[स्मरण] प्रवासमा कृष्णप्रसादका दु:ख

- कमल कोइराला

पिताजी कृष्णप्रसाद कोइरालाले राणाशाहीको विरोधस्वरुप प्रजाको अवस्थाबारे फाटेको लुगा, भोटो र लंगौटी श्री ३ चन्द्रशमशेरकहाँ पठाइदिएपछि राणा शासकको क्रूरताले सीमा नाघ्यो । चन्द्रशमशेरले कोइराला परिवारको सारा सम्पत्ति जफत गरिदिए । सिंगो परिवार प्रवास जानुपर्‍यो सन् १९१९ मा ।

नेपालमा जायजेथा कब्जामा परेपछि भारतमा एक दशक बिताउनुपर्दा कम्ती हन्डर खानुपरेको थिएन, कोइराला परिवारले । ४५ जनाको निर्वासित परिवारलाई बिहानबेलुकाको खर्च जुटाउन कृष्णप्रसादलाई हम्मे परेको थियो । कुनै बेलाका जमिनदार कोइराला परिवारलाई निर्वासनमा जान बाध्य पारिएपछि लालाबाला र वयस्क सबै सदस्यको पेट भर्न गरेको संघर्ष वर्णन गरिसाध्य छैन । स्वयं कृष्णप्रसाद, पत्नीहरु र वयस्क सन्तानहरुले कुनै कुनै बेला त साताको आधाभन्दा बढी समय भोकभोकै बस्नुपर्‍यो ।

ठूलो संख्यामा परदेशिएका परिवारको दैनन्दिन गुजाराका लागि पिताजी कृष्णप्रसादले एउटा जुक्ति निकाल्नुभयो । उहाँले टाइपिङ सिक्नुभयो । तर, त्यस समय उहाँले सिकेको सीप लाभकारी हुन सकेन । टाइपिङले पनि आम्दानी दिन सकेन । कृष्णप्रसादले निर्वासनको दुई वर्ष काशीमा गोर्खाली  र जन्मभूमि  पत्रिका छाप्न सघाउनुभएथ्यो सन् १९२०–१९२१ मा । परिवारको खर्च जुटाउन गरेको त्यो प्रयासले पनि सार्थकता पाएन । उहाँले बिनापारिश्रमिक प्रकाशनमा सघाउनुभयो ।

भोकभोकै प्रवासी जीवन बिताउनुपरे पनि देवीप्रसाद सापकोटा र कृष्णप्रसादले नेपालमा राणाशाही अन्त्य गर्न उतैबाट सामाजिक सुधार र प्रजातान्त्रिक चेतना फैलाउने काम गरिरहे । देवीप्रसादचाहिँ आसामबाट बसाइँ सरेर विराटनगरमा कोइराला परिवारका छिमेक हुन आएका थिए । कोइराला परिवार आर्थिक रुपमा शिथिल भएपछि कृष्णप्रसाद यथेष्ट पैसा कमाएर बनारस फर्कने वाचासहित कोलकाता हानिनुभयो, सन् १९२२ को अन्त्यतिर ।

कोलकाताका पुराना व्यापारी मित्रसँग सहयोगको अपेक्षा लिएर गएका कृष्णप्रसादलाई उनीहरुले उल्टै राणाहरुसँग झगडा नगर्न, मिल्न सुझाए । विशाल कोलकातामा साना मन भएका व्यापारीले निराश पारेपछि कृष्णप्रसाद फुटपाथमा टोपी बेचेर गुजारा गर्ने प्रभुदयाल दाबडीवालसँगै हिँड्नुभयो । सडकमा टोपी बेच्दै हिँड्ने उनै प्रभुदयाल पछि कोलकाताका ठूला व्यापारी बने । पछि पश्चिम बंगाल कांग्रेसका कोषाध्यक्षसम्म हुन पुगे ।

पैसा कमाएर परिवारको गुजारा चलाउने मनसाय सफल नहुँदा पिताजी चार वर्षको कोलकाता बसाइ टुंग्याएर बनारस फिर्नुभयो । त्यसलगत्तै सम्पूर्ण परिवारसहित सप्तरी नजिकै बिहार सहर्षाको टेढीद्वीपनगरमा कोइराला परिवार फर्कियो । त्यहाँ पहिलेदेखि नै प्रशस्त जग्गाजमिनसहित बस्दै आएका जंगबहादुरका छोरीपट्टिका सन्तान बाबुसाहेबले कृष्णप्रसादलाई जग्गा किन्न केही रुपैयाँ दिए । गिरिजाप्रसादको जन्म त्यही टेढीद्वीपनगरमा १८ असार १९८२ मा भएको हो ।

कृष्णप्रसादका मित्र गंगानाथ कटुवाल काजीले जग्गाजमिन जोड्न सहयोग गरेका थिए । यसपछिका दिन भने कोइराला परिवारका लागि सुखद हुँदै थिए । परिवारको दैनिक गुजारा चल्न थालेको केही वर्षपछि नै दैवी विपत्ति आइलाग्यो । टेढीद्वीपनगरमा जोडेको जग्गाजमिन कोसी नदी कटानले केही बाँकी रहेन । खेतीको जग्गा नाश गरिदिएपछि अन्य गाउँलेजस्तै कोइरालाको परिवार गाउँ छाडेर अन्यत्र लागेको हो ।

कृष्णप्रसादको स्वभाव र रुचि बडो गजबको थियो । सुरुमा रंगेली बस्ने कोइराला परिवार पछि त्यहाँबाट विराटनगर सरेको हो । विराटनगर निवासमा कृष्णप्रसादले अरबी, भोटे घोडा, ग्वालीघरमा गुजराती र पञ्जाबी गाईभैँसी पाल्नुभएको थियो । चन्द्रशमशेरले सारा सम्पत्ति जफत नगरुन्जेल विराटनगरबाट व्यापार फैलाउन बेलाबेला कोलकाता गइरहने । एक किसिमले पश्चिमी सभ्यतासँग पूरै अभ्यस्त हुनुहुन्थ्यो भन्दा पनि फरक पर्दैन । खानपान र रहनसहनमा अत्यधिक सोखिन कृष्णप्रसादले कोलकातामै नामी रेन्किन कोट र जुत्ता अंग्रेजी कम्पनीमा सिलाउनुहुन्थ्यो । उहाँ कोलकाताकै प्रसिद्ध पसल ह्वाइटवे एन्ड लेन्डलेज र हल एन्ड रसनबाट आफूलाई चाहिने सबै सामान खरिद गरेर विराटनगर फर्किनुहुन्थ्यो । घडी र चस्मा पनि छानीछानी लगाउने ।

८० मौजाका धनी यस्ता सोखिन कृष्णप्रसाद राणाशाही हटाउने आन्दोलनमा लागेसँगै पहिलो विश्वयुद्ध चलिरहेको सन् १९१९ मा नौरथा लागेपछि दसैँ पनि मनाउन नपाई ठूलो संख्याको परिवारसहित प्रवासमा जानुपर्ने बाध्यता आइलाग्यो । चन्द्रशमशेरपछि श्री ३ महाराज भएका भीमशमशेरले कोइराला परिवारको चलअचल सम्पत्ति फुकुवा गरिदिई नेपाल आउन लागेको बन्देज हटाइदिए । प्रवासमा कष्टसाध्य समय बिताए पनि कालान्तरमा राणाशाही शासन समाप्त गरी नेपालमा प्रजाको शासन ल्याउन कृष्णप्रसादले गरेको योगदान अन्तत: सफलतामा पुगिछाड्यो ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: कार्तिक ३०, २०७५

ट्याग: सस्मरण