‘ब्रान्ड– हाम्रा हस्तकला’– मेयर चिरिबाबु महर्जन

- मनबहादुर बस्नेत

विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई विश्वका ३६औँ हस्तकला नगरीमा सूचीकृत गर्‍यो, २८ कात्तिकमा । ललितपुर नेपालकै पहिलो हस्तकला सहर बन्यो । परिषद्का एसिया प्रशान्त क्षेत्रीय अध्यक्ष घाडा हिजामीबाट मेयर चिरिबाबु महर्जनले प्रमाणपत्र बुझे । यसै सन्दर्भमा मेयर महर्जनसँग गरिएको कुराकानी :

‘हस्तकला सहर’ घोषणा हुनुले के अर्थ राख्छ ?

ललितपुर परापूर्वकालदेखि नै हस्तकलाको सहर हो । सहरको यो पहिचान यसअघि म चिन्थेँ, तपाईं चिन्नुहुन्थ्यो । यो उपाधि पाएपछि अब विश्वले हस्तकलाको सहर भनेर चिन्यो । यहाँ उत्पादित हस्तकलामा लप्पलनछप्पन हुँदैन । हामी अब यहाँ उत्पादित हस्तकलाका सामान गुणस्तर चिह्न छाप हान्छौँ । कुनै बेला नेपालको कार्पेट एकदमै उच्चस्तरीय थियो । तर, ब्रान्ड थिएन । अब हाम्रा हस्तकलाको ब्रान्ड भएको छ ।

सहरले यस्तो पहिचान पाउनुमा कसको भूमिका छ ?

हस्तकलाका शिल्पीलाई यसको मूल श्रेय जान्छ । यो पहिचानलाई विश्वव्यापी मान्यता दिलाउने मेरो लक्ष्य थियो । हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यको टिमसँग मिलेर राजनीतिकर्मीको हिसाबले त्यो काम फत्ते गरियो ।

हस्तकला भन्नासाथ तपाईंको दिमागमा कुन कलाको याद आउँछ ?

मूर्तिकला र काष्ठकला । जन्मिँदा, हुर्किंदा यही देखेँ । यहाँका मन्दिरमा भएका सबै कला स्थानीयले बनाएको सम्झिँदा गर्व लाग्छ ।

सहरले पाएको यो उपमाले सन् २०२० को पर्यटन वर्षमा कस्तो योगदान गर्न सक्छ ?

विश्वका ३५ वटा सहरले हस्तकला नगरीको उपमा पाएका छन् । ती देशमा हस्तकला नगरी घोषित मुलुकमा पर्यटन पर्व हुँदैछ भन्ने सन्देश जान्छ । कलाप्रेमीलाई नेपाल आउन प्रेरणा मिल्छ । 

दीर्घकालीन रुपमा पर्यटनसँग हस्तकलालाई जोड्नेबारे के सोच्नुभएको छ ?

नेपाललाई सगरमाथा, बुद्धभूमि, जीवन्त संग्रहालयको मुलुक भनेर चिनाइन्थ्यो यसअघि । अब हस्तकलाको मुलुक भन्ने फुर्को जोड्न पाइयो । नेपाल आउने पाहुनाले विश्वसनीय चिनो लिएर जान सक्छन् ।

नेपाली हस्तकलासँग मिल्दोजुल्दो चिनियाँ सामग्री पनि बजारमा देखिन थालेका छन् । यसले घरेलु हस्तकलालाई कस्तो असर गरिरहेको छ ?

हस्तकलाका पारखीले हातले बनाएको हो कि मेसिनले भन्ने सहजै खुट्याउँछन् । त्यसैले हामीलाई त्यस्तो ठूलो असर गरिहाल्दैन ।

सामान्य मानिसले त चिन्न सक्दैनन् नि ?

यसमा चाहिँ केही चुनौती छन् । हामीले हाम्रो मौलिक हस्तकलालाई प्रमाणित चिह्न दिन सक्नुपर्छ ताकि कोही नझुक्किऊन् । यसमा केन्द्रीय सरकारले पहल गर्नुपर्छ । ललितपुरमा केन्द्रीय सरकारले मेसिनबाट मूर्ति बनाउने अनुमति दिएको हामीले सुनेका छौँ । दिने/नदिनेबारे सोच्नुपर्छ । यसले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दैन ।

नयाँ पुस्तालाई सीप हस्तान्तरणको अभावमा कतिपय हस्तकला विलयको चरणमा छन् । यसलाई कसरी जोगाउने ?

हामीले तालिम दिइरहेका छौँ, वर्कसप सञ्चालन गरिरहेका छौँ । हिजोभन्दा अहिले बजार विस्तार भइरहेको छ । अझ ललितपुर हस्तकला नगरी बनेपछि यहाँ बनेका हस्तकलाको मूल्य बढ्छ । हाम्रा हस्तकला ब्रान्डेड भए विश्व बजारमा स्वत: यसको मोल बढ्छ । अब नयाँ पुस्ताको आकर्षण बढ्ने मेरो अनुमान छ ।

लोप भएका हस्तकलालाई ब्युँताउन सकिएला ?

लोप भएका हस्तकलाले बजार पाउने कुरा अनुभवसिद्ध हो । पहिले ‘क्लोजमुद्रा’ भैरवको मूर्तिको माग व्यापक थियो । बीचमा माग ठप्प भएकाले बनाउनै छाडियो । अहिले फेरि माग बढ्दो छ र बनाइँदैछ । बजारले माग्यो भने लोप भएका हस्तकला जोगिँदो रहेछ । सीपचाहिँ मर्न दिनुभएन ।

हस्तकलाका सिद्धहस्त कलाकार प्राय: विदेसिन्छन् । नेपालले किन राख्न सकेन ?

सिद्धहस्त कलाकार बाहिरिए भन्ने मान्दिनँ म । त्यो अपवाद मात्रै होला । नामी कलाकारको कमाइ यहाँ नै बढी छ ।

प्रकाशित: मंसिर ३, २०७५

ट्याग: अचानक