कांग्रेस जगाउने एजेन्डा

- सम्पादकीय

चुनाव त कांग्रेसले पहिले पनि हारेको हो, तर पार्टीपंक्तिमा अहिलेजस्तो निराशा व्याप्त थिएन ।

११ वर्षअघि पहिलो संविधानसभा चुनावमा प्रत्यक्षतर्फ २ सय ४० मध्ये ३७ सिट मात्रै जितेर कांग्रेस भारी अन्तरसहित दोस्रो हैसियतमा खुम्चेको थियो । तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला चुनावी प्रचारमा दौडिनुको साटो आफूसमेतलाई समानुपातिक उम्मेदवार सूचीमा राखेर काठमाडौँ बसिदिए । माओवादीको जित र कांग्रेसको हारलाई सामान्य ठान्दै, बरु हिंसा अन्त्य गर्ने आफ्नो मिसनले जितेको भन्दै कार्यकर्तामाझ अपिल गरे । राजनीतिक दलका लागि आवधिक जितहारभन्दा महत्त्वको प्रश्न उसका एजेन्डाको सहीपना हो । चुनाव सकिएलगत्तै कोइरालासहित कांग्रेसको पहिलो पंक्ति जिल्ला–जिल्ला निस्कियो । देशभरि ठूला–मझौला आयतनका आमसभा गरिए । नेतृत्वले कार्यकर्ताको आत्मविश्वास डगमगाउन दिएन ।

त्यसको एक दशकपछि कांग्रेसले चुनावी पराजयको उस्तै नियति बेहोर्‍यो । प्रधानमन्त्रीका रूपमा संविधान कार्यान्वयन गर्ने चुनावको नेतृत्व गरेका सभापति शेरबहादुर देउवाले पार्टीमा कुनै उत्साह सञ्चार गर्न सकेनन्, न त अरू नेताहरूले नै भरपर्दो विकल्प दिए । एकातिर एमाले–माओवादीको जित र त्यसपछिको एकता, अर्कातिर आम चासोका मुद्दाहरूमा गुम्दो पार्टी–पकडका कारण कांग्रेस रक्षात्मक बन्न पुग्यो । अहिले पनि कांग्रेस प्रमुख प्रतिपक्षी पार्टी त हो, तर जनतामा उसको उपस्थितिको उस्तो आभास छैन । नेताहरू कुदिरहेका छन्, तर ‘पार्टी’ सक्रिय छैन ।

यसबीचमा प्रधानमन्त्री केपी ओली र मन्त्रीहरूको कार्यशैली, संघ र प्रदेशका सरकार र तिनको अन्तर्विरोधबारे थुप्रै प्रश्न उठेका छन् । तिनका लागि संसद्भित्र/बाहिर खबरदारी छैन । कांग्रेस नेताहरू गुटगत भेला–भोज, व्यक्तिगत जिल्ला दौडाहा गर्दैछन् । तर, कांग्रेसको संस्थागत ध्वनि प्रवाहित छैन । नेपालको यो अंक तयारीका क्रममा हामीले ठाउँठाउँमा सुन्यौँ– गिरिजाप्रसाद कोइरालाका अनेकन् कमजोरी थिए, तर तिनको अनुपस्थिति आज कांग्रेसवृत्तमा खट्किरहेको छ ।

सम्पूर्ण आन्तरिक एकता, सामूहिक मनोभाव भएको गुटविहीन आदर्श पार्टी कल्पना गर्न सकिएला । स्वयं बीपी कोइराला, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहजस्ता मूर्धन्य नेता भएका बेलासमेत कांग्रेसभित्र गुटबन्दी उत्कर्षमा पुगेको इतिहास भने बिर्सन मिल्दैन । राजनीति शक्तिसंघर्षको मैदान हो । फरक यत्ति हो, आज कांग्रेससँग अन्तर्संघर्षका लागि कुनै एजेन्डा छैनन् । सभापतिलाई कति शक्ति दिने या नदिने, कार्यकर्ता कति तहका बनाउने, भ्रातृसंस्थाको अधिवेशन गर्ने कि नगर्ने, पदाधिकारीमा कुन गुटको कुन नेतालाई राख्ने या हटाउनेजस्ता झिनामसिना सवाल आज कांग्रेसका लागि पेचिला बन्न पुगेका छन् । सानेपा मुख्यालय सुनसान छ । नेतृत्वको आत्मकेन्द्री भाव बुझेर हुनुपर्छ– कार्यकर्ताहरू बूढानीलकण्ठ, बोहराटार र महाराजगन्जका दैलोबाहिर जुत्ता अटाउने स्पेस खोजिरहेका छन् ।

कांग्रेसलाई हिजोका दिनमा जनताले अनुमोदन गरेको उसको उदार राजनीतिक संस्कार र राष्ट्रिय जीवनमा महत्त्व राख्ने एजेन्डाहरूका लागि हो । आज यसले हार्दै गर्दा संसद्मा बहुमतविहीन पार्टीको मौका छोपेर कुनै पनि गठबन्धन भत्काई सत्तामा कसैगरी पुगिछाड्ने, अनि राज्यस्रोतमा मनमौजी गर्ने प्रवृत्तिसमेतले हारेको हो । यो कमजोरीबाट अरू पार्टीहरू पनि मुक्त छैनन् । कांग्रेसले भने आफूलाई इतिहासको ऐनामा हेर्न बिर्सेको छ । कार्यकर्तातिर फर्केको पार्टी होइन, नेतातिर फर्किएका कार्यकर्ताहरू उसका लागि समस्या बन्न गएका छन् ।

वाम सरकारलाई केन्द्र र प्रदेशका सदनमा खबरदारी गर्ने प्रभावशाली प्रतिपक्षको अभाव खट्किएको छ । कांग्रेसका लागि आफूलाई मूल्यांकन गर्ने, भूल सुधार्ने र राष्ट्रिय राजनीतिमा अर्थपूर्ण हस्तक्षेप गर्ने सुविधा उपलब्ध छ । के नेतृत्वले यसका लागि आफूलाई तयार पार्नेबारे केही सोचेको छ ?

प्रकाशित: मंसिर २, २०७५