिटौलासँग महामन्त्री पदका आकांक्षी गगन थापादेखि प्रदीप पौडेलजस्ता युवा नेताको साथ छ । यही पुँजीका बलमा उनी आफूलाई सभापतिको दावेदार मान्छन् ।

पौडेल, कोइराला परिवार, प्रकाशमान, सिटौला, रामशरण महत, अर्जनुनरसिंह केसीहरू निर्वाचन परिणामपछि देउवाविरुद्घ मोर्चाबन्दीमा छन् । तर, आसन्न महाधिवेशनलाई लिएर भने विभाजित देखिन्छन् । दुई कोइरालाको अभिव्यक्तिले नै स्पष्ट गरिसक्यो कि यो समूहबाट पौडेल सर्वसम्मत सभापतिको दावेदार हुने स्थिति देखिँदैन । कोइरालाहरूले आफ्नो मोर्चा खोलिसकेका छन् ।


सुजाता निवास मण्डिखाटारमा संस्थापनइतरका नेताहरू, २६ कात्तिक


कोइरालाहरूको के होला ?

३ भदौमा महामन्त्री शशांकले विराटनगरस्थित कोइराला निवासमा घोषणा गरिदिए, ‘अबको महाधिवेशनमा म वा शेखरदामध्ये एक जना सभापतिको उम्मेदवार बन्नेमा शंका छैन, म कि दा (शेखर) भन्ने टुंगो लाग्न बाँकी छ ।’ कोइरालाहरूले आफ्ना महत्त्वपूर्ण अभिव्यक्ति कोइराला निवास, विराटनगरबाटै दिन्छन् भन्ने संकेत पनि थियो त्यो । त्यसपछि पनि पटक–पटक शशांकले यही कुरा दोहोर्‍याउँदै आएका छन् । जस्तो कि, पछिल्लो समय महोत्तरीदेखि बुटवलमा आयोजित कार्यक्रममा शशांकले ‘कांग्रेसको नेतृत्व अब कोइराला परिवारले लिने’ उद्घोष गर्दै हिँडिरहेका छन् । महामन्त्री शशांक भन्छन्, “पार्टीपंक्तिसँग सल्लाह लिएर म वा शेखरदा आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुनेछौँ । अब कसैको पछि लागेर राजनीति गर्ने होइन ।”

शेखरले भने सार्वजनिक रूपमै पार्टी नेतृत्वमा आफ्नो दाबी गर्न थालेका छन् । पछिल्लो पटक उनले एक टिभीलाई अन्तर्वार्ता दिँदै कांग्रेस हाँक्ने आफ्नो चाहना लुकाएनन् । ‘मंसिरमा बाली लगाउने हो भने असारमा बीउ रोप्नैपर्‍यो नि । त्यसैले म जिल्लाजिल्ला पुगेर कार्यकर्ताको भावना बुझिरहेको छु,’ उनले भने । तर, उनले शशांकले जस्तो कोइराला परिवारबाट एक जना उम्मेदवार हुने बताएका छैनन् । उनले कोइराला विरासतसँग आफूलाई नजोडी सोझै नेतृत्वको दाबी अगाडि सारेका छन् ।

कोइरालाबन्धुको मूल नेतृत्वको दाबीले देउवाइतर समूहको नेतृत्व गरिरहेका पौडेलदेखि तेस्रो मोर्चाको नेतृत्व गरिरहेका सिटौलासम्मलाई धक्का लाग्नु अस्वाभाविक होइन । शेखर भन्छन्, “कति कुरामा म देख्दाखेरी रामचन्द्रजीसँग नजिकै भए पनि उहाँका कतिपय कुरा मान्दिनँ । किनकि, हामी आफ्नो हिसाबले अगाडि बढिरहेका छौँ ।”

संस्थापन पनि हुन नसक्ने अनि नेतृत्वमा  पुग्न नसकिने देखेपछि पछिल्लो एक वर्षमा कोइराला परिवारका शेखर, सुजाता र शशांक एक ठाउँ आउन थालेका हुन् । तेह्रौँ महाधिवेशनमा पौडेल क्याम्पका तर्फबाट महामन्त्री लड्ने तयारीमा थिए, शेखर । तर, अन्तिम समय पौडेलले नोनापुत्रभन्दा बीपीपुत्रलाई महत्त्व दिन जरुरी ठाने । परिणाम, क्याम्पबाट शेखर बाहिरिए, शशांक भित्रिए । शेखरलाई न देउवा गुटले रुचाएको देखियो, न त पौडेल गुटले नै । यसैले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने तयारीका साथ देश दौडाहामा लागे उनी ।

उता, हिन्दु राष्ट्रको वकालत गर्ने शशांकलाई खुमबहादुर खड्काको निधनपछि उक्त समूहभित्र रहेका कुलबहादुर गुरुङदेखि लक्ष्मण घिमिरेसम्मको सहयोग रहन सक्छ भन्ने आश हुन सक्छ । किनभने, यो समूह कुनै बेला कोइराला परिवारभित्रै थियो । कोइराला परिवारबाटै राजनीतिक अनुभव बटुलेका गच्छदार पनि त्यसभित्र अटाउन सक्ने स्थिति रहन्छ । गच्छदारलाई देउवाले अन्तिम समयमा आफूसँगै राख्न नसकेको स्थितिमा विशेषगरी शेखरको प्रयासमा उनी कोइराला क्याम्पमै आउन सक्छन् । तर, यो सम्भावना भने तत्काल कम छ । बरु संस्थापन खेमामा रहेर पनि देउवापत्नी आरजुको व्यवहारका कारण आजित उपसभापति विमलेन्द्र निधि महाधिवेशनको सँघारमा कुन खेमामा पुग्छन्, यसै भन्न सकिन्न ।

बीपीपुत्र हुनुको विरासतीय लाभ शशांकलाई छ । पार्टीमा उनी निर्वाचित महामन्त्री हुन् । यसैले आगामी महाधिवेशनमा उनले सभापतिको दाबी गरे अप्रत्यासित हुने छैन । तर, दाजु शेखरको राजनीतिक सुझबुझ, विगतमा उनले देखाएको राजनीतिक कौशल र पूर्वदेखि पश्चिम नेपालका कार्यकर्ता पंक्तिसँगको सामिप्यलाई पन्छाउन उति सहज छैन । दुवैबीचको महत्त्वाकांक्षाको टकराव व्यवस्थापन कसरी हुन्छ, यसैमा अन्तर्निहित छ, कोइरालाबन्धुको राजनीतिक भविष्य ।

गिरिजापुत्री सुजाता क्यान्सरले प्रभावित भएपछि राजनीतिक महत्त्वाकांक्षाबाट टाढिएकी छिन् । यसैले दुई दाजुभाइको आकांक्षामा उनी बाधक छैनन् । तर, पार्टी नेतृत्व कोइराला परिवारमै आउनुपर्ने चाहनालाई उनले लुकाएकी पनि छैनन् । सुजाता भन्छिन्, “म नेतृत्वको दौडमा छैन । तर, मेरो साथ र सहयोग दुवै (शेखर र शशांक) लाई छ । पहिले पार्टी जोगाउनुपर्‍यो । पार्टी जोगाउन कोइराला थर झुन्ड्याएर मात्र पुग्दैन, चरित्र पनि राम्रो हुनुपर्छ । क्षमता पनि देखाउनुपर्छ ।”

यी सबै घटनाक्रमका बीच एउटा तथ्य भने स्थापित भइसकेको छ, विगतझैँ अबको कांग्रेसमा कोइराला भएकै भरमा विरासतको राजनीति गर्ने स्थिति छैन । किनभने, हिजोको संस्थापन तर कोइरालाविरोधी धारको नेतृत्व गर्ने रामचन्द्रदेखि प्रकाशमान दुवै कोइरालामध्ये कसैलाई पनि पार्टीको मूल नेतृत्वमा देख्न चाहँदैनन् । यही थिति कायम रहे शशांक या शेखरले नेतृत्वमा स्थापित हुन आफ्नै सामथ्र्य प्रमाणित गर्नुपर्नेछ, न कि वंशवृक्षको वरीयता ।

चौधौँ महाधिवेशन लक्षित गर्दै थालिएका यी अनेक उतारचढावमय दृश्यहरूको प्रतिविम्ब के कांग्रेस महासमिति बैठकमा देख्न पाइएला ? यसका लागि भने यो महिनाको आखिरीसम्म पर्खिनुपर्नेछ ।

यी पनि पढ्नुहोस् : 

सम्पादकीय : कांग्रेस जगाउने एजेन्डा

आवरण टिप्पणी : महासमितिबाट कांग्रेस ब्युँझेला ?

‘अब कसैलाई सुन्नेवाला छैन’– शेखर कोइराला

प्रकाशित: मंसिर ४, २०७५

ट्याग: आवरण