जय मधेस

- सुरेन्द्र लाभ

जय नेपाल र लाल सलामको राजनीतिक अभिवादन शैलीभित्र ०६३ पछि एउटा नयाँ अभिवादन शैलीको उदय भयो । त्यो थियो– जय मधेस । ०६३ को मधेस आन्दोलनले जन्माएको थियो यो शैलीलाई । पहिले जय मातृभूमि सद्भावना पार्टीले प्रयोग गर्दै आएको थियो । तर, आन्दोलनको आँधीबेरीमा यो कताकता क्षीण भयो ।

जय मधेसको उद्घोष गर्दै थुप्रै घोषित–अघोषित, गुट–उपगुट, वैध–अवैध, सार्वजनिक–भूमिगत दलहरू अवतरित भए । जय मधेसको गुञ्जन पूरै देशभरि सुनिन थालियो । जय मातृभूमिमा गान्धी तत्त्व थियो, तर जय मधेसमा सुभाषचन्द्र बोस र भगतसिंह तत्त्व झल्किन्थ्यो । नयाँ संस्कार, नयाँ ऊर्जा, नयाँ विद्रोह, नयाँ उन्माद सबै लिएर आयो जय मधेसले । पूरै मधेस तंरगित भयो । देश अचम्मित ।

पहिला जय नेपाल र लाल सलाम भन्ने दलहरूमा कसैले मधेसको कुरो उठाउँदा सद्भावना तत्त्वको बिल्ला भिडाइन्थ्यो । तर, ०६३ को मधेस आन्दोलनपछि पहाडको नजरमा पूरै मधेसी समुदाय ‘फोरम बन्न गयो । पञ्चायतकालमा सबै नेपाली पञ्च र सबै पञ्च नेपाली भनेजस्तै सबै मधेसी फोरम र सबै फोरम मधेसी भन्ने बुझाइ विकसित भयो । यस्तो विचार विकसित हुनुमा मुख्य रूपमा दुइटा कारण देखिन्छन् । पहिलो, यो आन्दोलन स्वतस्फूर्त भए पनि संस्थागत रूपमा मधेसी जनअधिकार फोरम नामक संस्थाको अगुवाइ थियो । दोस्रो, जय नेपाल र लाल सलाम भन्ने आम मधेसीले पनि यस आन्दोलनमा प्रत्यक्ष र परोक्ष रूपमा सहभागिता जनाए । कालक्रममा यो बुझाइ र सोचाइमा संशोधन हुँदै गयो ।

 जय मधेस शब्दमा गजबको शक्ति थियो । एउटा यस्तो पनि समय थियो जतिबला जय मधेसको अभिवादनबाट मोबाइलमा संवाद प्रारम्भ गरेर चन्दा माग गरिन्थ्यो र धम्क्याइन्थ्यो । यहाँसम्म कि जय मधेस डरको पर्याय पनि बन्न गयो । कति जनाले आफ्नो व्यवसाय छाडे । कतिले स्थान छाडे । कतिले ज्यान गुमाए । कतिले घरबार गुमाए । मोबाइलमा अज्ञात फोन आउनसाथ मान्छे डराउन थाले मधेसमा । माओवादी सशस्त्र विद्रोहताका पनि यस्तै अवस्था थियो देशमा । एकचोटि जय मधेसको अभिवादन मोबाइलमा सुन्नेबित्तिकै कतिपयले आफ्नो सिमकार्ड झिकेर फाले । कतिपयले डर र रिसमा आफ्नो मोबाइलै सिलौटामा चकनाचुर पारे ।

समय बित्दै गयो र यो स्थितिमा परिवर्तन आयो । जय मधेस भन्ने कतिपय दल सत्तामा पनि पुगे । सत्तामा पुग्नासाथ केहीले त मधेसको ९० प्रतिशत माग पूरा भएको उद्घोषसम्म गरे । तर, जनतामा सन्तुष्टि देखिएन । असन्तुष्टि बढ्दैबढ्दै ०७२ मा पुन: विस्फोट भयो मधेसमा । जय मधेसको शक्ति पुन: जागृत भयो । फेरि दलहरूको सीमा भत्कियो । उमेरको हद टुट्यो । र, मधेस आन्दोलनको नयाँ उचाइ देखियो । लगभग ६ महिने लामो आन्दोलन रहस्यमय किसिमबाट थामियो । मधेसी दलहरू एक हुनुपर्ने जनदबाब आन्दोलनबाट सिर्जित भयो ।

६ वटा मधेसी दलहरू एक भएर राष्ट्रिय जनता पार्टी (राजपा) बन्यो । उता, फोरमले अशोक राईको पार्टीसँग मिलेर संघीय समाजवादी फोरम निर्माण गर्‍यो । स्मरणीय के रह्यो भने यी दुवैले आ–आफ्नो नामबाट मधेस शब्द हटाए । तर, राजपा र संसफोको घनिभूत प्रभाव प्रदेश २ मा मात्र देखियो । प्रदेश सरकार गठन गर्न सफल भए ।

आज जय मधेसको अभिवादनमा त्यति वजन देखिँदैन । यी दलहरूले पनि संगठन विस्तारमा आफ्नो ध्यान केन्द्रित गर्न सकेनन् । गणतन्त्रमा दलहरू चाहिन्छन् । दलहरू जति बलिया र संगठित हुन्छन्, गणतन्त्र त्यत्तिकै सार्थक र दिगो हुन्छ । आज आन्दोलनको ज्वारभाटा थामिएका बेला यी दलहरूले आत्मसमीक्षा गर्नु जरुरी छ । गल्ती कहाँ–कहाँ भयो ? खोजीनीति आवश्यक छ । निर्वाचन फेरि आउँछ । आन्दोलन फेरि गर्नुपर्ने हुन्छ । तर, सीमादेखि काठमाडौँसम्म तेल पुर्‍याउने कार्यकर्ता होइन, चरित्रवान कार्यकर्ता निर्माण कसरी गर्ने भन्ने चुनौती छ ।

केन्द्रसँग अधिकारको लडाइँ जारी राख्दै आन्तरिक विभेदको अन्त्य कसरी गर्ने भन्ने विषय प्रमुख हुन जान्छ । आ–आफ्ना दल समावेशी बनाउन आवश्यक छ । जय मधेस भन्ने दलमाथि जातीयता र नातावाद, कृपावादको ठूलो आरोप लाग्ने गरेको छ, त्यसलाई चिर्नुपर्छ यिनै दलहरूले । निर्धन र पछाडि परेका वर्ग र क्षेत्रको आर्थिक अवस्था सुधार्ने स्पष्ट नीति यी दलसँग हुनु जरुरी छ । मधेस–मधेस भनेर मात्र भावनात्मक लडाइँभन्दा धरातलीय परिवर्तनमा विश्वास गर्नुपर्ने हुन्छ । समष्टिगत रूपमा एउटा दर्शन चाहिन्छ, यी दलहरूलाई । अनि मात्र जय मधेसको अभिवादनले पुन: शक्ति पाउनेछ । फेरि एकचोटि सरकारले तराईमा विभिन्न भूमिगत समूहसँग वार्ता थालेको छ । आशा गरौँ, फेरि जय मधेस डरको पर्याय नबनोस् ।

प्रकाशित: कार्तिक ३०, २०७५

ट्याग: विचार