‘अब कसैलाई सुन्नेवाला छैन’– शेखर कोइराला

- सन्तोष आचार्य

डाक्टर साब, कांग्रेसको स्वास्थ्य कस्तो छ ?

बिरामी अवस्थामा देख्छु । कताकता मलाई लाग्छ, संविधान बनाउँदा नै हामी पछाडि पर्‍यौँ । हाम्रो नेतृत्वमा संविधान जारी भयो । हामीले राजनीति जित्यौँ तर चुनाव हार्‍यौँ । चुनावको हारजितलाई हामी अन्यथा लिँदैनौँ पनि । हाम्रो संगठन कमजोर भएर यस्तो परिस्थिति आयो ।

संगठन कसरी कमजोर भयो ?

तेह्रौँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाले जित्नुभयो । रामचन्द्रजी वरिष्ठ नेता हुनुभयो । महाधिवेशन भइसकेपछि हामी निर्वाचनमा गयौँ । तर, पार्टीलाई चलायमान गर्ने प्रक्रियामा हामी जाँदै गएनौँ । प्रचण्डजीको नेतृत्वमा हाम्रो सरकार थियो । त्यसपछि हाम्रै नेतृत्वको सरकार पनि आयो । त्यो सरकारमा पनि प्रचण्डजी आउनुभयो । तर, हामीले पार्टीलाई बिलकुल उपेक्षा गरेजस्तो देखियो । हामीले न पार्टी संगठनमा ध्यान दियौँ, न त पदाधिकारी चयनमा । शेरबहादुरजीले सुशीलदालाई काम गर्न नसकेको जुन आरोप लगाउनुहुन्थ्यो, त्यसको भूमरीमा उहाँ आफैँ पर्नुभयो । गिरिजाबाबुलाई बाँध्नुपर्छ भनेर शेरबहादुरजी, सुशीलदा, रामचन्द्रजी मिलेर अहिलेको विधान ल्याउनुभयो । त्यसपछि सुशीलदालाई बाँध्ने प्रयास शेरबहादुरजीले गर्नुभयो । यसले आफूलाई पनि बाँध्छ भनेर शेरबहादुरजीले बुझ्नुभएन ।

गुट, उपगुट, सहायक गुट, अनेक गुटको झुन्डजस्तो पो देखियो कांग्रेस ?

गुट छैन भन्ने होइन, गुट छ । तर, कांग्रेस एउटा साझा छाता हो भन्ने कुरा सभापतिजीले बिर्सनुभयो । उहाँ सानो समूहमा रमाउन थालेपछि पार्टी कमजोर हुँदै गयो । हामी सरकारको पर्फमेन्समा चुक्यौँ । संगठनको कमजोरीले गर्दा परास्त भयौँ ।

महासमितिले पार्टीलाई अक्सिजन देला ?

म देशभर गइरहेको छु । कार्यकर्तामा निराशा देखिएको छ । दुई तिहाइको सरकारले देश कम्युनिस्टमय हुन थाल्यो भन्ने छ । यस्तो स्थितिमा महासमिति बैठक ५ मंसिरबाट २८ लाई सारिएको छ । अब फेरि महासमिति सर्‍यो भने पार्टी नेतृत्व असफल भयो भन्ने बुझ्दा हुन्छ । अबको महासमितिमा केन्द्रीय समिति एकढिक्का भएर गए पनि कार्यकर्ता आफ्नै हिसाबले जाने अवस्था आउँछ । कांग्रेसभित्र यो नौलो तर गम्भीर कुरा हो । यसका लागि नेतृत्व तयारी अवस्थामा बस्नु जरुरी छ ।

यो नेतृत्वप्रति अविश्वास नै हो त ?

हो । तर, कार्यकर्ताले त्यस्तो प्रयास गरे भने कांग्रेसलाई त्यसले अक्सिजन प्रदान गर्छ । नयाँ सोच आउँछ । नयाँ विचार आउँछ । मैले बुझेअनुसार दुई–तीन वटा समूह बनेर महासमितिमा कार्यकर्ताको तहबाट छुट्टै प्रस्ताव आउँदैछन् ।

महासमितिमा मूल नेतृत्वले बुल्डोजर चलाउन सक्दैन ?

यसपटक त्यस्तो सम्भावना छैन । महासमितिले आगामी महाधिवेशनको मिति पनि तोक्नेछ । जुन विधान पास हुन्छ, त्यो चौधौँ महाधिवेशनदेखि लागू हुन्छ । यो विधान दुई तिहाइबाट पास हुन सकेन भने पार्टी झन् अस्वस्थ हुन्छ । त्यो डर पनि छ ।

पछिल्लो समय पार्टी वैचारिक रूपमा पनि अलमलिएको देखियो नि ?

बीपीले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्नुभयो । व्याख्या पनि गर्नुभयो । राष्ट्रियताको सन्दर्भमा बीपी विचारको परिवेश अहिले छैन । राजसंस्था छैन । जनता नै राष्ट्रियताका प्रतीक हुन् । बीपी ‘माटोलाई हेर, प्रजातन्त्र अलाप्ने काम मात्र भयो भने अरूको पोल्टामा जान सक्छ’ भन्नुहुन्थ्यो । कांग्रेसका नयाँ/पुराना कार्यकर्ता समाजवाद छाड्यौँ भन्ने चिन्तामा देखिन्छन् ।

आर्थिक नीतिमा पनि कांग्रेस चुकेकै हो ?

अब त्यसमा परिवर्तन ल्याउनुपर्‍यो । गाउँमा जाँदा खेती गर्ने मान्छे नै भेटिँदैनन् । श्रमशक्ति पलायन भइसक्यो । जग्गा बाँझा हुन थाले । उत्पादकत्व घटिरहेको छ । सामूहिक खेतीमा आउन चाहनेलाई सरकारले विशेष सुविधा दियो भने बीपीले सोचेजस्तै ‘स्मल इज ब्युटिफुल’ अवधारणा लागू हुन्थ्यो । हामी कुव्यवस्थापनमा परिरहेको त होइन भन्ने लाग्छ ।

अब कांग्रेससँग मुद्दा के छ ?

अबको कांग्रेसको राजनीतिक मुद्दा भनेको नेपाली राष्ट्रियता हो । यो अति नै कमजोर अवस्थामा पुगेको छ । त्यसलाई कसरी बलियो बनाउने भन्ने मुद्दा हुन सक्छ । दोस्रो भनेको संघीयता कार्यान्वयन पनि हो । संघीयतालाई सफल बनाउनेतिर कांग्रेस लाग्नुपर्छ । किनकि, संघीयता असफल हुनु भनेको संविधान नै असफल हुनु हो । त्यसपछि सोचेभन्दा अराजक स्थिति आउँछ । हाम्रो सार्वभौमिकतामाथि आँच पुर्‍याउने प्रयास पनि भइरहेकै छ । त्यसलाई जोगाउन पनि कांग्रेसले नेतृत्व गर्नुपर्छ ।

राष्ट्रियताको मुद्दा त केपी ओलीले उठाइराख्नुभएको छ, होइन र ?

कांग्रेसको जन्मदेखि बीपी, गणेशमान, किसुनजी, सुवर्णजी, गिरिजाबाबुसम्मले मुलुकको राजनीतिमा दबदबा कायम राख्नुभयो । ३० वर्षे पञ्चायती कालमा पनि कांग्रेसको दबदबा थियो । बीपीपछि गणेशमान, किसुनजी र गिरिजाबाबुले यसलाई जीवन्त राखेर अगाडि बढाउनुभयो । उहाँहरूका बीचमा पनि लडाइँ भयो । गणेशमान र किसुनजीले पार्टी छाड्नुभयो तर गिरिजाबाबुले त्यसलाई बोकेर हिँड्नुभयो । नत्र ०६२/६३ को आन्दोलनमा राजाले पेलेर लगिसकेका थिए । हामीले एउटा मुद्दा लिएर अगाडि बढ्यौँ । अहिलेचाहिँ मुद्दैमुद्दा छन् । तर, पार्टीको मूल नेतृत्वचाहिँ अकर्मण्य छ ।

चौधौँ महाधिवेशनमा फेरि यही नेतृत्व निर्वाचित भएर आयो भने के हुन्छ ?

अहिले कांग्रेस कमजोर छ । संगठन छँदै छैन भने पनि हुन्छ । देश संघीय संरचनामा गइसक्यो । तर, हामी भर्खर विधान बनाउन खोज्दैछौँ । नेतृत्वको अकर्मण्यका कारण यो स्थिति आएको हो । मूल नेतृत्व अहिले पनि बलियो छ, आन्तरिक रूपमा । अर्को सत्य के हो भने महाधिवेशनमा एकदमै सोचेर, सम्झेर र बुझेर भोट हाल्ने सुझबुझ भएका कार्यकर्ता आउँछन् । उनीहरू अब कांग्रेसलाई योभन्दा दयनीय हालतमा जान दिँदैनन् ।

यसपटक मूल नेतृत्वलाई चुनौती दिँदै सभापतिको उम्मेदवारी आउन सक्छ ?

पार्टीमा चुनौतीविहीन कोही छैन । बीपी, गिरिजाप्रसाद, सुशील कोइराला पार्टी सभापति हुनुभयो । बीपीले त पार्टी नै जन्माउनुभयो । यसलाई टेकेर विरासतको कुरा आइरहेको छ । म राजनीतिमा विरासतले मात्र काम गर्छ भन्ने मान्दिनँ । विरासत एउटा हदसम्म मात्र हो । दोस्रो कुरा, मभन्दा वरिष्ठ नेता धेरै छन् पार्टीमा । सम्मान गर्ने हो वरिष्ठलाई । तर, राजनीतिमा त कसले मिहिनेत गरेको छ, कार्यकर्तासित को भिजेको छ, कार्यकर्ताले कसलाई मन पराउँछन् । त्यो महत्त्वपूर्ण हुन्छ ।

कोइराला परिवारमध्येबाट कसको उम्मेदवारी आउँछ ?

कोइराला परिवारभित्रको विरासत हेर्नुभयो भने त बीपी कोइरालापुत्र शशांक, गिरिजाप्रसादपुत्री सुजाताभन्दा म पछाडि हुन सक्छु । किनभने, म नोना कोइरालाको पुत्र मात्रै हुँ । लिगेसीलाई पार गर्ने हो भने मैले शशांक र सुजाताले भन्दा धेरै मिहिनेत गर्नुपर्छ । कोसिस गर्दैछु । कहाँसम्म पुग्छु, हेरौँ ।

तेह्रौँ महाधिवेशनमा पारिवारिक कारणले तपाईं पछाडि फर्किनुपर्ने स्थिति आयो अन्तिम अवस्थामा । त्यही नियति दोहोरिन्छ कि ?

सुशीलदा भर्खर बित्नुभएको परिस्थिति थियो । त्यो एउटा घटना भयो, सकियो । अब कार्यकर्ताले के भन्छन्, म त्यसमा जान्छु । अब म कसैको कुरा सुन्नेवाला छैन । कार्यकर्ताले बस्नुस्, रामचन्द्रजी या शंशाकलाई गरौँ भन्छन् भने म स्वीकार्छु । तर, तीन जनामध्ये तपाईं नै उपयुक्त हुनुहुन्छ भने म पार्टी नेतृत्व लिन तयार छु ।

यी पनि पढ्नुहोस् : 

आवरण कथा : आत्मकेन्द्री नेता, अस्पष्ट एजेन्डा

सम्पादकीय : कांग्रेस जगाउने एजेन्डा

आवरण टिप्पणी : महासमितिबाट कांग्रेस ब्युँझेला ?

प्रकाशित: मंसिर ४, २०७५

ट्याग: संवाद