[नोटबुक] मंगलसेनको झ्याल

- जनक तिमिल्सिना

मंगलसेन दरबार झ्याल्उनी घाम पड्यो

कै बाटा चिठी आयो, का जाने काम पड्यो

निर्माणाधीन मंगलसेन दरबारलाई घामको स्पर्शले छोइसकेको थियो । तर, त्यो घामलाई कलात्मक बनाउने दरबारका आकर्षक झ्यालहरु भने थिएनन् । एक बिहान म त्यही झ्याल खोज्न थालेँ । तर, ती आकर्षक झ्याल खरानी भएको पनि १७ वर्ष पुगिसकेको छ । कुनै बेला प्रत्येक अछामीको जिब्रोमा झुन्डिने यो गीत जसरी दरबार खरानीमा परिणत भयो, त्यसैगरी गीतको भाका पनि हराउँदै गएको छ ।

यी १७ वर्षमा खरानी बनाउनेहरु पटकपटक सत्तामा पुगे । जोगाउन खोज्नेहरु पनि सत्ताकै वरिपरि छन् । तर, ती झ्याल अझै बनेका छैनन् । अछाम सदरमुकाम मंगलसेनमा अवस्थित दरबार ४ फागुन ०५८ मा माओवादी आक्रमणमा ध्वस्त भएको थियो । तत्कालीन समय जिल्ला प्रशासन कार्यालय रहेको मंगलसेन दरबारलाई अछामको पुरानो ऐतिहासिक सम्पदाका रुपमा लिइन्छ ।

परम्परागत शैलीमा निर्माण गरिएको उक्त तीनतले दरबारमा ३० कोठा थिए । स्थानीयका अनुसार मंगलसेन दरबार तत्कालीन राजा दलबहादुर शाहको पालामा १९३५ मा बनेको हो । झन्डै डेढ सय वर्षअघि उनका पिता राजा टीकाभुक शाहको पालामा यसको निर्माण सुरु भएको थियो । यो दरबारलाई ०२९ मा अछामी राजाका सन्तानबाट सरकारले किनेको थियो ।

मंगलसेन दरबार ध्वस्त भएको ८ वर्षपछि अर्थात् ०६५ मा सहरी विकास मन्त्रालयअन्तर्गत पुरातत्व विभागले पुनर्निर्माण सुरु गरेको हो । त्यतिबेला उक्त दरबारको पुनर्निर्माण २ वर्षभित्र सक्ने लक्ष्य राखिएको थियो । तर, ठेकेदारको आपसी विवाद र लापरवाहीका कारण लक्ष्य निर्धारण गरिएको ७ वर्षभन्दा बढी समय बितिसक्दा यो दरबारले अझै आफ्नो स्वरुप पाउन सकेको छैन । ०७२ को भूकम्पका कारण भत्किएका काठमाडौँका संरचना धमाधम बन्दै गर्दा दूरदराजको एउटा ऐतिहासिक सम्पदा निर्माणको लापरवाहीप्रति ध्यान पुग्ला ?

लम्की लम्काइ

दसैँताका छुट्टीका क्रममा सुदूरपश्चिम प्रदेश घुम्ने अवसर मिल्यो । पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने मुढा, बौनिया, चिसापानीलगायतका केही बजार घुमियो । महेन्द्र राजमार्गबाट टीकापुर जाने बाटो छुट्टिने बिन्दुमा पर्छ– लम्की बजार । साविक चुहा गाविस अहिले लम्की–चुहा नगरपालिकाअन्तर्गत पर्छ ।

द्वन्द्वको समयमा माओवादी र सरकारी पक्ष दुवैका कारण संकटमा परेको लम्की अहिले भने विकासमा लम्किरहेको देख्न सकिन्छ । बजारको उल्लेख्य फैलावट मात्र भएको छैन, ठूला होटल तथा पसल बग्रेल्ती खुलेका छन् । झन्डै डेढ दर्जन बढी त बैंक, वित्तीय संस्थाको उपस्थितिले आर्थिक हब बन्दै गरेको छनक दिन्छ ।

तराईका राजमार्गका केही बजार दुब्लाउँदो क्रममा छन् । तर, लम्की बजार पहिलेको तुलनामा आफ्नो वैभव झन् फैलाइरहेको छ । सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लाबाट तराईमा बढ्दो बसाइँसराइ र कैलालीको नयाँ भन्सार नाका सत्ती तथा अर्को मुख्य बजार टीकापुर प्रवेश बिन्दु भएकाले पनि लम्की बजारको विकास तीव्रतर बनेको हो ।

आधुनिकीकरणतर्फ जाँदै गरे पनि व्यवस्थित बजारको विकास हुँदै गरेको पाइन्छ । बजार सफा र चिटिक्क देखिन्छ, ठाउँ–ठाउँमा फोहोर संकलन गर्ने डस्बिन राखिएका छन् । काठमाडौँको दुर्गन्ध, कोलाहल र अव्यवस्थाको प्रत्यक्ष भुक्तभोगीलाई यति फराकिलो वातावरणमा केही समय रम्न मौका दिने नगरपितालाई सलाम । काठमाडौँका नगरपिताले पनि यहाँबाट केही सिक्ने कि ?

कट्टु–करामत

काठमाडौँ उपत्यकामा अपराध र गुन्डागर्दीमा संलग्नका अनेकानेक रोचक नाम छन् । गुन्डागर्दी, लूटपाट, हप्ता असुलीजस्ता गतिविधिमा लाग्ने आपराधिक पृष्ठभूमिका व्यक्ति वास्तविक नामलाई छुपाएर यस्ता नाम चर्चामा ल्याउने गर्छन् । मम, झिङ्गे, स्याल, भाले, टाउके, बफ, डुँडे, लाम्टा, छुचुन्द्रो, चरी, बाघे केही त्यस्तै रोचक नाम हुन् ।

प्रहरीका अनुसार कतिपय गुन्डा फेमस हुन  त कोही आफ्नो वास्तविक नाम लुकाउन यस्ता नामहरु राख्ने गर्छन् । अझ गुन्डाको यस्तो नाम पछाडि जोडिएको रोचक तथ्य के भने सहचालकलगायतको पृष्ठभूमि हुँदै गुन्डागर्दीमा आएका हुनाले त्यो फिल्डमा रहँदा त्यस्ता व्यक्तिलाई हुलिया हेरेर अरुले यस्ता नाम दिन्छन् । कालान्तरमा उनीहरु त्यही नामले चिनिन थाल्छन् ।

केही दिनअघि यस्तै अनौठो नाम भएका एक डाँकालाई महानगरीय प्रहरी परिसर काठमाडौँले सोल्टीमोडबाट पक्राउ गर्‍यो । ती डाँकाको नाम रहेछ– कट्टुु । वास्तविक नाम मनीष मानन्धर । ०६२ देखि सार्वजनिक अपराध, हातहतियार तथा डाँका मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका कट्टुमाथि ११ वटा मुद्दा रहेछन् । सात वर्ष जेल बसेर पनि नसुध्रिएका । छुटेलगतै अर्को अपराध गर्ने उनको बानी रहेछ ।

यसपटक प्रहरीले उनलाई सुन लुटेको र डाँकामा फरार रहेको भन्दै पक्राउ गरेछ । ७ वर्ष लामो जेल सजाय काट्दा पनि नसुध्रिएर पटक–पटक पक्राउ गरेर मुद्दा चलाउनुपर्दा प्रहरी हैरान भइसकेछ । कारागार भनेको सुधारगृह हो । अपराधकर्मका कारण सजाय पाएकालाई सुधार्ने किसिमका गतिविधि हुँदा रहेनछन् कारागारमा । ७ वर्ष जेल बसेर फर्किंदा पनि नसुध्रिएका कट्टुको अवस्था देखेर त्यस्तै अनुभूति भयो ।

प्रकाशित: कार्तिक ३०, २०७५

ट्याग: नोटबुक