बफादार कुकुर [भिडियो सहित]

- नेपाल संवाददाता

आफ्नो मालिक मरेपछि एक कुकुरले चीनको व्यस्त सडकमा करिब ८० दिनसम्म कुर्‍यो ।  मालिक मरेपछि उक्त कुकुर गत अगस्त २१ देखि दिनहुँ सोही सडकमा देखियो । त्यस ठाउँबाट धपाउन खोज्दा भागिरह्यो । चीनको पिएर  वेबसाइटका अनुसार एक ट्याक्सी ड्राइभरले भनेका छन्, ‘मालिकसँगको प्रगाढ प्रेमका कारण कुकुर केही कुराको परवाह नगरी एकै ठाउँ बसिरह्यो ।’

भित्री मंगोलियाको होहोट सडकबीचमा खिचिएको त्यो भिडियो फुटेज त्यहाँको चर्चित माइक्रोब्लग सिना होइबुमा १४ लाख पटकसम्म हेरिएको छ । कुकुरको यस्तो हालत देख्दा कुकुर र मानिसबीचको असल सम्बन्धको व्याख्या गर्न थालिएको छ । गत १० नोभेम्बरमा खिचिएको भिडियो हेर्ने अनलाइन प्रयोगकर्ताले ‘बफादार’ भन्दै कुकुरप्रति श्रद्धा व्यक्त गरिरहेका छन् ।

चिनियाँ सामाजिक सञ्जालमा धेरैको मन चोरेको यो पहिलो कुकुर भने होइन । यसभन्दा पहिले सियोङसियोङ नामको कुकुर आफ्ना मालिक  कामबाट नफर्किन्जेल सबवेमा पर्खिएर बस्थ्यो ।

जापानको चर्चित कुकुर हाचिको पनि सन् १९२० को दशकतिर आफ्नो मालिकलाई दिनहुँ रेलवे स्टेसनमा कामबाट नफर्कुन्जेल कुरेर बस्थ्यो । मालिक बितेपछि पनि नौ वर्षसम्म लगातार कुरेर बस्ने उक्त कुकुरको प्रतिमा टोकियोस्थित शिवुया रेलवे स्टेसनमा राखिएको छ ।

भिडियो :

 

प्रकाशित: कार्तिक ३०, २०७५